काठमाडौं – अङ्ग्रेजी दार्शनिक र राजनीतिज्ञ फ्रान्सिस बाकनले भनेका छन्, ‘केही किताब चाख्नुपर्छ, केही किताब निल्नुपर्छ, केहीलाई मात्रै चपाएर पचाउनुपर्छ ।’
यसै मेसोमा विश्वविख्यात नाटककार जर्ज बर्नाड शा थप्छन्, ‘विचारहरूको युद्धमा पुस्तक अस्त्र बराबर हुन्छ ।’
तपाईं कस्तो पुस्तक पढ्दै हुनुहुन्छ ? व्यक्तित्वको मानक पुस्तकको छनोटबाट हुन्छ भन्ने धेरैको बुझाइ छ । अझ; अष्टिन फेल्प्सको ‘नयाँ पुस्तक किन, पुरानो कोट लगाऊ’ उक्तिले धेरैलाई पुस्तक अध्ययनतर्फ घच्घच्याउँछ
धेरैले पुस्तकलाई अनन्य साथीका रूपमा पनि परिभाषित गरेका छन् । मानिसको सभ्यतासँगै अन्योन्याश्रित सम्बन्ध गाँसिएको पुस्तक इन्टरनेटको प्रयोगले पढ्ने क्रम पातालिएको बहस हुन थालेको छ ।
पढ्ने माध्यम फेरिएको हो या पठन संस्कृति खस्किएको ? गुणस्तरीय पुस्तक छापिन छोडेका हुन् कि पुस्तकको मूल्यले आकाश छोएको हो ? यस विषयमा पाठक, लेखक र प्रकाशकका राय बाझिन्छन् ।
पुस्तक व्यापारीहरूको विश्लेषणमा पछिल्लो पुस्तामा पुस्तक पढ्ने संस्कृति नै छैन । उनीहरूको तर्कमा सहमत हुने हो भने अभिभावकहरू आफू पढेर सन्तानलाई पुस्तक पढ्न प्रेरित गर्दैनन् । व्यवसायीको प्रश्न छ– बाउआमा नै मोबाइल एडिक भएपछि सन्तानमा रिजल्ट खोजेर कसरी आउँछ ?
अहिले घरलौरी संवाद पातलिएको छ । फुर्सदको समय मोबाइलले खोसेको छ । पुस्तक पढेर समय कटाउने औँलामा गन्न सकिने स्थिति बन्दै गएको छ । पुस्तक व्यवसायीहरू पुस्तकको व्यापार धराशायी अवस्थामा पुगेको बताउँछन् ।
विगत साढे तीन दशकदेखि काठमाडौंमा पुस्तक व्यवसाय गर्दै आएका पैरवी प्रकाशनका सञ्चालक चन्द्र शिवाकोटी पहिलाको तुलनामा पुस्तक किनेर पढ्नेको संख्या कम भएको गुनासो गर्छन् । उनलाई पुस्तक बिक्री भएन भन्दा पनि मानिसमा पढ्ने संस्कृति कम भएकोमा दुख लागेको छ ।
‘कोभिड अगाडिसम्म पुस्तक पढ्ने एक लहर नै थियो । कोभिडले मानिसलाई सामाजिक सञ्जालमा खुम्च्यायो । उनीहरू पनि यसैमा रमाउन थाले । अहिले पुस्तक पढेर मानिसलाई एकाग्र हुन एकदमै कठिन भइरहेको छ’ उनी थप्छन्- ‘पढ्नै पर्ने पुस्तकहरू जसमा लोकसेवा आयोगका किताब, कोर्सका किताबहरू बेचेर बस्नुपरेको छ । कोर्समै पनि अहिले विभिन्न प्रविधि आएका छन् । गुगल, च्याटजीपीटी इन्टरनेटबाट सबै कुरा पाइने भएको छ । यसकारण पनि पुस्तक पढ्ने संख्या घटेको होला ।’
बजारमा आएका कृतिहरू गुणस्तरीय नहुनु , किताबको मूल्य छोइनसक्नु हुनु पनि त किताब नबिक्ने कारण होला नि ? सञ्चालक शिवाकोटी किताब महँगो हुनु पछाडि कारण रहेको बताउँदै भन्छन्- ‘कागज, प्रकाशन, किताब छाप्दा लेखन, सम्पादन अन्य झिना मसिना खर्च बढ्दै जाँदा त्यसको भार किताबमा पर्नु स्वाभाविक हो । अझ विक्रेतालाई अलि मार्जिन नदिए बजारमा किताब नै पुग्दैन ।’
उनका अनुसार लोकसेवा र सरकारले छाप्ने किताबमा पनि केही मूल्य बढेको छ । एउटाले हिजो दुई हजार छाप्थ्यो भने आज त्यो चार जनालाई बाँडियो । चारवटा प्रकाशक भए । हजारको तुलनामा त्यो छापिँदा त त्यसको लगानी स्वाभाविक बढ्यो । हिजोसम्म थोरै प्रकाशन गृह थिए । तर आज कोही लेखक अलिकति पाउनासाथ आफैँ प्रकाशक भएर निस्किने भएको छ ।
प्रकाशनमा शुद्धीकरण जरुरी रहेको बताउँदै उनी भन्छन्- ‘लेखक हुनकै लागि किताब लेख्ने क्रम बढ्दो छ । पुराना पुस्तकहरू अहिले पनि सदाबहार छन् । अहिलेको पुस्ता अङ्ग्रेजीमैत्री छ । उनीहरू जति महँगो भए पनि विदेशी प्रकाशन रुचाउँछन् । त्यसैले नेपाली बजारमा विदेशी पुस्तकहरूको व्यापार औसत राम्रो छ ।’
भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइराला, माधवप्रसाद घिमिरे, लेखनाथ पौड्याल, गुरुप्रसाद मैनाली, पारिजातदेखि शंकर लामिछाने, भैरव अर्याल, कृष्ण धरावासीका आख्यान सदाबहार बिक्ने कोटीमा पर्छन् । अहिलेको पुस्ता अर्थोपार्जन, मोटिभेसन, अटोबायोग्राफीका विषयमा रुचि राख्ने पुस्तक विक्रेताहरू बताउँछन् । कतिपय युवाहरू लोकसेवाको पुस्तकमा रमाएका छन् ।
काठमाडौं कपन निवासी सुप्रभा तमाङ लोकसेवाको पुस्तक किन्न न्यूप्लाजा आइपुगेकी थिइन् । उनी लोकसेवामा नाम निकाल्न लागि परेकी छन् । उनी लोकसेवाका पुस्तकमा लेखक छानेर पढ्ने बताउँछिन् ।
लोकसेवामा ध्यान दिएको कारण अरु पुस्तकहरू नपढेको उनको भनाइ छ । उनी भन्छिन्– ‘नेपाली साहित्यिक पुस्तकहरू किन्न मन लाग्छ ।साथी साथी मिलेर किन्थ्यौँ र त्यही पढ्थ्यौँ । अहिले त्यस्तो पढिहालौँ भन्ने किताब पनि भेटेकी छैन ’
नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले पुस्तक प्रदर्शनी चलिरहेको छ । त्यहाँ पुस्तक किन्न आउनेको बाक्लै भिड देखिन्छ । यहाँको दृश्यले पुस्तक पढ्ने मान्छे घटेका हुन्छ भन्ने प्रश्न त्यहाँ जाँदा गलत हो कि जस्तो लाग्छ ।
प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न भाषाका शब्दकोश, भाषा, साहित्य, संस्कृति, इतिहास, ललितकला, सङ्गीत, नाट्य, दर्शनशास्त्र, समाजशास्त्र, धर्मशास्त्र, विदेशी साहित्यको अनुवादलगायत विविध विधाका पुस्तकहरू राखिएका छन् । जहाँ खुलेर आफूलाई मन लागेका छानेर लिन सकिन्छ । प्रदर्शनीमा केही सहुलियत दिने भएकाले पनि पाठकको आकर्षण बढेको बुझ्न कठिन छैन ।
पुस्तकालयमा पनि उस्तै
सरकारी स्वामित्वमा रहेको केशर पुस्तकालयमा पनि पाठकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । कलेजका विद्यार्थी, लोकसेवा तयारीदेखि विदेश पढ्न जाने, एमए, एमफीलको रिसर्च गरिरहेका विद्यार्थीहरू पुस्तकालयमा पढ्न निमग्न देखिन्थे ।
केशर पुस्तकालयमा अत्यन्त दुर्लभ सन्दर्भ सामग्रीहरू पनि रहेकाले पनि त्यहाँ पुगेको उनीहरू बताउँछन् । अझ सुविधा सम्पन्न अत्याधुनिक भवन बनेपछि पाठकहरूलाई सुविधा भएको छ । पुस्तकालयको पटांगिनी शान्त र सुरक्षित भएकाले घाम तापेर पढ्न यो ठाउँ रोजेको कतिपयको भनाई छ ।
लेखकको पनि छैन सुखद अनुभव
पाठकले अत्यन्त रुचाएको ‘सेतो धर्ती’का स्रष्टा अमर न्यौपाने कोभिड अगाडिको तुलनामा पछि पुस्तक पढ्ने पाठक घटेको बताउँछन् । उनी भन्छन्, ’कोभिड अगाडि ठूला ठूला प्रदर्शनहरू हुन्थे, पाठक वर्ग हुन्थे, किताब साइन गर्नेको लाइन पनि हुन्थ्यो । तर पछि त्यो लिडरसिप कम भएको हो ।’
उनी कुनै समय आफू शिक्षक हुँदाको अनुभव सुनाउँदै खबरहबसँग भन्छन्– ‘मैले पनि पढाउँदा मेरो अनुभवमा अहिले धेरै अंग्रेजी मिडियमका स्कुल छन् । त्यहाँ उनीहरूलाई लाइब्रेरीमा पढ्न दिँदा पनि अंग्रेजी उपन्यासहरू दिने गर्दा उनीहरूमा नेपाली भाषाको पनि समस्या हुन थालेको छ । बच्चालाई कतिपय स्कुलमा त नेपाली बोल्दा फाइन तिराइन्छ । उनीहरूले नेपाली पढ्न नै जान्दैनन् । त्यसैले पढ्न सजिलो उनीहरूलाई अंग्रेजी नै लाग्न थाल्यो ।’
अहिले सबै कुरा महँगो भएकोमा कागज छपाइ बजारअनुसार प्रकाशकहरूले मूल्य राख्नुपर्ने र थोकलाई बढी मार्जिन राखिदिँदा थोरै महँगो जस्तो लागेको उनको भनाइ छ ।
युवा पुस्तालाई उपयुक्त हुने पुस्तक केही नभएका होलान् तर अहिले युवा पलायन बढ्दै गएको बताउँदै उनी भन्छन्, ’आर्थिक समस्याको कारणले बाहिर जान्छन् । स्कुल पढ्दादेखि नै उनीहरूले विदेशको सपना बुनिरहेका हुन्छन् । आईएलटीएस गरिरहेका हुन्छन् । उनीहरूको प्राथमिकतामा त साहित्य पुस्तक नै परेनन् ।’
उनी थप्छन्– ‘मैले लेखेको शैक्षिक उपन्यास करोडौँ कस्तूरीमा कक्षाकोठाको आकाशमा सय वटा निस्वार्थ सेवा हुन्छन् । बाहिरको आकाशमा सूर्य हुन्छ । कक्षा कोठाको धर्ती भन्दा बाहिरको धर्ती फराकिलो हुन्छ । कक्षाकोठा भन्दा बाहिरको धर्ती फराकिलो हुन्छ ।’
पाठकलाई न्यौपानेको सुझाव, उनैको भाषामा
आफ्नो कल्पना शक्ति बढाउनको निम्ति कोर्समा भएको मात्र पढ्यो भने त्यो त अरूले तयार गरिदिएको कुरा हो । त्यसैले आफूभित्रको कस्तुरीलाई निकाल्नको निम्ति कल्पना शक्ति बढाउने सृजनशील बनाउने खालका किताबहरू पढ्नु पर्छ ।
पुस्तकका गुणस्तरका कुरामा जहिले पनि राम्रो चिज धेरै हुन्छ । त्यत्रो कोइलाबाट हीरा त थोरै बन्छ नि । जुन तापले रापले दबाबले बनेको थोरै हिरा कति बहुमूल्य हुन्छ । कस्तूरी पनि थोरै हुन्छ, कत्ति बहुमूल्य छ त ? त्यसैले जुनभन्दा बहुमूल्य हुन्छ, त्यो सानो हुन्छ ।
त्यस कारण बजारमा धेरै किताबहरू आएका हुन्छन् । धेरैले रहरले पनि किताब लेखेका हुन्छन् । र थोरै चिज राम्रा हुन्छन् । त्यसमा छानेर पढ्नु पर्छ । त्यो शिक्षकले राम्रो पढ्ने मान्छेले सिफारिस गरेका किताबहरू पढ्नु पर्छ । संसारभर नै धेरै पुस्तकहरू धेरै छन् । त्यसमा छानेर नै पढ्न सक्नु पर्छ ।
हामी लेखकले अहिलेका युवालाई समेट्न सकेका छैनौँ । उनीहरूले एउटा सपना देखेका छन् । सपना जति ठूलो देखिन्छ, त्यति नै संघर्ष धेरै हुन्छ । त्यो संघर्षबाट गुज्रिँदा कतिपय मान्छेहरूले आफ्नो सपनालाई त्यही त्याग (गिभअप) गर्छन् । कतिपय त्यो प्राप्तिको लागि संघर्ष गर्छन् । त्यो थोरै मान्छेले मात्र आफ्नो सपनालाई पुरा गर्छन् । त्यस्तो युवालाई मोटिभेट गर्ने, साहित्यिक मूल्य भएको, त्यसको दार्शनिक र दृष्टिकोणले त्यो मूल्यवत भएको किताबहरू देख्न जरुरी छ ।
अहिलेका युवालाई उनीहरूका कथा एकदम दार्शनिक तरिकाले मोटिभेसनल तरिकाले ऊर्जा दिने किसिमको पात्रहरू जस्तै संघर्ष गर्छन् । त्यो टुक्रा मात्र नदेखाई त्यसले उपलब्धिसहितका पुस्तकहरू पढ्न चाहेको हो कि जस्तो लाग्छ ।
प्रतिक्रिया