डाक्टरका अनेक दुःख, मध्यम वर्गलाई झनै सकस | Khabarhub Khabarhub

डाक्टरका अनेक दुःख, मध्यम वर्गलाई झनै सकस

मेडिकल साइन्समा क्षमतावान् विद्यार्थीहरु आउनुपर्छ : डा. कृष्णसागर पौडेल


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा चिकित्सकहरूलाई काम अनुसारको सेवा सुविधा छैन । देशमै अध्ययन गरेर आम्दानी नभएपछि ठूलो जनशक्ति विदेशिँदै गएको अवस्था छ । 

पढ्ने बेलामा १ करोड बढी लगानी गर्नुपर्ने स्थिति छ भने सेवा सुविधा न्यून रहने गरेको छ । यही कारण असन्तुष्ट आवासीय चिकित्सक र नर्सहरु बेला बखत आन्दोलितसमेत हुने गरेका छन् । 

देशमा निजी मेडिकल कलेजहरूको सङ्ख्या बढ्दै गएको छ । तर, चिकित्सक र नर्सहरुको रोजगारी सम्मानित र सुरक्षित नहुँदा विदेश पलायन बढिरहेको छ । पढाइ शुल्क पनि महङ्गो हुँदै गएको छ ।

आर्थिक अवस्था कमजोर भएका मध्यम वर्गीय परिवारका विद्यार्थीले चाहेर पनि सहजै डाक्टरी पढ्न सक्दैनन् । डाक्टरी शिक्षा महङ्गो हुँदै जाँदा मध्यम वर्गको मान्छेले भोग्ने चुनौती र जीवनस्तर टिकाइ राख्न गर्नुपर्ने सङ्घर्ष निकै नै पीडादायी देखिने गरेको छ।

यसै सन्दर्भमा मध्यम वर्गको मानिसले चिकित्सक पेसामा व्यहोर्नुपर्ने समस्या के कस्ता छन् भनेर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका निर्देशक तथा बाल क्यान्सर विशेषज्ञ डा. कृष्णसागर पौडेलसँग कुराकानी गरेका छौं । 

तपाईँ मध्यम वर्गको मान्छे, बाग्लुङमा जन्मिनुभएको, मध्यम वर्गका मान्छेलाई डाक्टर बन्न कति चुनौती छ ? भनिन्छ, डाक्टरी शिक्षा महङ्गो छ…

– म मध्यम भन्दा पनि निम्न मध्यम वर्गको मान्छे हुँ । सामान्य परिवारमा हुर्केको हुँ ।

पेसाले बुवा शिक्षक हुनुहुन्छ । गाउँमा दुःख गरेर पेट पाल्न सक्ने हाम्रो अवस्था थियो । पहिले गाउँमा मेडिकल शिक्षा थिएन । त्यो बेलामा मेरा हजुरबुवा आयुर्वेदिक उपचार गर्नुहुन्थ्यो । बुवा शिक्षक भइसकेपछि पनि एलोपेथिक औषधिहरू बजारबाट किनेर लैजाने र गाउँमा आवश्यक परेका बिरामीलाई दिने गर्नुहुन्थ्यो । जसले गर्दा कहिलेकाहीँ डा. नहुँदा पनि बिरामीहरूलाई निको हुन्थ्यो । सोही कारण भविष्यमा मैले डाक्टर बन्नुपर्छ भन्ने कुरा कतै–कतै मेरो मनमा आयो ।

बुवा शिक्षक हुँदा पनि हामीजस्तो निम्न परिवारको मान्छेले डाक्टर पढ्न सकिँदैन र हाम्रो खर्चले पुग्दैन भन्ने नै थियो । त्यसमाथि, हामी जुन गाउँमा सरकारी विद्यालयमा पढियो, त्यहाँ नेपाली माध्यममा पढाइ हुन्थ्यो ।

डाक्टरी पढ्नका लागि छात्रवृत्तिमा सीमित कोटा हुन्थ्यो । आफ्नै खर्चले पढ्न सकिने अवस्था थिएन । महाराजगञ्जमा ३०–४० जना, त्यत्ति नै कोटा धरानमा गरी त्यही ६०–७० जना छात्रवृत्तिमा पढ्न पाइन्थ्यो । दूरदराजका गाउँबाट आएर छात्रवृत्तिमा पढ्ने कुरा नै त्यो बेलाको चुनौती थियो । त्यसमा पनि मैले सङ्घर्ष गरेँ । छात्रवृत्तिमा नै पढ्न पाएँ ।

निजी मेडिक कलेजहरू खुलेसँगै पहिलो मेडिकल कलेजमा सरकारीबाट छात्रवृत्तिमा जान पाएँ । त्यसपछि मेरो मेडिकल करियर सुरु भयो । अहिलेसम्म जति पनि पढेँ, देश विदेशमा जहाँ पढ्दा पनि मैले घरपरिवार र आफ्नो हिसाबले लगानी गरेको छैन । सबै छात्रवृत्तिमा नै पढेको छु । सामान्य खर्च भए पनि पैसा नै तिरेर पढ्न परेन ।

मसँगै पढेका धेरै साथीहरूको पीडा, दबाब मलाई थाहा छ । तर, मलाई यति पैसा लगानी भयो, तैँले यति कमाउनुपर्छ अर्थात् तँलाई पढाउँदा यति खर्च भयो, यति कमाइ गर, भन्ने खालको पारिवारिक वातावरण छैन ।

मैले गाउँमा देखेको समस्या र आवश्यकतालाई पूरा गर्न डाक्टर हुन मन लागेकाले सेवा नै गर्ने हो भन्ने लाग्छ । त्यही भएर मैले अहिलेसम्म पूरै ‘प्राइभेट प्राक्टिस’ पनि गर्दिनँ । सामान्य सरकारी अस्पतालमा आफ्नो विषयमा काम गर्छु ।

म बच्चाको क्यान्सरसम्बन्धी पहिलो बाल क्यान्सर विशेषज्ञ हुँ । सबैभन्दा चुनौती हुने ठाउँ पनि रोजेको छु । आजभन्दा १८–२० वर्ष पहिला उपचार नै नहुने पेसामा म आएर यसलाई सुरुवात गरेको हुँ । त्यसले गर्दा सयौँ हजारौँ बच्चाहरू बचाउन सकिएको छ । त्यो नै मेरो उपलब्धी हो । त्यसैले मलाई कतिपय सामाजिक प्रेसरहरू आउनु स्वाभाविक हो । नभए यत्ति नै कमाउनुपर्छ भन्ने अवस्था छैन ।

प्राइभेट मेडिकल कलेजहरू सुरु भए । पहिलो मणिपाल मेडिकल कलेज र दोस्रो चितवन मेडिकल कलेज । चितवन मेडिकल कलेजको म पहिलो ब्याचको विद्यार्थी हुँ ।

हामी २० जना सरकारको छात्रवृत्ति कोटामा थियौँ । २० जना नै सरकारका विभिन्न निकायबाट छानिएर गएका थियौँ । त्यसको केही वर्षपछि यति धेरै मेडिकल कलेजहरू खोलिए, ती कलेजहरूमा विद्यार्थीहरू पनि बढ्दै गए । जस्ता विद्यार्थीहरू पनि पढ्न जान थाले ।

एउटा समय त यस्तो पनि आयो, आइएस्सी पास गरिसकेपछि पैसा हुनेले सिटसमेत किन्न थाले । जोसँग पैसा छैन उसले पढ्ने अवसर नपाउने भए । एमबीबीएसको पढाइ पनि करिब–करिब करोड रुपैयाँ बढी रकम कलेजलाई बुझाउनुपर्ने अवस्था आयो ।

डाक्टर भनेको विश्वमा ‘नम्वर वान’ पेसा नै हो । मृत्युको मुखमा पुगेको मान्छेलाई बचाउने प्रयास गर्ने र धेरैलाई बचाएका उदाहरण हाम्रासामु छन् ।

विकसित देशहरूमध्ये अमेरिकामा एमडी गर्ने विद्यार्थीले कम्तिमा ५–७ हजार डलर पाउँछ । पास गरिसकेपछि मेरै लेभलको साथीहरूले साढे २ लाख देखि ४५ लाख डलर बर्सेनि कमाउनुहुन्छ । उहाँहरूको हप्तामा तीन दिन मात्रै काम गरे पुग्छ ।

१२ घण्टा तीन दिन काम गर्दा ३६ घण्टा हुन्छ भने बाँकी रहेको तीन दिन फुर्सदै हुन्छ । त्यो भनेको अमेरिकामा ‘हाइली पेइड प्रोफेश्नल’ भित्र पर्छन ।

विकसित देशहरूमा अन्य स्रोतबाहेक सरकारी अथवा संस्थागत रूपमा सबैभन्दा बढी पेमेन्ट लिने भनेका चिकित्सक नै छन् ।चाहे त्यो युरोपमा होस् या अन्य देशहरूमा । हाम्रो लेभलका मान्छेले १०–१५ लाख मासिक कमाउँछन् ।

नेपालमा एमडी गरेका चिकित्सकको मासिक तलब ५२–५३ हजारको वरिपरि छ । विश्वको तुलनामा नेपालको कामको प्रेसर र प्राप्त हुने वेतनमा आकाश–पातालको फरक छ ।

तर पछिल्लो समय मेडिकल शिक्षामा केही–केही सुधार आएका छन् । चिकित्सा शिक्षा आयोगको स्थापना भएपछि त्यसले ‘फी’ लाई लिमिटेड गरेको छ । एमबिबिएस अध्ययन गर्न ४०–४५ लाख जति तोकिएको छ । यो खर्च आजभन्दा २० वर्ष अगाडि करोड रुपैयाँभन्दा माथि थियो । अध्ययन गर्न जाने मान्छे पनि योग्य छन् । बीचमा सबैखालका मान्छे पढ्न जाँदा मेडिकल शिक्षाको इथिक्स पनि कता–कता ‘ड्रिल’ भएको जस्तो थियो ।

विद्यार्थीको ‘क्यापासिटी’ भन्दा पनि छोराछोरीलाई जसरी पनि डाक्टर पढाउनुपर्छ, मसँग सम्पत्ति छ भनेर बाआमाले जग्गा जमिन बेचेर भएपनि सन्तानलाई डाक्टर पढ्न दबाब दिन्थे । तर छोराछोरीको मन चिकित्सा अध्ययनमा नहुने । यसरी नचाहाँदा नचाहाँदै चिकित्सक बनेका पनि कतिपय साथीहरू हुनुहुन्छ ।

यसरी पढ्दा खर्चको हिसाब र चिकित्सा क्षेत्रमा सेवाभन्दा बढी व्यवसायिकता हाबी हुने भयो । व्यावसायिक मेडिकल कलेजहरू आउँदै गर्दा हामी चिकित्सकहरू पनि कतै व्यवसायिक रूपमा मात्रै उत्पादन हुँदैछौँ कि ?

बिरामीसँग बोल्ने भाषाशैली उनीहरूको संवेदनशीलतालाई ध्यान दिएका छैनौँ कि ? दिनुपर्ने सेवा दिएका छैनौँ कि ? सेवा दिन सकिएन कि ? भन्ने स्थिति पनि नआएको होइन ।

यही चिन्ताले डाक्टर गोविन्द केसी लगायतको आन्दोलन उठ्यो । आन्दोलनकै बलमा केही हदसम्म विकृतिलाई मत्थर पारेर चिकित्सा क्षेत्र सही दिशामा गइरहेको छ जस्तो लाग्छ । तर अहिले पनि एमडी पढ्नका लागि २४–२५ लाख तिर्नुपर्छ । काम गर्दा डाक्टरका पीडा पनि आफ्नै खालका छन् ।

एमडी पढ्ने डाक्टर भनेको त डाक्टर नै हो । एमबिबिएस गरिसकेपछि विज्ञता हासिल गर्न पढ्दै, काम गर्दै गर्छ । अरु नर्मल जागिर खाने डाक्टरको भन्दा तीनगुणा बढी काम गरिरहेको हुन्छ । तर उही बराबरको नवौं तहको सरकारी तलब देऊ भन्दा पनि दिन सकिँदैन ।

नेपालमा डाक्टर उत्पादन पनि अलि बढी नै भइरहेको छ । तर उत्पादन भएको जनशक्तिको आधा पनि नेपालमा छैनन् ।

पढाइको कुरा गर्ने हो भने नेपालमा सस्तो छ । भारतमा एमबिबिएस पढ्दा प्राइभेट कलेजहरूमा एक वर्षको ३० लाख ३५ लाख बुझाउनुपर्छ । ३–४ वर्षको अवधिमा एक डेढ करोड कलेजलाई मात्रै बुझाउनुपर्छ । त्यो अनुपातमा नेपालमा धेरै सस्तो छ ।

तर पनि हामीलाई हाम्रो क्षमताका हिसाबले त्यो खर्च धेरै नै छ । फेरि त्यसबाट उत्पादन भइसकेपछि पनि त्यसलाई उठाउन के गर्ने ? भन्ने हिसाबले हाम्रो मेडिकल शिक्षाको ‘थिम’ जस्तै बिरामीलाई कसरी उपचार गर्ने भन्ने विषयमा अलिकति ‘ड्रिल’ भएको हो कि भन्ने स्थिति थियो । अहिले त्यो स्थिति ट्र्याकमा आइसकेको छ । तर नपुग कुराहरू अझै धेरै नै छन् ।

डाक्टरलाई नैतिक शिक्षा, सामाजिक सदभाव लगायतका कुरा सिकाउन आवश्यक छ ।

डाक्टर बनिसकेपछि त्यही अनुसारको स्तर व्यवस्थापन गर्न पनि त चुनौती छ होला नि ?

– डाक्टरले जुन तलब पाउँछ, त्यो नै उसको कमाइ हो । जस्तै एमडी गरेको डाक्टरले नवौं तहको तलब पाउँछन् । यो भनेको अन्य सरकारी कर्मचारी सहसचिव, उपसचिव तहबाट सुरु हुन्छ । त्यसको तलब भनेको ५५ हजारको हाराहारीमा छ ।

सरकारी सुब्बा तहको कर्मचारीको तलब ४० हजारको हाराहारीमा छ । त्यहाँ उसलाई सामान्य परिवार मानेर धेरैले आँखा लाइरहेको हुँदैन । उसको पनि आफ्नो परिवार छ त्यहीअनुसारको दुःख होला । त्यस्तै डाक्टरको पनि परिवार हुन्छ १/२ वटा बच्चा पनि होलान् ।

डाक्टर भइसकेपछि राम्रो स्कुलमा छोराछोरी पढाउनुपर्छ भन्ने सामाजिक दबाब आउँछ ।

म एमबीबीएस पढुञ्जेल साइकलमा हिँड्थे । अलिपछि मोटरसाइकल चाहिन्छ भन्ने भयो । त्यसको केही समयपछि छोराछोरी ठूला हुँदै गए । गाडी आवश्यक भयो । यो आवश्यक्ता कुनै समयमा ‘लक्जरी’ थियो भने अहिले अत्यावश्यक जस्तै भइसकेको छ । अन्य कुराहरूमा पनि त्यस्तै हुने भयो ।

हाम्रो समाजकै कुरा गर्ने हो भने कुनै कार्यक्रम भयो, यो त डाक्टर हो नि यसले त धेरै कमाउँछ भन्ने खालको हाउगुजी छ । परिवारको माग पनि त्यहीअनुसार बढ्दै जान्छ ।

परिवारभन्दा बाहिर जाँदा समाजमा कुनै काम गरौँ भने यो त डाक्टर हो जति पैसा मागे नि दिनसक्छ भन्ने खालको कुराहरू गर्छन् ।

राजनीतिक पार्टीहरूको चुनाव होस् या अन्य कुनै काम, यो त डाक्टर हो यसले धेरै चन्दा दिन्छ, भन्ने हुन्छ । दिएन भने अनेक डर धम्कीहरू दिने गर्छन् ।

समान्यतया अस्पतालमा बिरामीको मृत्यु उपचार गर्दागर्दै हुन्छ, डाक्टरकै अगाडि । किनकि सबै बिरामीलाई हामीले बचाउन त सक्दैनौँ । हजारौँ बिरामीलाई बचाएको ‘काउन्ट’ कसैले गर्दैन । तर, एकजना बिरामीको दूर्भाग्वश मृत्यु भयो भने उसको आफन्तलाई ५० लाख १ करोड दिएर उसको बच्चाबच्चीको पढाइ जागिर लगायत सबै कुराको जम्मा डाक्टरले लिनुपर्छ । यो डाक्टरमाथिको सामाजिक दबाब हो । यस्ता सामाजिक दबाबले आधाभन्दा बढी डाक्टरहरू देशबाहिर छन् ।

मेडिकल डाक्टरसँगै नर्सको कुरा गर्ने हो भने पनि बिएस्सी अङ्कोलोजी नर्सिङ पढ्न १२–१५ लाख खर्च लाग्छ । १५ हजार २० हजार दिएर काममा लगाइन्छ ।

सरकारले स्टाफ नर्स बराबरको तलब दिन्छु भनेको छ तर लागू नहुँदा धेरै नर्सहरू बाहिरै छन् ।

यदि डाक्टर र नर्सहरूलाई हेर्ने हाम्रो समाजको दृष्टिकोण यही रहने हो र सरकारले दिने सेवा सुविधा पनि यही हुने हो भने अबको ५–१० वर्षमा नेपालमा डाक्टर र नर्सको ‘स्क््रयासिटी’ हुन सक्छ । त्यसैले गर्दा डाक्टरलाई कस्तो खालको सेवासुविधा दिने भन्ने विषयमा सरकारले सोच्नुपर्छ ।

हाम्रो ब्युरोकेसीमा ननमेडिकल मान्छेहरू धेरै हुनुहुन्छ । ‘ऊ पनि ब्याचलर पढेको, म पनि ब्याचलर पढेको अधिकृत, एउटै हो । तलब किन फरक हुनुपर्‍यो ?’ भन्ने सोच छ । डाक्टरलाई हेर्ने नजर समाजको एउटा छ भने ब्युरोकेसीमा अर्कै ।

समाज र ब्युरोकेसीको चपेटामा परेपछि जहाँ धेरै सेवा सुविधा छ त्यहीँ आकर्षण हुन्छ । मेरो लेभलको डाक्टरले दुबई जाँदा १०–१५ लाख मासिक सजिलै कमाउँछ । अमेरिकामा १ वर्षमा ४–५ करोड नै कमाउँछ । कमाइअनुसार ‘ट्याक्स’ पनि काट्छ । तरपनि मनग्गे पैसा कमाउन सकिन्छ ।

नेपालमा भन्दा कामको प्रेसर पनि कम, कमाइ पनि धेरै । र, मानसम्मान पनि धेरै ।

नयाँ पुस्ता त्यसतर्फ आकर्षित भइरहेको छ । युरोप अमेरिका क्यानडालगायतका विकसित देशमा हेर्ने हो भने त्यहाँका मुख्य डाक्टरहरू विदेशी छन् । हाम्रो ‘ब्रेन’ ले उता काम गरि रहेको अवस्था छ । जसलाई ‘सेयर्ड ब्रेन’ भनिन्छ ।

त्यसैले डाक्टरलाई कुन लेभलको सेवा सुविधा, कति आवश्यक छ ? भन्ने कुराको सामाजिक अध्ययन पनि गर्न सकिन्छ । देशमै बसेर सेवा गर्छु भन्ने ‘म्यानपावर’ लाई सामाजिक प्रेसर, प्रशासनिक अपहेलनाले विदेश जाने वातावरण बनाउन दूरुत्साहन नगरोस् ।

‘नेपालमै बसेर उपचार गर्छु’ भन्ने बनाउनु त राज्यको दायित्व पनि हो । सरकारले यो गर्छु त्यो गर्छु त भन्छ । तर लागू हुँदैन । भनाइ र गराइमा त फरक छ । यो त मैले आफूले भोगेको अनुभव र पीडा मात्रै हो । कसैसँग यो मिल्ला नमिल्ला पारिवारिक सम्पत्तिको एक रुपैयाँ पनि खर्च नगरेर पढेको डाक्टरलाई त यो खालको प्रेसर छ, भने जसले एमबिबिएस पढ्दा एक डेढ करोड, एमडी पढ्दा २–४ करोड खर्च गरेको छ उनीहरूको हालत के होला ?

