काठमाडौं – सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’मा नायक सौगात मल्ल, आशिफ शाह र नायिका गरिमा शर्मा शीर्ष भूमिकामा छन् ।
चैत १३ मा फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै यो फिल्मको प्रदर्शन मिति जेठ २३ लाई तोकिएको थियो । निर्माण पक्षले चैत २१ मा फिल्ममा समावेश गीत ‘घामै राजा’ सार्वजनिक गर्यो ।
यस गीत सार्वजनिक कार्यक्रममा पहिलो पटक फिल्मको प्रदर्शन मिति हेरफेर गर्ने जानकारी दिइयो । त्यसमा नयाँ मिति जेठ ९ तोकिएको थियो ।
जेठ ३० गते सौगातको अर्को फिल्म ‘भाइरल गोर्खे’ प्रदर्शनमा आउने तयारीमा छ । यस अवस्थामा एक साताको अन्तरालमा सौगातका दुई फिल्म प्रदर्शनमा आउनेछन् ।
एक साताको अन्तरमा सौगातको ‘जन्ते बाख्रो’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा आउँदा एकै नायकको दुई फिल्मले हलमा प्रतिस्पर्धा गर्ने देखिएका कारण जेठ ९ मा प्रदर्शन मिति सारिएको निर्माता सन्तोष गौतमले उक्त कार्यक्रममा बताएका थिए ।
‘घामै राजा’ गीतको अन्तिममा फिल्मको प्रदर्शन मिति जेठ ९ लेखिएको छ ।
‘जन्ते बाख्रो’ निर्माण पक्षले गत शुक्रबार फिल्मको प्रचार सामाग्रीका रुपमा ‘अंगुरको झुप्पो’ गीत सार्वजनिक ग¥यो । यसमा भने प्रदर्शन मिति जेठ २३ तोकिएको छ ।
निर्माण पक्षतर्फबाट खबरहबलाई प्राप्त पछिल्लो प्रेस सामाग्रीमा पनि यो फिल्मको प्रदर्शन मिति जेठ २३ लेखिएको होइन । अर्थात् यो फिल्म दोस्रो पटक प्रदर्शन मिति हेरफेर गरेर पहिल तोकिएकै मितिमा प्रदर्शनमा आउन लागेको हो ।
रोचक कुरा– ‘घामै राजा’ गीतको अन्तिममा यस फिल्मको प्रदर्शन मिति जेठ ९ नै छ । थमनेलमा भने प्रदर्शन मिति जेठ २३ छ । निर्माण पक्षले थमनेलमा भने प्रदर्शन मिति परिवर्तन गरेको भेटिएको छ ।
महानायकको फिल्म सोलो रिलिज

महानायक राजेश हमाल ९ वर्षपछि फुल फ्लेज हिरो भएर फिल्ममा देखिँदैछन् । उनको फिल्म ‘नरसिंहा : अभतार’को पनि प्रदर्शन मिति हेरफेर भएर जेठ ९ मा आइपुगेको हो ।
यो फिल्मको प्रदर्शन मिति गत चैत २९ मा तोकिएको थियो । त्यो मितिमा प्रदीप खड्का स्टारर फिल्म ‘पिताम्बर’ र विपीन कार्की स्टारर फिल्म ‘कर्मा’ प्रदर्शनमा आए ।
जुनियर नायकसँग हमालले हलमा प्रदर्शन नगर्ने इच्छा देखाइएकाले यो फिल्मको प्रदर्शन मिति हेरफेर भएको बुझिएको छ ।
जेठ ९ मा पनि हमाल र सौगात मल्लको ‘बक्स अफिस’ प्रतिस्पर्धा हुने देखिएको थियो । तर, ‘जन्ते बाख्रो’ पुनः जेठ २३ मै फर्किएपछि अहिलको अवस्थामा महानायकको सोलो रिलिज हुने भएको छ ।
जेठमा हरेका साता नयाँ फिल्म

अहिलेको अवस्थामा जेठमा ६ फिल्म प्रदर्शनमा आउने तयारीमा छन् । अर्थात् जेठका ५ शुक्रबारमा ६ फिल्म आउने देखिन्छ।
जेठ २ गते अर्थात् यस महिनाको पहिलो शुक्रबारलाई दिलीप रायमाझी स्टारर फिल्म ‘हेल्लो काँसीराम’ र मल्टिस्टारर फिल्म ‘के घर के डेरा : घर नम्बर २’को प्रदर्शन मिति तोकिएको छ ।
के घर के डेरा–२’ मा नायक आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, नायिका केकी अधिकारी र उपासनासिंह ठकुरी केन्द्रीय भूमिकामा रहेको छ ।
जेठको दोस्रो शुक्रबार ९ गते फिल्म ‘नरसिंहा : अभतार’ प्रदर्शनमा आउने निश्चित छ । यसमा हमालसहित नायक राज कटुवाल, नायिका नीति शाह र सनिशा भट्टराई शीर्ष भूमिकामा छन् ।
जेठ १६ गते तेस्रो शुक्रबार पर्छ । तर, १५ गते बिहीबार गणतन्त्र दिवसको सार्वजनिक विदा परेकाले दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ प्रदर्शनमा आउने भएको छ ।
जेठ २३ गते सौगात ‘जन्ते बाख्रो’ प्रदर्शनमा आउने भएको छ । यस फिल्म जेठ २३ बाट अगाडि सर्दा यो मिति खाली थियो ।
जेठ ३० गते सौगात र नायिका श्रृष्ठि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’ प्रदर्शन मिति तोकिएको छ ।
अर्थात्, जेठको हरेक साता दर्शकले नयाँ फिल्म हेर्न पाउने भएका छन् । जेठ पहिलो साता भने दुई फिल्म फ्रेस हेर्न पाइने भएको छ ।
प्रतिक्रिया