कार्यालय जलाउन आएपछि पेस्तोलसहित उत्रिन बाध्य भएका थिए ब्यूरोका प्रहरी  | Khabarhub Khabarhub

कार्यालय जलाउन आएपछि पेस्तोलसहित उत्रिन बाध्य भएका थिए ब्यूरोका प्रहरी 



काठमाडौं– राजावादीहरूको अराजक प्रदर्शनका क्रममा शुक्रबार तीनकुने क्षेत्र तनावग्रस्त हुँदा पेस्तोल बोकेर निस्किएका एक व्यक्तिको भिडियो भाइरल भइरहेको छ।

मनिषा कोइरालासहितका राजावादीहरूले उक्त भिडियोलाई नेकपा एमालेका कार्यकर्ता हतियारसहित निस्केको भन्दै भाइरल बनाइरहेका छन् । उक्त भिडियोमा देखिएका व्यक्तिलाई कसैले घुसपैठ गराएर राजावादीमाथि आक्रमण गर्न लगाएको आरोप राजावादीले लगाइरहेका छन्।

तर, उक्त भिडियोमा टीसर्ट लगाएर पेस्तोलसहित देखिएका ती व्यक्ति कुनै घुसपैठिया थिएनन् । उनी त काठमाडौंको तीनकुनेनजिकै भाडाको घरमा रहेको लागू औषध नियन्त्रण ब्यूरोका प्रहरी थिए । 

कोटेश्वर महादेवस्थानतर्फ निस्किने उकालोको भित्री सडकमा रहेको उक्त कार्यालयको एउटा गाडी बी एसी ३५१६ अराजक बनिसकेका आन्दोलनकारीको निशानामा परिसकेको थियो । उनीहरूले ब्यूरोको सडकमा रहेको उक्त गाडीमा आगो झोसेर जलाइसकेका थिए ।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले खबरहबलाई बताएअनुसार गाडीमा आगो लगाइएको स्थानबाट कार्यालय करिब सय मिटरको दूरीमा थियो ।

गाडीमा आगो झोसिसकेपछि आन्दोलनकारी भित्री सडकको मोडबाट ढुंगा हान्दै अघि बढे । काँधमा राष्ट्रिय झन्डा भिरेका उनीहरू अगाडि जेजे भेटिन्छ तोडफोड गरिरहेका थिए । 

ब्यूरोको कार्यालयलाई लक्षित गर्दै अघि बढेका आन्दोलनकारीलाई सादा पोशाकमा खटिएका प्रहरीले करिब ५० मिटरको दूरीमा रोके । सडकमा उपद्रो मच्चाउँदै अघि बढेका उनीहरूलाई सादा पोशाकका प्रहरीले रोकेपछि एमालेको घुसपैठ भयो भन्दै नाराबाजी गरे। 

ब्यूरोको कार्यालयमा तोडफोड र आगजनी गर्ने उद्देश्यसहित अघि बढेको अराजक समूहको भिड नरोकिएपछि सादा पोशाकका प्रहरीले हतियार निकाल्न बाध्य हुनुपर्‍यो।

‘कार्यालय तोडफोड गर्न ढुंगामुढा थालेपछी रोक्न खोज्दा रोकिएनन्। त्यो अवस्थामा उनीहरूलाई रोक्न सादा पोशाकका प्रहरीले तर्साउन पनि पेस्तोल निकालेर लोड गर्न बाध्य हुनुपरेको थियो, एक प्रहरी अधिकारीले भने ।

सादा पोशाकका ती प्रहरीले पेस्तोल निकालेर कक गरेपछि त्यो अराजक समूह एमालेको घुसपैठ भयो भन्दै ढुंगामुढा हान्दै भागेको थियो ।

प्रवक्ता अधिकारीका अनुसार व्यूरोको प्रहरी टोली सँधै सादा पोशाकमै हुन्छ । लागूऔषध ओसारपसारविरूद्ध गोप्य अपरेसन र कारबाही चलाउनुपर्ने भएकाले कार्यालय र बाहिर पनि ब्यूरोको टोली सादा पोशाकमै तैनाथ हुन्छ।

‘हाम्रो टोली सादा पोशाकमै लागूऔषध नियन्त्रणका लागि परिचालित हुन्छु, अधिकारीले भने, ‘शुक्रबार पनि कार्यालय नै जलाउने योजनासहित अघि बढेको अराजक समूहलाई ब्यूरोको सादा पोशाकको टोलीले रोकेको हो। पेस्तोलसहित देखिएका व्यक्ति हाम्रै प्रहरी हुन्। कार्यालय जोगाउने क्रममा हतियार देखाउनु परेको हो ।’

राजावादीको अराजक समूहले तीनकुनेमा एउटा घरमा आगजनी गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । प्रहरीले गोलीसमेत चलाउन थालेपछी यो समूह सञ्चारगृहमा आक्रमण गर्दै अघि बढेको थियो । ब्यूरोको कार्यालय हुँदै अघि बढेको समूह माओवादी कार्यालयमा आगो लगाउन पेरिसडाँडा उक्लियो । तर सुरक्षाकर्मी र माओवादी कार्यकर्ताले क्षति हुनबाट जोगाए । 

त्यहाँबाट अघि बढेको समूहले बालकुमारी करिडोर सडकमा सातवटा गाडी जलाए । त्यसपछि जडीबुटी उत्पादन कम्पनीमा आगो लगाइदिए । यो अराजकता सडकमा सेना निस्केपछि मात्रै रोकियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  २ : ०६ बजे

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको

आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु

कास्की – सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा

अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं – अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ

राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र