धनगढी– आइतबार राष्ट्रिय धान दिवस । सुदूरपश्चिमको विभिन्न जिल्लाका अधिकांश गाउँमा धान मेला पनि । रोपाइँलाई यहाँका स्थानीयले उत्सवमा रूपमा मनाउँछन् । जहाँ सिंगो गाउँको सामूहिक पर्वकै रूपमा एकपछि अर्को दिन धान रोपाइँ मेला लगाइन्छ । सरकारले धान दिवस घोषणा गर्नुभन्दा अघिबाटै यहाँका कृषकले रोपाइँ उत्सव मनाउँदै आएका थिए ।
परापूर्व कालदेखि नै सांस्कृतिक पहिचान बनेको छ पीपलडालीका लागि धान रोपाइँ मेला । पीपलडाली बुढीनन्दा नगरपालिका १ नम्बर वडा । त्यहाँ आइतबार धान रोपाइँ मेला लागेको छ । गाउँमा करिब १ सय ५० बढी परिवारको बसोबास छ । ती सबै परिवारको साझा पर्व नै हो धान रोपाइँ ।
स्थानीयले धान रोपाइँ पर्व अर्थात् असारे रोपाइँ मेलालाई दशैं, तिहारजत्तिकै महिमाका साथ मनाउने गर्छन् । त्यसबाहेक साउन पूर्णिमा बिशु संक्रान्ति, कुलो सोराइ, लङ्गुरे र खाप्रको पैठ, शिवरात्रि, चौदशी, र टिमुर टिपाई पनि कुण्डा क्षेत्रका लोकप्रिय सांस्कृतिक पर्व हुन् ।

मार्तडीमा हरेक दिन धान उत्सव मनाइन्छ । एकले अर्को परिवारको सामूहिक रोपाइँ गर्छन् । सहकार्य गरी नाचगान, देउडासहितको रमाइलोमा रोपाइँ गर्ने गरिएको बडीमालिका ९ की सुना विकले बताइन् । खेती सानो होस् की ठूलो सबैले रोपाइँलाई रमाइलोका साथ मनाउने गरेका छन् ।
संस्कार, सांस्कृति, सम्पदा र सभ्यता गाउँ नै पिच्छे फरक छन् । नेपाली संस्कृतिमा झन् बढी विविधता छ । मौलिकता र आफ्नै पहिरन, अनि आफ्नै संस्कृति र आफ्नै मूल्य मान्यता अनुसार ती चाडबाड र मेला पर्वलाई स्थानीयले मनाउने गरेका छन् ।
धान रोपाइँ मेलालाई स्थानीयले रोपाइँ गरामै, देउडा खेल्ने, सिस्नु चिलाउने, कुलो सफा गर्ने, प्राय इष्टमित्रका गाउँ घरबाट आएकाहरूले अविहितलाई र देवर भाउजू नातापर्नेहरूबीच हिजो छ्याप्ने काम गरिन्छ । त्यससँगै धार्मिक आस्थासहितको रोपाइँ मेला भएकोले धामीझाँक्री पतुर्ने काम पनि हुन्छ ।

जेठबाटै यो पर्वलाई स्थानीयले उत्सवका रूपमा मनाउने गरेका छन् । जेठ १२ गते पाण्डुसैनमा रोपाइँ मेला नै लाग्ने गर्छ । आँटीचौरसहितका स्थानमा रोपाइँको औपचारिक सुरुवात जेठ पहिलो साताबाटै हुन्छ । कोल्टीको पीपलडालीमा पनि जेठ १४ गते मनाउने गर्थे तर पछिल्लो केही दशक यता पानी अभाव भएपछि असार १५ मा धान रोपाइँ मेला मनाउन लागिएको पिपलडालीका असारे कार्की बताउँछन् ।
असारमै जन्मिएको र रोपाइँको दिन बहुतै रमाइलो गर्ने भएकै कारण उनको नाम असारे कार्की राखिएको हो । रोपाइँमा पहिलो हक पनि स्थानीयमध्ये कार्कीकै लाग्ने गरेको छ ।
उत्पादनको उत्सवका रूपमा धान रोपाइँ मेला मनाउने गरेका स्थानीय जति बढी सहभागी भयो, रमाइलो गर्न सकियो, त्यत्ति नै बढी उत्पादन हुने विश्वास राख्ने गरेका छन् ।
रोपाइँ खेतमा महिलाहरूलाई रोप्न्यारी भन्ने गरिन्छ, उनीहरू हिलो लाग्ला भन्ने पिर चिन्ताबिनै, चिटिक्क कोरिबाटी भएर मौलिक पहिरनमा खेलमा पुग्ने गर्छन् । असारे मागल र देउडा गीतसँगै रमाउने चलन छ । भने धामी पतुर्ने संस्कार पनि कहीँ कतै भेटिने गरेको छ ।

बुढीनन्दा नगरपालिकाले पनि त्यही पुगेर धान दिवस मनाएको छ । गाउँको रोहबरमा तल्लो कुलो असार १५ गते बेडुगडा २४ गते र माझकुलो चाकामा सुरुमा टाग्ली सार्ने काम गरिन्छ । त्यो जिम्मेवारी जनपुरा कार्की र मान बहादुर कार्कीको परिवारलाई छ ।
उनीहरूको रोपाइँपछि मात्रै अरूको रोपाइँ हुन्छ र अरूले पालो पाउँछन्, त्यही समझदारी अनुसार नै परापूर्व कालदेखि नै बाजागाजासहित कार्की परिवारको रोपाइँ सुरू गरिएसँगै खेल रोप्न सुरु गरिन्छ । यही मान्यतालाई नै पीपलडालीका स्थानीयले धान रोपाइँ मेलाका रूपमा मनाउँदै आएका छन् ।
रंग रोगनसहितका अक्षता, दुबो, दही, चामल, फूलका माला, फलहरूको चढ्नी पढ्नी देउतालाई चढाउने काम गरिन्छ । सबैको एकै दिन रोपाइँ शुभारम्भ हुने दिनका रूपमा रोपाइँ मेला आयोजना गर्ने गरिएको हो । मेलाका लागि गाउँबाहिर बसेकाहरू पनि आउने गरेका छन् ।

परापूर्व कालदेखि नै हरेक वर्ष असार १५ गते रोपाइँ मेला लाग्छ । तर पहिलेको जस्तो स्वाद हुन्न । रस आउँदैनन् । ती भाका हराए, ती पहिरन हराए, ती उत्साह र उंमग हराए । रोप्न्यारीहरु माइती आउनै छोडिन् ।
जगेर्ना अभाव नै छ, रोपाइँ मेला । बाजुराको तल्लो भेगमा हरेक दिन उत्सवकै जस्तै गरी रोपाइँ गर्ने चलन दाबी छ । कुण्डा क्षेत्रको पीपलडाली धान रोपाइँ मेलालाई विशेष पर्वमा रूपमा मनाइन्छ ।
त्यहाँ छिमेकी गाउँ जगन्नाथ, कोल्टी कोटिला, पाण्डुसैन, बाइ जुकोट, साप्पाटा, हिमाली सबैतिर इष्टमित्र आफन्त मेलामा आउँथे । तर अहिले त्यो क्रम घट्दो छ । रोपाइँमा देउडा खेल्ने, दमाहा बजाउने, टाढा टाढाबाट छोरी चेली सहभागी हुने, मिठो मसिनो खाने र रमाउने चलन लोप हुनेमा स्थानीय चिन्तित छन् ।

समाज आधुनिक संस्कृतिमा हरायो । आफ्नो पहिचान, पहिरन, संस्कृति र सभ्यता बिर्सन छोड्यो, त्यो दु:खद बनेको छ । कुनै बेला स्थानीय महाचन्द्र कार्कीसँग ४० पाथी धानको बिउ लाग्ने खेत थियो । रोप्न्यारी मात्रै ५० बढी हुन्थे, हली र हलगोरुको जोडी गणना भन्दा धेरै हुन्थ्यो, तर अहिले त्यो घट्दै गएकोमा उनी दु:खी छन् । कार्कीले उमेर ८० काटिसकेका छन् ।
उसो त दमाहा बजाउनेहरूकै लस्कर थामिनसक्नु हुन्थ्यो । अहिले खोजी ल्याउनु पर्ने अवस्था आएको भन्छन्, स्थानीय जोगीलाल ढोली । रोपाइँ मेलामा पञ्चेबाजाको महिमा पनि बेग्लै हुन्छ । दमाहा बजाउने मान्छे भेटिन छोडिसकेका छन् । पञ्चेबाजा संस्कृतिको लोप हुने कुरा पहिचान हराउनु जस्तै हो ।

पीपलडालीको पहिचान संरक्षण गर्न पालिकाबाटै पहल हुनु पर्ने माग स्थानीयको छ । रोपाइँ मात्रै होइन, पर्व पनि हो । त्यसैमा उत्पादनमा कृति खेतीमा आकर्षण बढाउन मिल्ने अवसर पनि हो, जोगाउन लाग्नु पर्ने बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा बताउँछन् । ‘त्यो पालिका सरकारको प्राथमिकताकै विषय हो,’ बोहराले थपे ।
राज्यले नै धान दिवस मनाउने दिनको स्थानीय पर्वलाई उत्सवसहित मनाएर पहिचान जीवित राख्नु पर्ने देखिन्छ । असार १५ पीपलडाली बाहेकका गाउँ र बस्तीहरूमा पनि पर्वकै रूपमा मनाउने गरिएको छ । असार १५ सम्म बाजुरामा ५० प्रतिशत बढी रोपाइँ सकिसकिएको कृषि ज्ञान केन्द्रले बताएको छ ।

प्रतिक्रिया