पोखरा– निकै विवादित बन्दै आएको घरेलु मदिराको उत्पादन र बिक्रीलाई गण्डकी प्रदेश सरकारले कानुनी मान्यता दिने तयारी गरेको छ । जुन अहिले नेपालमा कानुनको अभावमा अवैध छ ।
अहिले नेपालमा घरेलु मदिरा उत्पादन गर्ने र बिक्री गर्ने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रण गरेर नष्ट गर्दै आएको छ, जबकि विदेशी मदिरा भने खुल्ला रूपमा बिक्री र उपभोग हुन्छ । निकै विवादित बनेको यो घरेलु मदिरालाई अन्नत प्रदेश सरकारले कानुनको रूप दिन लागेको हो । प्रदेश सरकारले बिहीबार ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेको गण्डकी प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।
हाल नेपालमा घरेलु मदिरा उत्पादन गर्न पाइँदैन । विदेशी यस्ता मदिरा भने नेपालमा खुलमखुला बिक्री भइरहेको छ । सोही कुरालाई मध्यनगर गरेर प्रदेश सरकारले मदिरा र मदिराजन्य पदार्थको आयात प्रतिस्थापन गर्दै स्थानीय जनता र समग्र प्रदेशको आर्थिक वृद्धिका लागि विधेयक दर्ता गरेको प्रदेश सरकारले जनाएको छ ।
त्यसका लागि भने प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने छ । प्रदेश सरकारले ल्याएको विधेयकमा व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन संकलन प्रशोधन प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरण गर्न पाउँदैन । । यद्यपि धर्म, संस्कृत वा परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजत पत्र लिनु नपर्ने व्यवस्था विधेयकमा छ ।
उद्योग दर्ता गराउन भने प्रदेश सरकारले ७ वटा सर्त तेर्स्याएको छ । स्थानीय तहको सहमति, स्थान, आवश्यक पर्ने भाँडा, मेसिनरी सम्बन्धी विवरण । यस्तै, घरेलु मदिरा उत्पादनका लागि चाहिने अन्न तथा फलफूल जस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्र उल्लेख गर्नुपर्ने छ । उद्योग स्थापनका लागि उद्योग रहेन स्थानको साँध सँधियारहरुको मञ्जुरीनामासहितको स्थानीय मुचुल्का आवश्यक पर्ने छ ।
घरेलु मदिरालाई गण्डकी प्रदेश भित्रका कृषि सहकारीलेसमेत दर्ता गर्न सक्नेछन् । यस्तो मदिरामा अन्य मिसावट गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकले गरेको छ । यद्यपि अन्न वा फलफूलमा मर्चाको प्रयोग गरी उत्पादन गर्न पाइनेछ ।
मदिरा बनाउने अन्न, फलफूल र जडिबुटीसमेत प्रदेश सरकारले तोकिदिएको छ । कोदो, फापर, उवा, जौ, गहुँ, मकै, मध्ये कुनै एक हुनुपर्छ वा, स्याउ, सन्तला, खुर्पानी, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर, जस्ता फलफूल र जडिबुटीबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ । मदिरालाई स्वादमा मिठास दिन अन्य कुनै खाद्य पदार्थको न्यून परिणमममा मिश्रण गर्ने सकिने व्यवस्था गरिएको छ ।
मदिराको गुणस्तर कायम गर्न पनि विधेयककै मापदण्ड तोकिएको छ । मर्चा जस्ता पदार्थ सफा, स्वच्छ र स्वस्थ्यकर पदार्थ हुनुपर्ने, भाँडा र औजारहरु स्वच्छ, अखाद्य वस्तु मिसाउन नहुने, सरुवा वा संक्रमित रोेग लागेका व्यक्तिलाई उत्पादन, प्रशोधन तथा प्याकेजिङको काम लगाउन नपाइने व्यवस्था विधेयकमा छ ।
उद्योग दर्ता गर्ने बेलामा वार्षिक कति परिणम उत्पादन गर्नुपर्ने हो, खुलाउनुपर्ने विधेयकमा व्यवस्था छ । प्रदेश सरकारले तोकेको अधिकारीले जुनसुकै बखत घरेलु मदिरा र त्यसको चुहान ९डिस्टिलेसन०मा जाने पदार्थको अल्कोहलको मात्र जाँच गर्न सक्नेछ । यस्ता उद्योगले अल्कोहलको मात्र एक प्रतिशतभन्दा बढी फरक वा गुणस्तरमा उल्लेखनीय रुपमा फरक पार्न पाइने छैन । प्रदेश सरकारले विधेयकमा मदिराको प्याकेजिङ गर्दा प्लाष्टिकको बोतल वा पाउचमा राख्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।
मदिरा उत्पादकले फरमेन्टेसन गर्दा प्रयोग गरेको कच्चा पदार्थ पानीको मात्र सम्बन्धी विवरण बुझाउनुपर्ने छ । यस्तै मदिरा बनाउन प्रयोग गरेका अन्न वा फलफूलको हिसाब राखी त्यसबाट के कति मदिरा उत्पादन भयो सोको विवरण तथा त्यस्तो अन्न वा फलफूल उत्पादन गरिएको क्षेत्र उत्पादक वा आफूर्तिकर्ताको विवरण राख्नुपर्ने पनि उल्लेख छ । यस्तो मदिरालाई वर्गीरकण भने गर्न सकिने जनाइएको छ । जस्तो, फलफूलबाट बनेको, जडीबुटीबाट बनेको, अन्नबाट बनेको भनेर वर्गीकरण गर्न सक्ने विधेयकमै व्यवथा छ ।
तर, प्रचलित कानुन बमोजिम विपरीत मदिराको बिक्री वितरण गरे कडा कानुनको व्यवस्था समेत गरिएको छ । यस्ता उद्योगले इजाजत प्राप्त फर्म बाहेक अरुलाई त्यस्तो मदिरा खुद्रा वा थोक कुनै पनि प्रकारले बिक्री वितरण गर्न पाउने छैन ।
विद्यालय, धार्मिक स्थल, सार्वजनिक स्थलमा मदिराको बिक्री वितरण गर्न पाइने छैन । यद्यपि परम्परागत रुपमा मन्दिरमा चढाँइदै आएका देवी देवताका मठ मन्दिरमा भएको प्रयोगलाई भने यो ऐन जारी भएपनि बाधा पुर्याउने छैन । तर, प्रदेश सरकारको ऐन बाहिर पुगेर मदिर बिक्री वितरण गरे १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया