एउटै गोठमा ५७ वैदिक गाई संरक्षण « Khabarhub

एउटै गोठमा ५७ वैदिक गाई संरक्षण


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दु धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो ।

विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न सुरु गरिएको थियो ।

अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंश संरक्षण केन्द्र स्थापना गरिएको थियो । विसं २०७२ मा पर्वतको जलजला गाउँपालिका–७ स्थित धाइरिङको गण्डकी गोपाल गौशालाबाट एउटा गाई हेलिकप्टरमा ल्याएर सुरुआत गरिएको गौवंश संरक्षण केन्द्रमा यतिबेला एउटा साँढेसहित ५७ वटा गाई छन् ।

स्थानीयको निःशुल्क प्राप्त ८२ रोपनी जमिनमा करिब आठ लाखका संरचना निर्माण गरिएको छ । स्थानीय प्रजातिका वैदिक गाई संरक्षणमात्र होइन, गाईको गहुँत प्रशोधन गरेर आयुर्वेद औषधि बनाउने तयारीसमेत गरिएको संरक्षण केन्द्रका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए।

‘संरक्षण केन्द्रका गाई बिहान एकपटक मात्र दुहिन्छ, त्यो पनि बाच्छाबाच्छी अघाएपछि, यहाँका बाच्छाबाच्छी दाम्लोमा बाँधिन्न, चौबीसै घण्टा खुला छोड्छौँ’, अध्यक्ष आचार्यले भने, ‘संरक्षण केन्द्रका परिकल्पनाकार मुक्तिनाथ बाबाको इच्छाअनुसार बाच्छाबाच्छी अघाएपछिमात्र बिहान एक छाक दूध दुहुने हो, साँझमा दुहुने चलन छैन ।’

थोरैथेरै भएको दूध घ्यू पूजापाठमै प्रयोग हुन्छ । पछिल्लो समय गाउँघरमा जर्सी गाई पाल्नेहरू बढ्दैछन् । स्थानीय प्रजातिका गाई देख्नै मुस्किल छ । संरक्षण केन्द्रमा स्थानीय प्रजातिका गाई सङ्ख्या बढ्दै जाँदा धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै छ । बागलुङको पञ्चकोट घुम्न जाने अधिकांश पर्यटक गौवंश संरक्षण केन्द्रमा समेत पुग्न थालेको पञ्चकोट विकास परिषद् बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले बताए।

संरक्षण केन्द्रका अध्यक्ष आचार्यले भने, ‘तिहारको गाईपूजामा गाई पुज्नेहरूको भीड नै लाग्यो, डेढ लाख त भेटीमात्र उठ्यो । एकैठाउँमा स्थानीय प्रजातिका धेरै गाई भएपछि तिहारमा मात्र होइन अन्य समयमा पनि पाठपूजा, वैतरणी गर्न आउनेहरूको सङ्ख्या बढ्न थालेको छ । गाईको गहुँतसमेत लिन आउनेको सङ्ख्या बढ्दो छ ।’

उहाँका अनुसार यहाँका गाईलाई कृत्रिम गर्भाधान गराउन पाइँदैन । गाईको गोबरबाट निकट भविष्यमा धुप निर्माण गर्ने योजना रहेको अध्यक्ष आचार्यको भनाइ छ । गौवंश संरक्षण केन्द्र पञ्चाकोट विकास परिषद्को सहयोगमा चल्दै आएको छ । गाईको रेखदेख र हेरचाहका लागि पाँच जना गौसेवक खटिएका छन् ।

घाँस काट्ने, गोबर सोर्ने, दानापानी खुवाउने काममा खटिने गौसेवकलाई पारिश्रमिक पञ्चकोट विकास परिषद्ले उपलब्ध गराउँदै आएको छ । संरक्षण केन्द्रका गाईलाई बागलुङ नगरपालिकासँगै काठेखोला, जैमिनी र पर्वतबाट समेत स्थानीयले निःशुल्क पराल उपलब्ध गराउँदै आएका छन् । 
 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : ४४ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग