सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै स्थानीय तह « Khabarhub

सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै स्थानीय तह


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा– गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ। अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, काठमाडौँ र चितवनका सहरमा पुगेर सामाजिक सुरक्षाभत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको हो ।

सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार कर्मचारीको टोली खटाएर विभिन्न मितिमा सहरमा शिविरि सञ्चालन गरिएको छ ।

‘काठमाडौँमा साउन ३०, ३१, भदौ १ र २ गते घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरे, जसबाट २५० जनाले सेवा लिए । चितवनमा यही बिहीबार र शुक्रबार शिविर सञ्चालन भइरहेको छ । चितवनको धुम्ती शिविरबाट कम्तीमा पनि तीन सय जनाले सेवा लिने हाम्रो अनुमान छ । पालिकाले काठमाडौँको वनस्थली चोक र चितवनको भरतपुर महानगरपालिका–११ शान्तिटोलमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकाका अधिकांश वृद्धवृद्धा औषधोपचारका लागि काठमाडौँ तथा चितवनजस्ता सहरहरूमा बस्दै आएकाले पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।

 उनका अनुसार पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो ।

‘वृद्धवृद्धा गाउँमा आउनुपर्दा उनीहरूलाई गाह्रो हुने भयो । कतिपय त ह्वीलचियरसहित आउनुपर्ने अवस्था छ । हाम्रा अधिकांश पालिकावासी काठमाडौँ र चितवनमा बसोबास गर्छन् त्यसैले त्यहीँ पुगेर घुम्ती शिविर सञ्चालन गरेका हौँ’, अर्यालले भने। शिविरमा एकजना एमआइएस अपरेटर, एकजना वडासचिव र जनप्रतिनिधि खटिएका उनको भनाइ छ ।

सिरानचोक गाउँपालिकाका अधिकांश वृद्धवृद्धा छोराछोरीको सहारा खोज्दै काठमाडौँ, चितवनमा बसोबास गर्न गएका छन् । कतिपय भने औषधोपचारका लागि ती सहरमा बस्दै आएको अर्यालले बताए। उनीहरू गाउँमा आउनुभन्दा पालिका नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन उतै गएको उनको भनाइ छ । पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो । गाउँपालिकाको चार हजार ८०० जना नागरिकले सामाजिक सुरक्षाभत्ता लिने गरेकामा आधाभन्दा धेरै पालिका बाहिर बसोबास गर्दै आएका छन् ।

सिरानचोकले जस्तै बारपाक सुलिकोट गाउँपालिकाले पनि काठमाडौँ र चितवनमा घुम्ती शिविर सञ्चालन गरेको छ । पालिकाले यही साउनको अन्तिम साता काठमाडौँ र चितवनमा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि शिविर सञ्चालन गरेको हो । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिविर चलाएको पालिकाले जनाएको छ ।

बारपाक सुलिकोटले साउन २६ र २७ गते चितवन तथा साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले बताए। जसबाट चार सय २५ जनाले सेवा लिएका उनले जानकारी दिए । चितवनमा भएको शिविरमा एक सय २९ जना र काठमाडौँ दुई सय ९६ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । नवीकरण गराउनेमा दुई सय ४१ महिला र एक सय ८४ पुरुष छन् ।  

गाउँपालिकाका करिब छ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिका बाहिर रहेको आलेले जानकारी दिए । तीन हजारमात्र गाउँमा छन् । बाँकी पाँच सय जना गोरखा बजारमा, एक हजार जति चितवन र एक हजार ५०० जना काठमाडौँमा बसोबास गर्ने उनले सुनाए।

चुमनुब्री गाउँपालिकाले पनि काठमाडौँ र जिल्ला सदरमुकाम गोरखामा घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षाभत्ताको कागजात नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने बताए। विकट मानिने धार्चे गाउँपालिका पनि घुम्ती शिविर गर्ने तयारीमा छ । यही भदौ १५, १६ र १७ गते जिल्ला सदरमुकाममा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । शिविरबाट छ सय जनाले सेवा लिने पालिकाको अनुमान छ । 

अजिरकोट गाउँपालिकाले साउन २८ र २९ गते चितवनमा र साउन ३० र ३१ गते काठमाडौँमा शिविर आयोजना गरेको थियो । जिल्लाको आरुघाट गाउँपालिकाले पनि काठमाडौँमा घुम्ती शिविर गरेको छ । पालिकाले साउन १६, १७, १८ र १९ गते शिविर सञ्चालन गरेको थियो ।

जसबाट दुई सय ३५ जनाले सेवा लिएका छन् । हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नवीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृतहरूको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : ५१ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका