बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू) « Khabarhub

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)



काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी बस्ती विस्तार भएका ठाउँमा यत्रतत्र ढुङ्गेधारा (हिटी) भेटिइन्छन्‌ । बर्खा लागेसँगै पानीको स्रोत थपिएपछि यी ढुङ्गेधारा यतिखेर दरिएका छन्‌ ।

सांस्कृतिक शहर काठमाडौँको एक महत्वपूर्ण पक्ष नै हिटी हो । बाहिरबाट आउने मानिसहरूलाई यहाँका हिटी देख्दा अलिक अचम्म लाग्ने गर्छ । किनकि यहाँका हिटीहरू जमिनको प्राकृतिक सतह खनेर गहिरो ठाउँमा बनाइएको हुन्छ ।

यसो गर्नुका पछाडि विशेष कारण छ । प्राचीनकालदेखि नै राज्यको प्रमुख दायित्व जनतालाई पानीको व्यवस्था गर्नु हो । सोहीअनुसार त्यतिखेर राज्यहरूमा टाढा–टाढा मूलबाट पानी ल्याएर शहरमा झार्ने गरिन्थ्यो ।

टाढाबाट ल्याएर पानी झार्नुपर्ने भएकाले हिटीहरू गहिरा भएका हुन् । नेपालमा लिच्छिवीकालदेखिकै यस्ता ढुङ्गेधाराहरू पाइन्छन् ।

अधिकांश ढुङ्गेधाराहरूमा मकर अर्थात्‌ गोहीको मुखबाट पानी निकालिएको देखाइएको हुन्छ । मकरले पानी शुद्ध गर्छ भन्ने मान्यता भएकाले ढुङ्गेधाराको कलामा यसलाई उतारिएको हो ।

ढुङ्गेधारा तल शङ्ख बजाइरहेका मानिस पनि देखाइन्छ । यसलाइ नेवारीमा कोठे देवता भनिन्छ । धेरैले यसलाई भगीरथको मूर्ति भन्ने गर्छन् ।

जसरी भगीरथले घोर तपस्या गरेर गङ्गालाई स्वर्गबाट पृथ्वीमा ल्याएका थिए, यो ढुङ्गेधारामा पनि त्यस्तै भगीरथ प्रयत्नबाट पानी ल्याइएको हो भन्ने अर्थमा धाराको तलपट्टी भगीरथको मूर्ति राखिएको पाइन्छ ।

काठमाडौँका अधिकांश हिटीलाई ढुङ्गा या टेरेकोटा (माटो पोलेर बनाइएको) सर्पले घेरेर राखिएको हुन्छ । काठमाडौँ उपत्यकामा सर्पलाई पानीको देवताको रूपमा मानिन्छ । ढुङ्गेधारा वरिपरि पानीसँग सम्बन्धित जीवजन्तुकै आकृति बनाएर राखिन्छ । धेरैजसो ढुङ्गेधाराहरूमाथि सानातिना मन्दिरहरू पनि देखिन्छ ।

पछिल्लो समय शहरहरूमा अव्यवस्थित संरचना विस्तार क्रममा परम्परागत ढुङ्गेधाराहरू मासिने क्रम जारी छ । संरचना निर्माणका जताततै खन्ने र पुर्ने गर्दा हिटीसम्म पानी ल्याउने गरिएको जलमार्ग नै बन्द भइसकेको छ ।

काठमाडौँ महानगरले २०८० मङ्सिरमा अलान फाउण्डेशनमार्फत गरेको एक अध्ययनअनुसार; उपत्यकामा रहेका १५४ हिटीहरू संरक्षण अभावमा जीर्ण अवस्थामा थियो । यी ढुङ्गेधाराहरूमध्ये ५० वटामा मात्रै पानी आउने गरेको त्यतिखेर गरिएको अध्ययनले देखाएको थियो ।

पछिल्लो समय काठमाडौँका सबै पालिकाहरूले आफ्नो क्षेत्रभित्र रहेका ढुङ्गेधारा संरक्षण अभियान चलाइरहेका छन्‌ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ४६ बजे

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ– दाङमा पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ ।

दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग

महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

भोजपुर– डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका

दलका वाचापत्रमा कस्तो प्रतिबद्धता चाहन्छन् लगानीकर्ता ?

नेपालको पुँजीबजार आजको दिनमा देशको भूगोलमा मात्रै सीमित नरहेर विश्वभर