गोजीमा औषधी बोकेर हिँडेका शिक्षक भन्छन्- मानसिक र शारीरिक पीडाले हैरान भयौँ | Khabarhub Khabarhub

गोजीमा औषधी बोकेर हिँडेका शिक्षक भन्छन्- मानसिक र शारीरिक पीडाले हैरान भयौँ


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

एक महिनादेखि देशभरका शिक्षक काठमाडौंको सडकमा छन् । आन्दोलनको समय जति लम्बिँदै गयो त्यति नै झन् उग्र बन्दै गएको छ । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा तथा लाठी चार्ज गर्दा ६३ जना शिक्षक घाइते भएका छन् । 

जसमध्ये १२ जनाको अवस्था गम्भीर रहेको नेपाल शिक्षक महासङ्घले जनाएको छ । दोहोरो झडपका क्रममा समाचार संकलनमा गएकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेर उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । 

आन्दोलनमा रहँदा खानपानको तालमेल नमिल्ने, होटलको खाना खानुपर्ने, दिनरात घामपानी नभनी सडकमा बस्नुपर्ने, भनेकै समयमा दिसापिसाब गर्न नपाइने अवस्थाले उनीहरू पीडित बन्दै गएका छन् । हामीले केही प्रतिनिधि शिक्षकलाई सोध्यौँ– तपाईँको स्वास्थ्य अवस्था कस्तो छ ? 

स्वास्थ्य समस्याले कति त घर फर्किए :

प्रेमबहादुर खड्का, काभ्रे 

लामो समयको बसाइले स्वास्थ्यमा धेरै समस्या भइरहेको छ त्यसमाथि म खुट्टाको अपाङ्ग पनि हो । देशको राजधानी भने पनि हाम्रा यातायातका साधन, होटल, बाटाहरू अपाङ्ग मैत्री छैनन् । हामी गाउँको परिवेशमा बसेकाहरूका लागि काठमाडौंको खानपान र खानेपानीमै समस्या छ । त्यसमाथि खर्चिलो दैनिकीले धान्नै नसक्ने अवस्थामा पुगिएको छ ।  

कति शिक्षकहरू उपचार नै गर्नुपर्ने अवस्थामा पुगेकाले घर पठायौँ । कति यतै उपचार गराएर आन्दोलनमै खटिएका छन् । जस्तोसुकै आपत् झेलेर भए पनि हामी हाम्रो उद्देश्यबाट एक इन्च तल झर्दैनौँ । 

७५ देखि ९० प्रतिशत शिक्षकमा स्वास्थ्य समस्या :

बैजुकुमार साह, धनुषा 

आन्दोलनको समय बढिरहँदा माइतीघरदेखि बानेश्वरको खुल्ला सडकमा रहँदा घामपानी, धुलोधुवाँसँग मुकाबिला गरिरहनु परेको छ ।  जसका कारण ७५ देखि ९० प्रतिशत शिक्षकहरूमा केही न केही स्वास्थ्य समस्या देखिएको छ । धेरैजसो शिक्षकहरूमा श्वासप्रश्वासमा कठिनाइ आएको छ । धुवाँधुलोले धेरैलाई रुघाखोकीले सताएको छ । 

स्वास्थ्यभन्दा यतिखेर हाम्रा लागि आन्दोलन प्रियकर बनेको छ । सडकमा उत्रिनु हाम्रो बाध्यता हो । सामान्य समस्या हुँदा सहेरै बस्ने हामी कठिन स्थितिमा मेडिकलबाट औषधी किनेर खाएर आफूलाई आन्दोलनमा क्रियाशील गराइरहेका छौँ । 

घर छोडेर आइसकेपछि न खानपान मिल्छ, न बसोबास नै । जे पाइन्छ, त्यही खानुपर्छ । ज्यान गलेर लखतरान हुन्छ । दिनभर सडकको बास, राती अनिदो बस्नुपर्दा स्वास्थ्य जटिल बन्ने रहेछ । थाहा छैन यसको असर कस्तो पर्दै जाने हो । हाम्रो स्वास्थ्य बालबालिकाको पठनपाठनसँग पनि जोडिएकाले छिटोभन्दा छिटो हाम्रो समस्या निदानतर्फ सरकारको ध्यान जाओस् भन्ने कामना छ । 

मानसिक दबाब र शारीरिक समस्याको मार

रिना यादव, धनुषा

साना साना बालबालिकाहरू घरमा छोडेर यति लामो समयदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छौँ । घरको कारण मानसिक तनाव त छँदै छ, त्यसैमाथि खानपान नमिल्दा विभिन्न रोग बढ्दै गएका छन् भने खुट्टा, ढाड दुख्ने जस्ता स्वास्थ्य समस्या झेल्नुपरेको छ । 

पहिलेदेखि थाइराडको बिरामी भएकाले अहिले काठमाडौंको बसाइँले झनै बढेको छ । खुट्टा तथा ढाड दुख्ने समस्या रहेकाले फिजियो थेरापी गर्दै आन्दोलनमा सहभागी भइरहेकी छु । अन्य साथीहरूका समस्या पनि त्यस्तै छन् । सरकारले हाम्रा समस्या सुन्दैन । अझ कति दुख पाइने हो थाहा छैन । हामीले नाजायज माग राखेका छैनौँ । माग चाँडै पूरा  गरिदिए हुन्थ्यो । 

