असार १५ : रोपाइँसहित दहीचिउरा खाएर मनाइयो « Khabarhub

असार १५ : रोपाइँसहित दहीचिउरा खाएर मनाइयो


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ । 

खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेपछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रूपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाउन थालिएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दहीचिउरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । 

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खान्छन् । 

यसबेला दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीचिउरा खाई असार १५ गत सांस्कृतिक पर्व मनाएका छन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दहीचिउरा खाएमा औषधिको काम गर्छ । यसैले दहीचिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ । 

यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । परम्परादेखि असार धान रोप्ने महिनाका रूपमा परिचित हुँदै आएको हो । 

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यसै अनुसार आज २२औँ धान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।

असार १५ बितिसक्दा पनि देशका सबै भागमा पानी नपरेका कारण हुनुपर्ने जति धान रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएपनि कतै कतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् । 

रासायनिक मल बिक्री गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाइएको छ । स्थानीय तहले छनोट गरेका सहकारीमार्फत रासायनिक मल बिक्री वितरण हुने व्यवस्था गरिएको छ । सहकारीले व्यवस्थित रूपमा मल वितरण नगर्दा किसान मर्कामा परेका हुन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ५५ बजे

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका