‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’ « Khabarhub

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मिलाउन करिब एक वर्ष लामो भूमिका खेल्ने नेता शिशिर खनाल लगायतको टिम अहिले सफल भएको छ । रास्वपा हरेक जसो राजनीति वार्ताहरूमा अगाडि सार्ने खनाललाई पार्टीले राजनीति दूत बनाएको छ भन्दा फरक पर्दैन । पार्टीमा वैचारिक र तथ्यपरक विचार राख्ने खनाललाई पार्टी सभापति रवि लामिछाने तथा उपसभापति डा. स्वर्णिम वाग्ले पनि पत्याएका छन् । हरेकजसो राजनीतिक निर्णयमा खनाल रास्वपाको अग्रपङ्क्तिमा हुन्छन् ।

खनालले रास्वपामा बालेन आएपछि अब पार्टीको लक्ष्य बहुमत हासिल गर्ने र एकल सरकार बनाएर स्थायी सरकार दिने बताउँछन् । बनाएर जनताका जनजीविकाका मुद्दालाई सल्ट्याउनका लागि पनि वैकल्पिक शक्ति एक हुनुपर्ने खनालको मत छ । जेन-जी विद्रोह मार्फत प्रकट भएको विशेष राजनीतिक परिस्थितिमा रास्वपाले सबै वैकल्पिक शक्ति र व्यक्तिहरूलाई एक ठाउँमा नल्याए देशमा थप तनाव सिर्जना हुने र वैचारिक शक्तिहरू माथि पुराना दलले नै हैकम जमाउने प्रवृत्ति हुने कारण सचेत भएर रास्वपाले काम गरेको उनको बुझाई छ ।

यसबारे उनी भन्छन्, ‘लामो समयदेखि शासन सत्तामा रहनुभएका राजनीतिक दलको नेतृत्वले नेपाललाई अस्थिरतातर्फ लगेको देखिन्छ । समृद्धिको बाटोमा नेपाललाई लैजानका लागि बलियो राजनीति शक्ति र त्यो सँगसँगै बलियो दल, स्थायी सरकार दिनसक्ने शक्ति बनाउन नै हामी लागेका हौँ । हरेक ३–३ महिनामा सरकार परिवर्तनको खेलमा जाँदा देशलाई निकास दिन सकिँदैन । जेन-जी विद्रोहले सिर्जना गरेको विशेष मौकालाई सदुपयोग गर्दै वैकल्पिक राजनीति शक्ति एक बनाउन लागेका हौँ ।’

उनी राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएरै छाड्ने उनको दाबी छ । र, बहुमतपछि प्रधानमन्त्री र संसदीय दलको नेता बालेन नै हुने उनले बताए । यसलाई लिएर कुनै पनि रास्वपा नेताहरूले अवरोध नगर्ने उनी दाबी गर्छन् । वैकल्पिक शक्तिहरूसँगको एकता नसेलाएको बताउँदै उनले कुलमान घिसिङ लगायतका नेताहरूसँग पनि अन्तिम छलफल भइरहेको जानकारी दिए । रास्वपाले अहिले सबैसँग पहिलो चरणमा छलफल गरिरहेको उनले स्पष्ट पारे । उनले भने, ‘सकेसम्म पार्टी एक बनाउने योजना छ । यदि त्यो सम्भव नभए दोस्रो चरणमा अलायन्समार्फत मोर्चागत सहकार्य पनि हुनसक्छ ।’

उनी मधेसका नेता सीके राउतदेखि, मधेसी अलायन्स, सुदूरपश्चिममा नयाँ शक्ति उदाएको नागरिक उन्मुक्ति र रेशम चौधरी लगायतका नेतासँग पनि छलफल भइरहेको बताउँछन् । गोपी हमाल लगायतका नेता पनि पार्टीमा आउने विषयमा सकारात्मक रहेको र पूर्वका हर्क साम्पाङ लगायतसँग पनि छलफल हुने दाबी गर्छन् ।

पार्टी एक भएपछि सभापति रवि लामिछाने उपसभापति स्वर्णिम वाग्ले भर्खरै पार्टी प्रवेश गरेका नेता बालेन्द्र शाह लगायतको टोली देशव्यापी दौडमा जाने बताउँदै उनी यही निर्वाचन प्रणाली मार्फत बहुमत ल्याएर रास्वपाले देखाउने उल्लेख गर्छन् । उनी भन्छन्, ‘२०७४ को निर्वाचनमा नेकपालाई नेपाली जनताले बहुमत दिन सम्भव भएको र ७२ मा चाहिँ किन सम्भव नहुने ?’

हामीले खनालसँग पार्टी एकताका अरू सम्भावना, नयाँ शक्ति एक भएर गर्ने क्रियाकलाप, नयाँ सरकार र बालेन्द्रसँगको सहमतिको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । उनीसँगको कुराकानीको सम्पादित अंश-

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहसँग मिल्नुभयो अब रास्वपामा उहाँको हैसियत के हो ?

उहाँ हाम्रो नेता हो । हैसियत सभापति पछिको हुन्छ । केन्द्रीय कमिटी बैठक बसेर उहाँलाई केन्द्रीय सदस्य बनाउँछौँ । त्यसपछि अरू कुरा अगाडि बढ्छ ।

रास्वपाले वैकल्पिक शक्ति एक ठाउँमा ल्याउन निकै अगाडि बढेको छ अब को–कोसँग सम्पर्कमा हुनुहुन्छ ?

हामीले पश्चिमका थारु समुदायका व्यक्तिहरुलाई प्रतिनिधित्व गर्ने रेशम चौधरी लगायतको टोलीसँग छलफलमा छौँ । नाउपा लगायतका नेताहरूसँग पनि छलफलमा छौँ । कुलमान घिसिङ जीसँगको अझै पनि कुराकानी गरिरहेका छौँ । सकभर अन्तिम छलफल भइरहेको छ । अरू थुप्रै व्यक्ति र पात्रसँग पनि छलफल छ । जेन-जी आन्दोलनसँग जोडिएका सबै पात्र र व्यक्तिसँग छलफल जारी छ । जेनजी साथीहरू त तयार नै हुनुहुन्छ । जेन-जी पङ्क्तिको ठूलो साथ हामीलाई छ ।

कुलमानसँगको सहकार्यमा ढोका बन्द भएको छैन भन्नुभयो तर उहाँले पनि प्रधानमन्त्री पद माग्नुभएको छ रे ? पार्टीको चुनाव चिह्न परिवर्तनको कुरा गर्नुभएको छ रे नि ?

अहिलेसम्मको सम्भावना पनि एकै भएर जाने देखिन्छ । निर्वाचन आयोगमा १४ गते समानुपातिक बन्द सूची बुझाउने बेलासम्म सहकार्य हुन सकेन भने फेरि नयाँ सहकार्यको मोडालिटिमा जान्छ । प्रयास अहिले पनि जारी छ । पद मागेको कुरामा पनि कसरी जाने छलफल हुन्छ । देशको आवश्यकता र पार्टीको आकार अनुसार सबैलाई सम्मानित पद दिन रास्वपा तयार छ ।

अहिले पनि जारी छ ?

हो । संवाद जारी छ । अहिले पनि, आज पनि हामी संवाद गरिरहेका छौँ । यहाँलाई के जानकारी गराउँ भने ढिलो चाँडो फरक विचार राख्ने राजनीतिक व्यक्ति र वैकल्पिक शक्तिको एकता हुन्छ ।

मधेसका सीके राउत, सुदूरपश्चिममा गोपी हमाल, पूर्वका हर्क साम्पाङ लगायतसँग पनि वार्ता भइरहेको हो ?

गोपीजी त सकारात्मक हुनुहुन्छ । मधेसको त समग्र अलायन्ससँग पनि वार्ता भइरहेको छ । पाँच दलको अलायन्सको नेतृत्वसँग पनि समग्रतामा छलफल जारी छ । त्यसमा सबै अलायन्सँग पनि सहकार्य हुनसक्छ । नभए केही व्यक्तिसँग पनि समग्र संवादमा छौँ । यसमा सीकेजी परिहाल्नु भयो । पूर्वका हर्कजीसँग पनि संवाद गछौं । उहाँ पनि नयाँ शक्ति हो ।

मधेसका अलायन्स त नयाँ मात्र छैन नि ?

नयाँलाई स्वतन्त्र रूपमा सहकार्य गर्न खुल्ला गरिएको छ । वैकल्पिक शक्तिलाई रास्वपामा ल्याउने नै प्रयास रहन्छ । तर दुई चरणको वैकल्पिक शक्ति एक ठाउँमा ल्याउने अभियान भएको कारण अहिले पहिलो चरणमा सकेसम्म एकै पार्टी बनाउने योजना छ । यदि त्यो सम्भव नभए दोस्रो चरणमा अलायन्समार्फत या मोर्चामार्फत सहकार्य पनि हुनसक्छ ।

राजनीतिक कुरा गरौँ, किन नयाँ शक्ति मिल्न खोज्नुभएको ? यो पुरानाप्रतिको प्रतिशोध हो कि ?

हामी सबैलाई थाहा छ । लामो समयदेखि शासन सत्तामा रहनुभएका राजनीतिक दलका नेतृत्वले नेपाललाई हामीले खोजेको जस्तो समृद्धिको पदमा लान सकेन । सधैँ सीमित स्वार्थको वरिपरि देश घुमिराख्दाखेरी अस्थिर सरकार भयो । देशमा गहिरो सुधार गर्नुपर्ने कुरामा ध्यान नहुने र सीमित समयमा सरकार परिवर्तन हुने खेल हुने र समृद्धिसँग जोडिएका मुद्दामा हामीले कहिले पनि काम गर्न पाएनौँ र त्यसैको निराशा नेपाली समाजमा रहेको छ ।

त्यो जेन-जी विद्रोहमार्फत प्रकट भएको विशेष राजनीतिक परिस्थितिमा आज हामी छौँ । आज हामी सुशासनको विषयमा काम गर्ने र समृद्धिको बाटोमा नेपालमा लग्नको लागि बलियो राजनीतिक शक्ति र त्यो सँगसँगै बलियो दल स्थायी सरकार दिन सक्ने शक्ति बनाउन सकिएन भने हाम्रो अहिलेको विद्यमान संवैधानिक र राजनीतिक व्यवस्थामा गठबन्धनमार्फत सरकार बनाउनुपर्ने बाध्यता हुँदा हरेक ३ महिना र हरेक ६ महिनामा सरकार परिवर्तनको खेलमा जाँदा देशलाई निकास दिन सकिँदैन ।

जेन-जीको विद्रोहले सिर्जना गरेको विशेष मैकालाई सदुपयोग गर्दै वैकल्पिक राजनीतिक शक्ति एक बनाउन लागेको हो । यसमा बालेनजी कुलमानजी र हामी सँगै छौँ । जेन-जी विद्रोहमार्फत प्रकट भएको विशेष परिस्थितिमा वैकल्पिक शक्ति एक नभए पुरानाले देश र जनता पेल्छन् ।

तर, पलपुर व्यक्ति र अनुहारलाई लिएर पुराना दल हटाउन सकिन्छ ? उनीहरूको त विरासत छ, पार्टी संगठन छ देशभरी ?

०७९ को निर्वाचनमा नै रास्वपा चौथो ठुलो दल बनेको हो । हाम्रो मत ११ लाख नाघेको छ । त्यसपछि हामीले संसदमा गरेको प्रस्तुति जनताले देख्नुभएको छ र सराहना पनि गर्नुभएको छ । हामी छोटा कार्यकाल मन्त्रालयमा जाँदा पनि डेलिभरी र सुशासनका विषयमा काम गरेका छौँ । काम गर्ने प्रयास गरेको छ । छोटो समय भएर सबै ठाउँमा नतिजा आउन सकेन ।

रास्वपा नेपालको पहिलो राजनीतिक शक्ति बनेर उदाउने ठाउँमा पुगिसकेको छ । अरू शक्तिलाई अगाडि ल्याउँदा थप शक्ति आर्जन गर्छ । चर्चित व्यक्ति मात्र पार्टीमा छैनन् । आफ्ना क्षेत्रमा काम गरेको अब्बल व्यक्ति समूह र सम्पूर्ण नेपाली जनता जोडिएको भएर यो चर्चित व्यक्तिको मात्र संगम होइन ।

तर यहाँहरूलाई मेन हान्ने पइन्ट पार्टी सभापतिको वित्तीय अपराध काण्ड छ ?

पार्टी सभापतिको विषयमा हामी स्पष्ट छौँ । उहाँमाथि जालझेलपूर्ण नियतका साथ कानुनलाई अस्थिर करण गरेर मुद्धाहरु गरिएको छ । त्यसलाई हामीले राजनीतिक प्रतिशोध भनेका छौँ । यो विषयमा कनुनी फैसला आउला । हामीले सरकारलाई पनि अदालतको फैसला मान्छौँ नै भनेको छौँ । सरकार आफैँले राजनीतिक प्रतिशोध गरेको हो । भनेको विषयमा सरकारले पनि ठोस अडान सरकारले पनि देखाउनुपर्छ भन्ने हाम्रो कुरा छ । त्यो बाहेक अदालती प्रकृया आज पनि पार्टी सभापतिले कानुनलाई मान्छौँ भन्नुभएको छ ।

यसै कानुन र संविधान मानेर बहुमत हासिल गर्न सम्भव छ र ?

यसको लागि ०७४ को निर्वाचन हेरे हुन्छ । त्यो बेला तत्कालीन नेकपा माओवादी र एमाले नेकपा लिएर एउटै निर्वाचन चिन्हमा जानुभयो । बहुमत आयो । यो संविधान आएपछिको त्यो पहिलो निर्वाचनमा यस्तो नतिजा आयो । त्यसले गदै एउटा निर्वाचनमा स्पष्ट दुई तिहाइको बहुमत एउटै निर्वाचन चिन्हमा लड्ने पात्रलाई दिइसकेको अवस्थामा ०७४ मा सम्भव हुन्थ्यो भने ०८२ मा किन सम्भव नहुने ? रास्वपाले बहुमत ल्याउँछ पहिलो शक्ति बन्छ ।

यसको लागि यहाँहरू सभापति रवि, नेता बालेन्द्र लिएर देशभर दौडने हो ?

यसमा अहिले हामीले वाचापत्रमा काम गरिरहेका छौँ । वाचापत्रमा स्पष्ट ढङ्गले हामी सरकार सञ्चालन गर्ने अवस्थामा पुग्यो भने केकस्ता नीतिगत सुधार गरेर डेलिभरीलाई प्रभावकारी बनाउन सक्छौँ भन्ने ढङ्गले काम गरिरहेका छौँ । कम्तीमा पनि हामीले पहिलो नम्बर गर्न सकिने ५० वटा निर्णय नै लिएर आउँदै छौँ । त्यो बाहेक राजनीतिक अभियानमा लागि पार्टी सभापति भर्खर पार्टीमा जोडिनुभएका नेता बालेन्द्र शाह, डा. स्वर्णिम वाग्ले र हामी सबै देश भरी दौडाहमा जान्छौँ ।

बहुमत ल्याएर बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने कुरा उधारो सहमति होइन ?

बिलकुल छैन । त्यहाँ सबै शीर्ष नेता बसेर निर्णय गरेको कुरा हो । रास्वपाले बहुमत ल्याउँछ । बालेनजी प्रधानमन्त्री बन्नुहुन्छ । रवि दाइ, स्वर्णिम दाइले पार्टी हाँक्नुहुन्छ । यसमा शंका छैन । निर्वाचनपछि संसदीय दलको नेता नै बालेन्द्रजी हो । रास्वपाले बहुमत ल्याउने कुरामा पनि कुनै द्विविधा छैन र तर त्यसका लागि हामी इमान्दार भएर काम गर्ने हो । अहिले हामी काम गरिरहेका छौँ ।

कतै रास्वपाका अरू नेताले भाँजो हाल्नुभयो भने लफडा होला ?

हुँदैन । यसका केही पनि हुन्न भनेरै अगाडि बढेका हौँ ।

कुलमान रास्वपामा आए उहाँलाई पनि प्रधानमन्त्री पद चाहिने हो कि ?

त्यो कुरा सम्भव छैन । प्रधानमन्त्री पद नै दिन त । तर अरू केही कुरामा सहमति गर्न सकिन्छ । कार्यकाल बाडफाड लगायत हुन पनि सक्ला । तर अहिले यसै हो भन्ने अवस्था छैन । निर्वाचनपछि बालेन्द्रलाई संसदीय दलको नेता र प्रधानमन्त्री मानेर जाने विषयमा पार्टी एक ढिक्का छ ।

निर्वाचन कहाँबाट लड्नुहुन्छ रे बालेनले ?

त्यसबारे निष्कर्ष निस्किएको छैन । उहाँलाई जहाँ पनि कमफर्ट छ ।

समानुपातिकका कसरी नाम पठाउनुहुन्छ ?
हामीले दुई नेता रवि र बालेनलाई यो जिम्मेवारी दिएका छौँ । उहाँहरूले योग्य सक्षम र कुनै विवाद नपरेको नेताहरूको नाम फाइनल गर्नुहुन्छ । दुबै जना मिलेर रास्वपालाई हाँक्ने र पार्टी विधि सिद्धान्तमा चल्ने नेता छान्नुहुन्छ ।

अर्को कुरा अहिलेको प्रधानमन्त्री सुशीला कार्कीले नै यहाँहरूलाई सहयोग गर्नुभएको छ रे हो ?

औपचारिक सहयोग छैन । त्यस्तो हुन्थ्यो भने त पार्टी सभापति रवि लामिछानेको विषयमा आफूले गर्न सक्ने कार्यकारी अधिकार क्षेत्र भित्र गएर अगिल्लो सरकारले गरेको दुराशययुक्त अभियोजनको प्रकृर्यामा सच्चाउनुपर्छ भनेर हामी लागिरहेका छौँ ।

अहिलेसम्म सरकारले त्यस्तो खालको निर्णय गरेको देखेको छैन । त्यो ढङ्गले कसरी सहयोग गरेको भन्ने रु त्यहिपनि जेनजी एक ठाउँमा ल्याउने त्यसमा रास्वपाले लिडर रोल गर्ने कुरामा उहाँ सकरात्कम हुनुहुन्छ भन्ने लागको छ । तर त्यो अनुमान मात्र हो । हामीले महसुस गरेको छैन ।

यहाँलाई निर्वाचन फागुन २१ मै हुन्छ भन्ने लाग्छ ?

सरकारले गरेको तयारी हेर्दा हुन्छ । म सबैलाई के आग्रह गर्छु भने अहिलेको देशको अवस्थालाई चिर्ने उपयुक्त माध्यम निर्वाचन हो । निर्वाचन शान्तपूर्ण तरिकाले गरौँ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : २१ बजे

तस्बिरमा हेर्नुहोस्, रास्वपाको चुनावीसभा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

झापाबाट ओलीको टिप्पणी : देशमा शान्ति सुरक्षा छैन, जेल फोड्नेको मुद्दा सरकारले फिर्ता लिँदैछ

दमक (झापा)- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका

रास्वपा कास्कीमा भाँडभैलो, क्षेत्र नम्बर २ का ११ मध्ये १० वडा कमिटी उम्मेदवारको विरोधमा उत्रिए

पोखरा- उम्मेदवारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की क्षेत्र नम्बर २

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय