काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले नेता-कार्यकर्ताहरूलाई सरकारी निवास बालुवाटारमा बोलाएर धमाधम प्रशिक्षण मन्तव्य दिइरहेका छन् ।
शुक्रबारका लागि डाकिएको केन्द्रीय कमिटीको बैठक अचानक स्थगित गरेपछि बुधबार साँझ ओलीले एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलासहित काठमाडौंका केन्द्रीय सदस्य र बागमती प्रदेश कमिटीका नेताहरू बोलाएर प्रवचनसहित लामो प्रशिक्षण दिए ।
विधान महाधिवेशनअघिको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत राख्ने तयारी गरेको अवस्थामा ओलीले छलफललाई तीव्र बनाएका हुन् ।
उनले बुधबार साँझ काठमाडौं र बागमतीका नेताहरूसँग लामो छलफल गर्दै पूर्वराष्ट्रपतिमाथि नै आफ्ना भनाइ केन्द्रित गरे । बालुवाटारबाट बाहिरिएपछि एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले ओलीका भनाइको लामो फेहरिस्त नै सार्वजनिक गरिदिएका छन् । एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई गत साउन ५-६ को नवौँ केन्द्रीय कमिटीले रोक्ने निर्णय गरेपछि एउटा ठूलो पंक्ति रुस्ट छ ।
भण्डारी पक्षले दुई लाइन संघर्षलाई चर्काउँदै लैजान खोजेपछि ओलीले जिल्ला-जिल्लाका नेताहरू र विधान महाधिवेशन प्रतिनिधिहरूलाई समेत बालुवाटार बोलाउँदै आफ्नो निर्णयको पक्षमा उभिन भनिरहेका छन् ।
उनले एमालेकै नेताहरूलाई लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीको तस्बिर राखेर धन्दा चलाइरहेको आरोपसमेत लगाए ।
अहिले एमालेमा आफूलाई चुनौती दिने कोही पनि नेता नरहेको दाबीसमेत ओलीद्ये गरे । आफूलाई चुनौती दिने सवालमा विद्याबाहेक अरू कसैको दम नगरेको पनि ओलीले जिकिर गरे ।
‘अहिले विद्याबाहेक अरू कसैको दम छैन, उहाँले अहिले छोडे सबै मिल्छ’, उनले काठमाडौं जिल्लाअन्तर्गतको भुगोलका नेताहरूलाई बालुवाटारमा फकाउँदै भने, ‘विद्याले मलाई चुनौती दिनु भयो । अब उहाँको सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ। राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउनु हुँदैन।’

ओलीले पूर्वराष्ट्रपति भएकाले भण्डारीले अशोभनीय गतिविधि गर्न नहुने पनि जिकिर गरे । ‘उहाँ अहिले पार्टीको पक्षमा नबोल्नेहरूलाई भेला गरेर हिँड्नु भएको छ । चक्रपथमा मलाई जथाभावी लेखाउने काम भयो’, उनले भने, ‘मदन भण्डारी फाउन्डेशन मैले खोलेको हो। कारण—जन्मजयन्ती र स्मृति दिवस मनाउन नदिएकोले हो । अरूले राजमाता हुन् भनिरहँदा मैले विद्यालाई राष्ट्रपतिमा अघि सारेँ।’
उनले अब पूर्वराष्ट्रपति भण्डारीले एमालेमा आएर अध्यक्ष हुन सम्भव नभएको पनि ठोकुवा गरे । ‘आ-आफ्नो योग्यता कारण हामी यहाँ आइपुगेका हौँ।
भण्डारीले आफूलाई पार्टी चलाउन नसक्ने भन्दै जिम्मा दिन पनि भनेको जिकिर ओलीले बालुवाटारमा गरे । ‘उहाँले मलाई सहयोग गर्नुस्, तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो’, उनले भने, ‘उहाँ अहिले च्यासलले पार्टी सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिएको छैन, प्रक्रिया मिलेन।’
तर आफूले विद्यालाई भ्रममा परेर नबस्न भनेको ओलीले उल्लेख गरे । ‘भ्रममा नपर्नुस् तपाईंसँग एमाले हाँक्ने, अनुभव छैन भनेँ मैले’, ओलीले थपे, ‘उहाँले चुनाव लड्ने त भन्नुभयो । तर मैले यहाँ पार्टीमा चुनाव लड्नु पर्दैन भनेर जवाफ दिएँ ।’
नेता रामेश्वर फुयाँलले संयोजन गरेको उक्त छलफलमा उनले कसैले पनि पार्टीमा समस्या ल्याउन नहुने बताए । ओलीले विद्या भण्डारीलाई साथ दिएका ईश्वर पोखरेल कहाँ पुग्छन् भन्न नसकिने बताए ।

‘ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर त्यसरी हिँड्नु भएन। अभागीलाई खाने बेलामा रिस उठ्छ जस्तै भएको छ उहाँलाई पनि’, उनले भने, ‘विनोद ढकाल नवौँ महाधिवेशनमा मलाई सहयोग गर्ने प्रमुख पात्र हुन्। तर अहिले समस्या आयो । पार्टी विधानबारे कर्णबहादुर थापाले गलत कुरा गरे।’
उनले एमालेको दुईतिहाइ आउने बेलामा २०५४ सालमा वामदेव गौतमले पार्टी फुटाएको जिकिर गरे । ‘पार्टीको दुई-तिहाइ मत आउँदै थियो तर वामदेवले फुटाए र माले बनाउनुभयो’, उनले भने, ‘हामी एक-अर्कालाई निष्कासन गर्दै अघि बढ्यौँ । त्यहीकारण हालको पार्टी बनेको हो।’
दीपक निरौलाका अनुसार के के भने ओलीले ?
- पार्टीलाई दुई-तिहाइ बहुमत आउँदै थियो तर वामदेवले २०५४ सालमा एमाले फुटाउनुभयो। ।
- एक-अर्कालाई निष्कासन गर्दै अघि बढ्यौँ र हालको पार्टी बनेको हो।
- अहिले केहीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको फोटो राखेर धन्दा गर्छन्।
- च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिएको छैन, प्रक्रिया मिलेन।
- बालुवाटार बोलाएको आउनुभएन, पार्टी कार्यालयमा च्यासलमै भेटियो।
- सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ।
- राष्ट्रपति भइसकेको मान्छै राजनीतिमा आउनु हुँदैन।
- उहाँले ‘एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न’ भन्नुभयो।
- तर मैले भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन भनेँ।
- चुनाव लड्ने त भन्नुभयो, ‘यहाँ हाम्रो पार्टीमा चुनाव लड्नु पर्दैन’ भनेँ।
- पूर्वराष्ट्रपति भएकाले अशोभनीय गतिविधि गर्नु भएन।
- पार्टीको पक्षमा नबोल्नेहरूलाई भेला गरेर हिँड्नु भएको छ।
- चक्रपथ अनलाइनमा मेरोबारेमा जथाभावी लेखाउने काम भयो।
- मदन भण्डारी फाउन्डेशन मैले खोलेको हो । त्यसबेला जन्मजयन्ती र स्मृति दिवस पनि मनाउन नदिएकोले फाउन्डेशन खोलेँ ।
- अरूले राजमाता हुन भनिरहँदा मैले विद्यालाई अघि सारेँ।
- उहाँले नेकपा एमालेमा आएर अध्यक्ष हुनु सम्भव छैन।
- आ-आफ्नो योग्यता कारण हामी यहाँ आइपुगेका हौँ।
- आन्दोलनलाई पार्टीले अघि बढाएको छ तर यो नदेख्ने र विरोधीलाई सहयोग गर्ने काम भएको छ।
- सरकारले गरेका सकारात्मक कामको चर्चा भएन।
- अदालतमार्फत् बाधा हाल्ने प्रयास गरिएको छ, बाधा पन्छाएर अघि बढिन्छ।
- सेन्टिमेन्टमा गएर हुँदैन, मदन भण्डारीका विचार पवित्र हुन्, घर होइन।
- जबज कुनै परिवारको सम्पत्ति होइन।
- जबज फाउन्डेशनले बचाउने पनि होइन।
- जबजका नाममा पार्टीमा समस्या ल्याउने होइन।
- ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन।
- अभागीलाई खाने बेलामा रिस उठ्छ।
- विनोद ढकाल (नवौँ महाधिवेशनमा) मलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।
- विधानबारे कर्णबहादुर थापाले गलत कुरा गरे।
- पत्रकारले पार्टी सदस्यता दिने होइन।
- गणतन्त्र गौरवलाई विवादमा पार्ने काम भयो।
- विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ।
- लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीको सम्भावना छैन।
- मैले जति सम्मान अरुले गरेका छैनन्, विद्याजीलाई साथ दिँदा म अपमानित हुनुपरेको छ।
- म एक्लो थिइनँ, मदन र म सहकार्यमा थियौँ।
- म सपनामा छु कि जस्तो लाग्छ।
- विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।
- विद्याजीको सम्मानका लागि उहाँलाई नउचालौँ।
- व्यक्ति ठूलो कुरा होइन, आन्दोलन बचाउनुपर्छ।
- विद्या भण्डारी सम्पत्ति होइन।
- उहाँको लडाइँ सदस्यताको होइन।
- प्रोटोकल हेरेर प्रतिष्ठा बनाउन हुँदैन।
- सही विचार प्रस्तुत गर्छु, फरक मत राखिरहनु पर्दैन, त्यही पेश गर्छु। यो इतिहास हो। इतिहासको रूपमा आउँछ, नीति रूपमा आउँछ।
- विधान महाधिवेशन तीन दिन हुन्छ । एक दिन दस्तावेज प्रस्तुत, एक दिन छलफल र एक दिन समापन हुन्छ।
- विधान अधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा महाधिवेशनमा हिसाब-किताब गरिन्छ।
- साथीहरूको आमचाहना र समयको मागअनुसार म स्वस्थ भएकाले कार्यकाल र ७० वर्षे आवश्यकता रहेन।
- रवि लामिछानेलाई मैले नै बनाएको हो ।
- राजेन्द्र लिङ्देनले झापामा जितेका छन् । हिजो पनि हामीले सहयोग गरेका हैँ ।
- राष्ट्रियताबारेमा हामी राजनीति गर्दैनौँ।
प्रतिक्रिया