काठमाडौं– मेरो प्रीति कहाँनेर दोषी हो ?
दिल टुटाइयो, सिन्दुर नि खोसियो ।
साङ्गीतिक कार्यक्रम ‘इन्द्रेणी’मा गीतमार्फत केहीअघि लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले आफ्नो बह यसरी पोखिन् ।
श्रीमानसँग सम्बन्ध विच्छेदपछि उनी बिछोडको पीडा गीतमार्फत नै पोखिरहेकी भेटिइन्थिन्। गोरखा घ्याम्पेसालकी जेरीले दोहोरी तथा मोडलिङमा भविष्य खोज्दै हिँडेका बाँके नेपालगञ्जका शङ्कर क्षेत्रीसँग बिहे गरेकी थिइन् ।
पाँच वर्षको प्रेम सम्बन्धमा उनीहरूले विवाहसम्मको यात्रा तय गरेका थिए । बिहे भएको वर्ष दिनमै छोरीको जन्म भयो । तर, उनीहरूको दाम्पत्य जीवन भने धेरै चल्न सकेन । अन्ततः वि.सं. २०७९ मा उनीहरू छुट्टिए ।
लोकगीत मन पराउनेहरूका लागि ‘जेरी’ कुनै नौलो नाम होइन । अझ प्रस्तुति हेर्ने हो भने उनी गीतसँगै रोचक माहोल बनाउन पनि माहिर छिन् । लोकगीत कहिल्यै नसुन्नेलाई उनको वाककलाले लालायित बनाउँछ । साथीले सङ्गीत क्षेत्रमा ‘एक्स्ट्रा’ नाम चाहिन्छ भन्दै उनलाई यो उपनाम दिएकी थिइन् । ‘रियल’ नामभन्दा बढी उपनाम चर्चित भयो ।
जेरी सानैदेखि गाउनमा सोखिन थिइन् । उनलाई सांगीतिक क्षेत्रमै आफ्नो करिअर बनाउनु थियो । परिवारले अनुमति नदिए पनि उनी आफ्नो सपना पूरा गर्न काठमाडौं आइन् । दोहोरी साँझबाट आफ्नो कला देखाउँदै गइन् । विस्तारै उनका संघर्ष खुकुलो हुँदै गयो । सफलताले उनलाई कस्दै माथि लग्यो ।
त्यसकै सिलसिलामा उनको शंकरसँग चिनजान भयो । बिस्तारै उनीहरू प्रेममा डुब्न थाले । लाइभ दोहोरीमा जेरी र शंकर आफ्ना प्रेम भाव प्रकट गर्थे । यसकारण पनि उनीहरूको प्रस्तुतिले धेरैलाई आकर्षित गर्थ्यो । पाँच वर्षको प्रेम सम्बन्धपछि उनीहरू विवाह बन्धनमा बाँधिए ।
उनीहरू दुवैले मिलेर ‘जुनकिरी’ दोहोरी साँझ सञ्चालन गरेका थिए । एक वर्षको अन्तरालमा छोरी जन्मिइन् । तर खुसहाल जिन्दगी फेरि धरापमा पर्यो । बिहे गरेको दुई वर्षमै उनीहरू सम्बन्ध विच्छेदमा पुगे ।
धेरैले शंकरले वास्तविक प्रेम नगरेको आरोप लगाए । आफ्ना संघर्षका दिनमा जेरीको सफलताले मात्रै लोभिएर बिहे गरेको भनेर आलोचना गरे । उनीहरूको जोडी पनि नमिलेको टिप्पणी गरे । जेरीको पैसा र सफलता देखेर बिहे गरेको जस्ता टीकाटिप्पणी आए । हाल छोरी जेरीसँगै छिन् ।
सम्बन्ध विच्छेदपछि जेरी निकै टुटिन् । उनी पहिले जसरी गायनमा सक्रिय हुन सकिनन् । ‘मेरी छोरीका बुवा हुन्’ भनेर शंकरको बारेमा नकारात्मक कुरा गरिनन् । सँगै नभए पनि ‘आफूले प्रेम गरेको मान्छे’ भनेर उनलाई सम्झिराख्थिन् । आफूले सच्चा प्रेम गर्दा पनि एक्लै हुनुपरेको विरह पोखिरहन्छिन् ।
प्रेममा धोका खाएका केही मानिस सन्त महात्म बन्छन्, धेरै अध्यात्ममा जोडिइन्छन् । जेरी पनि अहिले पुराणवाचिका बनेर आएकी छिन् । माघ २२ गतेदेखि ३० गतेसम्म रानीबारी, काठमाडौँमा हुन लागेको महायज्ञमा उनले पहिलोपटक पुराणवाचन गर्ने भएकी छिन् ।
गत साउनमा पशुपतिनाथमा भएको कोटिहोममा अतिथिको रूपमा पुग्दा उनले श्रीमद्भागवत अध्ययन गर्दै गरेको र पछिल्लो भेट व्यासमै भेट हुने बताएकी थिइन् ।
जेरीबारे सामाजिक सञ्जालमा तीतो मिठो
बाचकीका रूपमा आउँदा बबिताको धेरै आलोचना भएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत उनीमाथि टीकाटिप्पणी भएको छ । तर, केहीले उनीप्रति समर्थन जनाएका छन् ।
आफूलाई भविष्यवेत्ता बताउने सविता आचार्य लेख्छिन्, ‘व्यापार मन्दी छ, तर यताको व्यापार मज्जाले फस्टाउने रहेछ जस्तो लाग्यो । अनि अब कतिले त आफ्नो नाम अगाडि सखी र अर्को चर्चित नाम हो दासी थपिने हुन् । यी नाम राख्नुको अर्थ के रहेछ मलाई थाहा भएन । अब यतिकैमा सबै तृप्त भइयो ? पाप पखालियो ? अब सन्सारकै महान् बनियो त ? यस्ता धार्मिक कार्यलाई वाचकले कमाउने पेशाको रूपमा लिएर श्रीमद्भागवतको दुरुपयोग गरिनु उचित होइन ।
माछामासु खाने गुरु, तामसी भोजन गर्ने र आफ्नै आमा बुवाको वार्षिक आशौच नबार्नेहरू अरूको ‘पितृमोक्ष गराइदिन्छु’ भन्दै यज्ञ आयोजन गरेर पैसा उठाउने प्रवृत्ति राम्रो होला त ? श्रीमद्भागवत नितान्त आध्यात्मिक ज्ञान र भगवत् भक्तिसँग सम्बन्धित विषय हो, यसको मर्यादामा रहेरै यज्ञको आयोजन गरिनु पर्छ । नत्र श्रीमद्भागवत प्रति न्याय हुँदैन भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी हुन्छ ।’
केशव गौतम लेख्छन्, ‘यसको लागि राष्ट्रिय कथा व्यास समिति बनेको छ । परीक्षा दिनुपर्छ । त्यो पास भइसके पछि व्यासासनमा बस्नुपर्नेछ । यो नगर्दा ऊ विद्वान त होला, तर विषय विज्ञ हुन्न । यो तपाईंहरूको देश हो, यो मैले सानो कक्षामा पढेको मेरो देश हैन रहेछ ।’
लेखक तथा अन्वेषक रामचन्द्र ढकाल लेख्छन्, ‘अब कुन दिन हाम्रा पान्डाले क्षेत्रीहरू हिन्दू होइनन् भन्न बेर छैन । किनभने कुनै पनि हालतमा क्षेत्रीको छोरी योगमाया सखी (बबिता बानियाँ जेरी) लाई श्रीमद्भागवत महापुराण भन्न नदिने रे ! तिम्रो बाउको मात्रै प्यावा र झिटी रहेछ भागवत भन पाण्डा हो भन भनेर एकजना मित्रले दुखेसो पोखेछन्, कुरा के हो हजुर ?’
प्रस्फुटन सुब्बा लेख्छन्, ‘जताजता पैसा उतैउतै स्वाहा ! नौटङ्की पनि कति आएको, डिभोर्स भएको झोकमा वाचिकातिर । डिभोर्सी भएकै कारणले कथावाचिका हुन नपाउने हो ? नपाउने हो भने राधिका दासीलाई यही समाजले स्वीकार गरिरहेकै छ त ।’
राधिका दासी को हुन् ?
राधिका डिभोर्सी साथै एक बच्चाकी आमा हुन् । उनको जन्म वि.सं. २०४५ सालमा मोरङको कानेपोखरी गाउँपालिकामा भएको थियो । उनका बुवा पण्डित हुन् ।
पढाइमा निकै अब्बल राधिकाको १८ वर्षकै उमेरमा मागी विवाह भयो । तर, बिहे गरेपछि श्रीमानबाट उनले यातना सहनुपर्यो । उनको बिहे मानसिक बिरामीसँग झुक्याएर गरिएको थियो ।
तर पनि राधिकाले परिवार सम्हाल्नतिर जोड दिइन् । तर, जीउज्यानकै खतरा थियो । पिट्ने/कुट्ने त सामान्य थियो । शरीरभर जलिरहेको चुरोटले डामिएको र चोटपटकको नीलडाम बसेको हुन्थ्यो । शरीरभरि नीला डाम बोकेर उनी कलेज पढ्न र स्कुल पढाउन जान्थिन् । दिनभरि विद्यार्थीलाई ‘हिंसा सहनु हुन्न’ भनेर पढाएर आउँथिन् । तर, घरमा श्रीमानको पिटाइको चोट खेप्दै चुपचाप रुनुपर्ने हुन्थ्यो ।
यस्तै यातनायात्रामा उनले छोरालाई जन्म दिइन् । तर हिंसाको अन्त्य भएन । श्रीमानले रातको ११ बजे जंगल लगेर तरबार देखाउँदै ‘काट्छु’सम्म भने । हदैसम्मको हिंसा सहेर अन्ततः उनले सात वर्षमा विवाह सम्बन्धलाई अन्त्य गरिन् । त्यसपछि उनी मोरङ आइन् । छोरालाई विराटनगरको एउटा स्कुलमा भर्ना गरिन् र आफू पनि त्यहीँ पढाउन थालिन् ।
त्यसको दुई–तीन महिनापछि उनी भारतको वृन्दावन लागिन् । वृन्दावनबाट आचार्यसम्म पढेर वि.सं. २०७१ सालमा नेपाल फर्किइन् ।
पहिलोपटक इटहरीमा पुराण लगाइन् । उनको वाचनलाई धेरैले मन पराए । पुराणबाट उठेको पैसाले ‘मायाघर’ स्थापना गरेकी छिन् । जहाँ मानसिक बिरामी, सडकमा बस्ने अशक्त र असहायहरूलाई सहारा दिइन्छ ।
दुईवटा विषयमा मास्टर्स गरेकी दासी ‘चन्दन घसेर पुराण भन्न हिँड्लिन्’ भनेर कसैले सोचेका थिएनन्, न त उनी आफैँले सोचेकी थिइन् ।
रत्नाकार डाँकु वाल्मिकी बन्न मिल्ने, गायिका बाचक बन्न किन नमिल्ने : पण्डित दिनबन्धु
वाचन पण्डित दिनबन्धु पोखरेलले ‘रत्नाकार डाँकु वाल्मिकि बन्न मिल्ने, तर गायिकाले पुराण भन्न नमिल्ने ?’ भनी प्रश्न गरेका छन् ।
‘रत्नाकार डाँकु वाल्मिकि बनेर निस्किए, जेरी पुराणवाचिका बन्न नसक्ने हुँदैन । आध्यात्मिक क्षेत्रमा लाग्छु भनेकालाई हामीले स्वागत गर्ने हो । धर्म र वेदले हिजो मासु खाएर हिँडेको, आज उसले पुराण भन्न मिल्दैन भनेर कहीँ भनेको छैन’, पोखरेलले भनेका छन् ।
‘हिजो जस्तो अवस्थामा भए पनि मानिसले आफूलाई सच्याउन पाउँदैन र ? परिवर्तन हुन सकिन्छ । अध्यात्मिक अभियान हिँड्छु भन्नेलाई कसैले बन्देज लगाउन पाउँदैन‘, उनले थपे, ‘एक विधामा प्रसिद्धि कमाएको व्यक्तिले आध्यात्मिक क्षेत्रबाट प्रगति गर्छु । आत्मोन्नति गर्छु । समाजको कल्याणमा लाग्छु भन्नु सकारात्मक कार्य हो ।’
साथै उनले अबको समयमा पुरातन र रुढीवादी कुरा गरेर धर्मलाई संकुचित बनाउने काम बन्द हुनुपर्ने बताए । उनी क्षेत्री परिवारबाट आएर भागवत वाचन गर्नु गौरवको विषय हो । उनीबाट प्रभावित भएर दलित, जनजाति, मधेसी लगायतका जातजातिबाट बाचकीहरू आउनुपर्छ । सनातन धर्म भनेको हरेक जातको हो । सबैको सहभागितामै सनातन तथा वैदिक धर्म मौलाउँछ’, पोखरेलले भने ।
स्वयम आफैँले प्रेरणा दिएको भन्दै उनले बबितालाई यस क्षेत्रमा अगाडी बढ्ने शुभकामना दिएका छन् । वृन्दावन जानुभन्दा अगाडि बबिताले घरमा आएर आर्शिवाद लिएर गएको उनले बताए ।
पुराण वाचन प्रदर्शन होइन, दर्शन हो : आचार्य सोमनाथ
आचार्य सोमनाथ कोइरालाका अनुसार व्यासमा बसेर पुराण वाचन गर्नु प्रदर्शनको विषय नभएर दर्शनको विषय हो ।
उनले भने, ‘कुनै पनि पदको मूल्यमान्यता र मर्यादा हुन्छ । कुनै पदमा बस्न योग्यता प्राप्त गर्नु भनेको अधिकारी प्राप्त गर्नु हो । आधिकारिक व्यक्ति नै प्रामाणिक व्यक्ति हो । भक्तजनका जिज्ञासा निरुपण गर्न योग्य हुनुपर्छ । कुशल, शास्त्रज्ञ, नियम अनुसार आचरण पालन गरेको, शुद्ध भोजन, सत्वगुणी र सनातन परम्परामा दीक्षित हुनुपर्छ ।’
‘व्यासमा बस्नु भनेको सामान्य होइन । व्यासमा बस्ने भगवान् विष्णुको स्वरुप हो । देवतासरह पूजा गरिन्छ । त्यस पूजाको लायक हुनुहुन्छ । भक्तजनले मभित्र रहेको अज्ञान नष्ट भएर जाओस् भनेर आशीर्वाद माग्छन्’, आचार्य थप्छन्,‘ व्यासमा बसेर पुराण भन्ने व्यक्ति अत्यन्त शास्त्रीय मर्यादित पद हो । जसमा गुरु परम्परा अनुसार व्यासपीठको पुजन गरेर व्यासत्वद्वारा विभूषित हुनको लागि त्यहाँको मानक पूरा गरेको हुनुपर्छ ।’
भागवत वाचन गर्नेले १८ हजार श्लोक ३३५ अध्याय १२ वटा छन्दहरु संस्कृतमा वाचन गर्न सक्ने हुनुपर्ने आचार्यको भनाइ छ । ‘कथा रटेका भरमा हुँदैन । लोकसेवा आयोगको परीक्षाको मर्यादा छ, सनातन धर्मको पनि नियम मर्यादा छ । निर्णय सिन्धु, वेद र मनुशास्त्र छ । सनातनको वेद नै कानुन हो’ उनले भने, ‘यदि हौसिएर मात्रै आउनुभएको हो भने गलत हो । बोल्न सक्छु, दुईचार भजन गाउन सक्छु भन्दैमा व्यासमा जोकोहीले आसन गर्नु गलत अभ्यास हुनेछ । यो रहर विषय होइन ।’
पुराण भन्नलाई दीक्षित भएर आउन आचार्यको सुझाव छ । ‘आचार्य भएर आउनुस् । गुरुले दीक्षा दिएपछि आउनुहोस् । कलेज तथा विश्वविद्यालयले दीक्षान्त दिएर पठाउँछ । धर्मको कुरा हल्का हुँदैन । व्यक्तिगत रूपमा चिनजान छैन । कलाकारको रूपमा पनि पहिले चिनेको थिइनँ। अहिले उहाँको चर्चा चलेपछि नाम सुनेको हो । उहाँले पुराण भन्न हुँदैन भन्नेमा छैन । तर व्यासमा बस्न शास्त्रीय हिसाबले योग्य भएर आउनुभएको छ वा छैन ? कुरा यही हो । व्यासको गरिमा बुझेर आउनुभएको छ वा हौसिएर मात्रै आउनुभएको हो ?’ उनले प्रश्न गरे ।
आचार्यले राष्ट्रिय कथाव्यास समाज, नेपाल सन्त समाज, नेपाल पञ्चायक निर्णायक समिति, विश्व हिन्दु महासंघ लगायत सरोकारवालाहरूलाई यस विषयमा ध्यानाकर्षण गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया