विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ? | Khabarhub Khabarhub

टिप्पणी

विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ?


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख सत्तारूढ नेकपा (एमाले) मा दुईलाइन शक्ति सङ्घर्ष बढ्ने सङ्केतसँगै नयाँ–नयाँ आरोप सुनिन थालेको छ ।

नवौं महाधिवेशनपछि एमालेमा एकछत्र राज गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले चुनौती दिने सङ्केत देखिएपछि कित्ताकाट सुरु भइसकेको छ ।

यसअघि नै ७० वर्षे उमेरहद लागु हुनुपर्ने बताइसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल शनिबार राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा ओलीका कारण भएको उकुसमुकुस एक झट्कामा बाहिर निकाले ।

मदन भण्डारी फाउन्डेशनले शनिबार गरेको उक्त कार्यक्रममा पोखरेले उकुसमुकुस पोख्दै गर्दा पूर्वराष्ट्रपति भण्डारीले त्यहीँ एमालेको राजनीतिमा फर्किएको घोषणा गरिन् । उनले पवित्र उद्देश्य बोकेर एमालेको सदस्यतासमेत नवीकरण गरिसकेको बताएकी थिइन् ।

एमालेको नवौँ महाधिवेशनमा आफ्नै प्यानलबाट उपाध्यक्ष बनेकी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पार्टीका पूर्वमहासचिव स्व. मदनकुमार भण्डारीमाथि समेत औँला तेर्स्याए । दासढुङ्गा जीप दुर्घटनामा ज्यान गुमाएका मदन पूर्वराष्ट्रपति भण्डारीका पति हुन् ।

एमालेजनले नेपाली क्रान्तिको मौलिक सिद्धान्त मान्ने ‘जनताको बहुदलीय जनवाद’का प्रणेता भण्डारीमाथि कहीँ कतै नसुनिएका आरोप ‘मदन भण्डारी फाउण्डेशन’ कै मञ्चमा सुनियो । रोचक चाहिँ के छ भने उक्त फाउन्डेशनकी अध्यक्ष उषाकिरण उनै मदन–विद्याकी पुत्री हुन् ।

विद्यासँग मञ्च शेयर गरेका ओलीले मदनबारेका कथित आरोप फाउन्डेशनकै मञ्चबाट उप्काउनुलाई एमालेभित्र सम्भावित शक्ति सङ्घर्षको सुरुवातका रूपमा चर्चा गर्न थालिएको छ । ओलीले मदनपत्नी पूर्वराष्ट्रपति विद्याले राजनीतिक पुनरागमन घोषणा गर्ने मञ्चमै प्रमुख अतिथिका रूपमा भाषण गर्दै गर्दा उप्काएका आरोपले एमाले राजनीतिमा तरङ्ग पैदा गरेको छ ।

साँच्चै प्रधानमन्त्री ओलीले उप्काएका जस्तै कथित आरोप मदनमाथि उनको राजनीतिक जीवनका क्रममा लागेका थिए त ?

यसअघि ती आरोप कहीँ कतै किन सुनिएनन् ? ओलीले यी आरोप उप्काउनुको अन्तर्य के होला ? प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा पछिल्लो समय कार्यक्षमतामाथि गम्भीर प्रश्न उठिरहेका बेला तिनलाई विषयान्तर गर्न ओलीले मदनबारे ती कथित आरोप उप्काएका हुन् ? यी प्रश्न एमाले नेता, कार्यकर्ता र मदनको सिद्धान्त मन पराउने नेपालीले गम्भीर रूपमा लिएको देखिन्छ ।

ओलीले उप्काएका यी आरोपले उनीमाथि नै थप संशय पनि पैदा गरिदिएको छ । मदनमाथि लगाएका आरोपले एमाले र वर्तमान नेतृत्वसहित प्रधानमन्त्रीका रूपमा ओलीको अक्षमतालाई सामान्यीकरण या विषयान्तर गर्ला या नगर्ला, त्यो आगतमा थाहा हुनेछ ।

आरोप र राजनीतिकरण

प्रधानमन्त्री ओलीको बोलीले नेपाली राजनीति आरोप, प्रत्यारोप, लाञ्छनाकै भरमा दशकौँदेखि चलिरहेको भाष्य स्थापित गर्न बल पुगेको छ ।

