मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउनेसहित चार निर्णय « Khabarhub

मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउनेसहित चार निर्णय


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउन लगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । 

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार शहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले केही दिन यता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो । 

परिषद्को बैठकले जोखिम भएको ठाउँमा रातको समयमा सवारी साधन नचलाउने, भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा रिपोटिङको तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई रेस्क्यु गर्ने तत्काल व्यवस्था मिलाउने निर्णय भएको छ । 

कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पूर्वतयारीमा कुनै कमी नगर्न आग्रह गर्दै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए । 

उनले मौसम पूर्वानुमानपछिको पूर्व सूचना प्रभावकारी बनाउन सके विपद्बाट क्षति हुनबाट रोक्न सकिने भन्दै पूर्व सूचना प्रभावकारी बनाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको मौसमका हुनसक्ने सम्भावित जोखिमको अवस्थालाई ध्यान दिँदै भइरहेका तयारीबारे जानकारी पनि लिए । सो क्रममा गृहमन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागका तर्फबाट भइरहेका पूर्वतयारीका बारेमा जानकारी गराइएको थियो । 

उनले सरोकारवाला सबै निकायलाई मौसम पूर्वानुमानलाई ध्यान दिँदै जोखिम रहेका ठाउँहरूमा पूर्व सूचना प्रभावकारी बनाउने र जोखिम आइहाले त्यसको सामना गर्न सक्ने गरी तयारी अवस्थामा बस्न आग्रह गरे । 

बैठकमा गृहमन्त्री रमेश लेखकले सम्भावित जोखिमलाई ध्यान दिँदै तीन वटै सुरक्षा निकाय अलर्टमा बसेको, सेना र निजी क्षेत्रका हेलिकप्टर समेत विपद्मा परिचालन गर्नुपर्ने अवस्थामा तयारी अवस्थामा रहेको बताए । 

उनले मौसम पूर्वानुमानअनुसार जोखिम रहेका सडकहरूमा सवारी सञ्चालन नगर्नु भनेको अवस्थामा सवारी चलेमा र केही भएमा त्यसको जिम्मेवार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र अन्तिम चेकपोस्टको प्रहरी इन्चार्ज हुने गरी निर्देशन पठाइसकिएको जानकारी दिए । 

मुख्य सचिव एकनारायण अर्यालले मौसम पूर्वानुमान अहिले मिलिरहेको भन्दै त्यसलाई ध्यान दिएर सम्बन्धित निकायलाई सोहीअनुसार अलर्टमा राखिएको बताए । 

बैठकका निर्णयहरू :

१. जोखिम भएको ठाउँमा रातको समयमा सवारी साधन नचलाउने 
२.भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने 
३.स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने 
४.विपद् प्रभावित क्षेत्रमा रिपोटिङको तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई रेस्क्यु गर्ने तत्काल व्यवस्था मिलाउने

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ४ : ४४ बजे

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली

कोशी टापु आरक्षणमा जंगली अर्ना (तस्बिरहरू)

काठमाडौँ– कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा

इजरायली आक्रमणबाट लेबनानमा ३९ जनाको मृत्यु

काठमाडौँ– इजरायलले लेबनानका विभिन्न ठाउँमा गरेको भीषण हवाई आक्रमणमा कम्तिमा

म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल