जसले जीवनसँग जोडिएको बजेट पर्खिरहेछन्... | Khabarhub Khabarhub

बजेट २०८२/८३

जसले जीवनसँग जोडिएको बजेट पर्खिरहेछन्…


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा भोलि (बिहीबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दैछन् । बजेट सरकारको एक वर्ष अवधिको लागि आम्दानी तथा खर्चको अनुमान हो ।

बजेटमार्फत सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन अघि बढाउँछ । बजेटले आम नागरिकको जीवनदेखि उद्योगी, व्यवसायी र कर्मचारी लगायतको जीवनलाई प्रभावित पार्छ ।

बजेट वक्तव्यमा अर्थमन्त्रीले घोषणा गर्ने नीति तथा कार्यक्रमको अप्रत्यक्ष प्रभाव सबैलाई परे पनि वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, अल्पसङ्ख्यक र राष्ट्रसेवक कर्मचारी लगायतको मासिक भत्ता वा तलबमै फेरबदल गराउँछन् ।

जसकारण यो तप्काले अर्थमन्त्री पौडेलले बिहीबार घोषणा गर्ने नयाँ बजेटलाई निकै चासोका साथ हेरिरहेका छन् ।

भत्ता बढ्ने आशामा लक्षित वर्ग

वि.सं. ०५१ सालदेखि सरकारले जेष्ठ नागरिकलाई प्रत्यक्ष नगद भत्ता दिँदै आएकोमा हाल आठ लाभान्वित वर्गमा सामाजिक सुरक्षा भत्ता विस्तार भएको छ ।

जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्ग, लोपोन्मुख जाति र क्षेत्र तोकिएका बालबालिकाहरूले भत्ता पाउँदै आएका छन् ।

सरकारले यी लाभान्वित वर्गलाई क्रमशः चार हजार, दुई हजार ६६०, दुई हजार ६६०, तीन हजार ९९०, दुई हजार १२८, तीन हजार ९९० र ५३२ रुपैयाँ मासिक रूपमा उपलब्ध गराउँदै आएको छ ।

आर्थिक वर्ष ०७८/७९ देखि वृद्धाभत्ता लगायत लक्षित वर्गको लागि उपलब्ध गराउँदै आएको रकम भने सरकारले वृद्धि गरेको छैन । त्यसैले, आगामी आर्थिक वर्षको लागि सरकारले ल्याउने बजेटमा आफूहरूले प्राप्त गर्ने भत्ता बढ्ने आशा उनीहरूको छ ।

सरकारले गत आर्थिक वर्षमा एक खर्ब आठ अर्ब रुपैयाँभन्दा बढी रकम लक्षित वर्गको लागि भत्तामा खर्च गरेको थियो ।

पछिल्लो समय भत्ताबापत उपलब्ध गराउँदै आएको रकमका कारण राज्यलाई बढी भार भएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञहरूले यसमा पुनरावलोकन गर्न आवाज उठाएको पाइन्छ ।

पछिल्लो समय पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठित उच्च्स्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि जेष्ठ नागरिक भत्ता पाउने उमेर बढाउनुपर्ने सुझाव दिएको छ । सरकारले पनि सोही अनुसारको कार्ययोजना बनाएको छ ।

चालु खर्च धान्न नै स्रोत अभाव खेपिरहेको सरकारले विभिन्न लक्षित वर्गलाई उपलब्ध गराउँदै आएको भत्ता आगामी आर्थिक वर्षमा यथास्थितिमा नै राख्नसक्ने पनि देखिएको छ ।

तलब बढ्ने आशामा राष्ट्रसेवक कर्मचारी

निजामती सेवा ऐन, २०४९ अनुसार सरकारले प्रत्येक तीन वर्षमा कर्मचारीको तलब भत्तामा पुनरावलोकन गर्नुपर्ने हुन्छ ।

कर्मचारीको तलब आर्थिक वर्ष ०७९/८० मा वृद्धि भएको थियो । यस हिसाबले आगामी आर्थिक वर्षको बजेटमा सरकारले कर्मचारीको तलबभत्ता बढाउने अनुमान गरिएको छ ।

ऐनको दफा २७ को उपदफा १ को ‘क’ मा निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नका लागि अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने गरी सरकारको मुख्य सचिवको अध्यक्षतामा पुनरावलोकन समिति गठन गर्ने व्यवस्था छ ।

फाइल तस्वीर

उपभोक्ता मूल्यसूचीको ७५ प्रतिशतसम्म रकम प्रत्येक वर्ष भत्ताका रूपमा प्रदान गर्न सकिने र त्यसरी प्रदान गरिएको रकम सुरु तलब स्केलको २५ प्रतिशत वा सो भन्दा बढी हुन गएमा २५ प्रतिशत रकम तलबमा समायोजन गर्न सकिने व्यवस्था ऐनमा छ । तर, पछिल्लो तीन वर्षमा समग्र मूल्य सूचकाङ्क भने पाँच प्रतिशत भन्दा तल नै रहेको छ ।

सरकार सञ्चालन खर्चको चापमा नै भएकाले कर्मचारीको तलब भत्ता वृद्धि गर्ने अवस्था नरहेको विज्ञहरूले तर्क राख्दै आएका छन् । तर, सरकारले जेष्ठ नागरिक भत्ता बुझ्नेहरूको उमेर ६८ वर्षबाट ७० पुर्‍याउने र कर्मचारीको तलब बढाउन खोजेको अर्थ मन्त्रालय स्रोत बताउँछ ।

खनाल नेतृत्वको उच्चस्तरीय सुझाव आयोगले संघ सरकारलाई आर्थिक व्ययभार हुने गरेको कतिपय सरकारी निकाय तथा संस्थाहरू बन्द गर्न पनि सुझाव दिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट त्यस्ता केही निकाय तथा संस्थाहरू बन्द वा निजीकरण गर्ने अनुमान पनि गरिएको छ । जसमार्फत् सरकारलाई कर्मचारीको तलबभत्ता लगायत चालु खर्चमा स्रोत व्यवस्थापन गर्न सजिलो हुनसक्छ ।

राहत कुरिरहेका दीर्घरोगीहरू

सरकारले लक्षित वर्ग बाहेक पनि स्वास्थ्य सेवाको क्षेत्रमा विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत् स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको छ ।

जसमा सरकारले मृगौला प्रत्यारोपण, हेमोडायलासिस, मुटुरोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया जस्ता रोगहरूको उपचारमा अस्पतालमार्फत् उपचारमा सहुलियत हुनेगरी आर्थिक सहयोग गर्ने गर्छ ।

नेपालमा पछिल्लो समय झण्डै ३० हजार मृगौला रोगी रहेका छन् भने वार्षिक १० प्रतिशतका दरले रोगी थपिने गरेको अनुमान गरिन्छ । त्यस्तै, क्यान्सर र मुटुरोगीको सङ्ख्या पनि वर्षेनी बढिरहेको तथ्याङ्कले देखाएका छन् ।

कडा खालका रोगहरूको उपचार महँगो हुने र औषधि सेवनमा दीर्घरोगीहरूको ठूलो धन राशी खर्च हुने अवस्थामा विपन्न नागरिकको अवस्था निकै नाजुक हुने गरेको छ । अर्थात्, विपन्न नागरिकको पूर्ण उपचारसम्म पहुँच नै नहुने अवस्था समेत देखिएको छ ।

त्यसैले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् स्वास्थ्य उपचारमा थप सहुलियतका कार्यक्रम ल्याउनेमा विपन्न नागरिकको निकै ठूलो अपेक्षा रहेको देखिन्छ ।

तर, सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा नै उचित स्रोतको व्यवस्था गर्न नसक्दा स्वास्थ्यमन्त्रीले सो कार्यक्रम नै असफल हुने अवस्थामा पुग्न लागेको प्रतिक्रिया दिएका छन् ।

स्वास्थ्य बीमा बोर्डले गत आर्थिक वर्षकै झण्डै ११ अर्ब रुपैयाँ बक्यौता अस्पतालहरूलाई भुक्तानी गर्न सकेको छैन ।

यस्तो अवस्थामा सरकारले विपन्न वर्गको नागरिक उपचारको लागि थप शसक्त कार्यक्रम ल्याउने समेत आशङ्का पैदा गराएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ६ : ५२ बजे

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै