काठमाडौं- बागलुङ १ बाट विजयी भएका चित्रबहादुर केसी ८६ वर्षका भए । समकालिन राजनीतिमा परिपक्व र स्पष्ट बक्ताको छवि बनाएका केसी अझै थाकेका छैनन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष रहेका उनी बरु आगामी निर्वाचनमा उम्मेद्वारी दिने मनशायमा देखिन्छन् ।
जेन जी आन्दोलनपछि राजनीतिमा पुस्तान्तरणको मुद्दा प्रबल भइरहँदा खबरहबको राजनीतिबाट विश्राम लिने होइन भन्ने प्रश्नमा उनी भन्छन्– ‘मैले देश बेचेको छैन भ्रष्टाचार गरेको छैन छोरीचेली बेचेको छैन । मैले किन राजनीतिबाट विश्राम लिने ?’
चित्रबहादुर बुढो भयौ राजनीति छोड भनेर मलाई कसैले भनेको छ र ? केसीले सुशीला कार्कीको सरकारलाई भने असंवैधानिक भनेका छन् । उनले प्रधानमन्त्री कार्कीले सिन्कोसम्म भाँच्न नसक्ने दाबी गरे । जेनजीले उठाएका मागहरू जायज रहेको तर आइएनजिओ र एनजीओबाट यो सरकार बनेको भन्दै केसी चिन्तित छन् ।
केसी जीएनजीले उठाएका मागहरूलाई आफूले पटकपटक सदनबाट उठाएको समेत दाबी गरे । उनै केसीसँग पछिल्लो राजनीति अवस्था र नयाँ सरकारका विषयमा गरिएको कुराकानीको संक्षिप्त अंश-
कति वर्षको हुनुभयो ?
म आगामी माघबाट ८६ वर्ष पुग्छु । म ८६ वर्ष पुग्न ३ महिना मात्र बाँकी छ ।
अब राजनीतिबाट विश्राम लिने मनसायमा हुनुहुन्छ ?
राजनीति छाड्ने भ्रष्टाचारीले हो । नेपाली छोरी चेली बेच्नेले पो राजनीति छाड्ने हो त । ८६ वर्ष पुगेको चित्रबहादुरले राजनीति छाड्नुपर्छ भनेर नेपाली जनताले भनुपर्यो नि, कसैले भनेको छैन ।
उसो भए फेरि निर्वाचन लड्ने ?
यो त पछिको कुरा हो । मुख्य कुरा अहिले निर्वाचन नै हुन्न । निर्वाचनमा लड्न नपाउने त राष्ट्रघाती र भ्रष्टाचारीले हो । छोरी चेली बेच्नेले हो । सहकारी ठग्नेले हो । नेपाली जनताले यिनलाई भोट नदिने हो । हामी त हमेसा राष्ट्रियताको पक्षमा लडिरहेका छौँ । भ्रष्टाचारीको विरुद्धमा र नेपाली राष्ट्र र राष्ट्रियताको लागि लडिरहेका छौँ । आवश्यक परे भाग लिइन्छ । आवश्यक नपरे लिइँदैन । तर मैले किन राजनीति छाड्नुपर्छ र ?
८६ वर्ष पुगिसक्दा नि अझै बिदा नहुने अनि चित्रबहादुर केसी नै फेरि आदर्शको कुरा गर्ने भन्छन् होला नि जनताले ?
राजनीति गर्दा गर्नु नगर्ने ओली, देउवा लगायत चाहिँ बिदा हुने हो । जेनजीले भन्नुपर्थ्यो नि उमेर पाको भएकाले देश बेच्यो चित्रबहादुरले भनेर । बूढो भएका कारण नेपाली छोरी अरबमा दलाललाई बेच्यो भन्न सक्नुपथ्र्यो नि । उमेरले होइन राजनीति गर्ने विचारले हो । कामले गर्ने हो । एनजीओ आइएनजीओबाट पालित पोषित मान्छेलेउराल्ने नारा हो ।
गणेशमानलाई , कृष्णप्रसादलाई बुढो भयौ अब राजनीतिक नगर भन्यौं हामीले ? विचार र चरित्र मुख्य कुरा हो । राजनीति गर्न पाउने त अधिकार हो । महात्मा गान्धी र जवाहरलाल नेहरू कति वर्षमा राजनीति छाडेका थिए ? यो त भन्ने कुरा हो । एनजीओ/आईएनजीओको जनता उफार्न भ्रम छर्ने काइदा हो । मान्छे तन्नेरी छ, उसको चरित्र र विचार ठिक छैन भने त्यो काम दिँदैन । अफवाह फैलाउने काम नगरे हुन्छ ।
नेल्सन मण्डेला २७ वर्ष जेल बसेर राजनीति गरे नमरुन्जेल । विचार प्रधान हो नि । विचार भ्रष्ट छ । देशद्रोही छ भने २०, २२ वर्षको तन्नेरीले पनि राजनीति गर्नु बेकार छ ।
यहाँले यसो भनिरहँदा जेनजीले त अब पुराना नेतालाई बिदा गरेर नयाँ अनुहार राजनीतिमा आउनुपर्छ, पुरानाले देश खोक्रो बनाए भनिरहेका छन् नि ?
यो कुरा हाम्रो पार्टीको आन्तरिक कुरा हो । भाग लिने नलिने भन्ने विषयमा छलफल हुन बाँकी छ । पार्टी बैठक बसेर निर्णय हुन्छ । पहिलो कुरा छँदा खाँदाको संसद् भत्काएर निर्वाचनमा जाने नाटक नै हो ।
उसो भए जेनजीले उठाएका मागहरू ठीक छैनन् ?
उनीहरूले उठाएका माग जायज छन् । म समर्थन गर्छु । भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । सामाजिक सञ्जालको प्रतिबन्ध हट्नुपर्छ । देशलाई औद्योगीकरण गर्नुपर्छ भन्ने जेनजीको माग जायज हो । तर त्यो जेनजीको आवरणमा देशी विदेशी नेपालका शत्रुले नेपाललाई नै खरानी बनाए ।
जनतालाई रोजगार दिने कुरा र जेनजीका माग पटक–पटक मैले सदनमा उठाएका माग हुन् । त्यसको बहाना पारेर विभिन्न संरचना जलाए यो ठीक छैन । यो कुरामा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नै मिसिएका कुरा आएका छन् । कहीँ कहीँ त माओवादी पनि मिसिएका छन् । विदेशी हस्तक्षेपले जे गर्नु थियो गरे । तर आरोप जेनजीलाई लगाए ।
वास्तविक जेनजीले उठाएका माग त सही थिए नि । तर बहाना बनाएर देशलाई खरानी पारे । नेपाल राष्ट्रका वर्ग दुश्मनले खरानी पारेको हो । तर आवरण जेनजीको देखियो । ०७ सालबाट यता जोसुकै प्रधानमन्त्री भए पनि दलाई लामाले बधाई दिएको थाहा थिएन । तर यो पटक त दियो नि । यसैबाट स्पष्ट भएन र, तिब्बतबाट लखेटिएर भारत गएर बसेको मानिसले सुशीला कार्की प्रधानमन्त्री भएकोमा बधाई दिनुपर्ने भन्ने कुरा त छर्लङ्गै बुझियो नि ।
नयाँ सरकारलाई कसरी हेरिरहनुभएको छ ?
यहाँलाई पनि थाहा छ– यो अवैधानिक सरकार हो । जनताले चुनेको सरकार होइन । एनजीओले बनाएको सरकार हो ।
जेनजीले यत्रो विद्रोह गरेर बनाएको सरकार कसरी अवैधानिक हुनसक्छ ?
कठैबरा ! संविधानमा व्यवस्था नै छैन नि । एनजीओ आईएनजीओबाट सरकार गठन भएको छ । संसद् विघटन गरेर आईएनजीओबाट सरकार गठन गर्ने यो शैली नै अवैधानिक छ ।
सुशीला कार्की नेतृत्वको सरकारलाई के सुझाव दिनुहुन्छ ?
सुझाव दिने ठाउँ नै छैन । यिनले सिन्को भाँच्न सक्दिनन् । विदेशीले जे भन्यो त्यही गर्ने हो । यिनले केही गर्न सक्दिनन् ।
के गरेको भए हुने थियो ?
जसले सत्तामा बसेर भ्रष्टाचार गरेका छन् , उनीहरूलाई कारबाही गर्ने हो । संसद्को के गल्ती थियो ? सांसदले भ्रष्टाचार गर्न सिकाएको त होइन नि । संसद ज्ञानेन्द्र शाह र महेन्द्र शाहले भत्काए ।
केपी ओलीले दुई पटक भत्काए । गिरिजाप्रसाद कोइरालाले दुई पटक भत्काए । यस कारण लोकतन्त्रमाथि बारम्बार आक्रमण गरिएको हो । भ्रष्टाचारीलाई पो कारबाही गर्ने हो त । सिंहदरबार जलाउने हो ? संसद् भवन जलाउने हो र ? यो त अघोषित रुपको विदेशी आक्रमण हो ।
के आधार छ ?
यहाँलाई थाहा छैन ? कति एनजीओ आइएनजीओ आएका छन् । सबै यस्तै संस्थासंग जोडिएका मान्छेहरू संलग्न छन् । कसका कसका सिफारिस छन् ? अनि यिनले देश बनाउँछन् ? यिनले देशको सार्वभौमता, अखण्डता, सर्वोच्चताको रक्षा गर्छन् ? यी विदेशी एनजीओ, आइएनजीओबाट सञ्चालित छन् ।
प्रधानमन्त्री सुशीला कार्की पनि एनजीओबाट नियुक्त हो र ?
थिइनन् भनेर कसरी भन्ने । पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री हुने व्यवस्था छ संविधानमा ? छैन । त्यसैले यो सरकार अवैधानिक नै हो ।
वैधानिक प्रमाणित गर्न सरकारले के गर्नुपर्छ ?
हैन, संसद् राखेर भ्रष्ट्राचारीलाई कारबाही गर्नुपर्ने थियो । कारबाही गर्ने ऐन व्यवस्था छ नि । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । भ्रष्टाचार गथ्र्यो भनेर संविधान नै मास्ने लोकतन्त्र नै खाइदिने गर्नु हुँदैन । लोकतन्त्रलाई देखि नसहेर यस्ता निर्मम काम भएका हुन् । लोकतन्त्रको कारणले होइन ।
यहाँले संघीयताको निरन्तर विरोध गर्दै आउनुभएको थियो । अहिले के भन्नुहुन्छ ?
प्रदेश अहिलेका पार्टीहरूले बनाएको होइन । विदेशीले ल्याएका हुन । विदेशीले नेपालको संघीयता र समृद्धिको लागि यसखाले शासकीय स्वरुप बनाएका होइनन । प्रदेशको काम चाहिँ स्थानीय बिदा स्वीकृतगर्ने मात्र छ । प्रदेशको काम उद्योगधन्दा कलकारखाना खोल्न नभएर विदा स्वीकृत गर्ने हो । प्रदेशको मुख्य काम त्यही छ ।
आठवटा जिल्ला भएको प्रदेशमा २० जना मन्त्री छन् । यसो हुँदा प्रदेशको औचित्य छैन । प्रदेश त विदेशीहरूले बोकाएको भारी हो । यो नेपाली समाजको आवश्यकता होइन । विदेशीले नहटाएसम्म प्रदेश हट्दैन । जेनजीले भने पनि फेनजीले भने पनि । राष्ट्रिय जनमोर्चाले त सुरुका दिनदेखि भनेको हो नि संघीयता चाहिँदैन देश टुक्र्याउन पाइँदैन भनेर ।













प्रतिक्रिया