त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य | Khabarhub Khabarhub

त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– ६ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन ।

२०७६ साल फागुनमा मूल भन्सारको मान्यता पाएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको यस भन्सारमा हालसम्म क्वारेनटाइन निर्माण हुन नसक्दा मालसामान निकासी पैठारी शून्य छ ।

२०७६ साल फागुन अगाडि यो भन्सार भैरहवा भन्सार कार्यालयको छोटी भन्सारको रूपमा रहेको थियो । सङ्घीय सरकारको निर्णयअनुसार मूल भन्सारको मान्यता पाएको यस भन्सारमा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा भारततर्फ पठाउने मालसामान र भारतबाट नेपाल भित्रिने मालसामानको अवस्था शून्य रहेको भन्सार कार्यालयले जनाएको छ ।

त्रिवेणी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामराजप्रसाद चौरासियाले भन्सारको स्तरोन्नतिसँगै यहाँ प्लान्ट क्वारेनटाइन, खाद्यान्न क्वारेनटाइन, पशु क्वारेनटाइनलगायत पूर्वाधार निर्माण हुनुपर्नेमा त्यस्तो हुन नसकेको जानकारी दिए ।

क्यारेनटाइन नहुँदा त्रिवेणी भन्सार पर्यटक नाकाका रुपमा मात्र रहेको अधिकृत चौरासियाको भनाइ छ । ‘भारतबाट नेपाल घुम्न आउने पर्यटकका सवारीसाधनलाई अस्थायी नम्बर दिनेबाहेकका अरु काम हामीले पाएका छैनौँ’, उनले भने, ‘भारततर्फ बाल्मीकि नगरमा भारतले क्वारेनटाइन बनाएको छ, तर हाम्रोमा नहुँदा निकासी पैठारी शून्य भएको हो ।’

बाल्मीकि नगरले समेत त्रिवेणी भन्सारमा पनि क्वारेनटाइन बनाउनुपर्ने जनाउँदै त्रिवेणी भन्सारबाट केन्द्रसम्म पत्राचार गरेको उल्लेख गर्दै उनले यहाँ क्वारेनटाइन नबन्दा सरकारले यो नाकाबाट हुने राजस्वको आम्दानी गुमाइरहेको बताए ।

खाद्यान्न, बोटबिरुवा तथा पशुचौपाया परीक्षण गर्ने र राख्ने छुट्टाछुट्टै क्वारेनटाइन निर्माण गरेर निकासी पैठारीको वातावरण सृजना गर्नका लागि आफूहरुले भन्सार विभाग हुँदै नेपाल सरकारलाई आग्रह गरिरहेको उनको भनाइ छ ।

अस्थायी पैठारीबाट मात्र पनि त्रिवेणी भन्सार कार्यालयले गत आव २०८१–०८२ मा करिब एक करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको चौरासियाले बताए ।

कार्यालयले लक्ष्यको तुलनामा ७४ दशमलव छ प्रतिशतमात्र प्रगति हासिल गरेको उनको भनाइ छ । कार्यालयले गत आवमा दुई करोड ४० लाख १९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा एक करोड ७९ लाख २८ हजार रुपैयाँमात्र राजस्व सङ्कलन गर्न सफल भएको उनले जानकारी दिए ।

उनका अनुसार गत आवमा सबैभन्दा बढी राजस्व माघमा असुली भएको छ । कार्यालयले माघमा ४० लाख २६ हजार राजस्व सङ्कलन गर्न सफल भएको चौरासियाले बताए । त्यस्तै, फागुनमा १७ लाख ७२ हजार, असारमा १६ लाख ६२ हजार, जेठमा १५ लाख ६७ हजार, पुसमा १४ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको चौरासियाले बताए ।

त्रिवेणी भन्सार कार्यालयले साउनमा ११ लाख ७१ हजार, वैशाखमा ११ लाख ५७ हजार, चैतमा ११ लाख ४२ हजार, कात्तिकमा ११ लाख १६ हजार, भदौमा १० लाख ३३ हजार, मङ्सिरमा नौ लाख ७४ हजार तथा असोजमा आठ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख चौरासियाले जानकारी दिए ।

पर्यटक नाकाका रुपमा मात्र रहेको यस भन्सारलाई पूर्ण रूपमा सञ्चालन गर्न सरकारले आवश्यक तयारी गरेमा यस नाकाबाट निकासी पैठारीमा सहजता हुने उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : ४३ बजे

देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरु

रेशमले कारबाही तयारी गरेपछि अर्कैलाई कार्यवाहक दिएर रञ्जिताले भनिन्, ‘म बिरामी भएँ’

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवाद अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही

रुस-उत्तर कोरिया सीधा हवाई उडान सुरु

मस्को- रुस र उत्तर कोरियाबीच सीधा हवाई उडान सुरु भएको

प्रचारप्रसार अभावले ओझेलमा रिकुका होमस्टे

दोलखा– स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेर दुई

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी