सौर्य जहाज दुर्घटनामा तीन सन्तान गुमाएका पत्रकार खतिवडाको सरकारसँग गुहार : म गलत भए भनिदिनुस्, होइन भने पहल गरिदिनुस् « Khabarhub

सौर्य जहाज दुर्घटनामा तीन सन्तान गुमाएका पत्रकार खतिवडाको सरकारसँग गुहार : म गलत भए भनिदिनुस्, होइन भने पहल गरिदिनुस्


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका सञ्चारकर्मी प्रकाश खतिवडाले सरकार र सम्बन्धित मन्त्रीहरूप्रति गम्भीर प्रश्न उठाएका छन्।

उनले नागरिक उड्ययन क्षेत्रको छानबिन र न्यायका लागि पहल गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश जोशीलाई सम्बोधन गरी भावुक पत्र सार्वजनिक गरेका हुन्।

पत्रमा खतिवडाले आफूले मन्त्रीलाई औपचारिक ‘पद’को हैसियतले होइन, पत्रकार साथीका रूपमा पीडा पोख्न चाहेको उल्लेख गरेका छन्।

दुर्घटनामा सन्तान गुमाएको १८ महिना र मन्त्रीलाई भेटेर न्यायका लागि पहल गरिदिन आग्रह गरेको चार महिना बितिसक्दा पनि ठोस पहल नदेखिएको भन्दै उनले निराशा र छटपटी बढ्दै गएको बताएका छन्।

उनले नागरिक उड्ययन क्षेत्रका कमजोरी र तथ्य आफूले व्यक्तिगत पीडामार्फत् बुझ्नुपरेको उल्लेख गर्दै ‘विज्ञहरूले युनिभर्सिटी पढे, पीडाले मलाई युनिभर्स पढायो’ भन्ने शब्द प्रयोग गरेका छन्। आफू विज्ञ नभए पनि आज नागरिक उड्ययनका विज्ञहरूसँग प्रश्न र बहस गर्न सक्ने हैसियत बनाएको उनको दाबी छ।

खतिवडाले नागरिक उड्ययन क्षेत्रको सुधार र ‘थिती’ बसाल्नु आफ्नो व्यक्तिगत पीडा मात्र नभई सार्वजनिक हितको विषय भएको उल्लेख गर्दै संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्। छ महिनाको समयसीमा तोकेर बनेको सरकारले सुशासनको उदाहरण देखाउने महत्वपूर्ण अवसर यही मुद्दा भएको उनको भनाइ छ।

पत्रमा उनले संसद्को निर्वाचनलाई सरकारले प्राथमिकतामा राखे पनि संसद्कै निर्देशन कार्यान्वयन गर्न किन आनाकानी भइरहेको छ भन्ने प्रश्न उठाएका छन्। राजनीतिक मुद्दामा सक्रिय देखिने नेतृत्व जायज सामाजिक न्यायका मुद्दामा भने किन टाढा देखिन्छ भन्ने उनको गुनासो छ।

‘जायज मुद्दामा एक्लै काफी छ’ भन्ने मान्यताका साथ आफूले कुनै बिचौलिया प्रयोग नगरेको र नेताको दैलो नचहारेको उल्लेख गर्दै खतिवडाले राज्यका आधिकारिक निकायमार्फत् न्याय खोजिरहेको बताएका छन्। तर परिवर्तन र युवाको बलिदानबाट बनेको सरकारले समेत नागरिक उड्ययनको यो मुद्दालाई गम्भीरतापूर्वक नलिएको भन्दै उनले आश्चर्य व्यक्त गरेका छन्।

खतिवडाले मन्त्री खरेलसँग जवाफ मागेका छन्। ‘मेरो न्यायिक लडाइँ गलत हो भने भनिदिनुस्, होइन भने न्यायका लागि पहल गरिदिनुस्, वा तपाईं यस ठाउँमा किन पहल गर्न सक्नु भएन स्पष्ट पारिदिनुस्’, उनले भनेका छन् ।

उनले दोषीलाई कानुनी दायरामा ल्याउन र पीडितको न्याय सुनिश्चित गर्न आफ्नो पत्रकारिता र न्यायिक लडाइँ निरन्तर जारी रहने स्पष्ट पारेका छन्।

नागरिक उड्ययन क्षेत्रमा सुधार नआएसम्म जीवनपर्यन्त लडिरहने प्रतिबद्धता जनाउँदै उनले आफूले भोगेको नियति अरू कसैले भोग्न नपरोस् भन्ने चाहना व्यक्त गरेका छन्।

प्रिय जगदीशजी नमस्कार !

माफ गर्नुहोला, आज मैले तपाईंलाई मन्त्री भनेर सबोधन गरिनँ । यो ‘पद’ भन्ने पनि कोट नलाउदा र लाउदा फरक हुने जस्तो लागेर मैले मन्त्रीलाई भन्दा मेरै पत्रकार साथीलाई दुखेसो पोख्न उपयुक्त ठानेँ ।

अस्ति पुस ९ गते मैले मेरा तीन लालाबाला गुमाएको १८ महिना भयो । तपाईलाई भेटेर न्यायकोलागि पहल गरिदिन आग्रह गरेको पनि अस्ति पुस ९ गते नै ४ महिना भएछ । तपाईको आश्वासन र ढाँडसले मेरो न्यायिक लडाईलाई सम्बोधनका लागि पहल हुन्छ भन्ने आशा जागृत भएको थियो र छ पनि । तर तपाईंहरूको पदावधि घर्किँदै जाँदा र मेरो जायज न्यायिक लडाइँलाई सम्बोधन गर्न सरकारले तत्परता नदेखाउँदा भने मेरो निराशा र छटपटी बढेको छ ।

जगदीशजी, मैले सानो दुखले नागरिक उड्ययन क्षेत्रका प्रमाणित तथ्यहरू उत्खनन गर्न सकेको होइन । यो क्षेत्र जान्न विज्ञहरूले ‘युनिभर्सिटी’ पढे, पीडाले मलाई ‘युनिभर्स’ पढायो । म विज्ञ होइन तर आज मैले आफूलाई नागरिक उड्ययन क्षेत्रका विज्ञहरूसँग तपाई जस्तै प्रश्न र बहस गर्ने सामर्थ्य बनाएको छु भन्ने मेरो दाबी हो । पीडामा रहेर पनि मेरो जस्तो नियति कसैले भोग्नु नपरोस भन्ने पवित्र चाहानाले मैले यो क्षेत्रमा ‘थीति’ बसाल्नु पर्छ भनेर अगुवा नागरिकको कर्तब्य निर्वाह गरेको हु । सुशासनको मुल ध्येय बोकेर एवम् छ महिनाका समय सीमा तोकेर बनेको यो सरकारकालागि पनि नागरिक उड्यन क्षेत्रको यो मुद्दा छोटो अबधिमा शुशासनको पक्षमा काम देखाउने महत्वपूर्ण मुद्धा हो भन्ने मेरो दावी हो । मैले उचित छानवीनका लागि संसदीय समितिको निर्देशन कार्यान्वय गरिदिनुस भनेको मात्र हो ।

जगदीशजी फागुन २१ को संसदको निर्वाचनलाई सरकारकाले अर्जुनदृष्टि बनाएको छ । तर संसदको निर्वाचन गराउन लागि परेको सरकारलाई संसद्कै निर्देशन कार्यान्वयन गर्न चै केले बाधा गरेको होला मैले बुझन सकेको छैन । निहन्था युवा बिद्यार्थी मार्ने सरकारको नेतृत्व गर्नेहरूलाई समेत घरदैलोमै गएर भेटनुपर्ने प्रधानमन्त्री र सरकारकारका मन्त्रीहरू जायज मुद्धा बोकेर न्यायको लडाइँ लडिरहेकाहरूको लागि किन ‘आकासको फल’ सरह भएका होलान । के राजनैतिक मुद्धा मात्रै सबै थोक हो, सामाजिक मुद्दा केही नै होइन ?

जगदीशजी, ‘जायज मुद्धामा एक्लै काफी छ’ भनेर मेरो न्यायिक लडाइँमा मैले कसैलाई ‘लिस्नो’ बनाएको छैन । राज्यका आधिकारिक निकाय गुहारेँ तर नेताको दैलो चाहारेको छैन । ‘विचौलियाको प्रयोगले मात्र काम बन्छ’ भन्ने भाष्यलाई खण्डित गर्ने प्रयासमा १८ महिना देखि म लागिरहेको छु । तीन सन्तान गुमाउँदाको पीडा र सत्यको जगमा टेकेर जारी राखेको मेरो न्यायिक लडाइँलाई युवाहरूको बलिदानी एवम् परिबर्तनबाट बनेको सरकारले सम्बोधन गर्ने तत्परता नदेखाउदा भने उदेक लागेको छ ।

जगदीशजी अन्त्यमा म करजोडी अनुनय विनय गर्दछु, मेरो न्यायिक लडाइँ गलत हो भनिदिनुस्, कि न्यायका लागि पहल गरिदिनुस् । की त तपाई यो ठाँउमा गलत हुनुहुन्छ र यसकारण पहलकदमी लिन सकिएन भनेर स्पष्ट पारिदिनुस् । सके कानुनी लडाई लडौला, नसके अनाहकमा ज्यान गुमाएका तीनको सन्तानको सम्झना र बिलौनामा जिन्दगी गुजारौँला । जगदीश जी यति चाहिँ म भन्छु, तपाईं राजनीतिमा अझै अगाडि बढ्नुहोला नहोला, पत्रकारितामा तपाईंको पुनरागमन होला न होला तर म र मेरो पत्रकारिताले भने दोषीलाई कानुनी दायरामा ल्याउन र पीडितको न्याय सुनिश्चित गर्न न्यायिक लडाइँलाई निरन्तर जारी राख्ने छु ।
नागरिक उड्ययन क्षेत्रमा ‘थिती’ बसाल्न जीवन पर्यन्त लडिरहने छु ताकी मैले तीन सन्तान गुमाउँदा जुन नियति भोगेँ, त्यस्तो नियति अरु कसैले भोग्नु नपरोस । जगदीशजी फेरि पनि आजै भेटेरै कुरा राख्ने समय पाऊँ नभए पनि जवाफ पाऊँ । जवाफदेहिता सुशासनको पहिलो मापदण्ड हो भन्ने स्मरण गराउनु पर्छ भन्ने मलाई लाग्दैन ।

तपाईंको
प्रकाश खतिवडा,
सौर्य जहाज घटनामा तीन सन्तान गुमाएको सञ्चारकर्मी

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ४ : ५३ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले