म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो ।
९४ लाखको लागतमा निर्माण भएको योजनाबाट निस्कोटका एक सय २५ घरपरिवार लाभान्वित भएका मालिको गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले जानकारी दिए ।
उपभोक्ताको घरघरका साथै विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र सार्वजनिकस्थलमा थप सातवटा धारा जडान भएको छ ।
टोटो बजाउनेमा रहेको मुहानबाट १६ किलोमिटर मुख्य र शाखा पाइप लाइन बनाएर १३ वटा ट्याङ्की, दुईवटा डिपिटीलगायतका संरचना बनाएर खानेपानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताए ।
‘३७ वर्षअघि निर्माण भएको खानेपानी योजनाका सार्वजनिक धाराबाट पालो कुरेर पानी वितरण गर्नुपर्ने समस्या थियो’, उनले भने, ‘धारा र कुवाबाट पानी ओसार्न हुने समयको बचत र झञ्झट हटेको छ ।’
पुरानो आयोजनाका संरचना जीर्ण हुँदा खानेपानी आपूर्ति नियमित नहुने र पानी वितरण अव्यवस्थित थियो । सार्वजनिक धारामा पानी नआउँदा उपभोक्ताले कुवा र खोल्साबाट गाग्री, ग्यालिन, ड्रम र बोत्तलमा पानी सोसार्ने गर्दथे । खानेपानीका धारासँगै भाँडा सुकाउने चाङ निर्माण भएको छ ।
पानीको मितव्ययी र व्यवस्थित तथा दीर्घकालीन प्रयोगका लागि धारामा मिटर जडान गरेर शुल्क उठाउने व्यवस्था मिलाइएको छ । खानेपानी योजना निर्माणका लागि प्रतिघर ९० दिनका दरले श्रमदान गरेका छन् । घरघरमा सफा र स्वच्छ खानेपानी आउन थालेपछि श्रमदानको दुःख भुलाएको उपभोक्ता तमबहादुर पुनले बताए ।
नेवा संस्थाका प्राविधिक छमीराम शर्माका अनुसार नेवाको ६४ लाख र उपभोक्ताको ३० लाख रुपैयाँ बराबरको श्रमदानमा योजना निर्माण भएको हो । नेवाको सहयोगमा यसअघि गत वर्ष मालिका गाउँपालिका–१ का अन्य टोलमा निर्माण भएको योजनाबाट ९६ घरपरिवार लाभान्वित भएका थिए । (रासस)
प्रतिक्रिया