मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो | Khabarhub Khabarhub

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो बढेको छ । चैतदसैँ कृष्ण औँसीको तिथिका दिन आज मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनी क्षेत्रमा श्रद्धालु भक्तजनको घुइँचो बढेको हो ।

मुस्ताङको पवित्र धार्मिक सङ्गमस्थल कागबेनीमा जीवनको एकपटक दिवङ्गत पितृको नाममा पूजाअर्चना, श्राद्ध, पीण्डदान र तर्पणसहित त्रिवेणी नदीमा स्नान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । यही कारण बर्सेनि वडादसैँ औँसी र चैतेदसैँ औँसी तिथिमा कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको घुइँचो लाग्ने गर्दछ ।

यसवर्षको चैतेदसैँ अघिको कृष्ण औँसी तिथि आज जरेकाले मुस्ताङमा हजारौँ श्रद्धालु भक्तजनले आफ्ना दिवङ्गत पितृ सम्झदै पूजाअर्चना गरी श्राद्ध गर्न कालिगण्डकी दोभानमा स्नान गरेर पितृको नाममा पीण्डदान र तर्पण दिएका छन् । जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसीलाई लक्षित गरी पछिल्लो २४ घण्टामा १२ हजार ४१२ जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएका जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले पछिल्लो २४ घण्टामा तीर्थालु सवार एक हजार ५८० सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएका जानकारी दिए । आज बिहानैदेखि सुरु भएको कागबेनी क्षेत्रमा तीर्थालुहरूको श्राद्ध गर्ने कार्यक्रम सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले उल्लेख गरे ।

यसअघि मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालु सवार सवारीसाधनको घुइँचोले मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न समस्या परेको थियो । जिल्ला प्रहरीको निर्देशनमा जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला ट्राफिक कार्यालयको टोलीले ट्राफिक व्यवस्थापन सहज गराएको थियो ।

प्रहरी नायब उपरीक्षक बोगटीले यहाँ आएका दर्शनार्थीहरूले सकुशलपूर्वक दिवङ्गत पितृको नाममा श्राद्ध गरी मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किदै गरेका जानकारी दिए । “जिल्ला शुक्रबार दिउँसैदेखि तीर्थालुले भरिएको थियो, श्राद्ध गर्न आउने कसैलाई पनि लेक लाग्ने समस्या भएन”, उनले भने, “सुरक्षा निकाय सर्तक थियो भने सहायता कक्ष स्थापना गरिएको थियो । यहाँ अहिलेसम्म कसैलाई पनि स्थास्थ्य समस्या देखिएको छैन ।”

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित दामोदकुण्ड धार्मिकस्थलबाट बग्ने कालिगण्डकी नदी र प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथधामको १०८ धाराबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पीण्डदान र तर्पण दिएर पूजाअर्चना गर्दा पितृ सधैँ खुसी भएर सन्तानको भलो हुने हिन्दू धार्मिक शास्त्रमा उल्लेख छ ।

यसस्थानको कागबेनी सङ्गमस्थलमा जलका लागि देवीदेवता लालायित हुने धार्मिक किंबदन्ती छ । कागबेनीस्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा कालो शालिग्राम र मुक्तिक्षेत्रबाट बग्ने गण्डकी नदीमा रातो शालिग्राम पाइन्छ । यसस्थानमा भगवान् विष्णुको अवतार शालिग्राम विराजमान रहेको धार्मिक जनविश्वास रहिआएको छ ।

साथै कागबेनीधाममा कुर्म अर्थात् कछुवा अवतारको शालिग्राम मन्दिरको दर्शन गर्न पाइन्छ । यसस्थान हिन्दू तथा बौद्ध धर्मालम्बीहरू धार्मिक साझास्थलका रूपमा लिने गरिएको छ । यहाँ कागछोदे गुम्बा, बाह्रौँ शताब्दीमा निर्माण गरिएको कागबेनी दरबारका साथै कागबेनी गाउँको पुरानो ऐतिहासिक बस्ती अवलोकन गर्न सकिन्छ ।

चैतेदसैँ औँसी तिथिमा मुस्ताङको कागबेनीधाम आएर दिवङ्गत पितृको नाममा श्राद्ध र पूजापाठ गर्न पाउँदा गौरान्वित महसुस भएको चितवनका सोम जिसीले उल्लेख गरे । उनले प्रकृतिको सुन्दर स्थान मुस्ताङमा आएर पितृ सम्झदै श्राद्ध, पीण्डदान र तर्पण दिएर कालिगण्डकी नदीमा स्नान गर्दा पितृ खुसी भई पुण्य प्राप्ति हुने बताए ।

हेटौँडाका ईश्वरीप्रसाद पोखरेलले कागबेनीमा पितृको पूजाअर्चना गरेर मुक्तिनाथको दर्शन गर्ने उद्देश्यले पहिलोपटक यहाँ आइपुगेको बताए । उनले यहाँको स्थिति र घुम्ने धोको पूरा गर्न परिवारसहित मुस्ताङ आइपुगेको उल्लेख गरे।

यहाँस्थित कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले मुस्ताङको आर्थिक विकासमा कागबेनीधामको योगदान महत्त्वपूर्ण रहेको बताए । उनले कागबेनीमा एकरात बाँस बसेर दिवङ्गत पितृ सम्झदै श्राद्ध गरेमा धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको जानकारी दिए।

अध्यक्ष गुरुङले डेढ वर्षअघि कागखोला बाढीले कागबेनी मन्दिर, श्राद्ध स्थल र यहाँको भौतिक संरचनामा क्षति पु¥याएकाले यहाँ आएर श्राद्ध गर्ने धार्मिक तीर्थालु व्यवस्थापनमा चुनौती थपिएको बताए । धार्मिक महत्त्वको यस स्थानलाई तीनै तहका सरकारले श्राद्धस्थलको पूर्वाधार निर्माणमा यथाशीघ्र पहल गर्नुपर्नेमा उनले जोड दिए ।

“यहाँ दीर्घकालीन रूपमा स्थायी भौतिक संरचना आवश्यक छ, आरसिसी तटबन्ध निर्माणका लागि ठूलो बजेटको आवश्यकता पर्दछ । हामीले भक्तजनबाट सङ्कलित दान र स्थानीयस्तरको सहयोगमा पूर्वाधार निर्माण गरी अस्थायी व्यवस्थापन गरिरहेका छौँ”, अध्यक्ष गुरुङले भने । उनका अनुसार कागबेनीधाममा श्राद्ध गरेका तीर्थालुहरू यहाँ श्राद्ध गरी मुक्तिनाथ उकालो उक्लिएर मुक्तिनाथ दर्शन गरेका छन् ।

मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले आज बिहानैदेखि श्रद्धालु भक्तजनको बाक्लो उपस्थित रहेको जानकारी दिए । उनका अनुसार आजसम्ममा करिब १२ हजार बढीले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । मुक्तिनाथमा दर्शनार्थीहरूको व्यवस्थापनका लागि मुक्तिनाथ विकास समिति, सुरक्षा निकाय र कार्यरत कर्मचारीले लाइनबद्ध गरी दर्शनमा सहजीकरण गरेका उनले बताए। चैतेदसैँ कृष्ण औँसी तिथिमा कागबेनीमा श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्न आउने तीर्थालुको उपस्थितिले मुस्ताङका होटल भरिभराउ भएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : ५९ बजे

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी – अन्नपूर्ण हिमाल आरोहणका लागि आरोही आधार शिविरमा पुग्न

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

सरकारले एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं – नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)लाई एक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय