गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजी बनाउन मुस्किल | Khabarhub Khabarhub

गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजी बनाउन मुस्किल


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउने गरी सरकारले विधेयक अगाडि बढाएको छ । प्रदेश सभामा दर्ता भएर सैद्धान्तिक छलफलपछि अहिले विधेयक सामाजिक विकास तथा कृषि समितिमा छ । 

संविधानको धारा ७ को उपधारा २ अनुसार प्रदेशले बहुसङ्ख्यक जनताले बोल्ने अन्य राष्ट्रभाषालाई प्रदेशको कानुन बमोजिम सरकारी कामकाजको भाषा बनाउन सक्छ । गण्डकीमा मगर १८.७९ प्रतिशत  र गुरुङ ११.३१ प्रतिशत जनसङ्ख्या रहेका कारण भाषा आयोगको सिफारिस अनुसार यी २ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने गरी कानुन बन्न लागेको हो । 

नामकरणअघि तमुवान, मगरातको प्रदेशको माग गर्दै आएको आदिवासी जनजाति समूह यस्तो कानुन आउन लागेपछि उत्साहित देखिएको छ । तर जसरी सरकारले विधेयक अगाडि सारेको छ, ऐन बनिसकेपछि कार्यान्वयनमा भने उस्तै आशंका उब्जेको छ । विधेयकबारे छलफल गर्न सामाजिक विकास तथा कृषि समितिले सोमबार विज्ञको उपस्थितिमा सरोकारवालालाई डाक्यो । 

त्यसमा सहभागी मगर र गुरुङ समुदायका विभिन्न संस्थाका प्रतिनिधिले यो ऐन कार्यान्वयन र त्यसपछिको अनुगमनका लागि कुनै संरचना नै परिकल्पना नगरिएकोमा दुखमनाउ गरे । केन्द्रमा भाषा आयोग जस्तै प्रदेशमा पनि त्यस्तै आयोग वा प्रतिष्ठान बनाउन सकेमात्र ऐन लागू हुन सक्ने उनीहरूको भनाइ छ । समाजशास्त्रका अध्येता विज्ञ डा. विष्णु सिञ्जालीले विधेयकमा ‘मन्त्रालयले सरकारी कामकाजको भाषा प्रयोग सम्बन्धमा सम्बन्धित भाषाका विज्ञहरू रहेको समूह बनाउन सकिने’ भनिए पनि स्थायी प्रकृतिको संरचनाको परिकल्पना नगरिएको बताए । 

उनले भने, ‘मन्त्रालयलाई कामको धेरै बोझ हुन्छ, बन्न लागेको कानुन कार्यान्वयन गर्ने निकाय कुन हो प्रष्ट भएन, यसले आशंका प्रदा गरेको छ ।’ 

डा. टेकबहादुर गुरुङले भाषा भन्ने कुरा नै परिवर्तनशील भएकाले अहिले सुरुमा कुन भाषाको प्रयोग कसरी गर्ने भन्ने द्विविधा भए पनि कालान्तरमा यसले एउटा रुप लिने बताए । मगर समुदायमा ३ थरी भाषा प्रचलनमा रहे पनि गण्डकीमा मगर ढुट धेरै चल्तीमा रहेको भन्दै उनले प्रयोगसँग यसको स्तरीकरण पनि हुने सुनाए । 

उनले भने, ‘विस्तारैको अभ्यासले ५-१० वर्षमा हामी एउटा ठाउँमा पुग्छौं ।’ 

उनले भाषा विशेषका आधारमा स्वायत्त र संरक्षित क्षेत्र घोषणा गर्न सकिने तर्क गरे । गण्डकीमा प्रचलनमा रहेका अरु सबै भाषाभाषीलाई ऐनकै अनुसूचीमा समेट्न उनको सुझाव छ । भाषाविज्ञ रमेशबाबु थापामागरले मानकीकरणले अरु भाषाभाषीलाई उठ्न नदिएका उदाहरण नेपाल र विश्वमा प्रशस्त रहेको भन्दै विधेयकमा भाषा स्तरीकरण शब्द राख्न सुझाव दिए । आदिवासी जनजाति अभियन्ता जगत बरामले विधेयक बनाउने बेलामा स्थानीय स्तरबाट दिइएका सुझाव नसमेटिएको गुनासो गरे ।

यो विधेयक गुरुङ र मगर भाषाको प्रवद्र्धन र विकासका लागि आएको जस्तो देखिए पनि यसको मर्म भने प्रदेशका सबै खाले भाषाभाषीको सम्बद्र्धन गर्नु रहेको उनको भनाइ छ । तर विधेयक र त्यसपछिका छलफल सुन्दा गुरुङ र मगरबाहेक अन्य जातजातिको आवाज सुनिएन कि भन्ने अनुभूति भएको दुखेसो उनले पोखे । 

बैठकमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा हाजिर गरेर निस्किहाले । त्यसको केही बेरमा मन्त्रालयका सचिव नवराज ढकाल आए । उनी सहभागी सबैका कुरा नसुनी विधेयक ल्याउनुको उद्देश्य र विधेयकमा भएका प्रावधानका बारेमा उठेका सवालको जवाफ दिएर हिँडिहाले । उनले प्रदेशको आम्दानी नभएकाले अहिल्यै कुनै खालको संरचना बनाउने सोचमा सरकार नभएको प्रष्ट्याए । 

तर, सहभागीहरुले पैसा छैन भनेर सरकारले कानुन कार्यान्वयन गर्दिन भन्न नमिल्ने तर्क गरेका थिए । बैठकमा तमुधि नेपाल अध्यक्ष हुमबहादुर गुरुङले विधेयकको मस्यौदामाथिको छलफलका क्रममा मगर र गुरुङ समुदायभित्रको विवादमा खेल्न खोजिएको भन्दै आपत्ति जनाए । बढीभन्दा बढीको आवाज सुनेर प्रभावकारी कानुन बनाउनका उनले समितिलाई सुझाव दिए । 

ङ्वोए तमुधि लेखनाथ अध्यक्ष रामप्रसाद गुरुङले उच्च शिक्षासम्म पनि मातृभाषामै अध्ययन गर्न पाउने व्यवस्था गरिनुपर्ने विचार राखे । उक्त अवसरमा मगर संघ गण्डकी अध्यक्ष तारामाया मगर, रोधी सांस्कृतिक प्रतिष्ठान अध्यक्ष कृष्णकुमार गुरुङ लगायत विभिन्न संस्थाका प्रतिनिधिले सुझाव दिएका छन् । तमुधिका तर्फबाट त लिखित सुझाव नै समितिलाई हस्तान्तरण गरिएको छ । 

विधेयकउपर नेपाली कांग्रेसकी सरस्वती गुरुङ, नेकपा एमालेका बेदबहादुर गुरुङ र माओवादी केन्द्रकी कुसुम बुढा पुनले संशोधन प्रस्ताव दर्ता गराएका छन् । जसमा अरु २१ सांसदले समर्थन जनाएका छन् । विधेयकमा नेपाली भाषाका अतिरिक्त अन्य भाषा प्रयोग गरेमा भेदभाव नगर्ने व्यवस्था गरिएको छ । तर भेदभाव भइहालेमा कारवाहीको व्यवस्था भने छैन । 

मन्त्रालयका सचिव ढकालले विधेयकमा सबै विषय समेट्न कठिन हुने भएकाले कार्यविधि र नियमावलीमार्फत आवश्यक विषय थप गर्न सकिने उल्लेख गरे । स्याङ्जा, तनहुँ, बागलुङ, लमजुङ र कास्की जिल्लामा छलफल गरेपछि मात्रै विधेयक सदनमा प्रस्तुत गरिएको सचिव ढकालले सुनाए । 

सामाजिक तथा कृषि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य महेन्द्रध्वज जिसीले व्यापक छलफल गरी सकेसम्म बढी विषय समेटेर कार्यान्वयन हुने खालको कानुन तयार गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १ : ०१ बजे

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान

काठमाडौं– नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीका लागि विभिन्न देश

उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

बेइजिङ– उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मंगलबार २२ जनाको

‘मिसेस् नेपाल अस्ट्रेलिया’ हुँदै 

अस्ट्रेलिया–  हिमाली कल्चर ग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको