कस्ता छन् दशैंमा प्रदर्शनरत तीन चलचित्र ? « Khabarhub

कस्ता छन् दशैंमा प्रदर्शनरत तीन चलचित्र ?


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैंको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज फूलपातीको दिनदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको जनाइएको छ ।

मिलन तामाङले निर्देशन गरेको उक्त चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायत कलाकारले अभिनय गरेका छन् । निर्माता रोहित अधिकारीले नाम उही, गीत पनि उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी चलचित्र तयार गरिएको बताए ।

चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रको पर्दामा ल्याएका हुन् । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ छ ।

उनले भने, “टेलिशृङ्खलामा अरूलाई रुवाउने हरिबहादुर पात्र चलचित्रमा भने आफैँ पटक–पटक भावुक बनेको छ । चलचित्रले हरिबहादुरको भावनात्मक यात्रासँगै नेपालको वर्तमान सामाजिक–राजनीतिक अवस्थालाई पनि चित्रण गरेको छ । खासगरी युवापुस्ताले उठाएका मुद्दा र मागसँग चलचित्रको भावना मिल्छ । टेलिशृङ्खला र मञ्चमा प्रस्तुत भएको पात्रलाई चलचित्रमा ल्याउँदा फरक गरेको छु ।”

उक्त चलचित्रको पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका हुन् । निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र ‘बलिदान’ निर्माता सन्तोष सेनले निर्देशन गरेका छन् । यसमा अभिनेता समीर भट्टको अभिनय छ । कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायत कलाकारले अभिनय गरेका छन् । पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् ।

खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा आकर्षण बढ्दो छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : ०९ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री