यदि प्रधानमन्त्री ओलीले मदनमाथि लगाएका कथित आरोपले एमाले र वर्तमान नेतृत्वलाई सङ्लो बनाउँछ वा सामान्यीकरण गर्छ भने नेपाली राजनीतिमा समकालीन प्रवृत्ति केही राजनीतिक प्रवृत्ति, आरोप र घटनाहरूको पनि सामान्यीकरण गर्दैन र ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि अहिले विभिन्न पाँचभन्दा बढी सहकारी ठगीको मुद्दा चलिरहेको छ । अहिले उनी उच्च अदालतको आदेशमा रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि बहुविवाहको आरोप पनि थियो । श्रमशोषणको आरोप पनि थियो ।

के उनीमाथिका मुद्दा र आरोप राजनीतिकरणका विषय मात्रै हुन् त ? अहिले रास्वपाले रविलाई राजनीतिक प्रतिशोध गरेर फसाइएको भन्दै हस्ताक्षर अभियान नै चलाइरहेको छ । त्यो पनि सर्र्वोच्च अदालतेसमेत रवि तत्काल निर्दोष नरहेको ठहरसहित सहकारी ठगी मुद्दामा पुर्पक्षमै राख्न भनेको अवस्थामा छ ।

रास्वपाले देशको अन्तिम अदालतको आदेशलाई समेत चुनौती दिँदै राजनीतिक प्रतिशोधको लेपन लगाएर हस्ताक्षरका नाममा जनताको सेन्टिमेन्ट तान्न लागिरहेको छ ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कारको मुद्दै चल्यो । उनी जेलसमेत पुगे । तर, माओवादीले उनीमाथि प्रतिशोध गरिएको भनेन । उनी आदतलकै आदेशअनुसार जेल बसेर रिहा भए ।

उता, नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलममाथि जिउँदै मानिसलाई इँटा भट्टामा हालेर पोलेको जस्तो जघन्य अपराधमा हत्याको आरोप लाग्यो । पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संविधान सभा सदस्य इच्छाराज तामाङ लगायतका विभिन्न आरोपमा नेता जेल परे । उनीहरूमाथि लगाइएको आरोप र विषय राजनीतिकरण कारण थियो त ?

होइन । किनभने उनीहरूले अपराध गरेको ठहर विभिन्न तहका अदालतबाट भइसकेको छ ।

मदनबारे ओलीले उप्काएका आरोप

वि.सं. ०४६ पछि मदन भण्डारीलाई फुत्त दुलाभित्रबाट निस्किएर नेता भएको आरोप प्रधानमन्त्री ओलीले शनिबार उधिने ।

उनले मदन भण्डारीमाथि पनि लाञ्छना लगाइएको र चरित्रहत्या गरिएको बताए । ‘चारवटी श्रीमती छन्’ भनेर आरोप लगाइएको ओलीले उल्लेख गरे । उनीमाथि अनेक दुर्वाच्य बोलिएको बताए । सहकारीको बचत ठगेर हिँडेको भन्ने आरोपसमेत त्यतिबेला मदन भण्डारीलाई लगाइएको ओलीले त्यहाँ निकाले ।

उनले भने :

शक्ति (एमाले) अप्ठ्याराहरूसँग जुध्यो । यसमाथि हमला, यसको निन्दा, यसको विरोध, यसका नेताहरूको विरोध… ।

उसबेला पनि मदन भण्डारीलाई भनेकै हो, फुत्त दुलाबाट निस्केर नेता हुन पाइन्छ ? भनेर ।

भनेकै हो मदन भण्डारीलाई ।

मदन भण्डारी फुत्त दुलाभित्रबाट निस्किएर नेता हुनुभएको थिएन ।

भूमिगत काम गरेको धेरै वर्ष भएको थियो ।

सङ्गठनात्मक काम गरेको धेरै वर्ष भएको थियो ।

सङ्घर्षका मैदानमा जोखिमपूर्ण ढङ्गले उहाँ जुट्नु भएको थियो ।

त्यो कुरा थाहा नपाउनु, त्यो हाम्रो कार्यशैलीलाई नबुझ्नु र त्यसपरिस्थितिमा कसरी शक्ति निर्माण गर्नुपथ्र्यो, त्यो कुरा नबुझ्नु मात्रै हो ।

मदन भण्डारीका सम्बन्धमा धेरै लाञ्छना लगाइए । चरित्र हत्या गरियो ।

चारवटी की कतिवटी श्रीमती छन् भनेर आरोप लगाइयो ।

यस्ता कुरा पनि बोलियो ।

त्यसको प्रमाण कसले खोज्न जाने अब ?

बोलियो दुर्वाच्य, अनेक बोलिए ।

सहकारीको बचत ठगेर हिँडेको हो, आदिइत्यादि भनेर आरोप लगाइयो ।

सहकारीको ठगसमेत भनियो ।

कुनै आधार, साइनो, सम्बन्ध केही पनि थिएन ।

कुनै सम्पर्क सम्बन्ध नभएका विषयमा यति शतप्रतिशत झूठ, लाञ्छना र आरोप लगाइयो ।

हो, त्यही कुरा त त्यसपछि पनि सिलसिलावद्ध चल्यो ।

अनेक सिलसिला चले ।

तर हामीले त्यसको सामना गर्दै गयौँ ।

असाधारण हमला भयो । त्यसको सामना गर्‍यौँ ।

एमाले फुटबारे यस्तो थियो ओलीको बोली :

पार्टीमा अनेक पटक विभाजन गर्न खोजियो । विभाजन गरियो ।

०५४ सालमा एउटा भयो । गरियो । नहुनुपर्थ्यो ।

कुनै इस्यु थिएन । नक्कली इस्यु थियो

महाकालीको इस्यु भनेको जसलाई त्यतिबेला राष्ट्रवादको झण्डा देखाएर महाकाली महाकाली, महाकाली भन्दै कुद्ने एउटा स्थिति भयो ।

नक्कली, आडम्बरी, पाखण्डी कुरा थियो त्यो ।

त्यसमा कुनै दम थिएन । कुनै सहीपना थिएन ।

अब अहिले पनि म भन्न चाहान्छु, महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ । अहिले सबै छन्, यो पक्षमा कार्यान्वयन गर्ने पक्षमा, म पनि छु । सबै छन् । सम्भवतः सम्भव भएसम्म हामी निकट भविष्यमा महाकाली सन्धि सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्छौं । यो गर्न पर्ने चिज छ ।

त्यस सम्झौताअन्तर्गत हामीले बिजुलीको पैसा लिइरहेका छौँ । त्यस सम्झौताअन्तर्गत पानी लिँदैछौं, लिन्छौँ । त्यस सम्झौताअन्तर्गत चाँदनी दोधारामा १० क्युसेक पानी पहिले म प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ । अब फेरि कुरा अगाडि बढाउँछु र त्यहाँ पानी हामी लिन्छौँ । चाँदनी दोधारामा त्यो सन्धि ठीक छ । सम्झौता ठीक छ ।

तर त्यसबेला देश बेचे, मासे, खाए, नदी बेचे, खोला बेचे । कुनै नदी, खोला बेचेका थिएनन् र नेकपा एमाले राष्ट्रको सार्वभौमसत्ता, सम्प्रभुता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियहीत स्वाधिनता, स्वतन्त्रता अथवा स्वाभिमान केहीलाई पनि बेच्ने त कल्पनै छोडिदिऊँ, अलिकति तलमाथि हुन पनि नेकपा एमालेले दिँदैन । यस्तो शक्तिमाथि आरोप लगाए ।

मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादले यस्ता कुरालाई सहँदैन । एमालेका साँचो कार्यकर्ता मनले यसलाई सहँदैन । यसर्थ, एमाले सफलताका साथ अगाडि बढ्दै गयो । अनेक हमला चिरेर । अर्कोपल्ट फेरि घेराबन्दी भयो भने अनेक चिज भयो, पार्टी फोडियो । फेरि एमाले त्यही मजबुतीका साथ अगाडि बढेको छ । धुलो पार्छु भन्दा, दिउँसै टर्च बालेर खोज्छु भन्दा नेभेटिने गरी धुलो पार्छौं भन्दा एमाले धुलो पार्न सकिने शक्ति होइन । कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो ।

ओलीका कुरा कति सत्य ?

