दशैँ सुरु भइसकेको छ । दशैँ मान्ने सबैका आआफ्ना शैली र परम्परा छन् । घटस्थापनादेखि विधिपूर्वक दशैँ मनाउने भन्दा दशैँको टीका लडाएर विजय दशमीका दिन रमाउने धेरै छन् । दशैँ सुरु हुनुभन्दा एक महिना अगाडिदेखि मदिरा खाएर बस्ने तर सांस्कृतिक महत्त्व नबुझ्ने समस्या पनि छ । दशैँ कसरी मनाउने, दशैँको सांस्कृतिक महत्त्व के हो ? भन्ने विषयमा केन्द्रित भएर वाल्मिकी विद्यापिठका सहप्राध्यापक डा. गणेशप्रसाद घिमिरेसँग खबरहबका लागि पुष्पा बस्नेतले गरेको कुराकानीको सम्पादित अशं :
दशैँको सांस्कृतिक र धार्मिक महत्त्व के हो ?
दशैँ एउटा सांस्कृतिक महत्त्वको पर्व हो । हामी नेपाली विविध संस्कृतिले भरिएको देशमा छौँ । जाति, धर्म, भाषा विविध संस्कृति भए पनि नेपाल एक सूत्रमा बाँधिएको देश हो । सनातन परम्परामा चार वटा सम्प्रदाय देखा पर्छ । एउटा शैव सम्प्रदाय जुन शिवजीलाई मुख्य मान्ने सम्प्रदाय हुन्छ । अर्को वैष्णव सम्प्रदाय जुन विष्णुलाई मुख्य मान्छ । अर्को हो– शक्ति सम्प्रदाय । जसले शक्ति अर्थात् भगवती जगदम्बालाई पूजा गर्छ । चौथो गाणपत्य सम्प्रदाय हुन्छ । उनीहरु भगवान गणेशमा आफूलाई समर्पण गर्छन् । नेपालमा गाणपत्य सम्प्रदाय छैन, यो भारतको गुजरात र महाराष्ट्रमा छ ।
नेपालमा अरु तीन सम्प्रदाय रहेका छन् । यिनले नै सनातन परम्परा मान्यताको जीवन्त स्वरूप प्राप्त गरेका छन् । खासगरी भगवती जगदम्बाको उपासना, आराधना गर्ने पर्व हो– दशैँ ।
दशैँ सामान्यतया एउटा मनोरञ्जन, मिठो खाने र राम्रो लगाउने पर्व मात्रै हैन । बिदा हुने र रमाउने पर्व मात्र हैन । यो उपासनाको, आराधनाको पर्व हो । किनकि भगवती जगदम्बाको उपासना गरेर उहाँलाई खुसी पारेर हाम्रो समाजमा भएका असत्यको अन्त्य, पापको अन्त्य भएर धर्म संस्कृति परम्परा र स्वरूप अगाडि बढाउने पर्वका रूपमा यसलाई मान्नुपर्ने हुन्छ ।
जस्तैः प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्माचारिणी
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः
उक्तान्येतानि नामानि ब्रह्माणैव महात्मना । ।
पहिलो दिन भगवती जगदम्बाको शैलपुत्रीका नाममा पूजा गरिन्छ । दोस्रो दिनमा ब्रह्मचारिणीका नाममा पूजा गरिन्छ । तृतीय चन्द्र घण्टका नामले पूजा गरिन्छ । यसरी पूजा गर्दै गर्दै हामी भगवतीका नौ रूपको पूजा गर्छौँ ।
जस्तै : या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।
भगवती जगदम्बालाई माताको रूपमा, सृष्टिकर्ताका रूपमा मानियो र ब्रम्हा विष्णु शिवको शक्तिका रूपमा मानियो ।
हाम्रो परम्पराले ब्रह्मालाई सृष्टिकर्ता मानियो तर सृष्टि शक्तिबिना हुँदैन । हाम्रो परम्पराले विष्णुलाई पालनकर्ता मान्छ । शक्तिबिना पालन हुँदैन । शिवलाई संहारकर्ता मान्छ । हाम्रो परम्पराअनुसार शक्तिबिना संहार हुँदैन।
त्यसैले दशैँ भनेको भगवतीको पूजा अर्चना गर्ने पर्व हो । नेपालका विभिन्न प्रकारका कोतहरूमा आश्विन प्रतिपदादेखि नवमीसम्म पूजा आराधना गरिन्छ ।
अर्को, भगवान रामले दशमीका दिन रावणमाथि विजय प्राप्त गर्नुभयो । रावण भनेको समाजमा रहेका सम्पूर्ण पाप र दुराचारको शक्ति हो । हामीभित्रका सम्पूर्ण नराम्रा कुराको अन्त्य गर्न शक्तिको उपासना गर्छौँ । असत्यमाथि सत्यको विजय पापमाथि पुण्यको विजय, धर्ममाथिको विजयको उपासना गर्दै दशैँ मनाइन्छ । यसलाई सनातन पर्वको सबैभन्दा शक्तिशाली पर्व मानिन्छ ।

दशैँ कसरी मनाउनु पर्छ ?
हाम्रा चाडपर्व मनाउने तरिका ढंग आफ्नै प्रकारका छन् । चाडबाड एउटै तरिकाले मनाउनु पर्छ भन्ने छैन । तर दशैँलाई सबैभन्दा ठूलो कुरा मानिनुको कारण यसलाई उपासनाका साथै नौ दिनसम्म मनाइने भएकाले हो । अर्को, हाम्रो समाज विविध प्रकारको छ । पहिला दशैँमा मात्र कपडा किन्ने चलन थियो अहिले त आवश्यकता भएको बेलामा किन्न सकिन्छ । यो शक्ति र भगवतीको उपासना भएका कारण यसलाई उपासनाका माध्यमबाट नै मनाउँदा राम्रो हुन्छ ।
हिंस्रक भयो भनेर एकथरिले बली बिनाको दसैँको बहस गर्ने गरेका छन् । बलीबिनाको दसैँ हुन्छ ?
यसमा केही कुरा छ । भगवती जगदम्बाले बली मान्नु हुन्छ । के भनिएको छ भने मलाई मासुको बली दिने अधिकार छ । तर ब्राह्मण इतर ।
ब्राह्मणले मांसबली देवीलाई चढाउन पाइँदैन । हाम्रो सनातन परम्परामा जसलाई हामीले बली दिन्छौँ, त्यो पशुको मोक्ष नै त्यही बली हो । जसरी हामीले आराधना गरेर मोक्ष प्राप्त गर्छौं । हिंसाका माध्यमबाट मनाउनु हुँदैन भन्ने एक तर्क होला । तर देवीले मासुको बली दिनुपर्छ कसैले जबरजस्ती नै बली दिनु पर्छ र त्यसरी बली दिएर भगवती जगदम्बा खुसी हुनुहुन्छ भन्ने हुँदैन । यो पहिलादेखि नै चलिआएका परम्परा हुन् । जस्तो काठमाडौंका कतिपय कोतमा बली दिने परम्परा छ । त्यो परम्परा हामीलाई हाम्रा पूर्खाले दिएको विरासत हो । त्यो विरासत हामीले मास्न पाउँदैनौँ ।
जस्तो कुभिन्डाको बली दिने चलन छ । बलीबिना पनि भगवतीको आराधना हुन सक्छ । पूजालाई पूर्ण रुपम बलीरहित मनाउन सकिन्छ । तर बली दिँदैमा हाम्रो परम्परा जोगिन्छ र बली नदिँदैमा हाम्रो संसार सुधारिने र भगवतीका माध्यमबाट संसारले अवगत गर्ने होइन । तर बली प्रथालाई पूर्ण रूपमा अवगत गर्ने होइन, त्यसमा भने सुधार गर्न सकिन्छ ।
दशैँमा लगाउने टीकाको रंगमा पनि विविधता देखिन्छ । यसो किन हुन्छ ?
भगवती जगदम्बालाई रक्त वर्ण पनि भनिन्छ । उहाँको पहिचान भनेको रातो हो । केही हाम्रो परम्परामा केही जातिहरूमा सेतो टीका लगाउने चलन छ । त्यो पनि परम्परा हो । सेतो लगाउँदा यो हुन्छ र रातो लगाउँदा यो हुन्छ भन्ने काहीँ छैन । रातो सौभाग्यको प्रतीक हो ।
रातोलाई सौभाग्यको प्रतीक मान्ने हुँदा हामीले भगवती जगदम्बाको पूजा गर्छौँ । आराधना गर्दा हामीले उहाँलाई मातृरुप मान्यौँ । त्यसैले त्यो रातो नै सौभाग्यको प्रतीक हो भन्ने एउटा किंवदन्ती परम्परा छ । तर रातो नै सर्वस्वीकृति हो भन्ने आधार छैन । सेतोलाई सत्वको प्रतीक मानिन्छ ।
पहिला पहिला दशैँले परिवार जोड्थ्यो, अहिलेको दशैँ त्यस्तो नहुनुको कारण के हो ?
अहिले हामी प्रविधिको युगमा छौँ । संसारमा के भइरहेको छ त्यो थाहा हुन्छ । हिजो बाबुआमा अतिथिलाई देवता मान्नुपर्ने थियो । संयुक्त परिवारमा रहने हुर्कने परम्परा थियो । यही समाजमा हजुरबुबा आमाका काखमा हुर्केका बच्चा र बाबा आमाको काखमा हुर्केका बच्चाबीच नै फरक छ । अहिले हाम्रो पुस्ता प्रविधिबाट नै सबै गर्छु भन्नेमा पुगेको छ । त्यसमा चाडपर्वले जोड्ने हो । दशैँमा ठूलाको हातबाट टीका लगाएर आर्शीवाद दिएर मनाइन्छ । आजको पुस्ताले अंगालेको स्वरूप फरक भएकोले यस्तो भएको हो । दशैँले परिवार जोड्छ ।
सबै पुस्ताले बुझ्ने भाषामा दशैँको महत्त्व के हो ?
एउटा पुस्ता थियो जो खेती किसानीका माध्यमबाट चल्थ्यो । पहिला उत्तम कृषि, मध्यम व्यापार र मध्यम जागिर हुन्थ्यो । अहिले उल्टो भयो व्यापार अपार भन्छौँ । जागिरबाट तलब आइरहेको छ, त्यसैबाट घर खर्च चलेको छ । तर हाम्रा संस्कृति परम्परा भने पुस्तान्तरण हुँदैनन् । दशैँ खानपान, जुवातास, मोज र आनन्दका लागि हैन उपासनाका लागि हो ।
हाम्रा इन्द्रियबाट निस्किएका सबै कुरा फोहोर हुन् । नराम्रा कर्म समाप्त गरेर राम्रा कर्मप्रति अग्रसर हुने चाडलाई दशैँ भनिन्छ । एक पुस्ताले सिकेका कुरालाई अर्को पुस्तालाई पुस्तान्तरण गर्ने चाड हो– दशैँ । हाम्रा मनमा रहेका नराम्रा प्रवृत्तिको अन्त्य गरी आफूसँग जे छ त्यही अवस्थामा दशैँ मनाउन सकिन्छ ।
चाडपर्व, संस्कृतिप्रति नयाँ पुस्ताको कस्तो दृष्टिकोण पाउनुहुन्छ ? युवा पुस्तालाई दशैँ कसरी मनाउन सल्लाह दिनुहुन्छ ?
संस्कृति एउटा पुस्ताले अर्को पुस्तालाई दिने हो । तर अर्को पुस्ताले ग्रहण गर्न सक्ने क्षमता हो । उसले कसरी लिन्छ भन्ने हो । काठमाडौंको कुरा गर्ने हो भने साना बालबालिकाले मजाले आफ्ना बाजा बजाएर संरक्षण गरेका छन् । गाउँघरमा पनि बाजा जोगाउन लागेका छन् । त्यसैले नयाँ पुस्ताले यो बिर्सिनु हुँदैन । अहिलेको पुस्ता भौतिक सम्पन्नताले जोडिएको पुस्ता भए पनि हाम्रा सांस्कृतिक धरोहर, मूल्य मान्यता जीवन्त रूपमा मान्न सक्नुपर्छ । जहाँ गए पनि आफूसँग आफ्नो संस्कार लिएर जान नभुलून ।

पढाईंका सोखीले दशैँमा कस्ता किताब पढ्नु वेश हुन्छ ?
विभिन्न शक्तिपीठको दर्शनपछि समाजलाई आधार बनाएर प्रकाशित गरिएका उपन्यास, कथा, यात्रा संस्मरण सँगालेका किताब पढ्नु उचित हुन्छ । विदेशी भूमिमा दुःख गरेका कुराहरू समेटिएका किताब पनि पढ्न सकिन्छ । समाज कहाँ छ ? सामाजिक संरचना कहाँ छ ? हाम्रो वैज्ञानिक युग कहाँ छ ? उत्तरवर्ती पुस्ताले गर्न खोजेको कुरा कहाँ छ ? त्यसबाहेक समाजको विविध पहिचान झल्काउने पुस्तक पढ्न सकिन्छ ।
शहर र गाउँबीचको दशैँमा पाइने अन्तर के हो ?
ग्रामीण भेगमा संस्कृति सबै भन्दा ठूलो कुरा हो । यसबाट संस्कृति जगेर्ना हुन्छ । सहरको दशैँ अलिकति भड्किलो हुन्छ । किनकि राम्रो लगाउने र हाम्रो समाजमा फलानोले यो ग¥यो, यस्तो लगायो म के गर्ने होला भनेर फटफटिने काम छैन । सपना देख्न पर्छ, इच्छा आकांक्षा राख्नु पर्छ । उद्देश्य चन्द्रमा छुने लिनुपर्छ, तर खुट्टा त्यति मात्र पसार्नु पर्छ जति खाट छ । शहरको दसैँ खर्चिलो त छँदैछ, एक अर्काप्रति अविश्वासिलो पनि छ । तर गाउँमा विश्वासिलो परम्परागत एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरेर मनाइन्छ । दशैँ हामीसँग जे ज जस्तो छ त्यही रूपमा मनायौँ भने यो दशा हुँदैन ।
तपाईं स्वयंले चाहिँ यो पटकको दशैँ कसरी मनाउँदै हुनुहुन्छ ?
बिहान स्नान गरिसकेपछि दुर्गा सप्तशती नौ दिनसम्म पाठ गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर कम खर्चमा चाड मनाउने सोचमा छु।
प्रतिक्रिया