कोशी पीडितका असारे गीत – सम्झने पानी छम्कने… « Khabarhub

सन्दर्भ : राष्ट्रिय धान दिवस

कोशी पीडितका असारे गीत – सम्झने पानी छम्कने…


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –

रोप न रोप रोपारै रानी म पँज्याइदिउँला बिउ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घिउ
असार मास छिपछिपे हिलो लाग्यो है फालीमा
रोपारे रानी मायाको बिउ ओइलायो आलीमा

धान रोप्दा पूर्वतिर गाइने यो असारे गीत सप्तकोशी किनाराका बस्तीहरूमा गुञ्जन छाडेको ६० वर्षभन्दा बढी भइसक्यो ।

वि.सं. २०११, २०२२, ०३६ र ०४५ सालमा सप्तकोसी नदीमा आएको बाढीले ठूलो भूभाग जलमग्न बनायो । कोशीको कहरले असारे गीत बिर्सिएका स्थानीय प्रह्लाद थापा अब त आधुनिक गीत सम्झन्छन्, ‘सम्झने पानी छम्कने…’

उनको यो भनाइले देशको भू-उपयोग नीतिमाथि व्यङ्ग्य गर्छ भने आम कोशीपीडितको निराशालाई प्रतिनिधित्व गर्छ । कोशी बाढीपीडित असारमा खुसी देखिँदैनन् । कोशीले भूमिहीन बनाएको त्यो तीतो यादको स्मृति गर्न पुग्छन् उनीहरू ।

कोशीपीडित डुबान कटान सङ्घर्ष समितिका पूर्वसंयोजकसमेत रहेका थापा ०२२ सालदेखि कोशीले लगेको जमिनको लालपूर्जा हातमा बोकेर बसेका छन् । जायजेथा कोशीमुनि छ । कतै सरकारले कोशीपीडितका मुद्दा सम्बोधन गर्ने हो कि भन्ने आशाले अंशमा परेको तीन कट्ठा जग्गाको मालपोत तिरिरहेको बताउँछन् ।

कोशीपीडित सङ्घर्ष समितिको नेतृत्व गरिरहेका उनले पछिल्लो समय अस्वस्थताका कारण नेतृत्व हस्तान्तरण गरेका छन् । उनी प्रत्येक पटक बन्ने भूमि आयोगको ढोका ढक्ढक्याउन पुगेका छन् । तर पछिल्लो पटक बनेको आयोगले पनि पुरानै जवाफ फर्काएको छ – ‘यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन ।’

असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ समय । तर माटो नहुनेका लागि ‘मानो रोप्ने’ विषय कल्पना गर्न सकिँदैन ।

सप्तकोशी नदी किनारमा बसोबास गर्ने २० हजार बढी नागरिक कुनै समय नम्बरी माटोका मालिक थिए । उनीहरूको असार १५ अहिले माटो हुनेहरूका लागि जसरी उत्सवमय बन्छ, त्यसरी नै उत्सवमय बन्थ्यो ।

तर अहिलेहाल असार १५ कोशीपीडितका लागि असहज छ । कोशीपीडितका ओठमा असारे गीत घन्कँदैन ।

कोशीपीडितले कसरी मान्नु असार ? सुनसरीको बराहक्षेत्र नगरपालिकाको ८ हजार ६ सय बिघा खेतीयोग्य जमिनमा सप्तकोशी नदी बगिरहेको छ । सुनसरी क्षेत्र नं. १ र ४ मा पर्ने बराहक्षेत्रका २० हजार मतदाता कोशी बाढीपीडित छन् ।

बराहक्षेत्र नगरपालिका–२ का आनन्दप्रसाद गौतम (८४) को खेतबारी २०३६ सालमा कोशीमा आएको बाढीले बगायो । कोशीमा आफ्नो जग्गा अन्दाजले देखाउन सक्ने उनले कोशी बगिरहेको जग्गाको तिरो तिरेको कागज भने सुरक्षित राख्दै आएका छन् ।

०३६ सालदेखि कोशीमा धेरै पानी बगिसक्यो । राजनीतिक अवस्था उलटपुलट भयो । राजा, राष्ट्रपति, मन्त्री फेरिइरहे, तर कोशीपीडितको अवस्था फेरिएन । उनीहरूले न सट्टा भर्ना पाए, न त मुआब्जा नै ।

२०२२ देखि कोशीमा ठूलो बाढी आउन सुरु गरेको स्थानीय बताउँछन् । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा देशका प्रधानमन्त्री थिए ।

२०३६ सालमा अर्को ठूलो बाढी आयो त्यतिबेलामा पनि देशमा सूर्यबहादुर थापा नै प्रधानमन्त्री थिए । स्थानीय आनन्दप्रसाद गौतमका अनुसार ०३६ सालमा आएको बाढीले ठूलो भू-भाग बालुवामा परिणत गरेपछि कोशी बारम्बार आइरह्यो ।

तत्कालीन प्रधानपञ्च अम्बरबहादुर विष्टले प्रधानमन्त्री सूर्यबहादुर थापालाई हारगुहार गरेपछि अस्थायी रुपमा बसोबास गर्नका लागि उपलब्ध गराएको जब्दी र पुनर्बास क्षेत्रमा अहिलेसम्म कोशीपीडित नागरिक बसिरहेका छन् ।

स्थानीय सरकार आएको पछिल्लो आठ वर्षमा दुई पटक भूमि आयोग गठन भयो । यो आयोगले कोशीपीडितलाई समेट्न सकेन । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बोधन गर्न भूमि आयोग बने पनि कोशीपीडितका नम्बरी जग्गामा नदी बगिरहेको छ । कुनै आयोगले पनि सप्तकोशी नदीका पीडितहरूलाई सम्बोधन गर्न नसकेको स्थानीय दीपक गौतम बताउँछन् ।

राजा महेन्द्रको आदेशमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले विस्थापितलाई २–२ कट्ठाका दरले अस्थायी जग्गा उपभोग गर्न आदेश दिएका थिए । ४६ वर्षसम्म पनि कोशीमुनिको जायजेथा हेर्दै, तिरो तिर्दै, अस्थायी जग्गा उपभोग गर्न बाध्य स्थानीय बाध्य भएको गौतमको भनाइ छ ।

गौतमका अनुसार कोशी किनारका वासिन्दालाई कुनै उद्यम गर्न र जग्गाको कारोबार गरेर पुँजी निर्माण गर्ने सुविधा छैन । ‘एक त ऐलानी जग्गा अर्कोतर्फ नम्बरी नै भए पनि कोशी किनारको जग्गा बैङ्क तथा वित्तीय संस्थाले मूल्याङ्कन गर्दैन’, उनी भन्छन् ।

बराहक्षेत्र–२ मा रहेको पुनर्बास बस्ती कोशी पीडितहरुको एकीकृत बस्ती हो । सुनसरी क्षेत्र नं. १ मा पर्ने बराहक्षेत्र नगरपालिकाका जब्दी, रेललाइन, १३ आरडी, बाङ्गे, चतरालगायतका बस्तीका बासिन्दा कोशीपीडित हुन् । सुनसरी क्षेत्र नं. ४ मा पर्ने चक्रघट्टी, बाघझोडा राजाबास, प्रकाशपुर मधुवनका अधिकांश बस्ती कोशीपीडितले अस्थायी पुनर्बासका रुपमा प्राप्त गरेको जग्गा हो ।

नेपाल र भारत सरकारबीच २०११ साल वैशाख १२ गते कोशी सम्झौता भएपछि कोसी ब्यारेज निर्माण गरियो । ब्यारेज निर्माण भएको एक दशकपछि ०२२ जेठ २८ बुधबारका दिन पहिलो पटक कोसीको बाढीले पूर्वी तटबन्ध भत्काउँदा सिन्दुरे टापुबाट बाढी गाउँ प्रवेश गरेको थियो । कोसीको बितण्डाले बर्सेनि स्थानीय आजित छन् ।

दलहरुले चुनावमा कोशी पीडितका मुद्दा घोषणापत्रमा समेट्थे । कोशीमुनि जायजेथा हुनेका मुद्दा पाँच वर्षमा कम्तीमा एकपटक उठ्थ्यो । तर, ०७९ को निर्वाचनसम्म आइपुग्दा कुनै पनि दलले आफ्ना समस्या घोषणापत्रमा समेटेनन् ।

दलहरू यतिखेर ‘मिसन ८४’ को अभियानमा छन् । कोशीपीडितका मुद्दा कम्तिमा पाँच वर्षमा एक पटक उठ्थ्यो । तर, पछिल्लो समय कोशीपीडितको समस्या घोषणापत्रमा पनि समेटिन छाडेको छ ।

सुनसरी–१ बाट ०७९ को निर्वाचनमा नेकपा एमालेको सहयोगमा जनता समाजवादी पार्टीका अशोक राई र सुनसरी–४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ३८ बजे

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत