रोशाले शैलूको फोटो पठाइदिएको छ। दुब्ली र अग्ली भैछ शैलजा र उसको दृष्टिमा संकट संकेत छ। उसको तस्बिर हेर्दा कठोर पहरो भएको भीरको सम्झना हुन्छ, जस्को एउटा स्वत भयानक, संकट सम्पन्न, आकर्षण रहन्छ। तेजस्वी छ त्यो, र उपयुक्त अवसर पाई भने उपयुक्त प्रेम सम्बन्धमा बाँधिन पाई भने- त्यसको तेजस्विता हितकर हुनेछ, नत्र त्यसले विपद् ल्याउन बेर मान्नेछैन। अग्निको स्वभाव।-बीपी कोइराला
म विवाह गरुँला गरुँला भन्ने इच्छा हुँदाहुँदै सारा झन्झटमा फस्दै गएँ, फस्दै गएँ। म शुरुदेखि नै यसरी अविवाहित बसुँला भन्ने थिएन। र त्यो धेरै व्यक्तिहरुले सोच्दैनन पनि। विवाह गर्ने कुरा हाम्रो समाजमा जहिले पनि जवानीको प्रारम्भतिरै सोचिन्छ। जस्तो जेलबाट छुटेर आइसकेपछि मलाई धेरै मानिसहरुले दबाब दिए कि विवाह गर्नुपर्छ भनेर। सबैभन्दा बढी दबाब दिनेहरुमा एकजना टंकप्रसादजी पनि हुनुहुन्थ्यो। उहाँले म घर दिन्छु, सवै व्यवस्था भएको छ। तपाईंले केही गर्नुपर्दैन भनेर भन्नुभएको थियो। –कृष्णप्रसाद भट्टराई
जेलबाट निस्किएपछि कति जनाले त मेरा बारे आफन्तसँग भन्दथे– ‘यस्ती केटीसँग कसले विहा गर्दछ ? यस्ती केटीसँग कसरी घरबार हुन्छ होला ?’ मेरा आफन्तले विहाको बारे चर्चा गर्दा म भन्दिन्थेँ- ‘मेरो चासो राख्नु पर्दैन मैले राजनीतिसँग विवाह गरिसकेँ। विहे गर्ने, घरजम गर्ने, बालबच्चा हुर्काउने आदि सबैका लागि मेरो उमेर भैसकेता पनि मैले त्यसपट्टि सोचेकै थिइँन।’- दुर्गा घिमिरे, संस्थापक सदस्य नेपाल विद्यार्थी संघ
राजनीतिक व्यस्तता देखाएर अविवाहित बस्नेको भीडले देशको सबैभन्दा पाको राजनीतिक दल नेपाली कांग्रेसमा एउटा मनोवैज्ञानिक समस्या थपेको छ। आजसम्म कुनै पनि नेतृत्वले चासो नदेखाएको यो पाटो अब व्यक्तिको नभएर स्वयं दलका लागि पेचिलो मुद्दा हुनेमा दुईमत छैन। प्राकृतिक कर्तव्य र व्यक्तिक अधिकारलाई थाती राखेर गरिने राजनीति साँच्चै त्याग हो या लापर्वाह त्यसको पनि वस्तुनिष्ठ विश्लेषण हुन जरुरी छ।
कार्यकर्ताबीच झाँगिएको मायापिरती सार्वजनिक भएपछि पार्टी लमी बनेर विवाहमा परिणत गरिदिने कम्युनिष्ट पार्टीमा जस्तो परम्परा कांग्रेसमा नहुँदा समस्या भुसको आगोसरह सल्किएको बुझ्न कठिन छैन्। बीपीको भविष्यवाणी देशकै त्यागी, जुझारु र शिक्षित महिला नेतृ शैलजा आचार्यको जीवनमा अक्षरश : लागू भयो। यद्यपि नेविसंघकी संस्थापक सदस्य रहेकी दुर्गा घिमिरेले भने २०३१ सालमा साहित्यकार जगदीश घिमिरेसँग विवाह गरिन् ।
पारिवारिक जीवन असन्तुलित हुँदा कांग्रेस केन्द्रीय नेतृत्वमा पुगेका थुप्रैको जीवन अस्तव्यस्त रह्यो। आफ्ना नेताहरुको जीवनशैलीलाई आदर्श मानेर त्यस्तै बन्न खोज्नेहरु अन्ततः तिनै नेताहरुको कहालीलाग्दो बुढ्यौलीदेखि झस्किएर ५० को हाराहारी घरजम गर्नेहरु थुप्रै छन् । हुन त विवाह मानिसको व्यक्तिगत निर्णय हो। तर शास्त्रले मानव जीवनलाई चार आश्रमको व्याख्या गरेको छ।
सुरुका २५ वर्ष बह्मचर्य भावी जीवनको तयारीका लागि अनुशासनमा बस्ने, २५-५० गृहस्थ आश्रम उद्योग-उपभोग, ५०-७५ ज्ञान अनुभवको सामञ्जस्य र ७५ माथि आत्मकल्याणको अवस्था भनी व्याख्या गरिएको छ। यसका लागि शरीरबल, मनोबल र ज्ञानबलको सन्तुलन आवश्यक छ ।
किसुनजी जस्तै बन्ने सपना पालेर बसेका बलबहादुर केसीलाई पाको उमेरमा बिहे गरौंला भन्ने नै थिएन। किसुनजीमा आएको बुढ्यौली अवस्थाको मनोविज्ञान आफूभित्र सल्बलाउँदा उनी नेविसंघ नेतृ रिना उप्रेतीसँग जोडी बाँधिएको स्वीकार्छन्।
पाँच पटक देशको प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा, मोहनबहादुर बस्नेतदेखि हृदयराम थानीसम्म यही कोटीमा पर्छन् । किशोर छँदा अभिनेता बन्ने सोख राखेका सुशील कोइराला अन्तत : नेता बने । प्रजातन्त्रका लागि लड्दालड्दै बिहे गर्ने उमेरले नेटो काटेको बताउने कोइरालाको जीवन कतिसम्म विन्दास देखियो भने उनी कहिले जन्मिएको भन्ने प्रामाणिक कागजातसम्म फेला परेन । यद्यपि जीवनको उत्तराद्धतिर अविवाहित कार्यकर्तालाई उनले बिहे गर्ने सुझाव दिने गर्थे । अस्तव्यस्त जीवन बाँचेरै उनी परलोक प्रस्थान गरे।
लोकतन्त्र, समाजवादका जतिसुकै भाषण गरे पनि त्यसको समुचित उपयोग सन्तुलित मानिसले मात्र गर्नसक्छ। एउटा पूर्ण घरको अभिभावकीय दायित्व सफलतापूर्वक निर्वाह गर्नुपर्छ नत्र भोको मानिसलाई पकवानको कुरा गरेर अल्मल्याउन खोजेजस्तो हुन्छ।
लोकतन्त्र आएपछि विवाह गर्ने धोको पालेका थुप्रै राजनीतिकर्मी लोकतन्त्र आएपछि उस्तै बसेका छन्। उदेकलाग्दो पहेली त के भने राजनीति गर्नेका लागि विवाहको साइत जुराउने कस्तो लोकतन्त्र चाहिएको हो, अझसम्म खुलेको छैन।
त्यसो त बीपी कोइरालाले कृष्णप्रसाद भट्टराईलाई नेतृत्व हस्तान्तरण गरेपछि भट्टराईको वैवाहिक जीवनको अधिकांश प्रसंगले दशकौं अघोषित प्रहसनकै रुप लियो भन्दा हुन्छ। ‘कुमार पनि हैन, विहे पनि गरेको छैन’ जस्ता सन्दर्भले जोरी हँसाउने काम त भयो तर त्यसभित्रको मीमांसा गर्ने काम भएन। पार्टी पनि एकप्रकारको फौज नै हो। घर परिवार छोडेर महिनौँ, वर्षौँका लागि हिँडेका सिपाहीको यौनिक मनोविज्ञानलाई चुस्त दुरुस्त राख्न जसरी कमाण्डरले होस पु-याउनु पर्छ , त्यसरी नै दलका सारथिले पनि यो दायित्व बिर्सनु हुँदैन।
लोकतन्त्र, समाजवादका जतिसुकै भाषण गरे पनि त्यसको समुचित उपयोग सन्तुलित मानिसले मात्र गर्नसक्छ। एउटा पूर्ण घरको अभिभावकीय दायित्व सफलतापूर्वक निर्वाह गर्नुपर्छ नत्र भोको मानिसलाई पकवानको कुरा गरेर अल्मल्याउन खोजेजस्तो हुन्छ। यसका लागि सर्वप्रथम उसले आफैंमाथि गर्ने शासन न्यायपूर्ण हुनुपर्छ।
बीपी कोइराला हरेक विषयमा किन अब्बल थिए ? जेलमा बस्दा पनि आफूलाई सन्तान सुखको कुन कोटीमा राखेका थिए भन्ने उनैले लेखेको यो प्रसंगबाट स्पष्ट हुन्छ- ‘सुशीलाको स्वास्थ्य राम्रो रहेछ– अलिक पहिलेको भन्दा उन्नति गरेको। प्रकाश हृष्टपुष्ट रहेछ। श्रीहर्षलाई भर्खरै ठेउला आएकाले दुब्लो थियो। शशांकलाई पनि अत्यन्त दुब्लो पाएँ। चेतना पनि दुब्ली। तर सबै प्रसन्न थिए। शशांकले ट्विस्ट नाचेर देखायो र आजकलका ठिटीहरुले नयाँसडकमा हिँडेको भाउ देखाएर हामी सबैलाई मनोरंजन ग-यो। श्रीहर्षले सिलोन रेडियोको नक्कल गरेर एउटा विज्ञापनको गाना गायो। मैले उनीहरुलाई चकलेट दिएँ। शशांकले जेनेरलदेखि अरु सबै अफिसरलाई पनि बाँड्यो चाकलेट। म बडो प्रसन्न भए।’
आखिर यही खाले पारिवारिक न्याय फैलिएर नै त सामाजिक रुपान्तरण हुने त हो नि। अभिभावकले सन्तानलाई दिने र पालन गर्ने भनेको संस्कार हो। यो तथ्य घाँटीघाँटीसम्म बुझेका बीपीको देहान्तसँगै यस्ता विषयमा कांग्रेस नेतृत्वभित्र अन्तरमुखी स्वभाव हावी भएको देखिन्छ। जसरी दरबार हत्याकाण्डको कारण पछाडि अनेकौं व्याख्या विश्लेषण भए पनि त्यसको जड युवराज दीपेन्द्रको विवाहसँग जोडिएको बुझ्न कठिन छैन्। साली रत्नलाई बिहे गर्न नपाए राजपाट त्याग्ने अवस्थामा पुगेका तात्कालीन युवराज महेन्द्रले बिहे पनि गरे, पद पनि त्याग्नु परेन।
बीपीको दूरदर्शी र बुद्धिमतापूर्ण चलाखीले समस्या निदान भएको प्रसंग उनले नै उल्लेख गरेका छन्। यदि प्रतिकूल परिस्थिति जन्माउनु प-यो भने विवाह मान्छेको भावनासँग खेल्न कति संवेदनशील र सजिलो विषय रहेछ भनेर हरेक नेतृत्वले हेक्का राख्नु जरुरी छ। प्रत्येक राजनीतिक दलमा विद्वानहरुको छुट्टाछुटै मोर्चा त छ, तर त्यसले यसतर्फ कति पनि ध्यान दिएको देखिदैन।
घरजम गरेकाको पनि अर्को दुःख छ। दशकौंअघि पत्नी गुमाएका कोइरालाले नयाँ घरजमबारे कतै मुख फोरेनन्। तर आफू एक्लो भएको, आफूलाई विना स्वार्थ माया गर्ने मानिस कोही नभएको भनेर जीवनको उत्तरार्द्धमामा पीडा पोखेको नातिनी मनिषाले अन्तर्वार्तामा भन्ने गरेकी थिइन।
किसुनजीपछि कांग्रेस बागडोर सम्हालेका गिरिजाप्रसाद कोइराला पनि यो विषयमा खुलेनन्। बिहे नगर्ने त नगर्ने नै भए, बिहे गरेर दशकौंदेखि एकपाखे जीवन बिताइरहेकाले पनि यस विषयमा न आफ्नो हित सोचे, न अरुको भविष्य।
घरजम गरेकाको पनि अर्को दुःख छ। दशकौंअघि पत्नी गुमाएका कोइरालाले नयाँ घरजमबारे कतै मुख फोरेनन्। तर आफू एक्लो भएको, आफूलाई विना स्वार्थ माया गर्ने मानिस कोही नभएको भनेर जीवनको उत्तरार्द्धमामा पीडा पोखेको नातिनी मनिषाले अन्तर्वार्तामा भन्ने गरेकी थिइन। स्टोभ पड्किएर भएको दुर्घटनामा पत्नी गुमेपछि एकल जीवन बाँचेका गिरिजाप्रसादले पीर कम गर्न चुरोटको अम्मल रोजे तर दोस्रो घरबारबारे सोचेनन।
आफ्ना नेताको यो हविगत देखेका पहिलो राष्ट्रपति डा. रामवरण यादव, दिवंगत नेता भीमबहादुर तामाङले पत्नीको वियोगको दुःख पीडा आँसु वर्षौं बनाएर घट्घटी पिए, तर दोस्रो घरबार सोचेनन्। प्रखर नेता प्रदीप गिरिले बिहे त गरे, तर व्यावहारिक हुन सकेन। उमा अधिकारी धेरै वर्षपछि माइतीकै थर रेग्मीमा फर्किएकी छन्। सुजाता कोइराला पतिसँग मन नमिलेपछि नेपालमा आफ्नै धुनीफुनीमा रमाएकी छन्। उनका दुई सन्तानमध्ये छोरा आन्द्रेस सिद्धार्थ यतै घरबार गरेर बसेका छन्। दिवंगत नेता तथा सहिद पत्नीहरु लीला कोइराला, सुप्रभा घिमिरे, सीतादेवी यादवहरुले दशकौं एक्लो वैधव्य जीवन बिताए।
कांग्रेसको अघिल्लो पुस्ताकी मैयादेवी श्रेष्ठले अविवाहितै बसेर आफूलाई दानमनीषी बनाइन्। शिक्षासेवी भएर राजनीतिको पृष्ठभूमि बनाएका रामहरि जोशी त्यागी नेता त दरिए, जीवनभर अविवाहित बसेका उनको निष्ठा बोक्ने पैतृक अनि पारिवारिक राजनीतिमा भने पूर्णविराम लाग्यो। अर्का अविवाहित नेता पुरुषोत्तम बस्नेतले कांग्रेसको राजनीतिक इतिहासको ठेली त लेखे, तर स्वयंको इतिहास लेख्ने कोही भएन। गोपाल पहाडी, फर्मूला मन्सुर, अम्बिका बस्नेत, सुशीला स्वाँर, पीएल सिंहसम्म राजनीतिक कारण देखाएर अविवाहित बसे।
पत्नी वितेपछि अपवादमा चिरञ्जीवी वाग्लेले साठी नाघेपछि दोस्रो घरजम त गरे, तर त्यसले सिंगो संगठनमा सकारात्मक सञ्चार ल्याउने काम गरेन। बेहेको साइत नजुर्नेहरुको लर्कोमा कांग्रेसभित्र उमेश श्रेष्ठ थपिएका छन्। व्यापारिक पृष्ठभूमिबाट आएका उनी अहिले काँग्रेसका कोषाध्यक्ष हुन्। ७० को वयमा हिँडिरहेका श्रेष्ठका अरु सहोदर तीन भाइ पूर्ण पारिवारिक जीवन बिताइरहेका छन्। आफ्नो जायजेथा ट्रष्टमा लैजाने अभिव्यक्ति श्रेष्ठले बाक्लै दिँदै आएका छन्।
बेहेको साइत नजुर्नेहरुको लर्कोमा कांग्रेसभित्र उमेश श्रेष्ठ थपिएका छन्। व्यापारिक पृष्ठभूमिबाट आएका उनी अहिले काँग्रेसका कोषाध्यक्ष हुन्। ७० को वयमा हिँडिरहेका श्रेष्ठका अरु सहोदर तीन भाइ पूर्ण पारिवारिक जीवन बिताइरहेका छन्। आफ्नो जायजेथा ट्रष्टमा लैजाने अभिव्यक्ति श्रेष्ठले बाक्लै दिँदै आएका छन्।
पार्टी मात्र हैन, भातृसंस्था तरुण दल र नेविसंघमा उमेर पाक्दै गएका थुप्रै नेता कार्यकर्ता छन, जो विहेको एजेण्डामा प्रवेश गर्न धक मान्छन्। भनिन्छ- ‘घर बनाउने आफूले, बिहे गरिदिने अर्कैले हो।’ यो पुस्ता अव्यक्त भावमा यस विषयले पार्टीमा प्राथमिकता पाउनुपर्ने माग राख्छ। आफ्नो रहरलाग्दो उमेर पार्टीमा अर्पण गरेपछि त्यो व्यक्तिमा आउने समस्यामा नेतृत्व बोलिदिनु पर्छ भन्ने उनीहरुको मत रहिआएको छ।
त्यसभन्दा माथि एउटा तह छ, जो बिहे नहुनु पछाडिको एउटा न एउटा कारण देखाएर तर्कन खोज्छ। मैले मन पराएँ- उस्ले पराइन, उसले मन पराई तर मैले उसलाई चाहिन खालका तर्क गरेर आफूलाई नबिकेको हैन है भनेर प्रमाणित गर्ने दुस्साहस गर्नेको पनि खाँचो छैन। त्यसो त थोरै गुनासो आउने गरी परिवारको नेतृत्व लिने जोकोही अभिभावक राज्य सञ्चालकको कुर्सीमा फिट हुने तर्क गरिन्छ। आफ्नो पारिवारिक अवस्थाको व्यवस्थापनमा चुकेकै कारण नेताहरु राज्य सञ्चालनमा आलोचित बनेका हुन भनियो केही हदसम्म सत्यको नजिक हुनसक्छ। दूधे बच्चा बोकेर प्रधानमन्त्री, मन्त्रीदेखि संसद्मा प्रभावकारी उपस्थिति जनाउने अभ्यास संसारमा चलिरहेको छ।
नेतृहरु कृष्णा अमात्य, कल्याणी रिजाल, सरिता प्रसाईं, प्रतिमा गौतम, लक्ष्मी खतिवडाजस्ता राजनीतिक पात्रहरुको घरजम एजेण्डा ओझेल पर्दै गएको छ। नेता रामहरि ढुंगेल घरमजमै नगरी ईश्वरका प्यारा भए। पटक पटक सांसद भएका रामहरि खतिवडा, राष्ट्रियसभा सदस्य जितजंग बस्नेतको अझै साइत जुरेको छैन। सुदूरपश्चिमका प्रदेशमन्त्री बहादुरसिंह थापाले भर्खरै बाको घिडघिडो मेटाउन ६ दशकको उमेरमा विवाह गरेका छन्। यो त मुद्दाको उठान मात्र हो, भुसको आगोका रुपमा भित्रभित्र कति सल्किएको छ यसै भन्न कठिन छ। यसरी भन्न नहुने कथा र गाउन नमिल्ने गीत बोकेर कांग्रेसजन कहिलेसम्म हिँड्लान खै ?
प्रतिक्रिया