अदालतमा आगो लगाएपछि चौतारातिर खुल्यो ‘जनअदालत’ | Khabarhub Khabarhub

अदालतमा आगो लगाएपछि चौतारातिर खुल्यो ‘जनअदालत’


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशका दर्जनौँ अदालतमा आगो झोसियो। जिल्लादेखि सर्वोच्च अदालतसम्ममा आगो झोसिँदा हजारौँ मुद्दाका फाइल ध्वस्त भए ।

त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी, कांग्रेस र एमाले नेता मुछिएका नक्कली शरणार्थीसहित गम्भीर प्रकरणका मुद्दाका फाइल पनि आगजनी गरेर खरानी बनाइयो ।

सर्वोच्च अदालतमा लागेको आगो तीन दिनसम्म ननिभ्दा ललितपुर महानगरपालिकाको दमकल बोलाएर निभाउनु परेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बताइसकेका छन् ।

उक्त आगजनीपछि अदालतहरूले अझै पनि सबै मुद्दाको सुनुवाइ अघि बढाउन पाइरहेका छैनन् । सर्वोच्च अदालतका इजलास अहिले त्रिपालमुनि चलिरहेका छन् ।

राज्य संयन्त्र नै बिफल बनाउने गरी भएको उक्त विध्वंशपछि उदेक लाग्दा अनेक दृश्य देखिन थालेका छन् ।

त्यस्तै उदेक लाग्दो दृश्यसहितको ब्यानरको तस्बिर अधिवक्ता कृष्ण महराले सोमबार सामाजिक सञ्जालमा सार्वजनिक गरे।

ललितपुरको बगलामुखी मन्दिरनजिकैको चौतारोमा टाँसिएको थियो माओवादीले १० वर्षसम्म चलाएको युद्धका क्रमा अभ्यास गरेको ‘जनअदालत’को ब्यानर ।

‘जनअदालत’का नाममा टाँगिएको उक्त ब्यानरमा नोटमा लेखिएको छ, ‘सहकारी, लघुवित्त, बैंक, चेक बाउन्स वा अन्य सरकारी कार्यालयबाट पीडित जनताले न्यायको लागि सम्पर्क गर्नुहोला ।’

‘यस्तो ब्यानर देखेर म आश्चर्यचकित भएँ’, अधिवक्ता महराले खबरहबसँग भने, ‘यसले देशमा विधिको शासन हराउँदै गएको देखियो । यो दृश्य देखेपछि दण्डहीनता बढ्दै गएको महसुस भएको छ । यो राज्य र न्यायप्रणालीला चुनौती हो ।’

महराले यस्तो गतिविधिले नागरिकले राज्यविहीनताको महसुस गर्ने पनि बताए । ‘यसले नागरिकहरू राज्यविहीन अवस्थाको महसुस गर्न थालेको लाग्यो’, उनले भने, ‘सरकारले देशमा आफ्नव उपस्थिति भएको महसुस गराउनु आवश्यक छ।’

के भन्छन् यसका सञ्चालक ?

माओवादीले १० वर्षे संघर्षका क्रममा आफूले ‘कब्जा गरेको’ क्षेत्रमा यस्तै ब्यार टाँगेर जनअदालत चलाउँथे । त्यसबेला जासुसी गरेको, सामन्ती भएको, प्रहरी र सेनामा लागेको, वैदेशिक रोजगारीमा पठाएको, भनेजति चन्दा नदिएको आदि आरोपमा माओवादीले ‘जनअदालत’ खडा गरेर कारबाही गर्थे ।

कसैलाई श्रमशिविरमा पठाइन्थ्यो, कसैलाई गोली हानेर ज्यान लिइन्थ्यो, कसैलाई अंगभंग गरिन्थ्यो । यी सबै काम माओवादीले ‘जनअदालत’का नाममा गर्थे ।

अहिले त्यसैलाई कपी गर्दै संघीय राजधानीको सहरका चौतारोमा ‘जनअदालत’को ब्यानर टाँगिएको छ।

आखिर यो ब्यानर किन टाँगियो त ? हामीले यो ब्यानरमा राखिएको ९८५१४०३०४३ नम्बरमा सम्पर्क गर्‍यौँ । सुरूमै यो फोनमा बोलेका व्यक्तिलाई आफ्नो परिचय क. लेनिनका रुपमा दिए ।

उनले भने, ‘तपाईंलाई हाम्रो ‘जनअदालत’बाट के-कस्तो सेवा चाहिएको हो ? हामी तयार छौँ ।’ त्यसपछि हामीले परिचय दिएर होइन, होइन, सेवाभन्दा पनि समाचारका लागि फोन गरेका हौँ, यसबारे विस्तृतमा बताइदिनुपर्‍यो भनेर सोध्यौँ ।

त्यो ब्यानर टाँगिएकोबारेमा ती क. लेनिन नाम गरेका व्यक्तिले अगाडि भने, ‘हामी पहिलेको माओवादी पार्टीकै मान्छे हो । हामी वरिष्ठ वकिलहरू राखेर मुद्दाको छिनोफानो गर्छौँ । यो ब्यार टाँगिएको ठाउँ सम्पर्क कार्यालय हो । राजनीतिक कार्यालय हो ।’

त्यसपछि सोधखोज गर्दै जाँदा उनले जसलाई न्याय चाहिएको हो, आफूहरू त्यहीँ पुग्ने पनि बताए । हामीलाई पनि उनले लोकेशन कहाँ हो ? हामी तत्कालै वकिलसहित न्याय दिन आइजान्छौँ भन्ने जवाफ दिए ।

‘जहाँ न्याय चाहियो त्यहाँ आउँछौँ । अहिले हामीकहाँ धेरै मान्छे सम्पर्कमा आएका छन् । कानुन बमोजिम हामी जुनसुकै मुद्दा मिलाउँछौँ’, उनले अगाडि भने, ‘हामी हाम्रो जनअदालतमा दुवै पक्षलाई झिकाएर मुद्दा मिलाउने काम गर्छौँ । कसको गल्ती हो, हामी फास्ट ट्रयाकबाट न्याय दिलाउने काम गर्छौँ । अहिलेका सरकारी अदालत जस्तो मुद्दा झुलाउँदैनौँ । लामो मुद्दा खेप्ने झन्झट हुँदैन । ’

उनले यति भनेपछि हामीले सोध्यौँ, ‘तपाईंको जनअदालतले मुद्दा मिलाउने नाममा भाटे कारबाही पनि गर्ला, कुटपिट पनि गर्नुहोला ? यो त कानुनविपरीत हुन्छ नि ?’

त्यसपछि उनले जवाफ दिँदै भने, ‘हामी त्यस्तो कुटपिट र धरपकडमा विश्वास गर्दैनौँ । दुवै पक्ष बोलाउँछौँ, तुरुन्तै न्याय दिलाउँछौँ ।

त्यसपछि फेरि सोध्यौँ, ‘सरकारको अदालत छ, कानुन बमोजिम कारबाही र न्याय निरुपण त राज्यका निकायले, राज्यका संयन्त्रले गर्ने होला नि ?’

यो प्रश्नपछि उनले हिजो माओवादीले युद्धका क्रममा गरेकै अभ्यासलाई आफूहरूले निरन्तरता दिएको बताए । ‘हामी पुरानै माओवादी हो । हाम्रो काम जनताको सेवा गर्ने हो । हाम्रो अदालतबाट झमेलामा नपारी मिलाइदिने काम हुन्छ’, उनले भने, ‘सरकारी अदालतबाट चार-पाँच वर्षसम्म झुलाइदिने काम हुन्छ । हामीसँग १० औँ हजार कार्यकर्ता छन्, हामी तुरुन्तको तुरून्त न्याय दिलाउने काम गर्छौँ ।’

तर त्यसपछि हामीले उनलाई फेरि सोध्यौँ, ‘कमरेड लेनिन भनेको तपाईं हो कि अरू हो ? यस पटक उनी अक्मकाए । सुरूमा आफैंलाई क. लेनिन भनेका उनले अन्तिममा आफू वकिल मात्रै भएको बताए ।

‘हामी कमरेड लेनिनको नेतृत्वमा अघि बढेका हौँ । हाम्रो समूहमा पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवका पनि नेता-कार्यकर्ता छन्’, उनले भने, ‘हामी वकिल पनि छौँ । हामी जिल्लादेखि सर्वोच्च अदालतसम्म वकालत गर्ने वकिल पनि जनअदालतका लागि काम गर्छौँ ।’

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ४६ बजे

प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्

दोलखाको मिर्गेबाट वार्षिक डेढ करोडको अलैँची निर्यात 

दोलखा– जिल्लामा यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान

मधेशका गाउँगाउँमा मनाइयो छठ

काठमाडौं– छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका व्रतालुहरू

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं– सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा

‘जेरी अनटप’को व्यापार साढे ६ करोड नाघ्यो, समीर स्टारर ‘बलिदान’ ५ करोडमै सीमित

काठमाडौं – नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले