थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै « Khabarhub

थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली– थारु समुदायले आज (मंगलबार) ‘गुरही’ पर्व उल्लासपूर्वक मनाउँदै छन् । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ ।

थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् ।

यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उनको भनाइ छ ।

पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ । घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा गुरही असरैना कार्यक्रम गरिने नगर भलमन्सा कार्यसमितिका सचिव अमन चौधरीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ । गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहहरूले सार्वजनिक बिदासमेत दिएका छन् ।

कसरी मनाइन्छ गुरही ?

गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ । पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । ‘गुरही’ एक प्रकारको गाइने कीराको प्रतीक रहेको बताउँदै यसले वातावरणलाई दूषित बनाउने कीटाणु र लामखुट्टेलाई आफ्नो आहारा बनाउने थारु अगुवा पञ्चराम चौधरीले बताए । यही गाइने कीराको प्रतीकका रूपमा कपडाको गुरही (पुतली) बनाएर पूजा गरी मनाइने भएकाले यस पर्वको नाम गुरही रहन गएको उनको भनाइ छ ।

पर्वको केही दिनअघिदेखि थारु समुदायमा घर आँगन लिपपोत गरी सफा बनाइन्छ । पर्वको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भइन्छ । महिलाले रङ्गीचङ्गी कपडाका टुक्राहरूबाट ‘गुरही’ अर्थात् पुतली बनाउँछन् । केटाहरूले बाँस वा जुटको प्रयोग गरी गुरही पिट्ने (कोर्रा) लट्ठी बनाउँछन् ।

साँझपख गाउँका मानिस, विशेषगरी बालबालिका र युवती, नयाँ कपडा लगाएर ढकियामा भुजा, मकै, केराउ, चना र कपडाको गुरही लिएर गाउँको चोक वा चौराहामा भेला हुन्छन् । गाउँको अगुवा (भलमन्सा) ले दुबोमा गाँठो पारेर पूजाको सुरुआत गर्छन् । त्यसपछि युवतीले ल्याएका गुरहीलाई एक ठाउँमा राखेर पूजा गरिन्छ । भाइबहिनीबीचको माया प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले गुरिया फाल्ने गर्छन् र भल्मन्साको आदेशमा दाजुभाइले उक्त गुरियालाई लट्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन् ।

ठटाउने बेला उनीहरू ‘देऊ घुघरी’ ‘लेउ घुघरी’ को नारा लगाउँछन् । यसलाई ‘गुरही असरैना’ भनिन्छ । यसरी गुरही पिट्दा गाउँघरमा रहेका रोगव्याधी र दुष्ट आत्माहरू भाग्छन् भन्ने विश्वास रहेको नगर भल्मन्सा अध्यक्ष बुधराम चौधरीले बताए । उनका अनुसार गुरही पिटिसकेपछि युवतीले आफूले ल्याएको भुजा, चना, मकैजस्ता गेडागुडी प्रसादका रूपमा सबैलाई बाँड्छन् ।

‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्टि गर्छन् । त्यसो गरेमा गाउँघरमा रहेको रोगव्याधी र सङ्कट पानीसँगै बगेर जाने र सुखलाभ प्राप्त हुने विश्वास छ । कोहीले कपडाको टुक्रा सङ्कलन गरेर घरतिर घरको ढोकामा बाँध्ने गरिन्छ । यसोगर्दा घरमा रहेको दुःख, कष्ट, सर्प बिच्छीहरू घरबाट निस्केर जाने जनविश्वास रहेको नगर भलमन्सा अध्यक्ष चौधरीले बताए । (रासस)

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ३१ बजे

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात

काठमाडौं– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय

लमजुङमा भूकम्पको धक्का

काठमाडौं-लमजुङमा भूकम्प गएको छ । बन्सार केन्द्रविन्दु भएर बुधबार बेलुका