आज गणतन्त्र दिवस अर्थात् जनताले जितेको दिन। देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन र जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्दैछन्। २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए।
वि.सं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो।
सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो। तर आज १७ वर्ष पूरा हुँदासमेत जनताको बलिदानी, त्याग र संघर्षको प्रतिफल स्वरुप प्राप्त गरिएका उपलब्धि संकटमुक्त बन्न सकेका छैनन्। एक प्रकारले मुलुक र जनताले प्राप्त गरेका उपलब्धि लोकतन्त्र र वर्तमान संविधान अझै खतरामुक्त छैन्। देश भित्र र बाहिर बाट निरन्तर प्रहार भइरहेको छ। वर्तमान सरकार यी सबै प्रकारका अप्ठ्याराको सामना गर्दै मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, शिक्षा, स्वास्थ्य, रोजगारी र विकाश निर्माण लगायतका जनताको लागि अत्यावश्यक काम गर्नमा निरन्तर सक्रिय छ।
लोकतन्त्रको आधारभूत पक्ष भनेकै जनादेशको सम्मान गर्नु हो र यसका आधारस्तम्भ भनेका राजनीतिक दल, सरकार, न्यायालय र सबै संवैधानिक निकाय हुन्। यी सबैलाई संस्थागत गर्न नसक्दा लोकतन्त्र कमजोर हुन्छ।
नेपालका राजनीतिक दल र नेतृत्वले आआफ्ना कमजोरी सच्याएर आगामी दिनमा देशलाई गति दिन सक्यो भने राजनीतिक दलप्रति आम जनताको सदैव समर्थन रहने छ। राजनीतिक दलबिनाको लोकतन्त्र र लोकतन्त्रबिनाको राजनीतिक दलको कुनै कल्पना पनि गर्न सकिँदैन। हरेक कुराहरुको विकल्प दिनसक्ने व्यवस्था लोकतन्त्र हो। अब हरेक दलले दलगत स्वार्थ भन्दा माथि उठेर मुलुक बनाउने महाअभियानमा सहभागी हुनु नेपाली नागरिक र मुलुकका हितमा हुनेछ।
गणतन्त्र दिवस र केपी ओलीको नेतृत्व
नेकपा (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा झापाबाटै शुरु भएको हो। चर्चित झापा विद्रोहका एक मुख्य पात्र ओली उक्त विद्रोहकालीन एक मात्र जीवित नेता हुन्। लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका ओलीलाई धेरैले स्वाभिमानी र राष्ट्रवादी नेताको रुपमा चिन्ने गर्दछन्। उनै ओलीलाई अहिले ठुलो दलको समर्थनमा सकारको नतृत्व गर्ने अवसर प्राप्त भएको छ। संघर्षबाट उदाएका ओलीसँग धेरैले अपेक्षासमेत गरेका छन्।
तत्कालीन नेकपा (माले)का संस्थापक नेतामध्ये २०२२ सालमा ओली कम्युनिष्ट राजनीतिमा लागेका हुन्। २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर २०२८ सालको झापा आन्दोलनका प्रमुख पात्रमध्ये ओली एक हुन्। आन्दोलन लगत्तै उनी जेल परेका थिए। ओलीले पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा २०२८ देखि २०४२ सम्म १४ वर्ष जेल जीवनको सामना गरे।

वि.सं. २०७१ असार १९ देखि २५ गतेसम्म सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपालसँगको प्रतिस्पर्धा जितेर पार्टीको अध्यक्ष भए। २०७० माघ २१ मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी दलको नेता बने।
मुलुक सङ्घीयतामा गएपछिको पहिलो प्रधानमन्त्रीको रूपमा शपथ लिएका ओलीका अगाडि एकातिर भारत र चीनजस्ता नजिकका छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै नेपाली जनताको विकाश र समृद्धिको चाहना पूरा गर्दै अघि बढ्नुपर्ने चुनौती रहेको थियो भने अर्कोतर्फ जनताको संविधान जनतालाई दिने मुख्य काममा मधेशी दल र भारत लगायतको ठूलो असहयोगको सामना गर्दै संविधानसभाबाट पारित गर्ने ठूलो चुनौती थियो तर त्यो चुनौती पूरा गर्दै मुलुक र नेपाली जनतालाई संविधान दिन सफल भए। यसका लागि तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको पनि ठूलो भूमिका र योगदान रहेको छ।
केपी ओली प्रधानमन्त्री भए लगत्तै भारतले अघोषित नाकाबन्दी सुरु गरेको थियो। ओलीकै अडानका कारण भारतको नाकाबन्दी अघोषित रुपमै समाप्त भयो। त्यसपछि प्राकृतिक प्रकोपको रुपमा कोभिड महामारीको सामना गर्नुपरेको कुरा सर्वविदितै छ। संसार त्रसित देखिएको अवस्थामा अभिभावकको हैसियतले आम नागरिकको मनोबल उच्च राख्न प्राकृतिक औषधी प्रयोगसँगसँगै भ्याक्सिन र अन्य आवश्यक सामग्रीको पनि प्रबन्ध गर्न सफल भए । सरकारको पहल र नागरिकको चेतनाकै कारण दक्षिण एसियामा नेपाल अत्यन्त कम मानवीय क्षति भएको मुलुकका रुपमा परिचित भयो।

नेकपाको सरकार बनेपछि मुलुक विकाश निर्माण, सुशासन, शान्ति सुरक्षा लगायतका विषयमा अत्यन्त संवेदनशील भएर अगाडि बढिरहेको बेला आफ्नै पार्टी भित्र कठिन परिस्थितिको सामना गर्नु परेको थियो।
केपी ओली गरेका महत्त्वपूर्ण काम
नेपालको इतिहासमा २००७ सालयता कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेका र भविष्यमा समेत कसैले गर्न नसक्ने केही काम केपी ओलीले गरेका छन्। जसमध्ये केही कामको चर्चा गर्नु उपयुक्त हुन्छ।
चुच्चे नक्सा : नेपालको चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुराको भू-भागलाई नेपाली बनाए। ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भन्दै ओलीले जनसंख्याको हिसाबले कुनै मुलुक सानो र ठूलो नहुने बताए। सार्वभौसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने उद्घोष गरे। जब दुई देशका प्रधानमन्त्री बस्छन् ठूलो र सानो प्रधानमन्त्री हुँदैन भन्ने कुरा प्रष्ट पारे। देश भूगोल वा जनसंख्यामा फरक हुनसक्छन् तर स्वाभिमान र स्वाधीनता समान हुन्छ भनेर आँखामा आँखा मिलाएर कुरा गर्ने हैसियत ओलीले देखाए। भविष्यमा अब कुनै पनि अन्तर्राष्ट्रिय फोरमा नेपालको नक्सा सम्बन्धी छलफल वा बहस गर्दा यो नक्सा प्रमाणका रुपमा प्रस्तुत गर्ने अवसर हरेक नेपालीले प्राप्त गरेका छन्।

चीन सँगको पारवहन सन्धि : चीनसँगको पारवहन सन्धिले तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतसँगको निर्भरता र एकल अधिकार सधैंका लागि अन्त्य भएको छ। अब नाकाबन्दी भन्ने शब्द हाम्रा सन्ततिले कहिल्यै सुन्नुपर्ने छैन। नाकाबन्दीको सामना नेपालले कहिल्यै गर्नुपर्ने छैन।
बिआरआई सम्झौता : अन्य मुलुकसँग सम्झौता गर्नु पूर्व आफ्नै मुलुक भित्रका दलसँग छलफल गरेर निष्कर्षमा पुगेर सम्झौता गर्नेकाम सम्भवत यो नै पहिलो पटक भएको होला। बिआरआई सम्झौता नेपालका हितमा भएको अहिलेसम्मकै राम्रो सम्झौतामध्ये एक हो। चीनले विदेशमा जाने लगानी, सहयोग, अनुदान, ऋण, बजेटरी सहयोग सबै विषय बीआरआई मार्फत नै गर्ने गर्छ। त्यसैले बीआरआई सम्झौता नेपालको जीवनरेखा र समृद्धिको आधार हुनसक्छ।
केपी ओलीले देश र विदेश नीतिमा महत्त्वपूर्ण काम गरे पनि सरकारले आम जनताको मुख्य सवाल रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, चुस्त सरकारी सेवाका साथै समग्रमा जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्छ । यस्ता विषय रातारात परिवर्तन हुने विषय नभए पनि सुशासन, सहज सरकारी सेवा, पूर्वाधार विकाश, भूकम्प र बाढीले भत्काएका निजी र सार्वजनिक संरचनाको पुननिर्माण लगायतका आम मानिससँग जोडिएका अन्य आवश्यक समस्या पूरा गर्नु सरकारका लागि गाह्रो विषय होइन। सरकारका लागि सामान्य विषय भए पनि जनताको लागि धेरै महत्त्वपूर्ण सवाल हुन्।

प्रतिपक्षी दल सरकारको विरुद्वमा उभिनु अस्वभाविक होइन तर, सत्तारुढ दलभित्रका नेताले पनि सरकारको कामको आलोचना मात्रै गर्ने गर्दा जनतामा राम्रो सन्देश गएको छैन। यसले गर्दा जनताको पक्षमा काम गरिरहेको सरकार र सरकार प्रमुखको निरन्तर आलोचना र नकारात्मकता मात्र बढेको देखिन्छ । सत्ता सझेदार दललाई सहयोग नगर्ने कामकेही नगर्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने तर सधैं दन्त बजान गर्ने र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्नेहरुको जयजयकार र पूजा भइरहेको छ।
छिमेकी राष्ट्र र मिडियाले पनि सरकारका कमजोरीलाई मात्रै आफ्नो अनुकुलमा प्रचार गर्ने गरेको देखिन्छ। त्यसैले नागरिकका सानासाना तर महत्त्वपूर्ण सवाललाई सम्बोधन गर्न सके आम मानिसमा सकारात्मक सन्देश पनि जाने र अब हुने ०८४को आगामी निर्वाचनमा केही हदसम्म सफल हुने अवसर प्राप्त गर्न सकिन्छ। जसका लागि बहुमतको सरकारले जनताले अनुभूत गर्न सक्नेगरी काम गर्नुपर्नेछ। सरकारले जनताको काम गर्न सत्ता गठबन्धनका दलको सहकार्य पहिलो प्राथमिकता भएको छ। गणतन्त्र दिवसले देश बनाउन प्रमुख दललाई मिलेर जाने आत्मविश्वास दिन सकोस् यही छ शुभकामना।
प्रतिक्रिया