ट्रम्पको एउटै निर्णयले भारतीय उद्योग चौपट ! | Khabarhub Khabarhub

अर्थ-कूटनीति

ट्रम्पको एउटै निर्णयले भारतीय उद्योग चौपट !



काठमाडौँ – अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत भन्सार शुल्क कार्यान्वयनमा आइसकेको छ । रूसी तेल खरिद गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप भन्सार शुल्क लगाएका हुन् ।

यसअघि गत जुलाई ३० देखि भारतीय सामानमा अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो । अमेरिकाले २५ प्रतिशत थप गरी ५० प्रतिशत पुर्‍याएको भन्सार शुल्क बुधबारदेखि कार्यान्वयनमा आएको हो ।

यो अमेरिकाले कुनै मुलुकमाथि लगाएको सबैभन्दा धेरै भन्सार शुल्कमध्ये एक हो । अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमाथि बारम्बार अनुचित व्यापारिक अभ्यास गर्दै आएको आरोप लगाउने गरेका छन् ।

यसअघि उनले भारतलाई ‘ट्यारिफ किङ्ग’ अर्थात् भन्सार शुल्कको बादशाहको संज्ञा समेत दिएका छन् । त्यसमाथि पछिल्लो समय रूसबाट तेल र अन्य सामग्री खरिद गरेको भन्दै उनले भारतलाई निशाना बनाउँदै आएका छन् ।

युक्रेनमा जारी युद्धअघि रूसले भारतलाई दुई प्रतिशतभन्दा कम कच्चा तेल बिक्री गर्दै आएको थियो । सन् २०२२ को फेब्रुअरी महिनामा रूसले युक्रेनमा युद्ध शुरु गरेपछि यो परिमाण ३५ देखि ४० प्रतिशत पुगेको बीबीसीले जनाएको छ ।

रूसबाट तेल खरिद गरेर भारतले युक्रेनमा जारी रूसी आक्रमणलाई आर्थिक सहयोग गरिरहेको अमेरिकी तर्क छ । बुधबारमात्रै अमेरिकी राष्ट्रपतिका व्यापार सल्लाहकार पिटर नभारोले युक्रेनमा रूसले जारी राखेको युद्धलाई ‘मोदीको युद्ध’ को संज्ञा दिएका थिए । ब्लूमबर्ग टेलिभिजनमा ‘मोदीको युद्ध’ बारे उनलाई सोधिएको थियो । उनले भनेका थिए, ‘मेरो अर्थमा मोदीको युद्ध हो, किनभने शान्तिको मार्ग, आशिंक रूपमा नयाँ दिल्ली भएर जान्छ ।’

अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो । त्यसैगरी, भारतले आफ्नो मुलुकमा उत्पादित सबैभन्दा धेरै वस्तु अमेरिकातर्फ निर्यात गर्दै आएको छ ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जनाएअनुसार; सन् २०२४ मा अमेरिका र भारतबीच दुई खर्ब १२ अर्ब ३० करोड अमेरिकी डलर बराबरको वस्तु तथा सेवाको व्यापार भएको छ । जुन सन् २०२३ को तुलनामा ८.३ प्रतिशत अर्थात् १६ अर्ब ३० करोड डलरले धेरै हो ।

सन् २०२४ मा दुई देशबीच एक खर्ब २८ अर्ब ९० करोड डलर बराबर वस्तुको व्यापार भएको छ । यस अवधिमा अमेरिकाले भारततर्फ ४१ अर्ब ५० करोड डलर बराबरको वस्तु निर्यात गरेको छ । भारतले अमेरिकातर्फ ८७ अर्ब ३० करोड डलर बराबरको वस्तु निर्यात गरेको छ । यसअनुसार दुई देशबीचको व्यापारमा अमेरिकालाई एकै वर्षमा ४५ अर्ब ८० करोड डलर बराबर घाटा भएको छ ।

ट्रम्पले भारतमाथि लगाएको भन्सार महसुल वृद्धि औषधि, विद्युतीय र पेट्रोलियम क्षेत्रमा लागू हुनेछैन । त्यसैगरी, एल्मुनियम, स्पात र तामा क्षेत्रमा २५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ ।

श्रम प्रधान मानिने रत्न तथा आभूषण, गर्मेन्ट, समुद्री खानेकुराजस्ता उद्योगलाई यो घोषणाले सबैभन्दा ठूलो क्षति पुर्‍याउने अर्थशास्त्रीहरू बताउँछन् । फलस्वरुप यसको प्रभाव भारतको श्रम बजारमा पनि पर्ने देखिन्छ । द गार्जियनका अनुसार यस वर्षको जुन महिनामा भारतको कुल बेरोजगारी दर ५.६ प्रतिशत रहेको छ । शहरी क्षेत्रमा यो अझ धेरै ७.१ प्रतिशत छ ।

अमेरिकी भन्सार महसुल वृद्धिले भारतीय अर्थतन्त्रमा के कस्तो असर पर्छ भन्नेबारे अर्थशास्त्री र यसबारे शोध गर्ने संस्थापिच्छे फरक फरक आँकडा छन् । तर, उनीहरू सबै के कुरामा सहमत छन् भने यसले भारतको अर्थतन्त्रमा ठूलै सङ्कट ल्याउने निश्चित छ ।

‘यति धेरै आयात शुल्क लाग्दा भारतका कुनै पनि उत्पादन प्रतिस्पर्धामा उभिन सक्दैनन्’, भारतको एलारा सेक्युरिटिजकी अर्थशास्त्री गरिमा कपुरले बेलायती अखबार द गार्जियनलाई भनेकी छिन् ।

अर्थशास्त्रीहरूले अमेरिकाको यो घोषणाले यस वर्ष भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को एक प्रतिशतमा खुम्च्याउने चिन्ता व्यक्त गरेका छन् ।

भारतको राजधानीमा रहेको ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) का अनुसार पछिल्लो पटक लागू भएको भन्सार शुल्कले भारतको निर्यातमा गम्भीर असर पर्नेछ ।

जीटीआरआईका अनुसार यस वर्ष ८६ अर्ब ५० करोड डलर रहेको भारतीय निर्यात भन्सार शुल्क वृद्धिपछि अर्को वर्ष ५० अर्ब डलरमा झर्ने सम्भावना रहेको छ ।

‘यो भूकम्प हो’, भारतको रत्न तथा आभूषण निर्यात प्रवर्धन समितिका प्रमुख किरित भन्सालीले द गार्जियनलाई भनेका छन् ।

जीटीआरआईका अनुसार यो घोषणाले टेक्सटाइल, रत्न तथा आभूषण, झिँगेमाछा र कार्पेट क्षेत्रमा सबैभन्दा नराम्रो असर पर्नेछ । अमेरिकी घोषणापछि कतिपय क्षेत्रको निर्यात ७० प्रतिशतसम्म ओरालो लाग्ने जीटीआरआईको चेतावनी छ ।

भारतको व्यापार तथा उद्योग चेम्बर सीटीआईले पनि यस्तै चेतावनी दिएको छ । सीटीआईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै अमेरिकी भन्सार शुल्क वृद्धिले महत्वपूर्ण उद्योगमा ठूलो असर पर्ने र यसबाट लाखौँ भारतीयको जनजीवन प्रभावित हुने चेतावनी दिएको हो ।

‘अमेरिकाको ५० प्रतिशत भन्सार महसुलले भारतको टेक्सटाइल, छाला, रत्न तथा आभूषण, अटो पार्टपुर्जा, रसायन, औषधि, समुद्री खानेकुरा, विद्युतीय र अन्य क्षेत्रमा विध्वंशक प्रभाव पार्नेछ’, सीटीआईका अध्यक्ष ब्रिजेश गोयललाई उद्धृत गर्दै भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले जनाएको छ ।

उनका अनुसार बढेको भन्सार महसुलका कारण अमेरिकी बजारमा अन्य प्रतिस्पर्धीको तुलनामा भारतीय सामान ३५ प्रतिशतसम्म महङ्गो पर्न जानेछ । भन्सार शुल्क वृद्धिले ४८ अर्ब डलर बराबरको भारतीय निर्यात प्रभावित हुने सीटीआईले उल्लेख गरेको छ ।

इकोनोमिक टाइम्सका अनुसार गत वर्ष भारतले अमेरिकातर्फ १.७ लाख करोड भारु बराबरको इन्जिनियरिङका सामान निर्यात गरेको थियो । भन्सार महसुल वृद्धिले यो क्षेत्रमा ठूलो असर पर्नेछ ।

त्यसैगरी, रत्न तथा आभूषण क्षेत्रमा पनि यो महसुल वृद्धिले असर पार्नेछ । गत वर्ष भारतले अमेरिकातर्फ ९० हजार करोड भारु बराबरको रत्न तथा आभूषण निर्यात गरेको थियो । त्यसबाहेक भारतको बढ्दो विद्युतीय सामग्रीको निर्यात पनि यो घोषणाले प्रभावित हुनेछ ।

दक्षिण भारतको तिरुपुर भारतको तयारी गार्मेन्ट उद्योगको हब मानिन्छ । बीबीसीका अनुसार भारतको कुल तयारी गार्मेन्ट निर्यात १६ अर्ब डलर रहेको छ । यसमध्ये तिरुपुरले मात्रै एक तिहाई तयारी गर्मेन्ट निर्यात गर्छ ।

यहाँबाट अमेरिका पुग्ने सामान टार्गेट, वालमार्ट, ग्याप र जाराजस्ता कम्पनीले खरिद गर्छन् । तर, अमेरिकी भन्सार महसुल वृद्धिले यो क्षेत्रमा ठूलोउ अनिश्चय पैदा भएको छ ।

‘सेप्टेम्बरपछि सायद गर्न बाँकी केही हुनेछैन’, गार्मेन्ट उत्पादन कारखानाका मालिक एन कृष्णमूर्तीले बीबीसीलाई भनेका छन् ।

उनका अनुसार अहिले नै ग्राहकहरूले सामानको अर्डर लिन बन्द गरिसकेका छन् । उनले आफ्नो कारखाना विस्तार गरी थप २५० जनालाई रोजगारी दिने योजना बनाएका थिए । तर, अमेरिकी घोषणाका कारण उनले आफ्नो योजनामा पुनर्विचार गरेका छन् ।

उनका अनुसार क्रिसमसका लागि अहिलेदेखि नै सामानहरूको उत्पादन हुँदै आएको थियो । उनको कारखानाले कुल वार्षिक बिक्रीको आधा हिस्सा क्रिसमसमा बिक्री गर्दै आएको थियो । अब के गर्ने भन्नेमा उनी निश्चित छैनन् । बीबीसीका अनुसार; उनले दिवालीमा घरेलु बजारमै आफ्ना सामान बिक्री हुने अपेक्षा गरिरहेका छन् ।

तिरुपुरमै भित्री वस्त्र उत्पादन गर्ने अर्को कारखाना छ । त्यस कारखानाको गोदाममा अमेरिका निर्यात गर्न भनेर राखिएको १० लाख डलर बराबरको सामान छ । तर, यो सामान किन्ने कोही छैनन् । ‘भारतले अमेरिकासँग कुनै किसिमको व्यापार सम्झौता गर्ला भन्ने हाम्रो अपेक्षा थियो । उत्पादन चक्र गत महिनादेखि ठप्प छ’, राफ्ट गार्मेन्टका मालिक शिव सुब्रमण्यमले बीबीसीलाई बताएका छन् ।

तिरुपुरदेखि १२ सय किलोमिटर टाढा मुम्बईमा सयौँ कामदार हिरा चम्काइरहेका देखिन्छन् । भारतले हरेक वर्ष १० अर्ब डलरभन्दा धेरै हिरा निर्यात गर्दै आएको छ । यसमध्ये तीनदेखि चार अर्ब डलर बराबरका हिरा अमेरिका निर्यात हुन्छ ।

क्रिएसन ज्वेलरीका मालिक आदिल कोतवालको मुनाफा दर तीनदेखि चार प्रतिशत रहेको छ । यस्तो अवस्थामा अमेरिकाले १० प्रतिशतमात्रै भन्सार शुल्क वृद्धि गरे उनको व्यवसायमा ठूलो असर पार्नेछ ।

‘यस्तो भन्सार दर कसले धान्न सक्छ ? अमेरिकी खुद्रा व्यापारीले पनि यसो गर्न सक्दैनन्’, उनले बीबीसीलाई भनेका छन् ।

कोतवालले गुजरातको सुरतबाट हिरा ल्याउने गरेका छन् । सुरतलाई विश्व हिरा बजारको केन्द्र मानिन्छ । तर, सुरतको अवस्था पनि खासै राम्रो छैन । अमेरिकी भन्सार घोषणाअघिदेखि नै सुरतमा हिराको व्यवसायमा मन्दी आएको थियो ।

सुरतका शैलेश मङ्गुकिया हिरा व्यवसायी हुन् । कुनै समय उनले ३०० जनालाई रोजगारी दिएका थिए । उनका अनुसार कुनै समय उनको कारखानामा हरेक महिना दुई हजार हिरा चम्काइन्थ्यो । अहिले यो सङ्ख्या ३०० मा झरेको छ ।

स्थानीय ट्रेड युनियनका नेता भवेश टङ्कका अनुसार अहिले सुरतका कामदार घट्दो ज्याला, कामबाट निकाला र घट्दो मासिक आम्दानीबाट पीडित छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ०६ बजे

सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको छ : मन्त्री चौरसिया

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमकालीन न्याय

मुगुमा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं– नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’

‘टी ट्वान्टी’ शृङखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

काठमाडौं– ‘टी ट्वान्टी’ शृङखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

पहिलो पटक अपी हिमाल आरोहण गर्दै, पर्यटनमन्त्रीद्वारा १५ जना आरोही टोलीलाई बिदाइ

काठमाडौं– सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको पहिलो पटक

कोशी प्रदेशमा तीन हजार रोजगारी सिर्जना हुने परियोजना सञ्चालन

विराटनगर– कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र