असार १५ःरोपाइँसहित दही-चिउरा खाएर मनाइयो « Khabarhub

असार १५ःरोपाइँसहित दही-चिउरा खाएर मनाइयो


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ ।

असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउन थालिएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दहीचिउरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खान्छन् । यसबेला दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीचिउरा खाई असार १५ गत सांस्कृतिक पर्व मनाएका छन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दहीचिउरा खाएमा औषधिको काम गर्छ । यसैले दहीचिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । परम्परादेखि असार धान रोप्ने महिनाका रुपमा परिचित हुँदै आएको हो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यसै अनुसार आज २२औँ धान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।

असार १५ बितिसक्दा पनि देशका सबै भागमा पानी नपरेका कारण हुनुपर्ने जति धान रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएपनि कतै कतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् । रासायनिक मल बिक्री गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाइएको छ । स्थानीय तहले छनोट गरेका सहकारीमार्फत रासायनिक मल बिक्री वितरण हुने व्यवस्था गरिएको छ । सहकारीले व्यवस्थित रुपमा मल वितरण नगर्दा किसान मर्कामा परेका हुन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : ४० बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज