काठमाडौं – पूर्वपञ्च नवराज सुवेदी, मेडिकल व्यवसायी दुर्गा प्रसाई र विवादित धर्मगुरु आचार्य निवासले नेतृत्व गरेको राजावादीहरुको जुलुसले शुक्रबार हिंसात्मक मोड लियो । काठमाडौंको तीनकुनेस्थित एक निजी घरमा ढुंगा प्रहार गरेर क्षत–विक्षत बनाइयो । त्यतिले मात्र नपुगेर त्यहाँ आगजनीसमेत गरियो । अन्नपूर्ण र कान्तिपुर टेलिभिजनका कार्यालयमा पनि आक्रमण भयो ।
पेरिसडाँडामा सरकारी गाडीमा आगजनी भयो । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट र आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा समेत तोडफोड र लुटपाट भएको खबर आएको छ । भाटभटेनीबाट महंगा रक्सीसमेत लुटेर राजावादीहरुले लगेका छन् ।
सबैभन्दा दुःखद पक्ष भिडन्तका क्रममा दुईजनाको ज्यान गएको छ । २२ जना सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् । राजावादीले घरमा लगाएको आगोमा परेर एकजना पत्रकारको समेत ज्यान गएको छ । व्यक्तिका निजी सम्पत्ति र गाडीहरुमा आगजनी भएका छन् ।
अराजक जत्थाले माधव नेपालको घरमा आक्रमण गरेका छन् । एमाले कार्यालय नजिकै एउटा ट्याक्सी जलाएका छन् । नागरिक उड्डयन प्राधिकरणको कार्यालय नजिकै गरिएको आगजनीले विमानस्थलमा समेत असर गर्दा उडानसमेत अवरुद्ध भएको छ । जडीबुटीमा आगजनी भएको छ । ट्याक्सीहरु जलाइएको छ ।

लोकन्थली र बालकुमारीमा पनि गाडी जलाइएका छन् । रास्वपा नेता सन्तोष परियारलाई गाडीबाट निकालेर उनी चढेको सवारी साधनमाथि आगजनी गरिएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।
राजा फर्काउनुपर्ने माग राखेर गरिएको आन्दोलनमा व्यक्तिको सम्पत्ति साथै सार्वजनिक सम्पत्तिमाथि ढुंगामुढा र आगजनी भएकोमा आयोजक संस्थाले यसको जिम्मा लिनुपर्छ या पर्दैन ? गम्भीर प्रश्न उब्जेको छ । ज्ञानेन्द्र शाहको संरक्षकत्व रहेको दाबी गरिएको यो आन्दोलन शान्तिपूर्ण हो कि हिंसात्मक ? यो पनि आयोजकहरुले स्पष्ट पार्नुपर्ने देखिएको छ ।
प्रहरीले कार्यक्रममा अवरोध गर्यो भनेर मात्र आयोजकले उम्कने स्थिति रहेन । सबै घटनाक्रम हेर्दा प्ररहीले हदैसम्मको संयमता अपनाएको देखिएको छ । तथापि आयोजकहरुले भने आफ्नो कमजोरी स्वीकारेको देखिँदैन ।

‘जनकमाण्डर’ टाप, कार्यकर्ताबाट ‘लुटपाट’
राजावादी आन्दोलनकारीहरुको दाबीअनुसार तीनकुनेमा बनाइएको मञ्चमै ताकेर प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तर, यही बाहनामा आन्दोलनका कमाण्डरहरु भागाभाग भएको देखियो । दुर्गा प्रसाई, रवीन्द्र मिश्र, आचार्य विश्वास, नवराज सुवेदी, धवलसमशेर राणाजस्ता कमाण्डहरु कोही पनि मैदानमा टिकेको देखिएन । उनीहरु घरमै बसेको त कोही टाप कसेको खबरहरु आए । सेनापति नै नभएको लडाइँ कस्तो होला ? कसले लड्ला ?
आन्दोलनका कमाण्डरहरु डरपोक र गैरजिम्मेवार नभएको भए प्रहरीको घेरा नजिकै उनीहरुको उपस्थिति देखिनुपर्ने हो । नेताहरुले सम्वोधन गर्नुपर्ने हो । आफ्ना कुराहरु शान्तिपूर्णरुपमा जनतासमक्ष राख्नुपर्ने हो । प्रहरीले कार्यक्रममा हस्तक्षेप र दमन गरेको भए सो कुरा जनतालाई अपील गर्नुपर्ने हो । तर, त्यस्तो भएन । नेताहरु भागाभाग भए । अराजक भीडले मिडियाका कार्यालय, दलका कार्यालय र नेताका घरघरमा आक्रमण गरे । र, यो आक्रमण नियोजित थिएन भन्ने स्थिति रहेन ।

आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईले नेताका घरघरमा पसेर आक्रमण गर्ने कुरा यसअघि नै बारम्बार गर्दै आएका थिए । यसरी हिंसा भड्काउने प्रसाईका अभिव्यक्ति सामाजिक सञ्जालमा छताछुल्ल छन् । प्रसाईको त्यही आह्वान अनुसार नै शुक्रबार एकीकृत समाजवादीजस्तो कमजोर पार्टीको कार्यालयमा हमला भएको देखिन्छ । भाटभटेनीबाट बियरका बोतलसमेत लुटिएको दृश्यले राजावादीको आन्दोलनलाई अपराधीकरण र लुटपाटमा विद्रूपीकरण गरिदिएको छ । हिन्दुधर्मले रक्सीलाई तामसी चिज मान्छ । हिन्दुराष्ट्रको माग गर्नेहरुले मादक पदार्थको लुटपाट कसको निर्देशनमा गरे ? यसको छानविन आवश्यक छ ।
शुक्रबारको आन्दोलन जसले हाम्रो हो भनेर दाबी गरिरहेका छन्, त्यसक्रममा भएका हिंसात्मक घटनाहरुको जिम्मेवारी ती कमाण्डरले लिने नैतिक आँट गर्लान् ?
जनआन्दोलनको ‘ग्रामर’
जनआन्दोलनको आफ्नै सिद्धान्त, चरित्र र व्याकरण हुन्छ । जनआन्दोलन एक–दुईजना व्यक्तिको चाहनाले हुने कुरा होइन । यसका लागि वस्तुगत र आत्मगत परिस्थिति परिपक्व हुनुपर्दछ । पूर्वराजालाई गद्दीमा फर्कन मन लाग्यो भन्दैमा एक–दुई दिन डाङडाङ–डुङडुङ गर्दैमा आन्दोलन सफल हुँदैन । इराकमा नेपालीको हत्यापछि भएको भदौ–१६ जस्तो अराजकताले क्रान्ति ल्याउन सक्दैन ।
जनआन्दोलन सफल पार्नका लागि नेताहरुमा संयम, धैर्य, अनुशासन र अहिंसाप्रतिको विश्वसनीय प्रतिवद्धता चाहिन्छ । तरु, यस्तो धैर्यता र परिपक्वता दुर्गा प्रसाई, नवराज सुवेदी, रवीन्द्र मिश्र आदिमा देखिएन ।

लोकतन्त्रवादीहरुले लामो आन्दोलन गरेर जनआन्दोलन सफल बनाएका हुन् । अहिलेको परिवर्तन एकै रातमा आतंक मच्चाएर आएको होइन । ०१७ सालमा महेन्द्रले कु गरे । ०३७ सालमा जनमत संग्रह भयो । ०४६ सालमा बल्ल बहुदल आयो । ००७ सालको क्रान्तिको सिलसिलाले ०७२ सालमा संविधान बनेपछि बल्ल एउटा कोर्ष पूरा गरेको हो ।
ज्ञानेन्द्र शाह वा दुर्गा प्रसाईंकै जीवनकालमा राजसंस्था नफर्कन पनि सक्छ । कमल थापा र राजेन्द्र लिङदेनले आफ्नो आस्थाका लागि दशकौं लडिरहनुपर्ने पनि हुन सक्छ । ०८४ अगाडि नै राजा फर्काउँछु भनेर कसैको हुटहुटी गरेर मात्रै जनआन्दोलन उठ्दैन ।
राजावादीहरुले जनताको विश्वास जितेर जनमत बनाउँदै लगेर दुई तिहाई बहुमत ल्याई संविधान फेर्न सक्ने ठाउँ छ । यसका लागि राजावादीहरु मिलेर बलियो पार्टी बनाउनुपर्ने हुन्छ । तर, कमल थापा र राजेन्द्र लिङदेनजस्ता पिल्लरहरुलाई लल्कारेर भुइँफुट्टा व्यक्तिले युट्युव वा टिकटकमा भाषण गरेका भरमा पार्टी निर्माणको लामो प्रक्रिया सार्थक हुन सक्दैन । यो तथ्य शुक्रबार ‘जनकमाण्डर’को मूर्खतापूर्ण कमाण्डिङले सिद्ध गरिदिएको छ ।
कमल थापा र राजेन्द्र लिङदेनले राजावादी पार्टी निर्माणको झण्झटिलो र कठीन यात्रा तय गरिरहँदा उनीहरुलाई अनेक आरोप लगाउँदै लल्कार्ने दुर्गा प्रसाईहरु हिजो के गरिरहेका थिए ? के भन्दै थिए ? केपी शर्मा ओली र प्रचण्डसँग मार्सी चामलको भात खाएर प्रसाईले गणतन्त्रको गुणगान गाइरहँदा कमल थापा र राजेन्द्र लिङदेनहरु राजसंस्थाको वकालत नै गरिरहेका थिए । अहिले उनै थापा र लिङदेनले गाली खानुपर्ने र हिजोका गणतन्त्रवादीले राजाका नाममा आन्दोलनलाई हिंसात्मक मोड दिने कार्य गरिरहेका छन् । यसलाई यसरी पनि बुझ्न सकिन्छ– इतिहासले पनि कहिलेकाहीँ मजाक गर्दोरहेछ ।

आन्दोलनको ‘ग्रामर’ को कुरा गर्दा दोस्रो संविधानसभाको चुनावताका इटहरीमा आयोजित एक कार्यक्रममा राप्रपा नेता कमल थापाले गरेको भाषण निकै स्मरणीय छ । केही पिताम्बर र दिगम्बर भेषधारीहरुले तत्कालै हिन्दुराष्ट्र र राजसंस्था फर्काउनुपर्छ भन्दै कमल थापाको आलोचना गरिरहेको सन्दर्भमा उनले ‘हतार गर्ने’हरुलाई चित्तबुझ्दो जवाफ दिएका थिए ।
कमल थापाको भनाइको भाव यस्तो थियो, ‘हिन्दुराष्ट्रको कुरा गर्ने, भोटचाहिँ कांग्रेस, एमाले र माओवादीलाई दिने ? बहुमत हिन्दुले राप्रपालाई भोट दिएको भए राजावादीको शक्ति बढ्ने थिएन ? अनि तत्कालै राजा चाहियो, हिन्दुराष्ट्र चाहियो भनेर मात्रै हुनछ ? यसका लागि पर्खनुपर्ने हुन सक्छ । जनताको विश्वास जितेर मात्रै राजसंस्था फर्कन सक्छ, विद्रोहको बाटोबाट राजसंस्था फर्कन सक्दैन, त्यसरी राजसंस्था फर्कियो भने पनि टिक्दैन ।’
प्रश्न यहीँनेर छ । के दुर्गा प्रसाईले विद्रोहको बाटोबाट राजसंस्था फर्काउन चाहेका हुन् ? के अब नवीन सम्झौताका माध्यमबाट या दुईतिहाई जनताको विश्वास जितेर राजसंस्था फर्काउने राजेन्द्र लिङदेन र कमल थापाको लाइनबाट ज्ञानेन्द्र शाह भड्किएका हुन् ?
‘आमाको दूध चुसेर भएन, बाबुको घुँडो’ भनेजस्तै पूर्वराजालाई राप्रपाकाका होनहार नेतथामाथि विश्वास नलागेर दुर्गा प्रसाईको अराजनीतिक, असभ्य र घृणात्मक अभिव्यक्तिप्रति सम्मोहन जागेको हो ? यदि हो भने त्यसले ज्ञानेन्द्र शाहलाई शिखरमा होइन, खाडलमा पुर्याउने निश्चित छ । यसको झिल्को शुक्रबार निर्मल निवासले राम्रैसित देखेको हुनुपर्छ ।
वियर लुटेर, हिन्दु राष्ट्र फर्कँदैन । व्यक्तिका घर जलाएर राजसंस्था फर्किँदैन । मिडियामाथि आक्रमण गरेर सभ्य समाजको कल्पना गर्न सकिँदैन ।
राजावादीहरुको हिंसात्मक आन्दोलनको सिलसिलाबारे चर्चा गर्न गत फागुन ६ गते साँझतिर फर्कनुपर्छ ।

पूर्वाराजा ज्ञानेन्द्रको उक्साहट
गत फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश जारी गर्दै भनेका थिए, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ।’
भण्डै एक महिना पोखरा बसेर उतैबाट भिडियो सन्देश जारी गरेका पूर्वराजा ज्ञानेन्द्र शाह फागुन २५ गते काठमाडौं फर्कँदा राजावादीहरुले एयरपोर्टबाटै स्वागत गरेर जुलुसका साथ निर्मल निवास भित्र्याएका थिए । त्यो जुलुसमा दुर्गा प्रसाईका साथै कमल थापा र राजेन्द्र लिङदेनहरुको पनि सक्रिय सहभागिता थियो । तर, उक्त कार्यक्रमको जस दुर्गा प्रसाईले राप्रपालाई दिन चाहेनन्, भलै आफैंले लिए ।
ज्ञानेन्द्र शाहले उक्त आह्वान गरेलगत्तै राप्रपाका तत्कालीन केन्द्रीय सदस्य नवराज सुवेदीले आफूलाई ज्ञानेन्द्र शाहबाट आन्दोलनको नेतृत्व गर्न हुकुम भएको जानकारी चैत ३ गतेको राप्रपा बैठकमा गराए । सुवेदीले चैत ४ गते डिल्लीबजारस्थित भोजनगृहमा आयोजित कार्यक्रमबाट राप्रपा परित्याग गरेको घोषणा गर्दै आफूलाई ‘राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन संयोजन समिति’को संयोजक घोषणा गरे ।
सुवेदीले समितिमा राजेन्द्र लिङदेन र कमल थापालाई पनि राखेका थिए, जबकि उनीहरुले समितिमा बस्न सहमति जनाएनन् । तर, दुर्गा प्रसाई भने सुवेदीको समितिमा आवद्ध भए ।
यही सिलसिलामा विहीबार नवराज सुवेदी र दुर्गा प्रसाई पूर्वराजालाई भेट्न र आन्दोलनका लागि आशीर्वाद लिन निर्मल निवास गएका थिए । निर्मल निवासबाट पूर्वराजाको मन्त्रणा लिएर निस्केपछि दुर्गा प्रसाईलाई आन्दोलनको ‘जनकमाण्डर’ घोषणा गरियो।

र, शुक्रबार उनै ‘जनकमाण्डर’ तीनकुने आइपुगेपछि व्यक्तिका घरमा आगजनी, तोडफोड गर्ने र प्रहरीका साथमा रहेको बन्दूक खोस्नेसम्मको हर्कत भयो ।
फागुन ६ देखि चैत १५ सम्मका घटनाको सिलसिला हेर्दा यसमा पूर्वराजाको आह्वान, उक्साहट र ‘इञ्जिनियरिङ’ले राम्रैसँग काम गरेको देखिन्छ ।
जस्तो– नवराज सुवेदीलाई राप्रपा छोडाएर दुर्गा प्रसाईसँग मोर्चाबन्दी गराउनु, राप्रपाका कमल थापा र राजेन्द्र लिङदेनलाई बाइपास गर्दै जानु तर राप्रपाकै धवल शमशेरहरुलाई सुवेदी–प्रसाईको मोर्चामा मिसाउनु अनि आन्दोलनको पूर्वसन्ध्यामा निर्मल निवासमा नवराज र दुर्गालाई दर्शनभेट दिनु जस्ता घटनाले फागुन ६ गते ज्ञानेन्द्रले बोलेको वाक्य (अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ) सँग तादाम्य राख्छ ।
यो पनि-
ज्ञानेन्द्रले पढाएको प्रजातन्त्रको पाठ – सोह्र दुना आठ !
सरकारले अब यो लुटपाटको घटनामा कथित आन्दोलनका संयोजक, संरक्षक र जनकमाण्डरलाई पक्राऊ, सोधपुछ वा कानूनी कारवाही गर्छ कि गर्दैन ? त्यो हेर्न बाँकी छ । यसमा सरकारको ‘एक्सन’ हेर्न बाँकी छ ।
शुक्रबारको आन्दोलनका कमाण्डर दुर्गा प्रसाई हुन् भने आन्दोलनका संयोजक नवराज सुवेदी हुन् । यो कार्यक्रमको आयोजना राप्रपाले नगरेको र राप्रपाको प्रदर्शन चैत २६ गते तय भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्पष्ट पारिसकेका छन् । तर, राप्रपाका नेता रवीन्द्र मिश्र पनि आन्दोलनमा देखिनुले राप्रपामाथि पनि आशंका जन्माएको छ । राप्रपाभित्र स्पष्टरुपमा उदार र अतिवादी दुई धार देखिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विगमा आफ्ना कार्यकर्तालाई हिंसात्मक क्रियाकलापका लागि भड्काउने र नेताको घर–घरमा पसेर आक्रमण गर्नुपर्छ भन्दै आएका थिए । उनका त्यस्ता भनाइहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छन् । शुक्रबारको घटना भइसकेपछि भने उनले एकाएक बोली फेर्दै भनेका छन्, ‘कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।’

दुर्गा प्रसाईले दिए आन्दोलनलाई धक्का !
भाटभटेनीबाट रक्सी, फ्रिज, फलफूल, तरकारी र अन्य सामान लुटिरहेको दृश्य हेरेर अब कोही पनि मानिस यस्तो आन्दोलनमा थपिने अनुमान गर्न सकिन्छ ? व्यक्तिको घरमा आगो लगाइएको र मानिस जिउँदै जलेको कारुणिक दृश्यले थप मानिसलाई अब दुर्गा प्रसाईको कथित आन्दोलनमा लामवद्ध हुन पे्ररित गर्छ ? कार्यक्रमबाट घर फर्कँदा शहरमा आगो झोस्दै, घर र गाडी जलाउँदै हिँड्ने कथित अभियन्ताको पछाडि कोही लामवद्ध होला ?
प्रसाईको कमाण्डिङमा शुक्रबार मच्चाइएको यो आतंकले शायद अब राजावादीहरुको अभियानलाई दशकौं पछाडि धकेलिदिएको छ । राजावादी आन्दोलनलाई नकारात्मक धक्का दिएको छ । नेताको घर–घरमा पसेर आक्रमण गर्नुपर्छ भन्दै आएका प्रसाई आफैंले खुट्टा कमाइसकेका छन् । उनले हतास हुँदै भनेका छन्, ‘कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।’
यो पनि-
तीनकुनेबाट भागेर दुर्गा प्रसाईंले भने- आन्दोलन नरोकियोस्
ज्ञानेन्द्रको अल्पबुद्धि

पूर्वराजा ज्ञानेन्द्र शाह अदुरदर्शी राजनीतिज्ञ हुन् भन्ने केही तथ्यहरुले पुष्टि गर्दछन् ।
पहिलो : दरबार हत्याकाण्डपछि राजा वीरेन्द्रको बंश नाश भएकाले राजगद्दी सम्हाल्नुपर्ने बाध्यता ज्ञानेन्द्रलाई आइपर्यो । तर, उनले सम्झौताको दस्तावेजका रुपमा रहेको नेपालको संविधान ०४७ लाई कुल्चिए । संवैधानिक राजाका रुपमा बस्न मानेनन् र सक्रिय राजा बन्ने प्रयास गरे । यो उनको पहिलो अदुरदर्शी र असफल कदम थियो । ज्ञानेन्द्रको त्यही निरंकुश कदमको प्रतिक्रियात्मक घटनाका रुपमा ०६५ सालमा राजतन्त्र समाप्त भयो । राजा ज्ञानेन्द्र लोकतन्त्रप्रति प्रतिवद्ध छैनन् भन्ने टुंगोमा पुगेपछि कांग्रेस र एमाले जस्ता संसदवादी शक्तिले संवैधानिक राजसंस्थाको लाइन परित्याग गरे । यसको कारकतत्व ज्ञानेन्द्र शाहको अदुरदर्शिता पनि हो ।
दोस्रो : संविधानसभाको चुनावपछि पूर्वराजा राजनीतिबाट निरपेक्ष बसिरहँदासम्म उनी विवादमा तानिएका थिएनन् । बेलाबखत उनी वर्तमान व्यवस्थाप्रति असन्तुष्टि राखिरहन्थे, तथापि दलहरुले त्यसलाई खासै अन्यथा मानेका थिएनन् । यसबीचमा राजा फर्काउन चाहने दल राप्रपा नेपालले यसबीचमा शक्ति आर्जन गर्यो । कमल थापा नेतृत्वको पार्टी संविधानसभामा चौथो दल बन्यो । तर, ज्ञानेन्द्रले राप्रपालाई बलियो बनाउने हैन, फुटाउने नीति लिए । यो, ज्ञानेन्द्रको दोस्रो अदुरदर्शी कदम थियो ।
तेस्रो– राजावादी धारका प्रभावशाली नेता कमल थापालाई कमजोर बनाएर राजतन्त्र फर्काउन सकिन्छ भन्ने अल्पज्ञान पूर्वराजाका सल्लाहकारहरुमा पलायो । कमल थापाले राजा फर्काउन आन्दोलन नगरेको, संविधान मानेको र संसदवादी दलहरुसँग सम्झौतावादी नीति लिएको आरोप ज्ञानेन्द्र निकटका राजावादीहरुले लगाए । अन्ततः कमल थापालाई पार्टी र आन्दोलनबाटै गलहत्याउने प्रयास ज्ञानेन्द्रको सचिवालयले गर्यो । अन्ततः राप्रपाको महाधिवशेनमै हस्ताक्षेप गरेर ज्ञानेन्द्रको सचिवालयले राप्रपा फुटाइदियो । यो ज्ञानेन्द्र शाहको तेस्रो अदुरदर्शिता थियो ।
चौथो– कमल थापा र राजेन्द्र लिङदेनलाई फुटाएको दरबारले त्यतिमा मात्रै चित्त बुझाएन । पछिल्लो समय ज्ञानेन्द्रले राजेन्द्र लिङदेनको नेतृत्वलाई बाइपास गर्ने गरी सोही पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदीलाई हातमा लिए र उनलाई पार्टी छोड्न लगाए । कमल थापा र राजेन्द्र लिङदेनजस्ता वैचारिक नेतालाई पन्छाएर दुर्गा प्रसाईमाथि विश्वास र भरोसा गर्नु ज्ञानेन्द्रको पछिल्लो नयाँ भूल हो ।
पाँचौं– शुक्रबारको राजावादीहरुको आन्दोलन जसरी हिंसात्मक देखिएको छ, यसले पूर्वराजाको चाहना शान्तिपूर्ण बाटोबाट राजगद्दीमा फर्कने हो या हिंसा र लडाइँको बाटोबाट गद्दीमा पुग्ने हो भन्ने प्रश्न उब्जिएको छ ।
यससँगै ज्ञानेन्द्रमाथि उब्जिएको अर्को प्रश्न छ– शुक्रबारकै तरिकाले अगाडि बढेर ‘संवैधानिक राजा’ भई गद्दीमा बस्ने तपाईको लक्ष प्राप्त हुन सक्ला ? कि यो कदम पनि माघ–१९ को कदमजस्तै अर्को गल्तीको श्रृंखला बन्ला ? पक्कै पनि हिंसाको बाटोबाट पूर्वराजाको कदम सफल हुने देखिँदैन ।
उदार राजावादी नेता कमल थापाले ठीकै भनेका हुन्– हामी विद्रोहबाट राजसंस्था पुनःस्थापनाको पक्षमा छैनौं । त्यसरी फर्किने राजसंस्था टिकाऊ पनि हुँदैन ।
प्रतिक्रिया