४–५ करोडको बिजनेस गरेको भए के हुन्थ्यो भन्नेसम्म मान्छेले तुलना गरेका छन् । यो एउटा पेसा हो । धेरै मान्छेहरूलाई बचाउन सकिएको छ । यसको छुट्टै महत्व छ । समाजले पनि यो विषय बुझ्न आवश्यक छ । राज्यले पनि त्यसरी नै सम्बोधन गर्नुपर्छ । नेपालमा बस्न सक्नेखालका जनशक्ति उत्पादन गर्नुपर्‍यो । डाक्टर पढ्न अन्य देशको तुलनामा धेरै सस्तो छ । उनीहरूलाई नेपालमै काम गर्ने वातावरण सिर्जना गर्नका लागि परिवार, समाज, सरकार र मिडियाकर्मीहरूको पनि साथ आवश्यक हुन्छ ।

उपचारका क्रममा कुनै बिरामीको मृत्यु भयो भने सोसल भ्वाइस मात्रै मिडियामा नलेखेर सत्यतथ्य बुझेर मात्रै लेखिदिनुपर्छ । मेडिकल साइन्स पनि त पूर्ण छैन । यसभित्रका अपूर्णताहरू के के हुन् ? कतिसम्म काम गर्न सकिन्छ ? भन्ने कुरा छुट्याउन सकिएमात्रै वातावरण बन्न सक्छ ।

डाक्टरी पेसाको अहिलेको अवस्था हेर्दा यसभन्दा पछि पनि यो निम्न आय भएका र यो पेसामा जोडिन चाहनेलाई के सुझाव दिनुहुन्छ ?

– यो देशका नागरिकहरू जसको क्षमता जे छ, सरकारले त्यो त्यो विषय पढ्न दिनुपर्छ, जहाँ प्रतिस्पर्धा हुन्छ । कसको घरमा पैसा कम, कसकोमा बढी छ भन्ने आधारमा होइन । उसको क्षमता कति छ ? कति जना पढ्न चाहान्छन् ? कोही व्यक्ति एकदमै क्षमतावान् छ, उसलाई चिकित्सक बन्न मन लाग्यो र योग्य पनि छ भने उसले पैसाको कारण पढ्न नपाउने अवस्था आउन दिनुभएन । त्यस्तो विद्यार्थीलाई निःशुल्क पढाउने, बिनाव्याज ऋण पाउने वातावरण बनाउनुपर्‍यो ।

योग्य डाक्टर आए पो सेवा राम्रो दिन्छन् । मृत्यु दर घट्छ । मान्छेको जीवनसँग खेल्ने कुरामा राज्य संवदेनशील बन्नुपर्छ । योसँग पैसा छैन, त्यसैले डाक्टर पढ्न दिएनौँ भन्ने होइन । योग्य, ‘क्यापासिटी’ भएको मान्छेलाई अवसर दिनुपर्छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ८ : ४५ बजे

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी १८ औँ गणतन्त्र दिवस

आफ्नै पार्टीको आन्दोलनले सर्‍यो रेखाको डेब्यू नाटक ‘मीरा’

काठमाडौं – नायिका रेखा थापाको डेब्यू नाटक ‘मीरा’को प्रिमियर शो

प्रधानमन्त्रीको तर्क- गणतन्त्र कुनै दलको स्वामित्व होइन, जनता यसका मालिक हुन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैँले नेता छनोट

एमालेको जुलुस धमाधम भृकुटीमण्डप पुग्दै (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट

नयाँ बजेटलाई लिएर वित्त पुँजीपति पुलकित, अर्थमन्त्री पौडेलको अग्निपरीक्षा !

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले आज (बिहीबार)