अझै कायम छ ‘कटुवाल प्रथा’ « Khabarhub

अझै कायम छ ‘कटुवाल प्रथा’


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा करिब हराइसकेको भए पनि पहाडी जिल्ला लमजुङमा भने कायमै छ ।

लमजुङमा आधुनिक प्रविधिको विकास तथा पहुँच नभएको होइन ।  प्रायजसो नागरिकका हातहातमा मोबाइल र इन्टरनेट सुविधा छ । तथापि, यहाँका कतिपय गाउँमा कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । जिल्ला सदरमुकाम रहेको बेँसीसहर नगरपालिका– १० को गाउँबेँसी, लेतेफाँट, कल्लेरी, डाँडागाउँ, क्व्होलासोथर गाउँपालिका– ८ घाम्राङ, घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँका स्थानीयले आफ्नै गाउँको खबर प्राप्त गर्न भने कटुवालको भर पर्नुपर्छ । बेँसीसहर वडा नम्बर १० का ७० वर्षीय कालु परियार जब गाउँको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन्, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् ।

परियारले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको वा हुनेवाला सूचना वा खबर सुनाउँछन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दा यसरी दिने सूचनामै विश्वास गर्छन् । गाउँमा हुने विभिन्न खाले भेला, कार्यक्रम तथा बैठक, विवाहलगायत शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्ने प्रचलन छ ।

बाँझखेतका स्थानीय तथा शिक्षक नन्दराज घलेले भने, ‘विश्वका समाचार तथा विभिन्न खबर प्राप्त गरे पनि गाउँका समाचार तथा खबर भने कटुवाल कराएपछि मात्र थाहा पाउने गरेको छु । अन्य माध्यमबाट थाहा पाए पनि कटुवाल कराएपछि मात्रै ढुक्क भइन्छ ।’

स्थानीय दूधप्रसाद घले पनि गाउँमा हुने धेरैजसो कामका सूचना कटुवालमार्फत थाहा पाइने गरेको बताउँछन् । वर्षौँदेखि गाउँमा यो प्रथा चलिआएकोले सूचना प्रविधिको जति विकास भए पनि कटुवालको नै महत्त्व रहेको उनको भनाइ छ ।

कटुवाल परियारले यसरी नै गाउँमा कराउँदै सूचना दिँदै आएको ३५ वर्ष भएको उनको भनाइ छ । ‘गाउँमा जे कार्य भए पनि मलाई भन्छन्, अनि डाँडामा गएर गाउँलेलाई ठूलो स्वरमा कराएर सूचना दिने गरेको छु’, उनले भने । यसरी सूचना दिँदा कतिले थाहा पाएर पनि सुनिएन, बुझिएन भन्ने गुनासो गर्दा यो पेसा त्यति सजिलो नरहेको अनुभूति हुने गरेको परियारले सुनाए ।

यसबापत विगतमा हरेक वर्ष प्रतिघर १२ माना कोदो दिँदै आएकोमा गत वर्षदेखि भने दुई पाथी दिन थालिएको बताए ।

यसबाहेक कोदाको उत्पादन कम भएकाले कतिपयले कोदो नै दिने गरे पनि धेरैजसोले त्यसका मूल्य बराबर पैसा नै दिने गरेको परियारले बताए । उनले नयाँ पुस्तामा भने यस प्रेसाप्रति कुनै चासो नरहेकाले आफ्नो शेषपछि पेसा नै नरहेन चिन्ता लाग्न थालेको गुनासो गरे ।

त्यस्तै, क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका दूधबहादुर गुरुङले पनि कटवाल कराउने काम गर्दै आएका छन् । यहाँ वर्षौँ पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको  उनको भनाइ छ । त्यसबापत आफूले गाउँलेबाट सामूहिक रूपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो प्राप्त गर्ने गरेको गुरुङले बताए ।

गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायत काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएका छन् ।

वडा सदस्य खमाया गुरुङले गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति कटुवालले सूचना दिएपछि अरू माध्यमभन्दा बढी विश्वास लाग्ने गरेकाले पनि प्रथा कायमै रहेको बताए । वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उनको भनाइ छ ।

यहाँ बर्सेनि गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाउने चलन रहेको छ । यहाँ जिल्लाका अरु केही गाउँमा समेत कटुवाल प्रथा कायमै रहेको जनाइएको छ । (रासस)

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : २१ बजे

अमेरिकी सांसद भन्छन् : इरानसँग आत्मसर्पण गरेजस्तो भयो

वाशिङ्टन- इरानसँगको सम्झौतालाई लिएर अमेरिकामै विवाद र विरोध भएको छ।

युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

एजेन्सी– लामो समयको अवरोधपछि युरोपेली सङ्घ (ईयु) ले युक्रेनको सदस्यता

विज्ञान प्रयोगशालाका लागि विश्वसनीय कानुन बनाउन खोजेका छौँ : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि

अमेरिका-इरान सम्झौताप्रति इजरायलमा असन्तुष्टि, विपक्षीले भने : नेतन्याहू प्रभावहीन र निरीह देखिए

तेल अभिभ- इजरायलको डेमोक्रेट्स पार्टीका प्रमुख याइर गोलानले अमेरिका र