म्याद सकिएको दुई वर्षपछि रावण पार्क निर्माण थालियो | Khabarhub Khabarhub

म्याद सकिएको दुई वर्षपछि रावण पार्क निर्माण थालियो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो । 

योजनाका बारेमा नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा आव २०७९-८० र २०८०-८१ मा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि निर्माण ४४ महिनासम्म निर्माण रोकिएको थियो । लामो समयको प्रयासपछि बजेट व्यवस्थापन गरेर २०७८ साल असारदेखि रोकिएको रावण पार्क निर्माणकार्यलाई लयमा फर्काएको बेनी नगरपालिका-५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए। 

‘पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माणको काम करिब सकिएको छ । रावणको मूर्ति राख्ने ठाउँमा जग खन्न थालेका छन्’, उनले भने, ‘जसोतसो पार्क बन्ने देखिए पनि सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो नलागेसम्म रावणको मूर्ति राख्ने विषयमा अन्योल सृजना भएको छ ।’

ठेकेदारले १८ लाख खर्चेर पार्कमा राख्ने छ मिटर अग्लो रावणको मूर्ति तयार पारेका छन् । पर्वतका केदारनाथ दासले गत असारमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा रावणको प्रतिमा नराख्न अन्तरिम आदेश दिएको थियो । 

ऋषिमुनिहरूले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्कसहित परेको मुद्दामा अदालतबाट फैसला हुन भएको ढिलाइले अन्योल भएको वडाध्यक्ष बानियाँले बताए। पछैस्थित पुलाश्रम मन्दिरका पुजारी जगदीश सुवेदीका अनुसार हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नावी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ । 

करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् । 

घेराबारका लागि पर्खाल निर्माण भइसककेको छ । पार्क निर्माणले पर्यटन प्रवर्द्धन हुने स्थानीयले आशा गरेका छन् । समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रावण पार्क निर्माणस्थल पछैबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ । 

यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गरेका थिए ।  

विसं २०७४ देखि नै बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुनसकेको थिएन । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक करिडोर बनाउने योजना पनि अघि सारिएको छ । 

बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे हुँदै बाँसबोटसम्मको सडक कालोपत्र भएको छ । 
 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ३५ बजे

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव

थुप्रियो विष्णुमती किनारमा फोहोर (तस्बिरहरू) 

काठमाडौं– विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै

सामाजिक सुरक्षा कोषमा नजोडिने कम्पनी नवीकरण नहुने, कति सम्भव छ ?

काठमाडौं– सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थाले

आईपीओ विवाद : अध्यक्ष भन्छन् ‘दोस्रो बजारमा राम्रा कम्पनी जाउन् भन्नेगरी काम गरेका छौं’

काठमाडौं– पछिल्ला केही दिनयता स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का