नेपालले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट जारी गर्दा भारतमा तरंग « Khabarhub

नेपालले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट जारी गर्दा भारतमा तरंग


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारदेखि चुच्चे नक्सा समेटिएको १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएपछि भारतमा तरंग छाएको छ।

भारतका चर्चित सञ्चारमाध्यम र अनलाइनहरूले बिहीबार नेपालमा सार्वजनिक १०० रुपैयाँ दरको नोटलाई लिएर व्यापक चर्चा गरेका छन् ।

विभिन्न हिन्दी र अंग्रेजी अनलाइनले नोटमा भारतले मिच्दै आएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राखिएको भन्दै आलोचना गरेका छन्।

नेपाल राष्ट्र बैंकले साविककै आकार र रङमा उपलब्ध १०० रुपैयाँको नोटमा सगरमाथा, लालीगुराँस, अशोक स्तम्भ, मायादेवी, दृष्टिविहीनले छामेर चिन्न मिल्ने चिन्ह, सुरक्षा धागो र सरकारले तय गरेको चुच्चे नक्सा समेटिएको जानकारी दिएको छ।

नेपालले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट जारी गरेपछि भारतीय अनलाइनमाध्यममा तीव्र प्रतिक्रिया आएको हो । नेपाल राष्ट्र बैंकले ११ मंसिरदेखि अद्यावधिक नक्सा राखिएको १०० रुपैयाँको नोट सार्वजनिक गरेपछि भारतीय अनलाइनमाध्यमले नेपालले ‘भारतीय भूभाग समेटेको नक्सा’नोटमा राखेको भन्दै आलोचना गरेका छन्।

केहीले नेपालले ‘चीनप्रति लचिलो तर भारतप्रति कडाइ’सहितको व्यवहार देखाएको आरोप पनि लगाएका छन्।

के छ नोटमा ?

१०० रुपैयाँ दरको साविककै आकार तथा रङमा सङ्केत नं. क २० ०००००१ देखि घ४० ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने स्लोगनसहित नयाँ नोट ११ मंसिर, २०८२ देखि चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

नोटको अग्रभागमा के छ ?

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र छ ।
२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप छ ।
३. नोटको मध्यभागमा नेपालको नक्सा छ ।
४. नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै ‘लुम्बिनी द वर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । अशोक स्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ ।
५. २ मिलिमिटर चौडाइको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो छ ।
६. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ ।
७. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा वि.सं २०८१ लेखिएको छ ।

नोटको पृष्ठभागमा के छ ?

१. नोटको मध्यभागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ।
२. नोटको मध्यभागमा एकसिडे गैंडाको माउ र बच्चाको चित्र रहेको छ।
३. नोटको तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा रुपिज वान हन्ड्रेड लेखिएको छ।
४ नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर अङ्ग्रेजीमा २०२४ एडी लेखिएको छ।

के भने भारतीय सञ्चारमाध्यमले ?

भारतको चर्चित पत्रिका दैनिक जागरणको अनलाइन संस्करणले नोटमा देखाइएको नक्सालाई ‘विवादित’ भन्दै लेखेको छ । नेपालले फेरि एक पटक ‘दिल्लीले स्वीकार गर्न नसक्ने कदम’ चालेको समाचारमा उल्लेख छ। रिपोर्टमा भारतीय विदेश मन्त्रालयको भनाइ हाइलाइट गरिएको छ । जहाँ भारतले नेपालकै संविधान संशोधनबाट आएको नक्सालाई ‘कृत्रिम दाबी’ भनेर लेखिएको छ।

जागरण लेख्छ, ‘नेपालले जारी गरेको नयाँ नोटमा भारतको कालापानी, लिपुलेख र लिम्पियाधुरा रहेको देखिन्छ। भारतले यसलाई पूर्ण रूपमा अस्वीकार्य, एकतर्फी र तथ्यविहीन दाबी भनेको छ।’

दैनिक भास्करले ‘नेपाल–भारतबीच फेरि नक्साको विवाद’भनेर समाचार छापेको छ। दैनिक भास्करले अझ विस्तृत रूपमा नेपालले नक्सा परिमार्जन गरेको इतिहास, २०२० मा प्रतिनिधिसभाबाट पारित नक्सा, र त्यसपछि भारत–नेपालबीचको सम्बन्धमा परेको असरसमेत उठाएको छ।

भास्कर लेख्छ, ‘नेपालले फेरि भारतीय भूभागमा दाबी गर्दै आफ्नो नोटमा छापेको छ। भारतले यसलाई अस्वीकार गर्दै आएको छ। सन् २०२० को नक्सामा सीमा विवाद चर्किएको थियो, अहिले फेरि मुद्रा प्रवाहमार्फत त्यसलाई पुनः सक्रिय गरियो।’

नवभारत टाइम्सले ‘भारतलाई मात्र प्रश्न किन? चीनलाई किन होइन?’भनेर समाचार लेखेको छ। नवभारत टाइम्सले समाचारलाई राजनैतिक कोणबाट ब्याख्या गरेको छ। यो समाचारमा नोटमा विवादित नक्सा छापिएको भन्दै भारतमाथि मात्रै टिप्पणी गर्ने नेपाली पक्षप्रति प्रश्न उठाएका छन्।

उसले लेखेको छ, ‘नेपालले आफ्नो नोटमा तीन भारतीय भूभाग समेटेको छ। तर, चीनसँग सीमा विवाद हुँदा किन उस्तै प्रतिक्रिया दिँदैन? भारतप्रति कठोर र चीनप्रति मौन रहने नीति किन दोहोरिन्छ?’

उता इटीभी भारतले, ‘नेपालले अद्यावधिक नक्सासहित १०० रुपैयाँको नोट जारी गर्‍यो’शीर्षकमा समाचार लेखेको छ। इटीभी भारतले ले नोटका पक्षहरू विस्तृत रूपमा उल्लेख गर्दै यसमा समावेश नक्साले भारतसँगको तनाव फेरि सतहमा आएको जनाएको छ।

उसले लेख्छ, ‘नेपालले जारी गरेको नोटमा भारतका दाबी भएकै भूभाग राखिएको देखिन्छ। भारतले यसलाई ‘स्वीकार गर्न नसकिने भौगोलिक विकृति’ बताएको छ।’

जी न्यूज हिन्दीले ‘भारतसँग विवादित क्षेत्र समेटेर नेपालले नोट छाप्यो’शीर्षकमा समाचार लेखेको छ। उसले भावनात्मक र राजनीतिक भाषा प्रयोग गर्दै नेपालबारे कडा टिप्पणी गरेको छ।

‘नेपालले भारतका गहिरा रणनीतिक महत्वका भूभाग आफ्नो नोटमा राखेको छ, जुन न केवल गलत दाबी हो, बरु दुई देशबीचको विश्वासमा चोट पुर्‍याउने कदम हो। भारतले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ’, उसले भनेको छ।

नवभारत लाइभले ‘भारतले नेपाललाई चेतावनी– नक्सा गलत छ, भौगोलिक दाबी अस्वीकार्य’ भनेर समाचार लेखेको छ। नवभारतलाइभले भारत सरकारको प्रतिक्रिया उद्धृत गर्दै नेपालले ‘तनाव बढाउने निर्णय’ गरेको भनेर लेखेको छ।

‘भारतले प्रस्ट शब्दमा भनेको छ, नेपालले छापेको नक्साको भूभाग नेपालको होइन। यस प्रकारको कदमले दुई देशबीचको सम्बन्ध सुधार्नु सट्टा बिगार्छ’, उसले समाचारमा भनेको छ ।

उता लाइभ हिन्दुस्तानले ‘विवादित नक्सासहितको नोट जारी, भारतले कडा प्रतिक्रिया’ शीर्षकमा समाचार लेखेको छ। लाइभ हिन्दुस्तानले नोटको डिजाइन, सुरक्षा विशेषता र विवादित नक्सालाई विस्तृत रूपमा उल्लेख गर्दै समाचार लेखेको छ।

‘नेपालले जारी गरेको नयाँ १०० रुपैयाँका नोटमा भारतका भूभाग छापिनुले औपचारिक विरोध गर्ने आधार बनेको छ। भारतले यसलाई ‘नेपाली नक्साको राजनीतिकरण’ भनेर आरोपसहित लाइभ हिन्दुस्तानमा समाचार प्रकाशित गरिएको छ।

नेपाल राष्ट्र बैंकले भने नोटमा राखिएको नक्सा सरकारद्वारा स्वीकृत अद्यावधिक राजनीतिक नक्सासँग मिल्दोजुल्दो रहेको र नोट ११ मंसिरबाट चलनचल्तीमा आएको जनाएको छ।

नयाँ नोट सार्वजनिक हुनासाथ नेपालभित्र मुख्यतः डिजाइन र सुरक्षा विशेषताबारे चर्चा भए पनि भारतीय अनलाइनहरूमा नक्सा मुख्य विषय बनेको छ।

धेरैजसो सञ्चारमध्यमले भारतले दाबी गर्ने भूभाग नोटमा राखिएको भन्दै कठोर भाषा प्रयोग गरेका छन्। नेपालले यसलाई स्वाभाविक अद्यावधिक प्रक्रिया भनेको छ। नेपालले आफ्ना तीन भूमि भारतले मिचेकाले फिर्ता हुनुपर्ने अडान राखेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ४१ बजे

कर्णालीविरुद्ध धरापमा विराटनगरको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

पर्यटन पूर्वाधारमा लगानी बढाउन माग

पाँचथर– पाँचथरमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउन सरोकारवालाले माग

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ : अन्तरिम सरकार गठन र संसद् विघटन तत्कालीन अवस्थाको बाध्यकारी कदम

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वमा गत भदौ २७

सात वटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा

प्रचण्डले भने- माधवजी र मैले मिलेर संविधान जोगायौँ, केपीले संसद् पुनः स्थापनको कुरा गर्न सुहाउँदैन

धनगढी – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा