काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचनासँगै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ‘ट्रोल’ भइरहेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सरकारले दर्ता गरेको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को आलोचनासँगसँगै महामन्त्रीद्वय थापा र शर्मालाई ‘ट्रोल’ गरिरहेका हुन् ।
विगतमा तात्कालीन केपी ओली नेतृत्वको सरकारले अहिलेकै प्रकृतिको विधेयक ब्यूँताउन खोजेपछि थापा र शर्माले विरोध गर्दै दिएका प्रतिक्रियाहरू समाजिक सञ्जालमा राखेर उनीहरूको धारणा मागिरहेका छन् ।
तात्कालीन समयमा महामन्त्री शर्मा कांग्रेस प्रवक्ता थिए भने थापा केन्द्रीय सदस्य । पार्टी प्रवक्ताको हैसियतमा शर्माले ०७७ फागुन ३ मा विज्ञप्ति जारी गर्दै सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्ता कुण्ठित गर्न खोजेको भन्दै युवा पुस्तालाई सजग बन्न अपील गरेका थिए ।
‘सामाजिक सञ्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवादतर्फको एक अर्को फड्कोको तयारी हो । यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस सञ्जाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वानसमेत गर्दछ,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको थियो ।

यस्तै थापाले ०७६ पुस १४ मा भिडियो सन्देश जारी गर्दै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधि विधेयक’लाई पारित गर्दा चुकेको भन्दै आपत्ति जनाएका थिए । उनले उक्त विधेयक जस्ताको तस्तै पारित भए जनताको अधिकार अपहरणमा पर्ने जिकिर गरेका थिए ।
‘विधेयकमा जे–जस्ता प्रावधानहरू रहेका छन्, यसलाई परिमार्जन र संशोधन गर्दा सच्याउनुपर्ने अवसरबाट जसरी समिति चुकेको छ,’ थापाको भिडियो सन्देशमा भनिएको थियो, ‘यो विधेयक यही स्वरुपमा संसद्बाट पारित भयो भने यसले तपाईं–हामीले प्राप्त गरेको हाम्रो संवैधानिक अधिकार, हाम्रो आधारभूत अधिकारलाई अपहरित गर्छ ।’
सूचना प्रविधि विधेयकका सन्दर्भमा धारणा राख्न टुइटर लाइभ मार्फत उपस्थित भएको छु। https://t.co/ccWtnJE0fK
— Gagan Thapa (@thapagk) December 30, 2019
यसअघि गत पुस २६ गते राति सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न ५ वटा अध्यादेश सिफारिस गरेकै भोलिपल्टबाट कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको सामाजिक सञ्जालमा व्यापक खोजी भएको थियो । सरकारले ‘विवादास्पद’ कार्यहरू गर्दा बेलाबखत थापा र शर्मालाई सामाजिक सञ्जालमार्फत् प्रायः मानिसले खोजी गरिरहेका हुन्छन् । किन हुन्छ त उनीहरूको खोजी ?
समाजशास्त्री निर्मला ढकाल प्रतिपक्षमा रहँदा गलत भनिएको विषयलाई नेताहरूले सत्तामा हुँदा सही भनेपछि जनताले प्रश्न गर्नु स्वाभाविक भएको बताउँछिन् । ‘विपक्षमा हुँदा त्यही कुराले वाहवाही पाइयो । सत्तामा रहेकालाई कमजोर देखाउन जुन कुरा वाहवाह गरेर बोलियो, त्यही कुरा आफू सत्तामा हुँदा त्यही कार्यहरू गरिराख्दा जनताले खोजी गरिहाल्छन्,’ ढकालको भनाइ छ, ‘हिजो यस्तो बोल्ने, आज यस्तो गर्ने भनेर जनताले खोज्नु, प्रश्न गर्नु स्वाभाविक हो ।’
समाजशास्त्री ढकालका नजरमा सत्ता बाहिर रहँदा सत्तामा रहेकाहरूलाई कमजोर देखाउनका लागि अनेक अभिव्यक्ति दिने नेपाली राजनीतिकर्मीको बानीले आमनागरिकलाई सही र गलत छुट्टयाउन गाह्रो छ ।
‘आफू प्रतिपक्षमा हुँदा सत्ता पक्षलाई कसरी कमजोर देखाउँ भनेर बोल्ने हाम्रा नेताहरूको बानी छ,’ उनले खबरहबसँग भनिन्, ‘नेताहरूको बोली बारम्बार फेरिरहँदा जनतालाई सही र गलत छुट्याउनै गाह्रो हुन्छ ।’
अर्का समाजशास्त्री डा. दिपेश घिमिरे कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले विगतमा उठान गरेका विषयवस्तुका कारण बेलाबखत उनीहरूको खोजी भइरहने गरेको बताउँछन् । ‘उहाँहरूको विगतको काम र विगतमा उठाएका विषयवस्तुका कारणले पनि उहाँहरूको खोजी भएको हुनसक्छ,’ घिमिरे भन्छन् ।
राजनीतिक विश्लेषक शंकर तिवारी कांग्रेसका महामन्त्रीहरूबाट समाजले सकारात्मक र गुणात्मक योगदानको अपेक्षा गरेका कारण उनीहरूले विगतमा राखेका अडानबारे जनताले जिज्ञासा राख्नु स्वाभाविक भएको बताउँछन् ।
‘समाजले उहाँहरूसँग सकारात्मक कुराको र गुणात्मक योगदानको अपेक्षा गरेको छ । उहाँहरु जहिले पनि केही राम्रो गर्ने र राजनीतिलाई सकारात्मक र वैचारिक गति र दिशामा अगाडि लैजान सकिन्छ भन्ने सन्देश प्रसारित गरेको र त्यो कुरामा कहीँ पनि नअलमलिएर यहाँसम्म आइपुग्नुभएको हो,’ तिवारीले भने, ‘त्यही भएर उहाँहरुको विद्यार्थी राजनीतिदेखि पार्टी राजनीतिको अहिलेको स्थानसम्म आइपुग्दा लिएका अडानहरुको बारेमा जनताले पहिलो तपाईंहरु यस्तो भन्नुहुन्थ्यो, अहिले किन बोल्नुभएन भनेर जिज्ञासा राख्नु स्वाभाविक हो ।’
राजनीतिक विश्लेषक तिवारी सत्तामा रहँदा खराब कामका बचाउ गर्ने कुरालाई जनताले मन नपराउने र त्यसले महामन्त्री थापा र शर्माको दीर्घकालीन राजनीतिमा हित नगर्ने बताउँछन् ।
‘आजभन्दा ५–१० वर्ष अघि जे भन्दै हुनुहुन्थ्यो, त्यसमा उहाँहरूले राजकाजलाई नबुझेर परिमार्जन गर्ने कुरालाई स्वाभाविक रुपमा लिनुपर्छ । जस्तो कि केही कुरा अज्ञानमा बोलेको छ भने त्यसलाई परिमार्जन गर्नुप¥यो,’ तिवारीको भनाइ छ, ‘तर, आफू सत्तामा पुगेर कुनै खराब कामका बचाउ गर्ने कुरा जनताले मन पराउँदैनन् । त्यो कुरा उहाँहरूको दीर्घकालीन राजनीतिका लागि पनि हितकर हुँदैन ।’
समाजशास्त्री घिमिरे आमनागरिकले कांग्रेसका महामन्त्रीहरूको खोजी गर्नुलाई नकारात्मक रूपमा मात्रै हेर्न नहुने तर्क गर्छन् । ‘यसलाई नकारात्मक रुपमा मात्रै हेर्नुपर्दैन । सकारात्मक रुपमा हेर्ने हो भने अहिलेको विधेयकले भोलिको दिनमा हाम्रो बोल्ने–लेख्ने अधिकारलाई असर पार्छ, बोल्ने स्वतन्त्रतालाई खुम्च्याउँ छ,’ घिमिरेले भने, ‘त्यही स्वतन्त्रताका लागि लडेर आएका नेता पब्लिक मान्छे भएका कारण खोजी हुन पनि आवश्यक छ । यसकारणले पनि उहाँहरूको खोजी हुने गरेको छ ।’
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले महामन्त्रीद्वय थापा र शर्मासँग अपेक्षा राखेका कारण जनताले उनीहरूको खोजीनीति गर्ने गरेको प्रतिक्रिया दिए ।
‘जनताले खोज्ने दुईवटा कारण छन् । एउटा कारण सोसल मिडियामा कांग्रेसलाई जतिसुकै लखेटे पनि गगन र विश्वप्रकाशले गर्छन् भन्ने नै आश छ,’ लामिछानेले भने, ‘अर्को यिनीहरूले बोलेपछि जनताको माग सम्बन्धित निकायमा पुग्छ, आवाज सुनिन्छ र कांग्रेसको आधिकारिक धारणा हुन्छ भन्ने बुझाई छ । यो सकारात्मक नै हो ।’
राजनीतिक विश्लेषक तिवारीका नजरमा एकथरिले थापा र शर्माको आलोचनाका लागि आलोचना गरिरहेका र एकथरिले उनीहरू सुध्रिउन् भनेर आलोचना गरिरहेका बताए । सुध्रिउन् भनेर आलोचना गर्नेहरुको मतलाई महामन्त्रीद्वय थापा र शर्माले इन्कार गर्न नमिल्ने बताए ।
‘महामन्त्रीहरूको आलोचना गर्ने दुईथरि मानिसहरु छन् समाजमा । एकथरिले आलोचनाका लागि आलोचना गरिरहेका छन्, एकथरिले सुध्रिउन् भनेर आलोचना गरिरहेका छन्’ तिवारीले भने, ‘सुध्रिउन् भनेर आलोचना गर्नेहरुको मतलाई उहाँहरूले दरकिनार (इन्कार) गर्न मिल्दैन । त्यो कुरा स्मरण गर्न जरुरी छ ।’
समाजशास्त्री घिमिरे कांग्रेसका दुवै महामन्त्री नेपालको राजनीतिमा स्थापित मुद्दाभन्दा फरक मुद्दा लिएर उदाएका नेतामा पर्ने भन्दै उनीहरूको राजनीतिमा उपस्थितिको पुष्ठभूमि अरुभन्दा फरक रहेको बताउँछन् ।
प्रतिक्रिया