सुनसरीका वामपन्थी नेता युवराज गौतम सुनसरीमा तत्कालीन माले हुँदै एमाले सङ्गठित गर्ने पुराना नेता हुन् । मदन भण्डारीसँग ६ वर्षसम्म राजनीतिक सहकार्य गरेको अनुभव सुनाउने गौतम प्रधानमन्त्री ओलीले टिप्पणी गरेजस्तो कतै नसुनिएको बताउँछन् ।

वामपन्थी नेता गौतमले एमाले अध्यक्ष ओलीले अनावश्यक टिप्पणी गरेको बताए । ‘यो टिप्पणी जरुरी थिएन, मैले पनि पाँच छ वर्षसँगै सहयात्रा गरेको थिएँ, उहाँ (मदन) धेरै लामो समयसम्म पनि रहनु भएन,’ गौतम भन्छन्, ‘कतै कहीँ सानो तप्कामा थियो भने मात्रै वा पछिल्लो समय त्यस्तो लाञ्छना आयो भनेमात्रै अन्यथा यस्तो कहीँ सुनिएको थिएन ।’

राधाकृष्ण मैनाली ।

२०२८ सालको झापा विद्रोहबाट नेपालको राजनीतिक वृत्त चिनिएका नेपालका बाम राजनीतिज्ञ राधाकृष्ण मैनालीले केपी ओलीले बोलेका कुरा झुठो रहेको बताउँछन् । उनी त्यस्तो कुनै चर्चा नसुनेको बताउँछन् ।

‘अहिलेसम्म चर्चामा नआएको कुरो एकैचोटि ओलीलाई ब्रह्मज्ञान कसरी भयो त ?’ मैनालीले प्रश्न गरे । उनले भने ‘ओलीले अनुचित कुरा गरे ।’

मैनालीका अनुसार मदन भण्डारी पहाडबाट संस्कृत पढ्दापढ्दै हरिद्वार संस्कृत पढ्न गए । बाबुआमा मोरङमा बसाइँ सरेर आए इटहरा मोरङमा । अहिले पनि घर छ । त्यही घरमा बाउआमा बस्थे । त्यहीँबाट उनी हरिद्वार पढ्न गए । बनारसमा पढे ।

मैनालीले थपे –

उनी शास्त्री पास गरेर आउँदा/नआउँदै उहाँ बनारसमै उहाँको राजनीतिक जन्म भनेकै हरिद्वारमा हो । त्यहाँ पढ्दापढ्दै जीवराज आश्रितसँग सम्बन्ध भयो । अथवा पुष्पलाल ग्रुपसँग सम्बन्ध भएर उहाँ त्यहीँबाट भूमिगत हुनुभयो ।

त्यहीँबाट नेपालमा प्रवेश गर्नुभयो । भूमिगत भएर कोशी अञ्चलमा काम गर्दागर्दै त्यहीँ अखिलको राजनीति गरेकी विद्याजी (जो भोजपुरमा पढ्दापढ्दै पार्टी सम्पर्कमा आएर पछि विराटनगरमा आएकी) सँग बिहे गरे । मैले बुझेको कुरा त्यति हो । अर्की श्रीमती ल्याएको चर्चा सुनेको पनि छैन । कसैले भन्या पनि थाहा छैन मलाई ।

मैले अहिलेसम्म यस्तो प्रचार सुनेको पनि छैन । मदनलाई होच्याउने वा विद्यालाई होच्याउने कुरा गर्न खोजेको हो । अथवा भन्दै नभनिएको प्रायोजित कुरा गरिएको हो । मेरो जानकारीमा छैन । त्यो कुरो होइन । हल्लामा हल्ला फैलाउन खोज्या हो, मैले चाहिँ त्यस्तो सुन्या छैन ।

सहकारी ठगीको प्रसङ्गमा समेत मैनालीले त्यतिबेला सहकारी संस्थाको त्यस्तो माहोल, गाउँगाउँमा सहकारी पुग्ने अवस्था नै नरहेको बताए । ओलीले फजुलको कुरा गरेको मैनालीको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ५१ बजे

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत