स्वास्थ्य सेवाको गुणस्तर र संरचनाले फेरिएको दुर्गमको कोल्टी अस्पताल | Khabarhub Khabarhub

सुदूरपश्चिम

स्वास्थ्य सेवाको गुणस्तर र संरचनाले फेरिएको दुर्गमको कोल्टी अस्पताल

सुदूर र कर्णालीका चार जिल्लाका बिरामीको रोजाइ


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी– कोल्टी अस्पताल कोल्टीमा केही वर्ष पहिला न औषधी पाइन्थ्यो, न त स्वास्थ्य कर्मी नै नियमित भेटिन्थे । तैपनि आधारभूत परामर्शसहितको सेवा बाहेक दिन सक्ने न जनशक्ति थियो । न त संरचना नै । भएको संरचना पनि सफा र व्यवस्थित नै थिएनन् । 

उपचारका लागि आवश्यक औजार उपकरण धेरै टाढाको कुरा भयो । बिरामी निको हुन भन्दा थप पीडा लिएर फर्किनु पर्ने बाध्यता थियो ।

संघीय संरचनापछिका चार वर्ष बढी समय पनि अस्पताल चिकित्सक विहीन नै बन्यो । सामान्य चेकजाँच गराउने आउनेहरूले पनि निजी मेडिकल प्रति विश्वास गरे । अस्पताल जानेको संख्या नै घट्यो । त्यो बेला हालको आधारभूत अस्पताल कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा थियो । आएका स्वास्थ्य कर्मी माथि आक्रमण हुने र असुरक्षित ठानेर बस्नै नमान्ने गरेको आरोप समेत लाग्यो ।

बिरामी हुनेहरूका लागि जहाज र पैदल यात्रा बाहेक विकल्प थिएन । उपचारका लागि बीच बाटोमै दर्जन बढीले ज्यान गुमाए । कतिले थप उपचारका लागि जिल्ला बाहिर जाने आर्थिक श्रोत नपाएरै अकालमा ज्यान फाले । आर्थिक र मानवीय दुबैतिर स्थानीयले नोक्सानी बेहोर्नु पर्‍यो । तर २ वर्षयता त्यो समस्या घटेको देखिन्छ । २०७८ सालपछि डाक्टर राजुराज जोशी आए । त्यो पछि केही समय बाहेक चिकित्सक नियमित बस्ने गरेका छन् ।

प्रदेश सरकारले गएको आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोल्टीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्ने निर्णय गर्‍यो । १५ शय्या क्षमता राखेर स्तरउन्नतीको निर्णय भइसकेको छ । तर बजेटसहितको व्यवस्था नहुँदा केही समस्या र पालिकालाई आर्थिक भार थपिएकै छ ।

स्वास्थ्य कर्मी, खानेपानी, बासको असुरक्षा जस्ता समस्याले मात्रै झेलिएको कोल्टी आधारभूत अस्पताल हाल सेवाको गुणस्तर र संरचनाको रंगरोगनले लोभलाग्दो र बिरामीका लागि आकर्षक बनेको छ । हाल अस्पतालमा विशेषज्ञ डाक्टरसहित ३७ जना स्वास्थ्य कर्मी कार्यरत छन् । कुनै बेला ७ जना कर्मचारीको भरमा अस्पताल चलाउनु पर्ने बाध्यता थियो । यो अस्पताल बाजुरा सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका बिरामीको रोजाइमा पनि पर्छ ।

उनीहरूका लागि भूगोलले पनि कोल्टी नजिक पर्ने, सेवा गुणस्तरमा पनि विश्वास बढेको र विमान स्थल र हाटबजारका हिसाबले पनि पहिलो रोजाइ कोल्टी आधारभूत अस्पताल देखिन्छ । पालिकामा आएको नयाँ नेतृत्वले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गरेको स्वयम स्वास्थ्य कर्मीले नै बताउने गरेका छन् । सिटामोल समेत निजी मेडिकलमा किन्नु पर्ने अवस्थाबाट अप्रेसन सेवा विस्तारसम्म अस्पताल आइपुगेको भन्छन्, बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाही ।

अस्पतालमा सेवा लिन दैनिक १ सय बढी बिरामी आउने गरेको सूचना अधिकारी प्रेम नेपालीले बताए । आइतबार सबैभन्दा धेरै हुन्छन् । शनिबार र शुक्रबार कम चाप हुने गरेको भए पनि बाँकी दिन ओपीटीसेवा समेत नियमित चलिरहेको नेपालीको भनाई छ । 

सेवाको गुणस्तर र स्वास्थ्य संस्थाप्रतिको विश्वासकै कारण बिरामीको रोजाइमा परेको दाबी कार्यालय प्रमुख समेत रहेका विशेषज्ञ डाक्टर रन्जीत कुमार शाहको छ ।

शाह स्वयं बिहान, दिउँसो र साँझ अस्पतालमा बिरामीसँगै भेटिने गरेका छन् । बिरामीको फलो धेरै छ । पालिकाले पछिल्लो समय सुविधा विस्तार, संरचना विकास र सेवाको गुणस्तरमा विशेष ध्यान दिइरहेको छ, त्यही कुरालाई ध्यानमा राखेर आफैले समय बढी दिने गरेको भनाई डाक्टर शाहको छ । अस्पतालमा ल्याब देखि फार्मेसी र ओपीटी सेवा हाल नियमित सञ्चालनमा छ ।

अक्सीजन प्लान्ट र रक्त सञ्चार सेवालाई समेत विस्तार गर्न अस्पताल सक्रिय देखिन्छ । अस्पतालको रंग नै फेरिएपछि स्वास्थ्य कर्मी स्वयम दंग छ । गरिबीले थला परेका विपन्न बिरामीका लागि दुर्गमकै रोजाइको अस्पताल बनाउने लक्ष्यमा नगरपालिका देखिन्छ ।

कुण्डा क्षेत्रका चार पालिका र छिमेकी जिल्ला मुगु, हुम्ला र कालिकोटका विपन्न परिवारका बिरामीको जीवन रक्षक नै बनाउने उद्देश्य रहेको भन्छन्, अस्पताल व्यवस्थापन समिति अध्यक्ष एंव बुढीनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहरा ।

बोहरा नेतृत्वको जनप्रतिनिधिको टिम आएपछि अस्पतालले आफ्नो स्वरूप फेर्न थालेको छ । सोलार जडान गरिएको, कार्यालय व्यवस्थापन गरिएको छ । कवाडी बनेका शौचालयहरू सफा चिटिक्क र बिरामी मैत्री बनाइएको छ । 

पहिला अस्पताल जस्तै थिएन, फोहरमात्रै थियो, आजभोलि घरभन्दा सफा र राम्रो बनाएको भन्छन्, पेट दुख्ने विरामको उपचारका लागि अस्पताल पुगेकी मुगु सुकाढिलकी नानी कार्की । रातापानीमा प्राथमिक स्वास्थ्य केन्द्र भए पनि कोल्टी आएपछि मात्रै निको हुने विश्वास कार्कीको छ ।

बुढीनन्दा नगरपालिकाले स्वास्थ्य संस्था स्तरोन्नति/संचालन तथा व्यवस्थापन कार्यविधि २०८० पास गरी नगर सभाबाट अनुमोदन गरेर कोल्टी आधारभूत अस्पताल सञ्चालन गरिरहेको छ । अस्पतालबाट हाल सिआर एक्स-रे सेवा, आकस्मिक प्रसूति सेवा सञ्चालन गरिरहेको छ । २ वर्षयता २४ जना  गर्भवतीको शल्यक्रिया मार्फत सुत्केरी सेवा उपलब्ध गराइसकेको छ ।

आँखा, दाँत उपचार सेवा, अस्पतालको आन्तरिक श्रोतलाई व्यवस्थापन गर्न विलिङ सफ्टवेरको व्यवस्थापन, स्वास्थ्य वीमा कार्यक्रम, प्रयोगशालालाई डिजिटलाईज गरिएको,र एनालाईजरहरु थप गरेको अवस्था छ । अस्पतालले नगरपालिकाबाटै निर्णय गराएर लक्षित वर्ग छुट्याई बिरामी जाँचमा २० प्रतिशत र औषधीमा १० प्रतिशत छुट दिने गरेको छ ।

बजार र विमान स्थल भएर मात्र नगरको परिचय पूरा हुन नसकेको कोल्टी पनि यति बेला फेरिएको छ । गाउँ धेरै टाढाको कुरा पालिकाको केन्द्रमै पानी र बिजुली, स्वास्थ्य र खाद्यान्न, फोन र इन्टरनेट कुनै सुविधा पाँच वर्षसम्म सहज भएका थिएनन् । अहिले ती सुविधाहरु स्थानीयले सहज उपयोग गर्न पाएका छन् । वर्षेनी २० हजार बढी बिरामी उपचारका लागि मात्रै आधारभूत अस्पताल कोल्टी आइपुग्ने गरेका छन् । गरिबी र विपन्नतालाई संशोधन गर्न पनि अस्पतालको सेवा सुधार अति जरुरी देखिन्छ ।

कोल्टीमा २५ शय्याको अस्पताल निर्माणको तयारी

गुणस्तरकै कारण कोल्टी क्षेत्रका चार वटा स्थानीय तह र छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीय स्वास्थ्य सेवा लिनकै लागि कोल्टी पुग्ने गरेका छन् । यो सबै काम नयाँ व्यवस्थापन समिति र पालिकामा नयाँ नेतृत्व आइसकेपछि भएको दाबी नगर उपप्रमुख रामबहादुर बोहराको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नगर प्रमुख जनक कुमार बोहरा स्वयम छन् ।

कुण्डा क्षेत्रकै अस्पतालका रूपमा विकास गर्न पालिका लागि परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले १५ शय्याको आधारभूत अस्पतालको स्वीकृति दिने बताए पनि पालिकाले २५ शय्याको अस्पताल निर्माण गर्नलागि परेको छ । छिमेकी जिल्ला र चार पालिकाका जनप्रतिनिधिलाई राखेर २५ शय्या अस्पताल निर्माणको सम्झौता बुढीनन्दा नगरपालिकाले गरिसकेको छ ।

अमेरिकी संस्था जिइआइले निर्माण गर्ने लिखित सम्झौता गरिसकेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । विदेशी संस्थाका प्रतिनिधिसँग १३ वटा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य कर्मीसहितले छलफल तथा अन्तरक्रिया गरिसकेका छन् ।

कोल्टी बाजुराको सदरमुकाम मार्तडी पछिको ठूलो व्यापारी केन्द्र हो । सुर्खेत, नेपालगञ्ज, धनगढी जानुपर्ने, हवाईसहितको महँगो भाडा तिर्नु पर्ने र दुरी लामो हुँदा बीचमा ज्यान गुमाउनु पर्ने अवस्थाको अस्पताल निर्माण पछि अन्त्य हुने नागरिक समाजका अगुवा सर्पलाल गिरीको विश्वास छ ।

२५ शय्या क्षमताको अस्पताल निर्माण गर्न सके कुण्डा क्षेत्र र छिमेकी जिल्लाका नागरिकलाई स्वास्थ्य उपचार सेवा लिन सहज हुने देखिएको छ । सुविधा सम्पन्न अस्पताल निर्माण पछि पालिका स्तरमा थप स्वास्थ्य कर्मीको दरबन्दी राख्न र प्रत्येक पालिकाले डाक्टर नियुक्तिलाई ठूलो आर्थिक भार बेहोर्नु पर्ने बाध्यता अन्त्य हुने देखिन्छ ।

यो सहित बुढीनन्दा नगरपालिकाले नेपालगन्ज स्थित कान्ति आरोग्य अस्पताल बीच बिमानस्थल (एअरपोर्ट), बसपार्क देखि कान्ति आरोग्य अस्पताल सम्म निःशुल्क एम्बुलेन्स सेवा दिने, विशेषज्ञ बहिरंग ओपीडी सेवामा ५० प्रतिशत छुट दिने, प्रयोगशाला, एक्स–रे, शय्या(बेड)मा २० प्रतिशत छुट दिने र औषधि, अप्रेसन, इको, भिडियो एक्स–रे मा समेत १० प्रतिशत छुट दिने सहमति गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १० : १९ बजे

दुर्घटनामा एक जनाको मृत्यु

बनियानी – झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक

परराष्ट्रमन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

काठमाडौं – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग ९एनएसएल० फुटबल

आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्न्तगत जारी खेलमा रोयल

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप