इस्लामाबाद- पाकिस्तानमा तनाव चुलिँदै गएको छ। पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुवा जीवितै रहे नरहेको प्रमाण सरकारसँग मागेका छन्।
उनले ८४५ दिनअघि पक्राउ परेका इमरानलाई पछिल्ला ६ हप्तादेखि एक्लै ‘डेथ सेल’मा राखिएको बताएका छन् । त्यसपछि भेट्न, फोन र सन्देश लिन दिन पनि प्रतिबन्ध लगाइएको खुलाएका छन् ।
कासिमका अनुसार इमरानका दिदीबहिनीलाई समेत भेट्न दिएको छैन । उनले यो कुनै सुरक्षा कारणले नभई, सरकारले इमरान खानको वास्तविक स्थिति लुकाउन गरेको नियोजित कदम भनेका छन् ।
मुख्यमन्त्रीलाई सडकमै पिटाइ
इमरानलाई भेट्न रावलपिण्डीको अडियाला जेल पुगेका खैबर–पख्तूनख्वाका मुख्यमन्त्री सोहेल अफरीदीलाई प्रहरीले सडकमा धकेलेर कुटपिट गरेको छ।
समाचारअनुसार यो कार्य सेनाको आदेशमा भएको बताइन्छ। त्यहाँ पहिल्यै कडा सुरक्षा र पीटीआई समर्थकहरूको भिड थियो। मुख्यमन्त्री पुगेपछि स्थिति झनै बिग्रियो।
प्रहरीले उनलाई र साथ आएका नेताहरूलाई अघि बढ्न दिएन। धक्काधक्कीमा मुख्यमन्त्रीलाई लात्ती- मुक्का हानिएको छ । उनलाई प्रहरीले उठाएर जमीनमा फ्याँकिदिए । पीटीआईले यसलाई लोकतान्त्रिक अधिकारमाथिको हमला भनेको छ।
अफरिदीको चेतावनी
सोहेल अफरीदीले सरकारले इमरान खानको स्वास्थ्य र सुरक्षाबारे स्पष्ट जवाफ नदिए सडकमा ठूलो आन्दोलन हुने बताएका छन् ।
उनले सरकार इमरानको वास्तविक स्वास्थ्य स्थिति लुकाइरहेको बताए । इमरानलाई केही भए सम्पूर्ण जिम्मेवारी सरकारमाथि हुने उनले बताए ।
अफरिदीले सेना प्रमुख जनरल आसिम मुनीरलाई पनि निशाना बनाउँदै भने, ‘देशलाई यस स्थितिमा पुर्याउने मुख्य जिम्मेवार उनी नै हुन्।’
परिवारमा डर
इमरान खानकी दिदी नोरेन नियाजीका अनुसार पार्टी नेताहरूको भेटका लागि समय तय भएर पनि कसैलाई जेलभित्र पस्न दिइएन। उनी भन्छिन्, ‘भारतीय मिडियामा त इमरानको मृत्यु भएको खबर नै चल्यो। परिवार झनै त्रसित भयो।’
उनका अनुसार महिलादेखि वृद्धसम्म सबैसँग प्रहरी मनलाग्दी व्यवहार गरिरहेको छ।
जेलमा इमरान, बाहिर मृत्युको हल्ला
अगस्त २०२३ देखि इमरान अडियाला जेलमा छन्। पछिल्ला तीन हप्तादेखि भेट नपाएपछि उनकी दिदीबहिनीले स्वास्थ्यबारे शंका व्यक्त गरिरहेका छन्।
जेल प्रशासनले भने इमरानको स्वास्थ्य ठीक भएको दाबी गरेको छ। पीटीआईले पनि सरकारसँग स्पष्टिकरण मागेको छ।
पीटीआईको चेतावनी
पीटीआईले विदेशी सोशल सञ्चारमाध्यमका एकाउन्टहरूबाट इमरानको मृत्युको अफवाह फैलाइएको बताउँदै यसको कडा प्रतिवाद गरेको छ।
पार्टीले इमरान खानको सुरक्षा र स्वास्थ्यको जिम्मा सरकारकै रहेको जनाउँदै तलमाथि केही भए सहन नहुने चेतावनी दिएको छ।
अफवाह कसरी फैलियो ?
अडियाला जेलमा प्रत्येक मंगलबार भेटको अनुमति हुन्छ। तर इमरानका परिवार र नेताहरूलाई धेरै हप्तादेखि भेट्न दिइएको छैन।
मंगलबार ठूलो भीड पुगे पनि कसैलाई भेट्न नदिँदा ‘इमरान खान कहाँ छन्?’ भन्ने ह्यासट्याग ट्रेन्ड भयो। अर्को दिन हजारौं समर्थक जेलअगाडि जम्मा भए।
रक्षामन्त्रीको प्रतिक्रिया
रक्षा मन्त्री ख्वाजा आसिफले इमरान जेलमा टीभी, बाहिरबाट आएको खाना, जिम उपकरण, डबल बेड र मखमली ओछ्यानसहित बसेका छन् ।
आसिफले आफू जेलमा हुँदा कठोर अवस्थामा बसेको तुलना गर्दै इमरानबारे फैलिएका कथालाई असत्य भने।
मार्च २०२५ मा इस्लामाबाद हाइकोर्टले इमरानलाई परिवार र वकिलसँग नियमित भेटको आदेश दिएको थियो। अक्टोबर २०२५ मा फेरि आदेश दोहोरियो तर इमरानका दिदीबहिनीलाई एक पटक पनि भेट्न दिइएको छैन।
२ वर्षभन्दा धेरैदेखि जेलमा
इमरानमाथि १०० भन्दा बढी मुद्दा छन्। तोशाखाना मुद्दामा उनलाई १४ वर्षकै कैद सजाय सुनाइएको छ, जसमा सरकारी उपहार बेच्ने र गोप्य दस्तावेज चुाहएको आरोप छन्।
ब्रिटेनमा मलिक रियाजको करोडौँ मूल्यका सम्पत्ति जफत भएपछि सुरू भएको यो केसमा अरबौँ रुपैयाँको डिल भएको आरोप छ।
जाहेरी अनुसार, मलिक रियाजले ट्रस्टका नाममा अरबौँ मूल्यको जग्गा र बुशरालाई हीराको औँठी दिए बदलामा उनका केस मिलाइयो ।
यो घोटालाले सरकारी कोषलाई कम्तीमा ५० अर्ब पाकिस्तानी रुपैयाँको क्षति पुगेको पाकिस्तान सरकारको दाबी छ।













प्रतिक्रिया