नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल हो, तर यी मूल्यहरू व्यवहारमा कत्तिको जीवन्त छन् भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ। यस्तो परिवेशमा नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाको शैलीले समाजवादको वास्तविक झल्को दिन्छ भन्ने गरिन्छ। उनको व्यवहार नेपाली कांग्रेसको मूल विचारधारासँग मेल खाने खालको छ, जुन समकालीन राजनीतिमा विशेष अर्थ राख्छ।
डा. कोइरालाको शैली शालीन, सन्तुलित र नागरिकमैत्री छ। उनी भीआईपी संस्कृतिबाट टाढा छन् र तडकभडक रुचाउँदैनन्। उनको व्यवहार एक जिम्मेवार नेताको जस्तो देखिन्छ। उनी जति सरल छन्, सादगीपन उत्तिकै छ।
एकदिन मैले उनलाई काठमाडौंको दरबारमार्गस्थित एउटा सानो खुद्रा पसलमा रिचार्ज कार्ड किन्दै गरेको देखेँ। त्यतिबेला मलाई लाग्यो, साँच्चै नेताहरू पनि यति सहज हुन सक्छन् ? नेपाली कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन दिनको एउटा दृश्य पनि यसैगरी मनमा आउँछ, जतिबेला अधिकांश नेताहरू दरबारमार्गतर्फ कफी पिउन दौडिरहेका थिए, तर डा. कोइराला भने खुलामञ्चमै सामान्य नागरिकझैँ चना चटपटे खाइरहेका थिए।
देखावटीभन्दा व्यवहारमा विश्वास राख्ने डा. कोइराला अरू नेताभन्दा अलग र फरक लाग्छन्। उनीजस्ता सादा र भद्र नेताको उपस्थिति लोकतन्त्रकै लागि पनि प्रेरणादायी हुनसक्छ। नेताको जीवनशैली सरल हुँदा नेतालाई मात्र होइन, लोकतान्त्रिक गणतन्त्रलाई समेत फाइदा हुन्छ।
सामान्य देखिने यिनै क्रियाकलापले उनलाई मेरो नजरमा असामान्य बनायो। आजको भीआईपी, संस्कृतिले भरिएको राजनीतिक परिवेशमा यस्तो सहजता दुर्लभ छ। देखावटीभन्दा व्यवहारमा विश्वास राख्ने डा. कोइराला अरू नेताभन्दा अलग र फरक लाग्छन्। उनीजस्ता सादा र भद्र नेताको उपस्थिति लोकतन्त्रकै लागि पनि प्रेरणादायी हुनसक्छ। नेताको जीवनशैली सरल हुँदा नेतालाई मात्र होइन, लोकतान्त्रिक गणतन्त्रलाई समेत फाइदा हुन्छ।
कोइराला परिवार नेपाली राजनीतिमा ऐतिहासिक प्रभाव राख्ने परिवार हो, तर शेखरले आफूलाई त्यस वंशको प्रतिनिधिको रूपमा मात्र प्रस्तुत गरेका छैनन्, बरु आफ्नो सोच र कर्मद्वारा छुट्टै पहिचान बनाएका छन्। उनले विगतदेखि नै लोकतन्त्र, समाजवाद र मानवअधिकारका पक्षमा स्पष्ट भूमिका खेलेका छन्। समाजका पीडित र सीमान्तकृत वर्गप्रति उनको चासो सधैँ देखिन्छ। अन्ततः भन्नुपर्दा, शेखर कोइरालाको राजनीतिक जीवनशैली नेपाली कांग्रेसका आदर्शसँग सापेक्ष छ। उनी सिद्धान्तप्रति प्रतिबद्ध छन्। उनको आचरणमा मर्यादा देखिन्छ। यही गुणका कारण उनी नेपाली कांग्रेसभित्र मात्र होइन, समकालीन नेपाली राजनीतिभित्र पनि एक भिन्न र विशिष्ट नेता जस्ता लाग्छन्।
सामाजिक लोकतन्त्रको अभ्यासमा यिनै गुणले भविष्यमा मार्गदर्शन गर्ने सम्भावना रहन्छ। पार्टीमा १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग निकटतम प्रतिस्पर्धा गरेर उनी नेताका रूपमा अनुमोदित भए। विधानमा व्यवस्था नभए पनि कार्यकर्तामाझ उनको वरिष्ठ नेताको हैसियत छ।

कोइरालामा अरू सबै पक्ष सन्तोषजनक देखिए पनि पछिल्लो एक वर्षयता भने उनी केही बदलिएका छन्। उनको शालीन र सरल शैलीमा खासै फरक नआए पनि पछिल्लो समय उनमा सत्तामोहको छटपटी र पदको भोक प्रष्ट देखिन्छ। पहिले प्रमुख रणनीतिक घडीहरूमा विनम्र मानिने कोइरालामा अहिले संयमताको कमी झल्किन्छ। पार्टीका सामान्य कार्यकर्ताले पनि नेताहरूको व्यवहार, बोली र निर्णय प्रक्रियामा गहिरो नजर राखेका हुन्छन् र नेताहरूले सार्वजनिक रूपमा बोलेका कुराबाट कार्यकर्ता बेखबर हुने कुरा हुँदैन।
शेखर कोइराला १४औँ महाधिवेशनसम्म एउटा गजबका नेता थिए, विशेष गरी इतर समूहको नेतृत्वमा उनको योगदान उल्लेखनीय थियो। चौथो पटक सभापतिमा उम्मेदवारी दिइरहेका देउवालाई इतर समूहबाट चुनौती दिन कोइराला अगाडि आए। उनले सोहीअनुसार शानदार चुनावी अभियान चलाए, जुन निकै प्रभावशाली रह्यो। उनको लोकप्रियता यति ठूलो थियो कि, उनले देउवालाई पहिलो चरणमै स्पष्ट बहुमत प्राप्त गर्न दिएनन्। देउवालाई रोक्न स्वयं बहालवाला सभापतिका रूपमा रहेका देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङजस्ता अन्य सभापतिका प्रत्यासीहरूको सहयोग लिनुपर्ने अवस्था आयो। यसले शेखरको क्रेज र प्रतिस्पर्धात्मक क्षमतालाई पुष्टि गर्यो। उनी इतर समूहका सर्वमान्य नेता बने।
हाल आएर शेखर कोइरालाको राजनीतिक अवस्था अलि अन्योलपूर्ण देखिन थालेको छ। पहिले इतर समूहको एकताका प्रतीक बनेका उनी अहिले त्यही समूहभित्रको मतभेदको केन्द्रमा रहेका छन्। संयम र धैर्यको खडेरीका कारण उनी नेतृत्वमा स्पष्ट अडान लिन असफल देखिन्छन्। राजनीतिक दृष्टिले सक्षम र लोकप्रिय व्यक्तित्व हुँदाहुँदै, नेतृत्वमा चुक्नुले उनी इतर समूहका निर्विवाद नेता बन्नबाट पछि परेका छन्।
हाल आएर शेखर कोइरालाको राजनीतिक अवस्था अलि अन्योलपूर्ण देखिन थालेको छ। पहिले इतर समूहको एकताका प्रतीक बनेका उनी अहिले त्यही समूहभित्रको मतभेदको केन्द्रमा रहेका छन्।
उनका पछिल्ला अभिव्यक्ति, दौडधुप र भेटघाटले उनको राजनीतिक छविमा प्रश्न उठाउन थालेका छन्। प्रधानमन्त्री पदप्रति उनको अतिशय केन्द्रित ‘अर्जुन दृष्टि’ले सत्तामुखी प्रवृत्तिको आभास दिन थालेको छ। अझ चुनौतीपूर्ण पक्ष के छ भने, आफ्नै समूहबाट महामन्त्रीमा निर्वाचित गगन थापाको तेजोबध गर्न उनी जुन प्रयासरत देखिन्छन्, त्यो उनको स्वार्थप्रेरित रणनीतिको रूपमा बुझिन थालेको छ। यसरी समूहभित्रको प्रतिस्पर्धालाई व्यक्तिवादी द्वन्द्वमा रूपान्तरण गर्नुले इतर समूहमा नै असमञ्जस र असन्तुलन ल्याएको छ।
यही कार्यशैली र व्यवहारले शेखर कोइरालालाई अहिले राजनीतिक रूपमा केही दिग्भ्रमित बनाएको छ। एकातर्फ नेतृत्व लिने आकांक्षा छ, अर्कातर्फ स्पष्ट नीतिगत अडानको अभाव छ। इतर समूहको भविष्यलाई मार्गनिर्देशन गर्नुपर्ने भूमिकामा रहेका शेखर कोइरालाको प्राथमिकता स्पष्ट नहुनु र व्यवहारमा संयमता नदेखिनु नै उनको वर्तमान राजनीतिक अस्थिरताको मूल कारण जस्तो देखिन्छ। यदि यही ढर्रामा अगाडि बढेमा आफ्नै लोकप्रियतामाथि आफैंले आँच पुर्याउने खतरा रहन्छ।
कोइराला परिवार नेपाली राजनीतिमा निकै प्रभावशाली रहँदै आएको छ, र यसै परिवारका शेखर, सुजाता र शशांक कांग्रेसमा सक्रिय छन्। तर यी नेताहरूमध्ये कार्यकर्ता र नेताहरूले शेखरमाथि विशेष भरोसा गर्ने गरेका छन्। आफूलाई केवल वंशका कारण मात्र हैन, विचार र कार्यशैलीका आधारमा स्थापित गर्ने प्रयास गरे। संस्थापन पक्ष होस् वा इतर, सबै धारका कार्यकर्ताले उनलाई विचारमा स्पष्ट, नेतृत्वमा परिपक्व र व्यवहारमा लोकतान्त्रिक नेताको रूपमा चिन्ने गरेका छन्।
यही विश्वासका साथ उनले १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई चुनौती पनि दिए। तर, राजनीतिक प्रवाहको दृष्टिले हेर्दा, उनको नेतृत्व शैली नदीजस्तो निरन्तर र गहिरो हुनुपर्ने थियो, जुन व्यवहारमा कहिलेकाहीँ खहरेझैँ देखिन्छ। बेमौसममा आवाज दिने, कहिले थोरै आवाज आउने त कहिले एकदमै गडगडाउने। खहरेको प्रवाह जस्तो उनको उपस्थितिमा निरन्तरता र रणनीतिक स्पष्टता देखिँदैन। यसैले, पार्टीभित्र उनको प्रभाव र जनमत स्थायित्वको खोजीमा अल्झिएको देखिन्छ।
उनी इमानदार, विनम्र र सरल स्वभावका व्यक्ति हुन्, जसमा सन्देह गर्नुपर्ने कुनै ठाउँ छैन। तर यति विशेषता हुँदाहुँदै पनि उनका कतिपय सार्वजनिक अभिव्यक्ति गम्भीर राजनीतिज्ञको हैसियतसँग मेल खाँदैनन्। भाषिक संयमता र समयानुकूल अभिव्यक्तिको दृष्टिले हेर्दा उनीबाट व्यक्त हुने राजनीतिक प्रतिक्रिया र अभिव्यक्तिमा परिपक्वताको अभाव देखिन्छ। उनका समर्थक तथा शुभेच्छुकहरू मध्य कतिपयलाई यो पक्ष मन परेको छैन। उनीहरूको धारणा अनुसार, कोइरालाले शालीन, संयमित र दूरदर्शी व्यवहार देखाउने अपेक्षा थियो, तर त्यसको विपरीत, उनका हालका अभिव्यक्तिमा पार्टीको सर्वोच्च पद र राजकीय सत्ताप्रतिको मोह प्रष्ट रूपमा झल्किन्छ। समर्थक धैर्य र नेतृत्वको गम्भीरता खोजिरहेका छन्, तर डा. कोइराला भने त्यसको ठीक विपरीत दिशामा गइरहेका छन्।
कांग्रेस नेता विद्यार्थी आन्दोलनको कठोर अभ्यासबाट राजनीति थालेकाहरुमा पर्छन। जसमा स्पष्ट विचार, स्थिर अभिव्यक्ति र समयसापेक्ष दृष्टिकोण देखिन्छ। कोइराला परिवारको ऐतिहासिक राजनीतिक विरासत बोकेका शेखरमा यस्ता गुणको अपेक्षा गरिन्छ, तर उनका अभिव्यक्तिमा त्यो अनुभव र राजनीतिक सुझबुझको कमी देखिन्छ, जुन नेविसंघको नर्सरीबाट हुर्केका नेताहरूमा स्पष्ट देखिन्छ। राजनीतिक परिवारको पहिचानले अवसर र अपेक्षा त दिलाउँछ, तर त्यो टिकाउन सक्षम नेतृत्वको अभ्यास अनिवार्य हुन्छ। पुरानो नाम मात्रले स्थायित्व आउँदैन।
वर्तमानको राजनीति बुझ्ने, सन्तुलित बोल्ने र व्यवहारिक दृष्टिकोण राख्ने क्षमताले मात्र अगुवाइ सम्भव छ। उनीजस्ता इमानदार र सरल व्यक्तिले अबको जटिल राजनीतिमा प्रभावशाली भूमिका खेल्न चाहन्छन् भने, आफूभित्रको दृष्टिकोण र शैलीमा गम्भीर पुनरावलोकन गर्नु अपरिहार्य देखिन्छ।
वर्तमानको राजनीति बुझ्ने, सन्तुलित बोल्ने र व्यवहारिक दृष्टिकोण राख्ने क्षमताले मात्र अगुवाइ सम्भव छ। उनीजस्ता इमानदार र सरल व्यक्तिले अबको जटिल राजनीतिमा प्रभावशाली भूमिका खेल्न चाहन्छन् भने, आफूभित्रको दृष्टिकोण र शैलीमा गम्भीर पुनरावलोकन गर्नु अपरिहार्य देखिन्छ। कोइराला जसरी प्रस्तुत भइरहेका छन्, त्यसमा उनका सल्लाहकारहरूको प्रभाव नकार्न सकिँदैन।
कुनै पनि व्यक्ति पार्टी वा देशको नेतृत्वमा उभिन चाहन्छ भने, उसमा गहिरो चिन्तन, संयमता, निरन्तरता र दीर्घकालीन असर पार्ने क्षमता आवश्यक हुन्छ। खहरे खोलाजस्तै क्षणिक आक्रोश, छिटो प्रतिक्रिया र अस्थिरता बोकेको स्वभावले दिगो नेतृत्व सम्भव हुँदैन। कोइरालासहित उनका सल्लाहकारले समेत बुझ्न आवश्यक छ। पार्टी सभापति पदमा देउवासँग प्रतिस्पर्धा गरेका कोइराला हाल ससाना तथा गौण विषयहरूमा आफ्नो ध्यान केन्द्रित गरिरहेजस्तो देखिन्छ, जसले उनको राजनीतिक परिपक्वता र व्यापक नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ।
उनको यो शैली र सोच राजनीतिक परिपक्वताको दृष्टिले उपयुक्त देखिँदैन। विगतमा संस्थापन पक्ष विरुद्ध खबरदारी गर्दै पार्टीलाई सही मार्गमा ल्याउने जिम्मेवारी पाएका कोइराला स्वयं अहिले त्यो जिम्मेवारीबाट विचलित हुँदै ‘ट्र्याक’ बाहिर गएका देखिन्छन्। गगनजस्तो युवा, विचारशील र लोकप्रिय नेतालाई ‘साइजमा ल्याउने’ प्रयास गर्नु, कोइरालाजस्तो वरिष्ठ र विवेकी नेताबाट अपेक्षित कदम होइन। यो कदम उनको राजनीतिक परिपक्वतामा प्रश्न खडा गर्ने खालको छ।
तत्कालीन राजा ज्ञानेन्द्रदेखि गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा जस्ता हस्तीहरूले समेत गगन थापालाई ‘साइजमा’ ल्याउन सकेका थिएनन् भने अन्यका लागि त्यो केवल दिवा सपना हो। गगन थापा समयको मागअनुसार उदाएका नेता हुन्। उनीसँग अबको पुस्तालाई प्रतिनिधित्व गर्ने शक्ति, दृष्टि र क्षमता छ। यदि कोइरालाले वास्तवमै पार्टी र देशको दीर्घकालीन नेतृत्वको आकांक्षा राख्नुहुन्छ भने, गगनलाई प्रतिस्पर्धी होइन, सहयात्रीको रूपमा लिनुपर्ने हुन्छ। आफैँ टिमको नेता बनेर गगनलाई पार्टी सभापति बनाउने बाटो अवलम्बन गरेमा मात्रै, उनी स्वयं प्रधानमन्त्री वा राष्ट्रपतिको रूपमा अगाडि बढ्ने सम्भावना प्रबल रहन्छ। बालकोट, खुमलटार वा पूर्व राष्ट्रपतिको निवासमा पुगेर शक्ति खोज्नुभन्दा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, महामन्त्रीमा पराजित प्रदीप पौडेल जस्ता नेपाली कांग्रेस र मुलुकको भविष्य मानिएका नेतासँग सहकार्यलाई निरन्तरता दिने, मार्गदर्शक बन्ने र अभिभावकीय भूमिका निर्वाह गर्ने बाटो कोइरालाका लागि उचित र सम्मानजनक हुनेछ। यही बाटोले उहाँलाई पुन एक जिम्मेवार, दूरदर्शी र सन्तुलित नेताका रूपमा स्थापित गर्नेछ।
आफैँ टिमको नेता बनेर गगनलाई पार्टी सभापति बनाउने बाटो अवलम्बन गरेमा मात्रै, उनी स्वयं प्रधानमन्त्री वा राष्ट्रपतिको रूपमा अगाडि बढ्ने सम्भावना प्रबल रहन्छ।
उहाँ जनतामाझ सहजै घुलमिल हुने, उनीहरूको पीडा बुझ्ने र आम नागरिकका आवाजप्रति संवेदनशील रहने नेताका रूपमा परिचित हुनुहुन्छ। यस्तो गुणधर्मले उहाँलाई समकालीन राजनीतिमा पृथक् व्यक्तित्वका रूपमा स्थापित गरेको छ। कोइराला वंशका वरिष्ठ सदस्य भएकाले समेत उहाँप्रति आम जनमानसमा विशेष अपेक्षा रहिआएको छ। तर पछिल्ला दिनहरूमा उहाँका केही सार्वजनिक अभिव्यक्तिहरू भने उहाँको यिनै सहज जीवनशैली र समाजवादी छविसँग मेल नखाने देखिन्छन्।
कहिलेकाहीँ उहाँको बोलीमा देखिने तिखोपन, अस्पष्ट सन्देश र आत्ममूल्यांकनविहीन विचारले नेताको गम्भीर छविभन्दा बढी अलमलिएको व्यवहार झल्काउँछ। यत्तिको व्यवहारिक समाजवादी नेताले जिम्मेवार पदका लागि कस्तुरी मृगझैँ भौँतारिनु पर्दैनथ्यो, किनभने उहाँको पारिवारिक लगानी र राजनीतिक पूँजी आफैँ पर्याप्त छन्। यस्तो विरोधाभासले उहाँको राजनीतिक यात्रालाई स्पष्टता दिनेभन्दा अनिश्चिततातर्फ धकेल्न सक्छ।
अहिले शेखरलाई फन्फनी घुमाइरहेका शक्ति समूह नै संविधान जारी भएपछिको समयमा सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने सल्लाह दिने समूहसँग मेल खान्छन् भन्ने अनुमान लाउन गाह्रो छैन। दोस्रो संविधानसभाको निर्वाचनपछि एमालेसहितको गठबन्धनबाट नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बने। एमाले कांग्रेसबीच संविधान जारी नहुँदासम्म कांग्रेस र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर, २०७२ असोज ३ मा संविधान जारी भएपछि कोइराला स्वयं असोज २९ गते प्रधानमन्त्रीको उम्मेदवार बनेपछि कांग्रेसले भद्र सहमति तोडेको आरोप लाग्यो। फलस्वरूप एमालेले माओवादीसँग मिलेर सरकार गठन गर्यो, ओली प्रधानमन्त्री बने र कोइराला पराजित भए।
यस घटनाले कांग्रेस सत्ता र राष्ट्रपति पद दुवै गुमाएर कमजोर स्थितिमा पुग्यो। राष्ट्रपति बन्ने तयारी भइरहेका बेला उहाँ स्वयंले प्रधानमन्त्रीको उम्मेदवारी दिनु त्यो समयको उल्लेखनीय राजनीतिक क्षण थियो। तर उहाँलाई नजिकबाट चिन्नेहरूका अनुसार त्यो निर्णय उहाँको चाहनाभन्दा पनि शक्ति केन्द्रको दबाबको उपज थियो। यसले देखाउँछ कि त्यतिबेला असफल भएको शक्तिकेन्द्र अहिले फेरि सक्रिय छ, र शेखरलाई मोहराका रूपमा प्रयोग गर्न चाहन्छ। तर शेखरजस्तो परिपक्व र अनुभवी नेताले यस्तो खेल बुझ्न सक्नुपर्छ र उनी मोहरा बन्नु हुँदैन।
आफ्ना सल्लाहकारको प्रभाव र नियतसमेत मूल्याङ्कन गर्दै, सचेत र सतर्क रहने समय हो यो। शेखर कोइरालासँग नेतृत्वका लागि आवश्यक सबै गुण छन्, तर अहिले उहाँको अवस्था कस्तुरी मृगझैँ देखिन्छ नाभिमै बास्ना भएर पनि वरपर खोजी गरिरहेझैँ। धैर्य राख्न सकियो भने पद आफैँ आउनेछ, तर यदि सम्हालिन सकिएन भने, प्रधानमन्त्री वा राष्ट्रपतिको पद उहाँका लागि मृगतृष्णा बन्न सक्ने खतरा पनि उत्तिकै छ।
शेखर कोइरालासँग नेतृत्वका लागि आवश्यक सबै गुण छन्, तर अहिले उहाँको अवस्था कस्तुरी मृगझैँ देखिन्छ नाभिमै बास्ना भएर पनि वरपर खोजी गरिरहेझैँ। धैर्य राख्न सकियो भने पद आफैँ आउनेछ, तर यदि सम्हालिन सकिएन भने, प्रधानमन्त्री वा राष्ट्रपतिको पद उहाँका लागि मृगतृष्णा बन्न सक्ने खतरा पनि उत्तिकै छ।
प्रभावशाली नेताको हैसियतमा रहेका कोइरालाका पछिल्ला एक वर्षभित्रका अभिव्यक्तिहरू उनको व्यक्तित्वसँग मेल खाँदैनन्। उनी बारम्बार उल्टो धारमा उभिने प्रयासमा देखिन्छन्। त्यो सार्वजनिक खपतका लागि वा प्रचारबाजीका लागि उपयुक्त देखिन सक्छ, तर एक वरिष्ठ राजनीतिज्ञका लागि त्यो शैली कुनै हालतमा सुहाउँदो हुँदैन। अझ कोइरालाजस्तो सालिन नेताका हकमा त यस्तो रवैया झनै अनुपयुक्त देखिन्छ।
कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार रहेको बेला उनले संसद्को पहिलो र दोस्रो दल कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्छ भनेका थिए। तर, गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेपछि उनले पार्टीभित्रै विद्रोहको वातावरण निर्माण गरे। उनले आफ्ना निकट नेता केदार कार्कीलाई समर्थन गराएर विद्रोह गराए र २०८० साल असोज २७ गते नेकपा एमालेका ३९ सांसदको समर्थनमा केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्री बने।
कार्कीको पक्षमा कोइराला निकट अन्य आठ जना प्रदेशसभा सदस्यहरू समेत विद्रोहमा उत्रिए। यद्यपि, कांग्रेस सभापति देउवा र महामन्त्री थापाको सुझबुझले गठबन्धनको सरकार जोगियो। पार्टीभित्र सम्भावित दुर्घटनाबाट बच्न सफल भयो। यसो भइसक्दा पनि कोइरालाले एमाले अध्यक्ष ओलीको निवास बालकोटसम्म पुगेर चक्कर लगाए। कांग्रेस माओवादी गठबन्धन सरकारको चर्को आलोचना गरे। जब एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए, उनले त्यो सरकार हटाएर देउवालाई प्रधानमन्त्री बनाउन ओलीसँग सहकार्य गरे।
तर केही समयपछि उनले भन्न थाले यो सरकार पनि ठीक भएन। कांग्रेस–एमाले गठबन्धनबाट बनेको ओली नेतृत्वको सरकारले गठन भएको १०० दिन पनि नपुगी उनले चर्को आलोचना सुरु गरे। सामान्यतः सरकार गठनपछिको प्रारम्भिक सय दिनलाई ‘हनिमुन पिरियड’ भनिन्छ र त्यो अवधिमा विपक्षी दलहरू समेत संयमित रहने चलन छ। तर कोइरालाले त्यो समयसम्म पनि पर्खिएनन्। उनले सरकारको आलोचना गर्दै सुशासन, आर्थिक विकास र प्रभावकारी प्रशासनको अभाव भएको आरोप लगाए। अहिले पनि उनी निरन्तर सरकारविरोधी दौडधुपमा देखिन्छन्। कहिले माओवादी केन्द्रका नेताहरूसँग खुमलटारमा छलफल गरिरहेका हुन्छन् त कहिले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेर ओली सरकारको विकल्पबारे चर्चा गरिरहेका हुन्छन्।
उनको उल्टो बग्ने यात्रा यतिमै सीमित छैन। २०८१ फागुन २३ गते विर्तामोडमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले ज्ञानेन्द्र शाहलाई ‘पूर्व राजाु नभई राजा’ भन्ने अभिव्यक्ति दिए। साथै, राजसंस्थाको बहसलाई स्वाभाविक ठाने। यस्तो अभिव्यक्तिले लोकतान्त्रिक गणतन्त्र ल्याउन अग्रणी भूमिका खेलेको नेपाली कांग्रेसकै उपहास हुन्छ भन्ने उनले बुझ्न सकेनन्। त्यतिमात्र होइन, उनले सरकारलाई “भ्रष्टाचारमा कांग्रेस साक्षी भएको” आरोप लगाए। तर अर्कातिर, टेरामक्स काण्डमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा चलाएका मोहन बस्नेतलाई संरक्षण दिन खोजिरहेका छन्। यहाँ उनको बोली र व्यवहारबीचको असंगति प्रष्ट झल्किन्छ। त्यस्तै, उनले पार्टी लाइन विपरीत, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेप्रति समेत सहानुभूति देखाउँछन् र सरकारले लामिछानेविरुद्ध चालेका कदमको विरोध गर्न पछि पर्दैनन्।
कुनै बेला राजनीतिक स्थायित्वको लागि संसद्को पहिलो र दोस्रो दल कांग्रेस एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने धारणा राख्ने कोइराला, आज हरेक सार्वजनिक अभिव्यक्तिमा सरकारको आलोचना गरिरहेका छन्। उनी स्वयं सरकारका गतिविधिलाई ‘ट्र्याक बाहिर गएको’ ठहर गर्दै वक्तव्य दिन्छन्। तर उनी पार्टीको झन्डै ४० प्रतिशत हिस्साका नेता हुन् र उनका पक्षबाट मन्त्रीसमेत सरकारमा सहभागी छन्। यस्तो विरोधाभासपूर्ण व्यवहारले उनी आफ्नै पार्टीको नीतिगत ‘ट्र्याक’मा भेटिँदैनन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा, जुन स्थान पार्टीलाई दिशा दिनका लागि हो, उनी त्यसको उल्टो सदस्य विनोद चौधरीसँग अनावश्यक बहसमा अल्झिएका देखिन्छन्। पार्टीभित्र इतर समूहको नेताको रूपमा उनीबाट प्रभावशाली भूमिका अपेक्षा गरिन्छ, तर त्यो व्यवहारमा प्रस्ट देखिँदैन। उनी सभापतिको निर्णय वा कार्यशैलीलाई चुनौती दिनुपर्ने बेला व्यक्तिगत खटपटमै सीमित भइरहेका हुन्छन्।
पार्टीभित्र इतर समूहको नेताको रूपमा उनीबाट प्रभावशाली भूमिका अपेक्षा गरिन्छ, तर त्यो व्यवहारमा प्रस्ट देखिँदैन। उनी सभापतिको निर्णय वा कार्यशैलीलाई चुनौती दिनुपर्ने बेला व्यक्तिगत खटपटमै सीमित भइरहेका हुन्छन्।
साउनको महिना मौसमले मात्र होइन, राजनीतिले पनि संकेत दिन्छ। यति बेला सामान्यत मनसुन सक्रिय हुने समय हो, तर यो वर्षजस्तो लाग्दैन—जसरी पानी पर्नुपर्ने हो, त्यसको प्रभाव खासै देखिँदैन। तर, राजनीतिमा भने शान्त देखिएको पोखरीमा कोइरालाले ढुंगा हानेका छन्। नेपाली कांग्रेसको नेतृत्वप्रति असन्तुष्टि बोकेका कोइरालाले काठमाडौंमा आफ्ना निकट सांसदहरू भेला गरेर सक्रियता देखाउन थालेका छन्। छलफलको मूल एजेन्डा प्रधानमन्त्रीको कुर्सी हो, जुन यथार्थतः हासिल गर्न जटिल छ।
राजनीतिक सहमतिका क्रममा पटक–पटक उल्टो धार रोज्ने कोइरालाको शैली फेरि दोहोरिएको देखिन्छ। पार्टीको आन्तरिक एकता र सरकारको स्थायित्वको सन्दर्भमा यस्तो गतिविधिले अनावश्यक तरंग उत्पन्न गरिरहेको छ। कांग्रेसभित्रको नेतृत्व संघर्ष, भविष्यको समीकरण र संसदीय गणितको पृष्ठभूमिमा कोइरालाको चाललाई कतिपयले असमयिक र अव्यवहारिक ठानिरहेका छन्। यस्तो अवस्थामा कांग्रेसभित्रको राजनीतिक मौसमलाई अशान्त बनाउने प्रयासले पार्टीभित्र गहिरो ध्रुवीकरण निम्त्याउन सक्छ। कांग्रेस मात्र होइन, मुलुकको समग्र हितलाई ध्यानमा राख्दा, कोइरालाजस्ता अनुभवी र सुझबुझ भएका नेताले अस्थिरता निम्त्याउने खालका अभिव्यक्ति बाट जोगिनु पर्छ। कोइरालाले स्थिरता कायम गर्न भूमिका निर्वाह गर्नुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन नेतृत्व तहमा संयम, परिपक्वता र दूरदृष्टि अपरिहार्य छ, जुन अपेक्षा कोइरालाजस्ता वरिष्ठ नेताबाट स्वाभाविक रूपमा गरिन्छ।
यसरी हेर्दा, पार्टीभित्रको बहस र नेतृत्वप्रति असहमति स्वाभाविक भए पनि त्यसलाई सुसंस्कृत ढंगले व्यवस्थापन गर्न सक्नुपर्छ भन्ने जिम्मेवारी खासगरी वरिष्ठ नेताहरूमा रहन्छ। कोइरालाको विगतको राजनीतिक यात्राले उनी गहिरो अनुभव र सूझबुझ भएका नेता हुन् भन्ने स्थापित गरिसकेको छ। तर, पछिल्लो समय सार्वजनिक रूपमा प्रकट हुने अभिव्यक्तिहरूले त्यो गम्भीरता, सन्तुलन र परिपक्वता झल्काउन सकेको देखिँदैन। यस्ता शैलीले कांग्रेसभित्रको वैचारिक बहसलाई जीवन्त बनाउने सट्टा व्यक्तिगत असन्तुष्टिको सन्देश दिन सक्छ, जसले कार्यकर्तामा अन्योल सिर्जना गर्न सक्छ। यस्तो अवस्था पार्टीको स्वास्थ्यका लागि सकारात्मक होइन।
आलोचना वस्तुनिष्ठ, वैचारिक र संगठनको हितमा आधारित हुनुपर्छ, न कि व्यक्तिगत असन्तुष्टि वा तात्कालिक धारणाले निर्देशित। अहिलेको संवैधानिक लोकतन्त्र, समावेशी मूल्य, संघीय ढाँचा, र मुलुकको राजनीतिक संक्रमण संवेदनशील चरणमा छ। यस्तो अवस्थामा कोइराला जत्तिका नेताले आत्मसमीक्षा गर्दै पार्टीभित्र वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, आगामी पुस्तासँग संवाद र सहकार्य गर्ने बाटो रोज्नुपर्छ।
पदीय आकांक्षा स्वाभाविक हो, तर त्यो नेतृत्व निर्माणको माध्यम हो, संगठन ध्वस्त पार्ने कारण हुनु हुँदैन। अतः डाक्टर कोइरालाको विशिष्ट अनुभव, राष्ट्रिय दृष्टिकोण, र वैचारिक गहिराइलाई प्रयोग गर्दै पार्टी र सरकारका बिच समन्वयकारि भूमिकाको अपेक्षा गर्न सकिन्छ। जुन वर्तमान अस्थिर राजनीति र कांग्रेसको सुदृढीकरण दुवैका लागि महत्वपूर्ण हुन्छ।
कोइरालाको विशिष्ट अनुभव, राष्ट्रिय दृष्टिकोण, र वैचारिक गहिराइलाई प्रयोग गर्दै पार्टी र सरकारका बिच समन्वयकारि भूमिकाको अपेक्षा गर्न सकिन्छ।
नेपाली कांग्रेसको वैचारिक र सांगठानिक यात्रामा जहाँ नेतृत्वको मार्गदर्शनका साथै विवेकशील हस्तक्षेप पनि अपेक्षित हुन्छ। डाक्टर शेखर कोइरालाले आफ्नो राजनीतिक अनुभव, पारिवारिक सम्पदा र सार्वजनिक विश्वासको जगमा उभिएर दलभित्रको आन्तरिक असन्तुलनलाई संस्थागत संवादमार्फत समाधान गर्न अग्रसर हुन जरुरी छ।
अन्ततः राजनीतिक परिपक्वता, धैर्य र जिम्मेवार व्यवहार नै कोइरालाको यथार्थ पहिचान हुनुपर्छ। उहाँ जत्तिको नेताले बेमौसमी लिगलिग दौडमा लाग्नु हुँदैन। उनले स्थिर अभिव्यक्तिमा कायम रहेर र सन्तुलित गतिविधिका साथ सत्ता मोह बाट टाढा रहेर प्रभावशाली भूमिका निर्वाह गरे भने त्यो कांग्रेस मात्र होइन, समग्र लोकतान्त्रिक गणतन्त्रकै समृद्धिको आधार बन्न सक्छ।
प्रतिक्रिया