आर्थिक र स्वास्थ्य समस्याले पिरल्यो :

मथुरा अधिकारी, काभ्रेपलाञ्चोक 

हामीले आन्दोलनको सुरुवात गर्दा काठमाडौंमा वायु प्रदूषण उच्च थियो । त्यति बेलाको वातावरणले धेरैलाई रुघाखोकीको समस्या भयो । पानी परेपछि अहिले केही राहत भए पनि आन्दोलन लम्बिँदै जाँदा यहाँको खानपान तथा बसाइँले आर्थिक सँगै स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । 

आन्दोलनमा सहभागी धेरै साथीहरू स्वास्थ्य प्रतिकूल बन्दा अस्पताल धाउन बाध्य बनेका छन् ।  त्यस्तै महिनावारीको समयमा ढाड तथा तल्लो पेट दुख्ने जस्ता समस्याले महिला शिक्षिकालाई गलाएको छ । तर पनि पेशागत दायित्व बोधका कारण यी सबै शारीरिक पीडा बिर्सिएर हाम्रो लागि सबै थोक आन्दोलन भएको छ ।  

त्यसैले सरकारले चाँडा भन्दा चाँडो शिक्षकहरूका माग सम्बोधन गरिदिए हाम्रो स्वास्थ्य सँगै विद्यार्थीहरूले पनि समयमै पढ्न पाउँथे । 

पुलिसको कुटाइले समस्या थप्यो :

देवकुमारी यादव, सिराहा 

पत्रकार सविना कार्कीलाई पानीको फोहोरा लाग्दा म सँगै थिएँ । त्यही समय प्रहरीले लाठीजार्च गर्दा म पनि घाइते भएर अस्पताल भर्ना हुन पुगेकी थिएँ । शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भयो । दिनरात घामपानी केही पनि नभनेर सडकमा आन्दोलन गरिरहँदा रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या झेल्न बाध्य भएका छौँ ।  

महिनावारी हुँदा त झन् प्याड फेर्नै समस्या हुन्छ । कतिपय शिक्षिकाहरु म्हिनावारीका समयमा आन्दोलनमा आउँदैनन् । 

झोलामै तातोपानी र औषधीको बन्दोबस्त :

हिरामणि घिमिरे, खोटाङ 

भौगोलिक हिसाबले खोटाङको माथिल्लो भेग अर्थात् पहाडी क्षेत्रको बासिन्दा भएकाले काठमाडौंको वातावरण तथा हावापानीमा घुलमिल हुन हामीलाई धेरै कठिन भयो । यहाँको वायु प्रदूषण तथा खानपान र रहनसहनले म आफैँलाई टाइफाइड भयो । अहिले पनि औषधी जारी छ । खोटाङ जिल्लाबाट ५ सयको हाराहरिमा आएका शिक्षकहरूमध्ये म लगायत ५०, ६० जना शिक्षक बिरामी नै पर्‍यौं । 

उपचारपछि झोलामै तातोपानी र औषधी बोकेर आन्दोलनमा होमिएका छौँ । जबसम्म हाम्रो माग पुरा हुँदैन, तबसम्म एक मुठी सास रहुन्जेल सडक संघर्ष जारी रहनेछ । 

महिनावारीको पीडा अवर्णनीय :

शारदा आचार्य काभ्रे 

दैनिक हिँडाइ डुलाइसँगै खानपान नमिल्ने र धुवाँ धुलो तथा प्रदूषणका कारण आँखा पोल्ने, रातो हुने, घाँटी खसखस गर्ने, समस्या भइरहेको छ भने केही दिनदेखि पखाला पनि लागिरहेको छ । 

साथै शौचालयको उपलब्धता राम्रो नहुँदा महिनावारीका समयमा प्याडहरू फेर्न एकदमै गाह्रो हुने भएकाले दिनभरि एउटै प्याडमा बस्नुपर्दा संक्रमण हुने गरेको छ । धेरै जनालाई महिनावारीका समयमा ढाड दुख्ने, तल्लो पेट दुख्ने समस्या हुन्छ त्यो बेलामा तातो पानी नपाउने, बस्ने व्यवस्था नभएकाले उभिरहनुपर्दा मानसिक रूपमा पनि एकदमै तनाव हुने लगायत समग्र रूपमा अस्वस्थता महसुस भइरहेको छ । 

सन्चो नहुँदा पालो गरेर आन्दोलनमा बस्छौँ :

यहाँको हावापानी, धुवाँधुलोका कारण विभिन्न स्वास्थ्य समस्या त झेल्नुपरेको छ नै । तर व्यक्तिगत भन्दा व्यावसायिक राष्ट्रिय समस्याले पीडा भुल्न बाध्य बनाएको छ ।

घाँटी दुख्ने, रुघाखोकी लाग्ने समस्या त सामान्य बन्दै गएको छ । न खान, न सुत्न, न हिँड्नको ठेगान छ । त्यसमाथि पुलिसको दुर्व्यवहारले उत्तिकै पीडित हुनुपरेको छ । सडकमा बेफिक्री बस्दा शरीरका सबै अंग प्रभावित भएका छन् । भोलि कार्यक्षेत्रमा फर्किएपछि  अहिलेको असर अरु पर्ने हो कि भन्ने डर लागेको छ ।  

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १ : ४० बजे

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा किन ‘जारी’को झल्को किन ?

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा