सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने | Khabarhub Khabarhub

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण गरिने यो सडक पूर्व–पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गमा जोड्नेछ ।

आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८२–८३ मा प्रारम्भिक चरणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ । सघन सहरी आयोजनाका इञ्जिनियर उदयनारायण चौधरीले भने, ‘सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन तयार गर्न पाँच सदस्यीय सहयोग समिति गठन भइसकेको छ ।

अब हामी चाँडै नै सडकको काम सुरु गर्छौँ । चालु आवमै करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छौँ ।’ नयाँ सडकमार्ग गोलबजारको पुरानो चोहर्वा बजारबाट सुरु भई घुर्मी बजार हुँदै चुरेफेदीका बस्तीहरू पार गर्दै उदयपुरको रिस्कुसम्म पुग्नेछ । निर्माण पूरा भएपछि मदन भण्डारी राजमार्गसम्मको पहुँच सहज हुनेछ ।

अहिले रिस्कुवासीलाई सिरहाको मिर्चैया वा सप्तरीको कदमहा बजार हुँदै लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले उनीहरूको समय, खर्च र ऊर्जा दुवै खर्चिन्थ्यो । नयाँ सडकले दुरी छोटो हुने र बजारसम्म पुग्न सहज हुने भएकाले विशेष गरी चाडपर्वको समय घरायसी सामान तथा लत्ताकपडा किनमेल गर्न गोलबजार जान झन्झट नहुने उनीहरू बताउँछन् ।

गोलबजार–१० निवासी क्षेत्रकुमार आलेले भने, ‘सडक कालोपत्रे भएपछि यातायात सहज हुनेछ, व्यापार–व्यवसाय फस्टाउने र सहरी पूर्वाधारमा गति आउने विश्वास छ ।’

गोलबजारका व्यापारी सञ्जय यादवले नयाँ सडकले पहाड र तराईबीच हुने ढुवानी सहज बनाउने बताए । यस सडकले उदयपुरको उत्पादनलाई गोलबजारको व्यापारिक केन्द्रसम्म ल्याउन र त्यहाँबाट तराईको उपज पहाड पठाउन सहज हुने भएकाले कृषि क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि पूर्व कानूनमन्त्री तथा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, मधेस प्रदेशसभा सदस्य मनोजकुमार सिंह, गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा आयोजना इञ्जिनियर चौधरीको सहभागितामा अनुगमन र समन्वयको संरचना बनाइएको छ ।

पूर्वमन्त्री श्रेष्ठले समितिलाई एक महिनाभित्र सडकको ट्रेस (मार्ग) निर्धारण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए । उनले भने, ‘कामको जिम्मेवारी लिनेले निष्क्रिय बस्न मिल्दैन । समयमै काम सम्पन्न गर्नुपर्छ, नभए विगत झैँ बजेट फ्रिज भएर जान्छ । त्यसैले, सक्रियताका साथ लाग्न सबैलाई विशेष आग्रह गर्दछु ।’ साथै उनले उदयपुरतर्फको कामका लागि जनप्रतिनिधिसँग समन्वय भइरहेको जानकारी दिए ।

सिरहा–उदयपुर जोड्ने यो अन्तरप्रदेशीय सडकमार्गले दुर्गम क्षेत्रलाई सहरी पूर्वाधारसँग जोड्नेछ । आवागमनमा सहजता ल्याउनुका साथै व्यापार, कृषि, पर्यटन र स्थानीय सेवा सुविधामा दीर्घकालीन प्रभाव पार्ने चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोको भनाइ छ । (रासस)

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : २५ बजे

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि

एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा नाकाबाट एक अर्ब