युवती चाहन्छन् आर्थिक रूपमा सक्षम र परिश्रमी जीवनसाथी | Khabarhub Khabarhub

युवती चाहन्छन् आर्थिक रूपमा सक्षम र परिश्रमी जीवनसाथी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

पोखरा- बाबुआमालाई छोराछोरी हुर्केपछि उनीहरूको बिहेको पिरलो हुन्छ । कुलघरान, शिष्ट अनि सम्पन्न र राम्रो आम्दानी भएको परिवामा नाता जोड्न चाहन्छन् उनीहरु । तर आफ्नै बिहेका बारेमा अहिलेको युवा पुस्ताले के सोच्दो हो ? हामीलाई लाग्छ बिहेबारी गरिदिने काम बाबुआमाकै हो । तर आफ्नै भविष्य र जीवनसाथीका बारेमा युवायुवतीलाई चिन्ता नलाग्ने कहाँ हुन्छ र ?

बिहे गर्ने उमेर पुगेका र विश्वविद्यालय तहमा अध्ययन गरिरहेको पुस्ताको जीवनसाथी रोजाइका बारेमा पोखरा विश्वविद्यालयमा प्राध्यापनरत २ शिक्षकले हालै एक अनुसन्धान गरेका छन् ।

जीवनसाथीको रोजाइबारेमा युवायुवतीको प्रवृत्ति र मनोभावनाका बारेमा उनीहरुको अध्ययन हो । डा. बद्री अर्याल र गणेश शर्माको टोलीले यसबारेमा अनुसन्धान गरेको हो । पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमातहतको समाज विज्ञान केन्द्रमै यही विषयका बारेमा कचहरी गरिएको छ ।

‘विश्वविद्यालय तहका विद्यार्थीहरुको जीवनसाथी रोजाइका प्रवृत्ति र सामाजिक प्रभाव’ शीर्षका पोविविका उपप्राध्यापक डा। बद्री अर्याले विषयवस्तु प्रस्तुत गरे ।

स्नातक तहका अविवाहित विद्यार्थीहरूले आफ्नो भावी जीवनसाथीका लागि गर्ने छनोटहरूको दायरा अन्वेषण गर्न यो अध्ययन गरिएको डा. अर्यालले बताए । उनका अनुसार साथै यो पुस्तामा सम्भावित जीवनसाथी छनोटका मापदण्डहरुमा लिङ्गका आधारमा देखिने खाडलहरूको पहिचान गर्न र जीवनसाथी चयन गरेर आदर्श परिवार निर्माण गर्न खोज्ने युवाहरूको मानसिकताको अध्ययनका लागि यो अनुसन्धान गरिएको हो ।

जीवनसाथी रोजाइमा महिलाभन्दा पुरुष अलि खुला रहेको अध्ययनले देखाएको छ । त्यसो त यसअघि अध्ययन र सामाजिक परिवेशले पनि बिहेका सन्दर्भमा पुरुष नै बढी खुला गरेको पाइएको छ । अध्ययन भन्छ– महिलाहरू प्रायः आर्थिक रूपमा सक्षम र परिश्रमी पुरुषप्रति आकर्षित हुन्छन् । पुरुषहरू भने शिष्ट आचरण र रमाइलो स्वभाव भएकी महिलालाई प्राथमिकता दिन्छन् । युवतीहरु आफ्नै घरको नजिक, सकेसम्म जात र धर्म मिल्ने, सकेसम्म विदेश जाने, बढी आम्दानी गर्ने पुरुषलाई जीवनसाथी बनाउन चाहन्छन् ।

धेरैजसो पुरुषहरू आफूभन्दा कान्छी, होचो र हल्का शारीरिक बनावट भएकी जीवनसाथी मन पराउँछन् भने महिलाहरूले यसको विपरीत रुचाउने गर्छन् । युवायुवती दुवैको साझा रोजाइ शारीरिक रूपमा स्वस्थ जीवनसाथी हो । जसले प्रजनन क्षमताका साथै आम्दानी गर्ने खुबीलाई संकेत गर्छ । विश्वका विभिन्न मुलुकहरुमा गरिएका अध्ययनको निष्कर्श नेपाली परिवेशसँग पनि मेल खान्छ ।

डा. अर्याल भन्छन्, ‘उमेर, उचाइ र तौलसँग सम्बन्धित निष्कर्षहरू अघिल्ला अध्ययनहरूसँग मेल खाएका छन् ।’ प्रजनन् भूमिकासँगसँगै युवा र युवतीले आफ्नो जीवनसाथीप्रति फरक–फरक अपेक्षा राखेको पाइएको छ । जात, संस्कृति र धर्मसँग सम्बन्धित निष्कर्षहरू भने अघिल्ला अध्ययनहरूसँग भिन्न पाइएको अध्येता डा अर्यालले बताए । उनका अनुसार पहिले पवित्रता लाई धेरै महत्व दिइन्थ्यो । अहिलेको पुस्ताले त्यसमा त्यति चासो नराखेको पाइएको छ ।

युवाहरूले व्यक्तिगत सम्बन्ध र क्षमतामा आधारित गुणहरूलाई बढी महत्व दिने गरेका छन्, तर राजनीतिक, सामाजिक र पारिवारिक पक्षहरुमा भने उनीहरुले कम महत्व दिने गरेको अनुसन्धानको निष्कर्षले देखाएको छ । अहिलेको पुस्ताले नैतिक तथा चारित्रिक गुण र क्षमतामा आधारित विशेषतालाई बढी महत्व दिएको छ, तर जात, संस्कृति र धर्मजस्ता जन्मसिद्ध पक्षहरूलाई कम प्राथमिकतामा राखेको छ ।

डा. अर्यालका अनुसार युवाहरूको चाहना योग्यतामा आधारित विशेषताप्रति केन्द्रित छ । अघिल्लो पुस्ताले जन्मसिद्ध गुणहरूलाई धेरै महत्व दिन्थ्यो, तर अहिलेको समयमा क्षमता र योग्यता आधारित मापदण्डहरूलाई प्राथमिकता दिने गरिएको पाइएको अर्का अध्येता गणेश शर्माले बताए । उनले भने, ‘हाम्रो समाज कता गइरहेको छ भन्ने यो अध्ययनले प्रष्ट्याएको छ । परम्परागत मान्यतालाई चिर्दै समाज उदार र खुला हुँदै गइरहेको यसले देखाएको शर्माको भनाइ थियो ।

कार्यक्रममा कचहरीका परिकल्पनाकार एवं लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले विद्यार्थीहरुमा रिसर्चका बारेमा भोक जागोस् भनेर यस्तो कार्यक्रम गरिएको बताए । अर्याल र शर्माद्वयको यो अध्ययनले सामाजिक मूल्य मान्यतालाई अहिलेको युवा पुस्ताले कसरी लिएको छ भनेर प्रष्ट्याएको पराजुलीले जनाए ।

डा। रामचन्द्र बरालले जिल्ला अदालत कास्कीमा विसं २०४६ देखि ५६ सम्मका मुद्दाको विश्लेषण गर्दा प्रेम विवाहबाट जोडी बाँधिएकाको सम्बन्ध बिच्छेद बढी भएको पाइएको बताए । त्यसैले जोडी वाध्नु अगावै भविष्यका बारेमा सोच्नुपर्ने उनको सुझाव थियो ।

विन्ध्यवासिनी संस्कृत विद्यापीठका संस्कृत शिक्षक रवि बास्तोला ग्रहगोचरका आधारमा गणबीचको तादाम्यता मिलाउने गरिए पनि ज्योतिषसँग ठ्याक्कै अनुसन्धानका तथ्यांक भने नभएको बताउँछन् । ‘चिना टिपन हेराउने, नाडी जुराउने जेजस्तो गरे पनि आपसमा प्रीति हुने जोडी खोज्ने हो, ज्योतिष शास्त्रले नाडी नमिले विवाह हुँदै चाहिँ भनेको भनेको छैन ।’

अर्का ज्योतिष मोहराज ढकाल अहिलेको पुस्ता आधुनिकतामा नाममा सामाजिक दुर्घटनातिर प्रेरित भइरहेको बताए । फूल दिएर जोडी बाध्नुभन्दा कुट ९चिना० हेराएर सम्बन्ध जोड्न उनले सुझाव दिए ।

अधिवक्ता प्रदीप अधिकारीले पहिला बाबुआमाको कमाइमा रमाएका युवा युवतीपछि बिहेपछि आफ्नै कमाइमा अडिनु परेपछि वैवाहिक सम्बन्धमा दरार आउने गरेको बताउँछन् । अदालतमा विदेश जानका लागि विवाह गर्न आउनेहरुको लर्को हुने र सम्बन्ध विच्छेदको अवस्था पनि उस्तै रहेको उनको भनाइ थियो ।

अधिवक्ता ईश्वरी पौडेल अन्तरजातीय प्रेम सम्बन्ध, दाइजो, वैदेशिक रोजगार लगायत कारणले अहिले अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा धेरै आउने गरेको सुनाइन् । अधिवक्ता एवं शैक्षिक व्यक्तित्व उपेन्द्र पौडेलले अहिले बढेको सम्बन्ध बिच्छेदको कारण चिना टिपन नमिलेर हो या सामाजिक परिवेशका कारण हो भनेर एकीकृत अनुसन्धान जरुरी रहेको बताए । कार्यक्रम सञ्चालन छात्रा अस्मिता रानाभाटले गरेकी थिइन् ।

लेकसिटी कलेजले प्रत्येक महिनाको अन्तिममा समसामयिक विषयमा कचहरी गर्दै आएको क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठले बताए । कलेजमा पत्रकारिता तथा आमसञ्चार र सोसल वर्क एवं व्यवस्थापन विषयको पढाइ हुँदै आएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : १३ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन