आज विधिपूर्वक स्कन्दमाताको पूजाआराधना गरियो « Khabarhub

आज विधिपूर्वक स्कन्दमाताको पूजाआराधना गरियो


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिनेमा यस वर्ष चतुर्थी तिथि वृद्धि भई छैटौँ दिन स्कन्दमाताको पूजाआराधना गरिएको हो ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनिमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् । 
 
पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनि प्रदान गरेर ठूलो अनुग्रह गरिन्। भोक लागेका बेला जङ्गलका काँडा चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु र मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन् ।
 
ऋषिको जवाफबाट पार्वती प्रभावित हुँदै भनिछन् ‘ऋषि तपाईं ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्त्व नबुझी मैले श्राप दिएँ, त्यसबाट मलाई ठूलो पश्चाताप छ, अब म तपाईंलाई पुत्रका रूपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहनगएको भन्ने कथामा उल्लेख छ । स्कन्दको अर्थ सनतकुमार हो ।

स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ । छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनतकुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती स्कन्दमाताका नामले कहलाइएको हो । 
  
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । 

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । 

दोस्रो दिन मंगलबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौँ दिन शुक्रबार चतुर्थी तिथि परेकाले कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । 

छैटौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिएको हो । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । नवरात्रको छैटौँ दिन आइपुग्दा शक्तिपीठमा पनि घुइँचो बढ्न थालेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ०८ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न