काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ नायिका रिश्मा गुरुङको कलाकारिता यात्रामा मज्जाले लागु भएको भेटिन्छ ।
किनकि, न रिश्मालाई नेपाली फिल्ममा अभिनय गर्नु थियो । न उनलाई चर्चित नायिका नै बन्नु थियो ।
तर, घरको माहोलले गुरुङ भाषाको फिल्ममा देखिन चाहिँ थियो । यो रहर पूरा गर्न उनीमा न दृढ इच्छाशक्ति नै थियो ।
यतिसम्म कि फिल्म ‘कबड्डी’बाट आएको प्रस्तावसमेत उनले सुरुमा अस्वीकार गरेकी थिइन् ।
‘कबड्डी’ हिट भएपछि उनलाई दर्जनौं फिल्मको प्रस्ताव पनि आयो । तर, उनले गरिनन् । रेश्माले स्क्रिप्ट खोज्दै हिँड्न परेन । न उनलाई फिल्ममा रुचि नै थियो । स्क्रिप्टले नै रिश्मालाई खोज्दै आए । उनले ती फिल्महरु साइन नगर्नुको कारण धेरै छन् ।
त्यस मध्येको एक उनले खबरहबसँग सेयर गरिन्, ‘सुन्दा घमण्डी लाग्ला । तर, मलाई अभिनयमा करिअर बनाउने सोच नभएकाले फिल्म साइन गरिनँ ।’

रिश्माको लेखान्तमै हुनुपर्छ– दर्शकको प्रिय नायिका बन्ने । त्यसैले अझै पनि उनलाई फिल्ममा लिन चाहने मेकर छन् ।
‘कबड्डीकी मैया’का रुपमा उनलाई दर्शकले ठूलो पर्दामा खोजी गरिरहेका छन् ।
तर, हिट फिल्म दिएर अन्य फिल्मको प्रस्ताव आउँदा आउँदै पनि रिश्मा गुमनाम देखिन्छन् ।
बल्ल ९ वर्षपछि उनले ‘रिमै’बाट फूलफ्लेज नायिका बनेर ठूलो पर्दामा कमब्याक गरेकी छन् । जुन भदौं २० बाट प्रदर्शनमा आउँदैछ ।
०००
रिश्मा पोखरामा गुरुङ परिवारमा जन्मिएकी हुन् । यसकारण पनि अधिकांशले उनी लाहुरे परिवारकी हुन् भन्ने ठान्छन् ।
यसमा केही सत्य पनि छ तर, पूर्ण सत्य पनि होइन ।
उनका हजुरबुबा पूर्वब्रिटिस आर्मी हुन् भने बुवा भने बराइनमा व्यवसाय गर्छन् ।
रिश्मा भन्छिन्, ‘बुवालाई पनि लाहुरे भिड्न परिवारबाट चाहिँ दबाब थियो रे ! तर उहाँ आफ्नै कारणले हुनुभएन । उहाँलाई लाहुरे बन्ने इच्छा नै थिएन रे !’
तथापि, संयुक्त परिवार जन्म र हुर्काइ भएकाले आफूलाई ‘लाहुरेको परिवार’को सदस्य भन्दा गलत नहुने उनी बताउँछिन् ।
रिश्माले आफ्नो मास्टर्ससम्मको पढाइ पोखरामै पूरा गरेकी हुन् । पढाइमा भने उनी आफूलाई ‘जेहेन्दार विद्यार्थी’मा गणना गर्छिन् ।

भन्छिन्, ‘एकदमै मिहिनेत गरेर पढ्ने विद्यार्थी हुँ । तर पहिलो कहिल्यै भइनँ । दोस्रो तेस्रो मात्रै हुन्थेँ ।’
पढाइ बाहेक आफूमा कुशल नृत्य क्षमता रहेको उनी बताउँछिन् । कलेज पढ्दाको समयमा पोखरामै नृत्य प्रशिक्षण गरेको अनुभव पनि उनीसँग छ ।
फिल्ममा इन्ट्रीको संयोग
‘इच्छा र रुचि नहुँदा नहुँदै कसरी नायिका बनेँ ?’ भन्ने प्रश्न रिश्माको मनमा पनि उठ्दो रहेछ ।
खबरहबले उनलाई ‘कसरी नायिकाको यात्रा तय भयो ?’ भन्ने प्रश्न गरेको थियो । उनले तत्कालै उत्सुक हुँदै जवाफ फर्काइन्, ‘यो प्रश्न मैले केही समय अघि आफैँलाई गरेकी थिएँ नि !’
न उनको परिवारको कोही व्यक्ति फिल्म क्षेत्रमा थिए । न उनी आफैँ नायिका बन्ने दौडमा सहभागी थिइन् । त्यसकारण पनि उनको नायिकाको यात्रा अकल्पनीय विषय हो ।
‘अनि कसरी नायिका बने भन्ने प्रश्नको जवाफ के भेट्नुभयो त ?’ भन्ने प्रश्नमा उनले बाल्यकालको माहोल र उमेर बढेसँगै विकसित घटनाक्रमलाई जोडेर जवाफ दिइन् ।
स्नातक पहिलो वर्ष पढ्दै गर्दा रिश्मालाई फिल्म ‘कबड्डी’ प्रस्ताव आएको थियो । तर, पहिलो पटक उनले प्रस्ताव अस्वीकार गरिन् ।
‘कबड्डी’ टिम थकाली समुदायको अनुहार मिल्ने नवनायिकाको खोजीमा थियो ।
उनले पोखरामा संयोगबस् फोटो सुरु गरेकी थिइन् । साथीको साथी जाँदा उनलाई फोटोसुटको प्रस्ताव आएको थियो ।
उनी भन्छिन्, ‘मैले वेबसाइटका लागि फोटोसुट गरेकी छु कस्तो आएछ हेर्न साथी हिँड् भनेर एक साथीले भनी । उसलाई साथी गएको थिएँ । मलाई पनि फोटोसुटको प्रस्ताव आयो ।’
त्यही वेबसाइटबाट सार्वजनिक भएको फोटोका कारण ‘कबड्डी’ टिम रिश्मासम्म पुगेको हो ।

‘अनि पहिला किन फिल्म अस्वीकार गर्नुभयो ?’ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई नेपाली फिल्म गरेर नायिका बन्ने सोच नै थिएन ।’
तर, गुरुङ भाषाको फिल्मको चाहिँ गर्ने सानै देखिको रहर आफूमा रहेको रिश्माले सेयर गरिन् ।
‘मेरो काका कल्चर डान्स गर्नुहुन्थ्यो । बिहानैदेखि उहाँले फिल्मका गीत र गुरुङ भाषाको गीत बजाउनुहुन्थ्यो । त्यहीँबाट चाहिँ मलाई गुरुङ भाषाको फिल्मको नायिका बन्ने रहर पैदा भएको हो,’ उनी सुनाउँछिन् ।
अहिले आफू नायिका बन्नुको कारण बाल्यकालको यही घटनाले हुनुपर्छ भन्ने उनको ठहर छ । अर्थात्, ‘आफू कसरी नायिका भएँ ?’ भनेर आफैँलाई प्रश्न गर्दा रिश्माले भेटेको जवाफ यही हो ।
बहुसंख्य दर्शकलाई थाहा नहुन सक्छ– उनलाई प्रस्ताव आएको पहिलो फिल्म ‘कबड्डी’ हो । तर, यसमा अभिनय गर्नु अघि उनले तीन गुरुङ भाषाको फिल्ममा अभिनय गरिन् ।
अर्थात्, उनको प्राथमिकतामा नेपाली भाषाको फिल्म नै थिएन । रिश्माकै भाषामा भन्ने हो भने उनलाई अभिनयमा करिअर नै बनाउने लक्ष्य नै थिएन ।
उनलाई बाल्यकालको रहर पूरा गर्न केबल एक गुरुङ भाषाको फिल्ममा अभिनय गर्नु थियो ।
संयोग– रिश्माले फिल्म गुरुङ भाषाको फिल्म ‘कर्मा’मा डान्स क्रोरियोग्राफारको जिम्मेवारीमा जोडिन पाइन् । जसबेला उनी नृत्य प्रशिक्षणसमेत गर्थिन् ।
भन्छिन्, ‘म पोखरामा डान्स सिकाउँथेँ । त्यही भएर फिल्ममा डान्स क्रोरियोग्राफरको प्रस्ताव आयो ।’
गुरुङ भाषाको फिल्म उनको रुचिको विषय थियो । क्रोरियोग्राफरमा अनुबन्ध भएपछि उनले फिल्ममा भूमिका दिन भने त्यस फिल्म ‘कर्मा’का निर्देशकलाई आग्रह गरिन् ।
उनी भन्छिन्, ‘सुरुमा मान्नुभएको थिएन । अलि बढी नै जोड गरेपछि भूमिका दिनुभयो ।’
बाल्यकालदेखिको गुरुङ फिल्ममा अभिनय गर्ने रिश्माको इच्छा ‘कर्मा’ले पूरा ग¥यो । यसका गीतहरु हिट हुँदा उनलाई दोस्रो फिल्मको प्रस्ताव आयो ।
दोस्रो फिल्म नगर्न परिवारको सुझाव थियो । तर, रिश्माले मानिनन् ।
यसबारे उनी भन्छिन्, ‘म सोझी थिएँ । बाहिरको मान्छेसँग बोल्न डराउँछे भनेर बुवाले दोस्रो फिल्म नगर्न सल्लाह दिनुभएको थियो । तर, मलाई एक फिल्म गरेर अर्को नगर्दा, प्रस्ताव आएन अनि थन्किएर बस्यो भनेर अरुले कुरा काट्छन् भन्ने लाग्यो । यही कुरा बुवालाई भनेपछि दोस्रो फिल्म गर्न दिनुभयो ।’
तीन गुरुङ भाषाको फिल्म गरेपछि रिश्मालाई दोस्रो पटक ‘कबड्डी’को प्रस्ताव आयो । यस पटक पनि उनलाई यो फिल्म गर्न मन थिएन ।
उनी भन्छिन्, ‘बाहिरको मान्छेसँग काम गर्नै मन लाग्दैन थियो । अनि मानेको थिइनँ । ममीले राम्रो टिम कस्तो हो ? भनेर बुझ्नु भएछ । त्यसपछि उहाँले नै यो फिल्म गर् भनेपछि मैले कबड्डीमा अभिनय गरेको हो ।’

उनले तीन फिल्म गर्ने बेलासम्म ‘कबड्डी’ टिम कुरेर भने बसेको होइन । टिमको आन्तरिक कारणले फिल्म छायाङ्कनमा निस्कन ढिला भएको थियो ।
छायाङ्कनमा निस्कने कबड्डी टिमको चाँजोपाँजो मिल्दा रिश्माले तीन फिल्म भ्याइसकेकी थिइन् ।
सायद, जे लेखेको थियो त्यो भएरै छाड्यो । सुपरहिट नेपाली फिल्मबाट डेब्यू हुने रिश्माको पुर्पुरोमै थियो । त्यसैले उनले‘कबड्डी’ पाइन् ।
कता हराइन् रिश्मा ?
‘कबड्डी’ले रिश्मालाई हिट नायिका बनायो । यो फिल्म सन् २०१४ मा प्रदर्शनमा आएको हो ।
त्यसयता उनले अभिनय गरेको फिल्म ‘कबड्डी २‘ र ‘झुम्की’ प्रदर्शनमा आए । यी दुवै फिल्म सन् २०१६ मा प्रदर्शनमा आएका हुन् ।
‘फिल्मको प्रस्ताव नआएको हो ?’ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘हैन मलाई अभिनयमा करिअर बनाउन मन नै थिएन । कबड्डी लगत्तै ८–१० वटा फिल्मको प्रस्ताव आएको थियो । गरिन । किनकि व्यावसायिक नायिक बन्ने मेरो रुचिको विषय नै थिएन ।’
‘झुम्की’ युट्युबमा आएपछि झन् बढी फिल्मको प्रस्ताव आउन थालेको उनी बताउँछिन् ।
रिश्मा सन् २०२२ मा डीभी परेर अमेरिका गइन् । सन् २०१६–०२२ सम्म उनी नेपालमै रहे पनि गुमनाम देखिइन् ।
तर, यो बीचमा फिल्म नगरे पनि कलाकारिताबाट टाढा नरहेको उनी बताउँछिन् ।
भन्छिन्, ‘म नृत्य प्रस्तुतिका लागि विदेश गइरहेको हुन्थेँ । फिल्म मात्रै नगरेको हो । म नृत्य प्रस्तुतिका लागि करिब एक दर्जन देश पुगेँ ।’
‘कबड्डी’बाट पाएको चर्चा सदुपयोग गर्न नसकेको भन्ने चाहिँ रिश्मालाई महसुस हुन्छ तर, पश्चाताप भने नभएको सुनाउँछिन् ।
भन्छिन्, ‘मलाई मार्गदर्शन दिने मान्छे नै भएन । कबड्डीबाट पाएको चर्चा सदुपयोग गर्न मैले जानिनँ । हुन त फिल्ममा चासो नभएर पनि होला, त्यो चर्चा सदुपयोग गर्ने सोच भएन ।’
तर, नृत्य प्रस्तुति दिँदा आफूले लिने पारिश्रमिकको विषयमा भने ‘लाटोको खुट्टा बाटोमा’ उखानसँग मेल खाने प्रसंग उनले सेयर गरिन् ।

उनले सुनाइन्, ‘म कबड्डीअघि नै विदेशमा प्रस्तुति दिन गएको हो । कबड्डीपछि झन् बढी प्रस्ताव आउन थाल्यो । पारिश्रमिक चाहिँ आफूलाई मन लाग्दो भन्थेँ । उहाँहरुले दिनुभयो । पछि थाहा भयो, मैले लिएको पारिश्रमिक त लाइमलाइटमा भएको नायिकाले लिनेभन्दा तीन गुणा बढी रहेछ ।’
यो बीचमा रिश्मा अर्को फिल्मको छायाङ्कनमा पनि सहभागी भइन् । यसको जस चाहिँ उनी कोभिडका कारण भएको लकडाउनलाई दिन्छन् ।
भन्छिन्, ‘लकडाउनमा घरमा बस्दा समय बिताउन आफ्नै फिल्म हेरियो । आफ्नो पूरानो काम हेर्दा रमाइलो लाग्यो । अनि पछि आफ्नो पूरानो काम हेर्न मज्जा आउने रहेछ भन्ने लाग्यो । अनि फिल्म गर्ने सोच आयो । एक फिल्म पनि गरेँ ।’
तर, यसबेला केही फिल्म गर्न मन भए पनि व्यवसायिक अभिनयमा सोच नभएको उनी बताउँछिन् ।
त्यसबेला रिश्माले अभिनय गरेको फिल्म प्रदर्शनमा अझै आएको छैन । छायाङ्कन लगत्तै जस्तो रिश्माको डीभी परेर अमेरिका गइन् । सन् २०२२ यता उनी अमेरिका बस्दै आएकी छन् ।
‘रिमै’बाट कमब्याक
रिश्मा अहिले नेपाल छिन् । ‘रिमै’ फिल्मको छायाङ्कनमा आएकी उनी अहिले प्रचारमा व्यस्त छिन् ।
उनी फुलफ्लेज नायिका रहेको फिल्म ९ वर्षपछि प्रदर्शनमा आउँदैछ । सोहीकारण ‘रिमै’लाई उनी ‘कमब्याक’ फिल्म भन्न रुचाउँछिन् ।
अमेरिका बसाइको दौरान पनि आफूलाई फिल्मको प्रस्ताव आइरहेको बताउँछिन् । तर, उताको बसाइको बाध्यताले फिल्ममा काम नगरेको उनको भनाइ छ ।
‘रिमै’मा जोडिनुको श्रेय भने उनी यस फिल्मका लेखक उपेन्द्र सुब्बालाई दिन्छन् । उनकै सिफारिसमा आफूले यो फिल्म गरेकी हुन् ।
रिश्मा भन्छिन्, ‘निर्देशकले को नायिका लिने भनेर उपेन्द्र सुब्बालाई सोध्नु भएछ । उहाँले सक्छौं भने रिश्मालाई लिनू भन्नु भएछ । त्यसरी प्रस्ताव आएको हो ।’

अमेरिकामा आफू खाली भएको मौकामा प्रस्ताव आएकाले यो फिल्म गरेको उनी बताउँछिन् ।
भन्छिन्, ‘लेखक उपेन्द्र सुब्बा र आफ्नो कल्चरसँग जोडिएको फिल्म भएकाले नाइँ भन्न सकिनँ ।’
‘अब नेपालमै बसेर फिल्म गर्ने कि विदेश जाने ?’ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘जान्छु । मलाई व्यवसायिक अभिनय गर्ने इच्छा छैन । रिमै जस्तै राम्रो कथामा बनेको फिल्म लिएर बेला मौकामा दर्शकलाई ठूलो पर्दामा भेट्न आउँछु । उहाँलाईहरु कबड्डीकी मैयालाई पर्दामा हेर्न मन भएको कुरा मैले बुझेकी छु ।’
प्रतिक्रिया