किसानको हितमा सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी « Khabarhub

किसानको हितमा सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाटन– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको हितमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

‘धान बालीमा सघनता खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)द्वारा आज राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मा मन्तव्य राख्दै उनले स्रोत र साधनको सीमितताका बाबजुद किसानका लागि राज्यले उचित ध्यान दिएर काम गर्ने बताएका हुन्।

‘असारमा हिलोमा टेक्नै पर्ने संस्कार हो, जबसम्म हामी उत्पादनमा जोड दिँदैनौँ, तबसम्म देश समृद्धिमा जाँदैन, चैते धानको जस्तो मिठो धानको चामल जस्तो स्वादिलो अरु हुँदैन, मैले उत्पादन गर्ने घैया धान र जुम्लाको मार्सी चामलको स्वाद उस्तै हो, हामी दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छौँ, किसानलाई अगाडि बढाउन नेपाल सरकारले प्रतिबद्धता जनाउने मात्रै होइन, आवश्यक काम पनि गर्छ’, उनले भने ।

उनले आगामी वर्ष धान दिवस मनाउँदा उत्पादन वृद्धि भएको हुनेछ भन्दै किसानले व्यक्त गरेका विचारलाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘धानमा आत्मनिर्भर हुनका लागि राज्यले गर्नुपर्ने कुराको समस्या समाधानका लागि हामीले व्यवस्थापन गरेका छौँ, मलका कारणले रोपाइँ गर्न नसक्ने अवस्थाको अन्त्य हुन्छ’, उनले भने ।

सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिका सभापति कुसुम थापाले देशका किसानलाई सबल बनाउँदै देशलाई खाद्यमा आत्मनिर्भर बनाउन संसद्को समितिमा नीतिगत छलफल चलाएर आवश्यक व्यवस्थाका लागि सरकारलाई आवश्यक निर्देश गर्ने बताइन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव दीपककुमार खरालले नेपालको कृषि क्षेत्रमा किसानले पुर्‍याएको योगदानलाई सम्मान गर्दै धान उत्पादन, खपत र निर्यातमा योगदान गर्दै आयातलाई प्रतिस्थापन गर्न लाग्नुपर्नेमा जोड दिए । 

उनले नेपाल सरकारले जारी गरेको भूउपयोग नीतिका कारण उत्पादनयोग्य खेतीयोग्य जमिन पनि आवासीय जमिनमा रूपान्तरण हुँदा केही समस्या आएको भन्दै यसलाई सहज बनाउनुपर्नेमा जोड दिए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक कृष्णप्रसाद तिम्सिनाले धान मानिसको जीवन पद्धति र संस्कारको एक अभिन्न अङ्ग भएको भन्दै जलवायु परिवर्तनको समस्यालाई समाधान गर्दै विभिन्न जातका धानको विकास गर्दै गएको बताए ।

उनले मानिसको रुचि र जनसङ्ख्याको वृद्धिअनुसार मागको श्रृङ्खलामा परिवर्तन हुने हुँदा आयात र निर्यातमा परिवर्तन भइरहने भन्दै सन् २०३० सम्म नेपाललाई धानमा आत्मनिर्भर बनाउने तयारी रहेको बताए ।

राष्ट्रपतिबाट यस वर्षको राष्ट्रिय उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित किसान दयाराम मरामचीले औपचारिकततमा सीमित हुँदै आएको दिवस र कार्यक्रममा परिवर्तन गर्दै किसानमैत्री नीतिगत व्यवस्था, कार्यक्रमका साथै खाद्य आत्मनिर्भरता बढाउन जोड दिनुपर्ने धारणा राखे  ।

धान, चामलमा आत्मनिर्भरताको विषयमा कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले विश्वमा धेरै धान उत्पादन गर्ने दश देशहरू एसियामा नै रहेको बताए । उनले पछिल्लो समय धान उत्पादनमा नेपालको आत्मनिर्भरता घट्दै गएको बताए । 

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले रोपाइँ उद्देश्यमाथि प्रकाश पार्दै किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले विसं २०६१ देखि मुलुकभरि असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइँदै आइरहेको जानकारी गराए । 

देशको प्रमुख खाद्यान्नबाली धानको खाद्य सुरक्षामा मुख्य भूमिका रहेको छ । पौष्टिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व रहिआएको सन्दर्भमा धानको जातीय विकास र खेती प्रविधिमा भएको परिवर्तन तथा धान बालीमा आएको आधुनिकताले गर्दा धान बालीको क्षेत्रफल र उत्पादनमा खासै कमी आएको छैन ।

मानो रोपेर मुरी फलाउने महिनाका रूपमा परिचित असार १५ लाई उत्सवको रूपमा परम्परादेखि नै मनाउने चलन छ । नेपालमा बर्खे धान र चैते धान गरी दुई थरीको धानखेती हुने गरेको भए पनि कूल धान उत्पादन हुने क्षेत्रफलमध्ये करिब सात प्रतिशत जमिनमा मात्र चैते धानको खेती हुने गरेको छ । 

त्यसकारण सम्भाव्य सिञ्चित क्षेत्रमा चैते धान खेतीको क्षेत्र विस्तारमार्फत धान खेतीमा सघनता ल्याई नेपाललाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षालाई सुदृढ गर्न सकिने सम्भावना प्रबल रहेको जानकारी गराइएको छ ।रासस
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : ३५ बजे

जेनजी आन्दोलनका सहिद : बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको