काठमाडौं– अन्ततः परम्परागत दललाई चुनौतीका रुपमा खडा हुने गरी रवि लामिछाने र बालेन्द्र शाह एकैठाउँ उभिएका छन् ।
लामिछाने ९ महिना लामो कारागार बसाइबाट निस्केलगत्तै थालिएको वार्तालाई आइतरबार सबेरै बिहान सार्थक बनाउँदै यी दुईजनाले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
यो सहमतिक लागि शनिबार दिउँसोभर छलफल चलेको थियो । त्यसपछि सहमतिको आधार तयार पार्न रास्वपाबाट शिशिर खनाल, डा. स्वर्णिम वाग्ले र असिम शाहले काम गरिरहेका थिए ।
बालेनका सहयोगी भूपदेव शाह, कुमार बेन, सुदीप ढकाल र केपी खनाल जुटेका थिए । दिउँसोसम्म बालेन र रास्वपा एक हुने कुनै गुञ्जायस थिएन। तर शनिबार राति ९ बजेपछि सहमतिका लागि रवि र बालेनले कुरा गरेपछि नेताहरू जुटे ।
‘राति ९ बजेतिर फोन आयो, आउनुस् सहमति हुन्छ भनेपछि गयौँ । त्यहाँ पुग्दा रवि र बालेन बैठकमा हुनुन्थ्यो अरू साथीहरू कुरिरहनु भएको थियो’, बालेननिकट एकजनाले खबरहबलाई भने, ‘मिलाउन दुवै पक्षले मिहिनेत गरेका थियौँ ।सहमतिको ड्राफ्ट तयार रास्वपाबाट शिशिर खनाल र स्वर्णिमले तयार पार्नुभएको हो । बालेनका तर्फबाट भूपदेव र कुमार बेन लाग्नु भयो । फिल्म निर्माता निश्चल बस्नेत पनि सक्रिय थिए ।’
सहमति पत्रको ड्राफ्ट तयार पारेर पहिला खनालले पढेर सुनाए । त्यसपछि भाषा लगायत मिलाउने काम भूपदेव र वाग्लेले गरे ।
‘सुरुमा हाम्रो पक्षबाट ड्राफ्ट तयार भयो । त्यसपछि भुवदेवजीले हेर्नुभयो । सबैको अगाडि पढेपछि थप भाषा मिलाइयो’, सहमतिको बुँदा तयार पारेका एक नेताले भने, ‘अन्तिममा बाचन गरेर सुनाएपछि बालेन र रविले हस्ताक्षर गर्नुभयो ।’
रास्वपामा बालेनको हैसियत ?
बालेनले रास्वपा पार्टी र चुनाव चिह्न दुवै स्वीकारेका छन् । तर उनको पदबारे लिखित सहमति भएन । ‘त्यसकारण उनीहरूको सहमति नटिक्ने धेरैले आँकलन गरेका छन्’, उनले भने, ‘तर रास्वपा र बालेन यो कुरा मान्न तयार छैन । उपसभापति डा. वाग्लेले रवि आफ्नो पार्टीको नेता भएको उल्लेख नै गरिसकेका छन् ।’
रास्वपा नेताहरूका अनुसार बालेनले अहिले कुनै पद नलिने बताएका छन् । तर उनले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको ग्यारेन्टी हुनुपर्ने सर्त राखेका थिए । तर, वैकल्पिक शक्ति मिलाउन संयोजन गरेका रास्वपा उपसभापति डा. वाग्ले र सहसंयोजक खनालले बालेनलाई रविपछिको हैसियतमा हुँदा मात्रै अरु सुरक्षित हुने बताएको कुरामा उनी तयार भए ।
अब बालेन रास्वपामा प्रवेश गरेको औपचारिक जानकारी केन्द्रीय कमिटीलाई गराइने छ । ‘उहाँले नै पद लिन्न भन्नुभयो । केन्द्रीय सदस्यको हैसियतमा रहन्छु भन्नुभयो । अब यो सहमति केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराउँछौँ । उहाँ केन्द्रीय सदस्य बन्नुहुन्छ,’ रास्वपाका एक शीर्ष नेता भन्छन्, ‘ प्रधानमन्त्री बनाउने भनिएको पात्रलाई त्यही ढंगले सम्मानजनक स्थानमा राख्नुपर्छ । रास्वपामा उहाँको वरीयता पार्टी सभापतिपछि हो । पहिलो नम्बरमा सभापति, दोस्रो नम्बरमा बालेन तथा दुई उसभापति डीपी अर्याल र डा. वाग्लेको हो ।’
रास्वपाले आइतबार नै अथवा सोमबार नै केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेको छ । नेताहरूका अनुसार केन्द्रीय कमिटी बैठकमा सहमति अनुमोदन गर्नेबारे सूचना पुगिसकेको छ ।
वरीयता थप्ला रास्वपाले ?
रविपछि शीर्ष दुई वरीयता दुईजना उपसभापतिको छ । रास्वपाले पहिलो महाधिवेशन आगामी निर्वाचनपछि गर्ने निर्णय गरिसकेको छ । नेता शिशिर खनालका अनुसार महाधिवेशनअगाडि विधान परिवर्तन हुने छैन ।
‘वरीयता थपिन्छ कि थपिँदैन त्यतातिर छलफल भएको छैन । तर अहिलेलाई हाम्रो नेता बालेन हो । उहाँ सभापतिपछि दोस्रो वरीयतामा रहनुहुन्छ’, खनालले भने, ‘उहाँलाई केन्द्रीय सदस्य बनाएर सम्मानजनक हैसियत दिन्छौँ । उहाँ सचिवालय बैठकमा पनि आउनुहुन्छ । शीर्ष नेताको बैठकमा पनि रहनुहुन्छ । त्यसपछि डीपीजी र स्वर्णिमजी रहनुहुन्छ । शनिबार राति यस्तै कुरा भएको छ।’
‘पद तत्काल सिर्जना नहुन सक्छ । तर बैठकमा रविजीपछि बोलाइने शीर्ष नाम बालेनको हुन्छ’, बालेनका एक सहयोगी भन्छन्, ‘पदभन्दा काम ठूलो हो । पद पनि राख्ने कुरा भएको छ । तर अहिलेलाई उहाँ निर्वाचनपछि संसदीय दलको नेता र प्रधानमन्त्री हो ।’
समानुपातिकमा दुवै पक्षका नेता रहने
निर्वाचन आयोगले भोलि १४ गतेसम्म समानुपातिक सूची बुझाउने समय दिएको छ । जसमा रास्वापा नेता र बालेन समर्थक दुवै पक्षका व्यक्ति छनोट हुनेछन् । छनोट गर्ने सर्वाधिकार रवि र नेता बालेनलाई दिइएको छ ।
‘समानुपातिकमा स्वच्च छविका नेता रहनुहुन्छ । दुवै पक्षको अन्तिम नाम फाइनल गर्ने जिम्मा दुई नेताले पाउनुहुन्छ । आवश्यक परे छनोट टिम पनि बन्छ’, बालेनका एक सहयोगीले भने, ‘समानुपातिकमा राख्नु भनेर कति नाम हामीले दिएका छौँ । अन्य नाम पनि पुग्छन् । दुई वा दुईभन्दा बढी आकांक्षी परेमा उत्कृष्टलाई पठाउने छौँ।’
कुलमानसँग किन मिलेन ?
रवि र बालेनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँगको सहकार्यलाई बिट मारेका छैनन्। शनिबार पनि बालेन्द्र र कुलमानबीच दुई पटकसम्म भेटवार्ता भयो । भेटवार्तामा तत्काल एकता नभए सहकार्यका ढोका खुल्ला रहने दुवै पक्षबीच समझदारी भएको बताइन्छ।
बालेनले रवि, कुलमान र आफू एकै भएर निर्वाचनमा जान प्रस्ताव राखेका थिए । तर कुलमानले आफू निकै अगाडि बढिसकेकाले अहिर्ले सहकार्यको ढोका खुल्ला रहने जवाफ दिए । उनले तत्काल एकता गरेर नजाने निर्णय सुनाएपछि रवि र बालेनबीच मात्रै सहमति भएको हो ।
‘खासमा शनिबार तीन नेताहरूबीच भेटघाट हुन सकेन। मध्यराति १२ बजेसम्म पनि हामीले कुलमानजीको निर्णय पर्खिएका हौँ। तर अहिले सँगै जान नसक्ने तर आवश्यक परे सहकार्य गरौँला भन्ने भयो’, एक नेताले भने, ‘बालेन्द्र र कुलमानबीच कुरा भएछ, त्यसपछि रवि दाइले पनि सहमति जनाउनुभयो ।’
कुलमानसँग तत्काल पार्टी एकता नगरे पनि सहकार्यका लागि ढोका खुल्ला राखिएको छ । ‘समान विचार राख्ने व्यक्ति, समूह र संस्थासँग सहकार्य गरेर जाने वातावरण खुल्ला राख्नुपर्छ भनेर बालेनले भन्नु भएको छ। आवश्यक परे छलफल र हुँदै जान्छ’, ती नेताले भने ।
बालेन पक्षीय नेताहरू पनि कुनै राजनीतिक फेरबदल नभए समानुपातिकको सूची पठाउनुअगाडि रास्वपामा कुलमान प्रवेश नगर्ने बताउँछन् । बालेन पक्षकै नेताहरूका अनुसार कुलमानको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित हुने अवस्था आएमात्रै सहकार्य हुने बताउँछन् ।
‘बालेन रास्वमामा प्रवेश गरेपछि शक्ति बढेको छ । अब उज्यालो नेपाल समाहित भएमा स्वागत गर्न तयार छौँ । रास्वा अहिले पनि देशको चौथो शक्ति हो,’ रविनिकट अर्का नेता भन्छन्, ‘कुलमानले साँच्चिकै उज्यालो नेपाल पार्टी चलाएको भए उहाँको पार्टी हामीमा समाहित हुन्छ, अथवा निर्वाचनकेन्द्रित सहकार्य हुन पनि सक्छ ।’
नेताहरूका अनुसार कुलमानले निर्वाचनपछि बहुमत आएमा भावी प्रधानमन्त्रीमा बालेन्द्र आफू आधा–आधा कार्यकाल हुनुपर्ने अडान राखेका छन् । स्रोतका अनुसार बालेनले आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने प्रस्ताव नमानेपछि कुलमानसँगको एकता भाँडिएको हो ।













प्रतिक्रिया