काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको निष्कर्ष निकालेको छ ।
साउन ५ देखि ७ गतेसम्म चलेको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति जारी गरेको अन्तरपार्टी निर्देशिकामा उक्त कुरा उल्लेख गरेका छन् ।
एमालेले पछिल्लो समय पार्टी र यसको नेतृत्वमाथि चौतर्फी घेराबन्दी र कुप्रचार भइरहेको दाबी गरेको हो ।
साउन ५ देखि ७ गतेसम्म सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा यस्तो निष्कर्ष निकालिएको छ ।
ओलीले चारथरीका शक्तिहरूले पार्टीमाथि हमला गरिरहेको निचोड निकालेका छन् । उनले ती आरोप र आक्रमणलाई लिएर भ्रममा नपरी सशक्त प्रतिवादमा उत्रिन पार्टीपंक्तिलाई आह्वान गरेका छन्।
एमालेविरुद्धका चार शक्ति
१. देशभक्त अडान मन नपर्ने शक्ति — जसले नेपालमा आफ्ना स्वार्थका लागि देशभक्त नेतृत्वलाई कमजोर बनाउन खोजिरहेको एमालेको आरोप छ।
२. राजसंस्थाको पुनर्स्थापनाको सपना देख्ने प्रतिगामी शक्ति — जुन एमालेकै कारण आफ्नो चाहना पूरा नभएको ठान्दै कु-प्रचारमा लागेको भनिएको छ।
३. वाम आन्दोलनको प्रतिस्पर्धी राजनीतिक दलहरू — जसले एमालेकै कारण आफ्नो सत्ता समीकरण विफल भएको महसुस गर्दै छद्म रूपमा हमला गरिरहेको दाबी गरिएको छ। एमालेले यसमा माओवादी केन्द्रतर्फ इंगित गरेको छ।
४. नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका समूह — जसले लोकप्रियतावाद र अराजकतावादलाई अँगाल्दै एमालेविरुद्ध कु-प्रचार गरिरहेको ओलीले उल्लेख गरेका छन् ।
विवाद
दुई कार्यकाल र ७० वर्षे उमेरहदको बहस सुनियोजित रूपमा पार्टी नेतृत्वलाई आक्रमण गर्ने योजनासहित उछालिएको एमालेको ठहर छ।
पार्टी विधान छपाइमा भएको सामान्य कमजोरीलाई आधार बनाई ‘विधान हेराफेरी’को भ्रम सिर्जना गरिएको भन्दै ओलीले आपत्ति जनाएका छन्।
चितवनको दशौँ महाधिवेशनपछि कम्तीमा पनि तीन किसिमका विधान छापिएको दाबी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्दै आएका थिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका नाममा सुरू भएको विवादले पार्टी एकतालाई क्षति पुर्याउने खतराको संकेत देखिएको ओलीको तर्क छ । त्यस विषयमा थप विवाद नगर्न पनि उनले आग्रह गरेका छन् ।
‘पार्टी र नेतृत्वलाई कमजोर बनाउने षड्यन्त्र अहिले उत्कर्षमा छ। यस्ता शक्तिहरूको नियोजित हमला र भ्रमपूर्ण कुप्रचारविरुद्ध सिंगो पार्टीपंक्ति एकताबद्ध भएर उभिनुपर्छ’, उनले भनेका छन् ।
ओलीले गलत प्रवृत्तिको प्रतिवाद गर्दै ‘मिसन ८४’ (२०८४ सालको निर्वाचन) का लागि अनुकूल वातावरण तयार पार्नुपर्ने बताएका छन्। पार्टीभित्रको असन्तोष, नेताहरूको भ्रमपूर्ण धारणा र नेतृत्वमाथिको योजनाबद्ध हमलाबाट सचेत रहन उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया