वासिङ्गटन- पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामाले गाजा क्षेत्रमा राहत सामग्री पुग्न दिनुपर्ने बताएका छन्। उनले मानिसहरूलाई खाना र पानीबाट टाढा राख्नुको कुनै तर्कसंगत कारण हुन नसक्ने पनि बताएका छन् ।
ओबामाले सामाजिक सञ्जाल एक्समा अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका दुई रिपोर्टहरू सेयर गर्दै गाजा क्षेत्रमा भोकमरी, कुपोषण र सम्भावित अकालको अवस्थाबारे बोलेका छन्। ती रिपोर्टहरूमा गाजाको यस स्थितिलाई हेरेर विश्वले चुप बस्न नमिल्ने भनिएको छ ।
ओबामाले लेखेका छन्, ‘गाजा संकटको दीर्घकालीन समाधानका लागि इसराइली बन्धकहरूको रिहाइ र इजरायली सैन्य कारबाहीको अन्त्य आवश्यक छ। यस्ता लेखहरूले निर्दोष मानिसहरूको भोकमरीबाट हुन सक्ने मृत्युको त्रासदी रोक्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखाउँछन्।’
उनले थपेका छन्, ‘गाजामा मानवीय सहायता पुग्न दिनु आवश्यक छ। खाना र पानी मानिसहरूबाट रोक्नुको कुनै पनि तर्क छैन।’
गाजामा खानेकुराको चरम अभावका कारण अकालको स्थिति सिर्जना भएको छ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै गाजामा कुपोषण ‘खतरनाकस्तर’ मा पुगेको जनाएको छ । यो अवस्था तीव्र गतिमा बढिरहेको उसले जनाएको छ।
यता, आइतबार जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) ले गाजामा हवाई मार्गबाट राहत सामग्री खसालेका छन्।
उता इजरायलले गाजाको केही भागमा प्रतिदिन १० घण्टा सैन्य कारबाही रोकिने बताएकोछ । संयुक्त राष्ट्रसंघमार्फत् राहत सामग्री पठाउन विशेष ‘ह्युम्यानिटेरियन कोरिडोर’ खोलिने पनि उसले जनाएको छ।
प्रतिक्रिया