काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी बस्ती विस्तार भएका ठाउँमा यत्रतत्र ढुङ्गेधारा (हिटी) भेटिइन्छन् । बर्खा लागेसँगै पानीको स्रोत थपिएपछि यी ढुङ्गेधारा यतिखेर दरिएका छन् ।
सांस्कृतिक शहर काठमाडौँको एक महत्वपूर्ण पक्ष नै हिटी हो । बाहिरबाट आउने मानिसहरूलाई यहाँका हिटी देख्दा अलिक अचम्म लाग्ने गर्छ । किनकि यहाँका हिटीहरू जमिनको प्राकृतिक सतह खनेर गहिरो ठाउँमा बनाइएको हुन्छ ।
यसो गर्नुका पछाडि विशेष कारण छ । प्राचीनकालदेखि नै राज्यको प्रमुख दायित्व जनतालाई पानीको व्यवस्था गर्नु हो । सोहीअनुसार त्यतिखेर राज्यहरूमा टाढा–टाढा मूलबाट पानी ल्याएर शहरमा झार्ने गरिन्थ्यो ।

टाढाबाट ल्याएर पानी झार्नुपर्ने भएकाले हिटीहरू गहिरा भएका हुन् । नेपालमा लिच्छिवीकालदेखिकै यस्ता ढुङ्गेधाराहरू पाइन्छन् ।
अधिकांश ढुङ्गेधाराहरूमा मकर अर्थात् गोहीको मुखबाट पानी निकालिएको देखाइएको हुन्छ । मकरले पानी शुद्ध गर्छ भन्ने मान्यता भएकाले ढुङ्गेधाराको कलामा यसलाई उतारिएको हो ।
ढुङ्गेधारा तल शङ्ख बजाइरहेका मानिस पनि देखाइन्छ । यसलाइ नेवारीमा कोठे देवता भनिन्छ । धेरैले यसलाई भगीरथको मूर्ति भन्ने गर्छन् ।

जसरी भगीरथले घोर तपस्या गरेर गङ्गालाई स्वर्गबाट पृथ्वीमा ल्याएका थिए, यो ढुङ्गेधारामा पनि त्यस्तै भगीरथ प्रयत्नबाट पानी ल्याइएको हो भन्ने अर्थमा धाराको तलपट्टी भगीरथको मूर्ति राखिएको पाइन्छ ।
काठमाडौँका अधिकांश हिटीलाई ढुङ्गा या टेरेकोटा (माटो पोलेर बनाइएको) सर्पले घेरेर राखिएको हुन्छ । काठमाडौँ उपत्यकामा सर्पलाई पानीको देवताको रूपमा मानिन्छ । ढुङ्गेधारा वरिपरि पानीसँग सम्बन्धित जीवजन्तुकै आकृति बनाएर राखिन्छ । धेरैजसो ढुङ्गेधाराहरूमाथि सानातिना मन्दिरहरू पनि देखिन्छ ।

पछिल्लो समय शहरहरूमा अव्यवस्थित संरचना विस्तार क्रममा परम्परागत ढुङ्गेधाराहरू मासिने क्रम जारी छ । संरचना निर्माणका जताततै खन्ने र पुर्ने गर्दा हिटीसम्म पानी ल्याउने गरिएको जलमार्ग नै बन्द भइसकेको छ ।
काठमाडौँ महानगरले २०८० मङ्सिरमा अलान फाउण्डेशनमार्फत गरेको एक अध्ययनअनुसार; उपत्यकामा रहेका १५४ हिटीहरू संरक्षण अभावमा जीर्ण अवस्थामा थियो । यी ढुङ्गेधाराहरूमध्ये ५० वटामा मात्रै पानी आउने गरेको त्यतिखेर गरिएको अध्ययनले देखाएको थियो ।

पछिल्लो समय काठमाडौँका सबै पालिकाहरूले आफ्नो क्षेत्रभित्र रहेका ढुङ्गेधारा संरक्षण अभियान चलाइरहेका छन् ।









प्रतिक्रिया