'केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?' | Khabarhub Khabarhub

बहसमा पाथीभरा

‘केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?’

पाथीभरा–मुक्कुमलुङको पहिचान मेटिने आन्दोलनकारीको चिन्ता


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनको पूजाविधि शिखरमा पुग्नुभन्दा दुई किलोमिटर तलबाटै शुरु हुन्छ । फेदीमा रहेको प्रवेशद्वारलाई ढोगेर बाटोमा रहेको कान्छीथानमा पूजाआजा गरी धागो टाँगेर डाँडासम्म उक्लने प्रचलन छ ।

करिब अढाई– तीन घण्टाको उकालो बाटोमा कष्टसाध्य हिँडेपछि देवी खुशी हुन्छिन् भन्ने धार्मिक मान्यता छ । तर, केबलकार बनिसकेपछि यो मान्यता खण्डित हुने स्थानीय पहिचान पक्षधरहरुको तर्क छ ।

कात्तिक २३ गते पाथीभरामा प्रहरीको आक्रमणबाट घाइते भएका स्थानीय युवा चन्द्र मादेनले निश्चित व्यक्तिलाई फाइदा पुग्ने गरी केबलकार निर्माण कार्य पाथीभराको धार्मिक एवं सांस्कृतिक मान्यताको विरुद्धमा भएको बताए ।

‘मुक्कुमलुङको मुख्य अर्थ भनेको कान्छीथानबाट धागो नटुंग्याइकन माथि पुर्याउनुपर्छ भन्ने धार्मिक मान्यता छ’, मादेन भन्छन्, ‘केबलकार लगेर संस्कृतिको इतिहास मेटेपछि तीर्थस्थलको मान्यता नै के रह्यो र ?’

केबलकार निर्माण गर्दा त्यसले वातावरण तथा पर्यावरणीय क्षेत्रमा पार्ने प्रभावको विषयमा कुनै अध्ययन तथा प्रतिवेदन नै पेस नगरी जर्बजस्ती रूपमा काम अगाडि बढाइएको मादेनको आरोप छ । ‘पर्यावरणको रिपोर्ट पनि पेस गरिएको छैन, तैपनि चन्द्र ढकाल नै सरकारजस्तो गरेर प्रहरी पनि थपेको थप्यै छ, हुँदाहुँदा अहिले नांगो रूपले जनतालाई दमन समेत गर्न थालिएको छ’, मादेनले भने ।

पाथीभरा मुक्कुमलुङ बचाऊ आन्दोलनमा सहभागी अर्का स्थानीय टंकबहादूर लिम्बूले विश्वका कुनै पनि धार्मिक तीर्थस्थलमा केबलकार चढेर जाने परम्परा नभएको भन्दै केबलकार चढेर सिधै टाउकोबाट शक्तिको दर्शन गर्ने काम मान्य नहुने बताए ।

‘मुक्कुमलुङ हामी लिम्बु जातीहरूको धार्मिक तीर्थस्थल हो, त्यसमा हाम्रो आस्था छ, संस्कार छ, हाम्रो सुरुवातदेखि नै यो हाम्रो शक्ति केन्द्र हो’, उनी भन्छन्, ‘कुनै पनि धार्मिकस्थलमा जाँदाखेरि सोझै टाउकोमा गएर दर्शन गरिँदैन, पाथीभरा–मुक्कुमलुङमा पनि २ किलोमिटरमुनि कान्छीथान भन्ने ठाउँबाट पूजा गर्ने काम सुरु हुन्छ, दर्शन गर्ने ठाउँसम्म हामी हिँडेर जानुपर्छ, केबलकार लगियो भने सोझै माथि जाने र फर्केर जाने काम हुन्छ ।’

जनताको पहिचान र संस्कृतिमाथि धावा बोल्दै सरकार र निर्माण पक्षले गरेको दमनप्रति आफूहरूको घोर आपत्ति र भर्त्सना रहेको लिम्बूले बताए । ‘एउटा व्यक्ति चन्द्र ढकालको लागि सरकार आफैँ लागेको छ, भएन भनेर अस्तिदेखि मान्छे समेत मार्न लाग्यो, यो सरकारले कस्तो जनतालाई शासन गर्न खोजेको छ’, लिम्बुले प्रश्न गरे ।

मुक्कुमलुङ–पाथीभरामा चलेको आन्दोलन राजधानीसम्म आइपुगेको छ । प्रहरी परिचालन गरेर एकपक्षीय रूपमा पाथीभरामा केबलकार निर्माणको काम अगाडि बढेको भन्दै स्थानीय समुदाय आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको प्रभाव काडमाडौंसम्म

केबलकार निर्मातासमेत रहेका चन्द्र ढकालको स्वामित्पवमा रहेको आइएमई ग्रुपद्वारा सञ्चालित ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय कमलादीमा मंगलबार प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरे ।

यो पनि-

काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन (तस्बिरहरू)

गत कातिक २३ गते स्थानीय जनताको विरोधबीच पाथीभरा मुक्कुमलुङ केबलकार कम्पनीले केबलकार निर्माणको शिलान्यास गरेको थियो । स्थानीय समुदायको विरोधमा प्रहरीले हस्तक्षेप गर्दा केही व्यक्तिहरू घाइते भएका थिए ।

त्यसपछि सरकारले जनपथ र शसस्त्र प्रहरीको ठूलो शक्ति केन्द्रित गरेर एकपक्षीय रूपमा केबलकार निर्माणका थालेको आन्दोलनकारीहरु बताउँछन् ।

स्थानीयले ‘नो केबलकार समूह’ गठन गरेर संघर्ष सुरु गरेका छन् ।

गत शनिबार पाथीभराको फेदीमा प्रहरी र स्थानीयबासीबीच ठूलो झडप हुँदा प्रहरीको गोलीबाट ३ जना आन्दोलनकारी गम्भीर घाइते बने ।

मंगलबार काठमाडौं कमलादीस्थित ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिएका आन्दोलनकारीहरूले केबलकार निर्माणको विरोधमा आफूहरूको आन्दोलन सुरुवात भएको बताएका छन् ।

लिम्बु समुदायको मुख्य तीर्थस्थलका रूपमा रहेको मुक्कुमलुङको धार्मिक, सांस्कृतिक पहिचान नष्ट गर्नेगरी केबलकार निर्माण गर्ने विषयमा आफूहरू सहमत हुन नसक्ने आन्दोलनकारीको भनाइ छ ।

यो पनि-

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !


प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ११ : ०४ बजे

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

केप क्यानभेरल – नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष

ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

काठमाडौं – केबलकार निर्माण खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहले आयोजना

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक

तनहुँ र पाल्पा जोड्ने मोटरमार्ग आठ वर्षदेखि अलपत्र

तनहुँ – पाल्पाको रामपुर र तनहुँको घिरिङ हुँदै पृथ्वीराजमार्ग जोड्ने

विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

वासिङ्टन – अमेरिकामा बुधबार राति भएको विमान दुर्घटनामा कोही पनि